भर्खरै :

निकट भविष्यमा कस्तो होला संसार ?

निकट भविष्यमा कस्तो होला संसार ?

एक आँखीझ्याल

२. मूल लुटपाट र फोहर सञ्चय
के ‘सङ्गतिपूर्ण’ साम्राज्यवाद पनि हुनसक्ला ? के साम्राज्यवादको कुकर्म इजरायली हातमा नगराइने साम्राज्यवाद पनि होला ? के सयौँ वर्षसम्म प्यालेस्टिनीहरूको बलि नचढाउने साम्राज्यवाद सम्भव छ ? यी प्रश्न काल्पनिक देखिन सक्छन् किनभने गएको ६ महिनादेखि सबैले आफ्नै आँखाले जातिसंहार देखिरहेका छन् । हामीमाथ प्रश्न उठ्न सक्छ – प्यालेस्टिनीहरूमाथि ह्वाइट फोस्फोरसले लगातार बमबारी गर्ने र भोकमरीको प्रयोग गरी प्यालेस्टिनीहरूलाई मार्ने नीतिमा संरा अमेरिका र उसका भरौटे साझेदारहरू के बेन्जामिन नेतन्याहुभन्दा फरक कित्तामा उभिएका छन् र ? तर, पश्चिमाहरूको विश्व वर्चस्व तथा साम्राज्यवादी भूराजनीतिक, आर्थिक र वैचारिक दा¥हा नङ्ग्रा फैलाउने तलतलको नाल कहाँ जोडिएको छ भनी बुझ्नका लागि यी प्रश्न निकै महत्वपूर्ण छन् । सङ्क्षेपमा साम्राज्यवादको सिद्धान्तबारे चर्चा गर्नाले प्यालेस्टिनको मानवीय सङ्कट र पर्यावरणीय सङ्कटको ठुलो चित्रबिच साइनो पहिल्याउन मद्दत मिल्छ । यो चर्चाले ‘हरित साम्राज्यवाद’ को भावी विकासक्रम पनि अनुमान गर्न सकिन्छ । (यसबारे विस्तृत अध्ययन गर्न उत्सा र प्रभात पटनायक, समिर अमिन, जोन बेलामी फोस्टर र म्याक्स अज्लका रचनाहरू पढ्नु उपयोगी हुन्छ ।)
माक्र्सले पुँजीवादको भित्री कार्यविधिको केस्राकेस्रा केलाउनुभयो र त्यसले समाजमा पार्ने असरको मोडल तयार पार्नुभयो । यसका साथै अन्य तीन पक्षको विश्लेषण जरुरी थियो । पहिलो, सग्लो विश्व व्यवस्थाको रूपमा पुँजीवादको वास्तविक आयामको विश्लेषण । दोस्रो, विकासको असमान चरणमा रहेका विभिन्न क्षेत्रमा हुने पुँजी सञ्चयको विश्लेषण । तेस्रो, ठोस ऐतिहासिक उद्गमसँगै जोडिएको यो संरचनामक पाटोले मालिक र कामदारबिच मात्र होइन उपनिवेशकर्ता र उपनिवेशबिच पनि ल्याउने शक्ति असन्तुलनको विश्लेषण । यी सबैबारे चर्चा गर्न माक्र्सको एउटा जुनी अपुग हुने नै भयो । साम्राज्यवादको सिद्धान्तमा माक्र्सले अदम्य योगदान दिनुभयो । त्यसलाई कथित ‘पुरातन÷प्राथमिक सञ्चय’ को अवधारणा भनिन्छ । यो अलि बेढङ्गी अनुवाद हो । सही अर्थमा यसलाई ‘मूल लुटपाट’ भन्नुपर्छ भनी जोन बेलामी फोस्टरले खुलाएका छन् । यो शब्दावलीले मुद्रा, माल र अतिरिक्त उत्पादनमा आउने परिवर्तनसँगै सुरु हुने सबैखाले पुँजी सञ्चय प्रक्रियालाई जनाउँछ । ‘मूल लगानी कहाँबाट आएको थियो ?’ यो सारभूत प्रश्नमा माक्र्सको गहन जवाफ थियो ः औपनिवेशिक कब्जा† भूमि, प्राकृतिक स्रोतसाधनको लुटपाट† पुँजीवादभन्दा अगाडिको क्रूर बाँधा श्रम (उदाहरण – दासप्रथा) आदिबाट आउँछ । यसरी संसारमा पुँजी ‘शिरदेखि पाउसम्म शरीरको एक–एक निकासबाट रगत र फोहर चुहाउँदै’ आएको थियो ।
मूल लुटपाटमा चरम हिंसाको प्रयोग भएको थियो । यो प्रक्रिया विगत ७५ वर्षदेखि प्यालेस्टिनमा दिनदिनै चलिरहेको छ । यसलाई अमुर्त आर्थिक मोडलमा सजिलै चित्रण गर्न सकिन्न । राजनीतिक अर्थशास्त्रमा यसको भूमिका उद्दण्डतापूर्ण छ । सयौँ वर्षदेखि विश्वका बहुमत जनताले यसलाई जरैबाट उखेल्ने प्रयास गर्ने आएका छन् । तर, साम्राज्यवादलाई नहेरी खालि पुँजीवादको मात्र विश्लेषण गर्नु समय खेर फाल्नुमात्र हो ।
युद्ध र जातिसंहार पुँजीवादको उन्मादमात्र होइनन् बरु सुरुदेखि नै युद्ध र जातिसंहार पुँजीवादको कार्यशैलीका अभिन्न अङ्ग हुन् । यसको एउटा उदाहरण फासीवादप्रतिको पुँजीवादको रवैया हो । पश्चिमा वामपन्थीहरूले यसको धेरै अध्ययन गरिसकेका छन् र यही धारणा सर्वत्र मान्य छ । एमे सिजेरले नाजी नरसंहारलाई युरोपको उपनिवेशवादले आफ्नै खुट्टामा हानेको दृश्यका रूपमा हेर्नुपर्ने बताएका थिए । सिजेरजस्ता विचारक र योद्धाले प्रतिबिम्बित गर्ने उपनिवेशवादबाट राजनीतिक मुक्तिको प्रयास सीमितरूपमा सफल भएकै हो । तर, सोभियत सङ्घको विघटनपछि विश्वभरि प्रतिक्रान्ति भएको र लगत्तै उपनिवेशवाद नवउपनिवेशवादमा फेरिएको तथ्यलाई बिर्सन सकिन्न । ‘उपनिवेशवादबाट मुक्त’ भएका राज्यहरूको नाउँमात्रको स्वाधीनताले संरा अमेरिका र उसका आसेपासे साझेदारहरूको तेस्रो विश्वका देशको अर्थतन्त्रमा उपनिवेशकै शैलीमा थोपर्ने वर्चस्वकारी सत्तालाई निषेध गर्न सक्दैन । विकासबाट पछि हटेर दोस्रो विश्वका धेरै देशहरू हातै बढाएर त्यो वर्चस्वका औजार बने ।
प्यालेस्टिन आफ्नै समाजलाई सङ्गठित गर्न नसक्ने राज्यविहीन अवस्थामा छ । उसले आफ्ना सम्पूर्ण जनतालाई जीवित राख्न सक्दैन । अविराम यहुदीवादी आक्रमणको प्रतिकार गरी जनतालाई जोगाउन सक्दैन । दैनिक उसको भूमिको चोरी हुन्छ, प्रकृति मासिन्छ र सामूहिक हत्या हुन्छ । विश्वको वर्तमान वरियतामा प्यालेस्टिन पिँधमा छ । यसलाई अली काद्रीले ‘फोहोरको सञ्चय’ को प्रक्रिया भनेका छन् । साम्राज्यवादको वर्तमान वर्चस्व कायम राख्न लुटपाटसँगै प्यालेस्टिनमा डङ्गुर जम्मा गरिएको उनको विचार छ । पर्याप्त उपभोगमार्फत वास्तविक नाफा जम्मा गर्न नसकिरहेको अवस्थामा एकाधिकार वित्तीय पुँजीले अहिले ‘विशुद्ध फोहर उत्पादन’ तिर आँखा लगाइरहेको छ । अली लेख्छन्, “बम पड्किरहेको छ, मान्छे मारेको मा¥यै छ र पृथ्वीमा फोहर थुप्रेको थुप्य्रै छ । बम विस्फोट साध्य र साधन दुवै हो । सङ्गति र बिडम्बना हेरौँ, युद्धले सबैलाई मार्ने हो भने श्रम गर्न कोही पनि बाँच्ने छैन । यद्यपि, युद्ध र त्यसले ल्याउने टाटपल्टाइले अति उत्पादनसँग अभिन्न रूपले जोडिएको जनशक्तिको अल्प उपयोगको समस्यालाई निराकरण गर्न जनसङ्ख्या घटाउँछ ।”
माक्र्सले धन उब्जाउने जनताप्रतिको पुँजीवादको बीउमै भएको असङ्गतिपूर्ण र सुधार्नै नसकिने क्रूरतामा दुखेसो पोख्नुभयो† ‘पुँजीको भीमकाय जाँतोमुनि पिसिने’ कामदार जनताप्रति सहानुभूति राख्नुभयो । आज प्यालेस्टिनी, इराकी, सिरियाली, लिबियाली र अफगानी जनता पनि सोही जाँतोमुनि पिसिँदै छन् । कवितात्मक उपमा व्यवहारमै देखिँदै छ ।

३. हरित साम्राज्यवादको उदय
यसकारण, हरित ऊर्जातर्फको सङ्क्रमणको रूपरेखालाई बुझ्न हामी हरित साम्राज्यवादको नौलो परिघटनातर्फ फर्किन्छौँ । यो रूपरेखा भित्री रूपमा अत्यन्त हिंसात्मक र यथास्थितिलाई मत्थर पार्ने ग्रीनवासिङ वा हरियो भ्रामक पर्दा मात्र हो । यो पर्दाको काम विश्व एकाधिकार पुँजीको स्वार्थ जोगाउनु हो । आफ्नो स्वार्थको बाटोमा अनेक पर्यावरणीय तगारा देखेर त्यसको प्रतिक्रियामा यो नौला रूपरेखाले दिगो विकास र उन्नतिको नाम भजाउँछ । हरित साम्राज्यवादको व्यापक प्रक्रियाले अघि सारेको ‘हरित सङ्क्रमण रूपरेखा’ ले यथास्थितिमा कुनै परिवर्तन ल्याउन्न र प्यालेस्टिनमा भइरहेको जातिसंहारलाई सामान्यरूपमा प्रस्तुत गर्छ । कसरी ?
पेद्रेगल र लुकिसले हरित साम्राज्यवादको परिभाषा यसरी दिएका छन् – “हरित साम्राज्यवादले भित्री रूपमा परिधिका देशहरूको श्रम, साधन र ऊर्जालाई अचानोमा राखेर साम्राज्यवादी व्यवस्था जोगाउने उद्देश्य लिएको छ ।” सौर्य तथा वायुजस्ता नवीकरणीय ऊर्जाका साथै हाइड्रोजन र आणविक ऊर्जाजस्ता फर्जी समाधान पनि ऊर्जा प्रतिस्थापनभन्दा पनि थप ऊर्जा नै हुन् । विश्वव्यापी पुँजीवादको दायराभित्र रहेर जीवाश्म इन्धनलाई पूर्णतः उन्मूलन गर्ने दिशामा सिन्को भाँचिनेछैन । उल्टो पुँजी सञ्चयको माग पूरा गर्न समग्र ऊर्जा खपत झन् अकासिनेछ ।
यस्ता विधिलाई वैध बनाउनाले उत्तरी गोलाद्र्धमा बसोबासी उपनिवेशवादलाई सामान्यीकरण गर्न सघाउ पुग्छ । ग्रीनवासिङका यी दाउपेचले गर्दा संसारभरिका रैथाने र औपनिवेशीकृत भूमि एवम् जनतामाथिको शोषण तथा नियन्त्रण झन् चर्किनेछ । यी दाउपेचले जलवायु विपद्को समस्यालाई फगत प्राविधिक मुद्दामा सीमित पार्ने कोसिस गर्छन् । जब कि ध्यान दिनुपर्ने वातावरणीय विनाशका मुख्य चालक एकाधिकार वित्तीय पुँजीमाथि हो । यही पुँजीले एकैचोटि नचाहिने मूल्य (मालसामान वा पूर्वाधार) पैदा गर्छ र अर्कोतिर अमेरिकी सेना, विश्वभरि फैलेका उसका ८०० भन्दा बढी सैनिक अखडाका साथै युरोप, इजरायल र जापानजस्ता उसका तखतका साझेदार तथा दक्षिणी गोलाद्र्धका उसका नवऔपनिवेशिक कठपुतलीहरूलाई प्रयोग गर्दैै विद्यमान मूल्य नष्ट गर्छ ।
पर्यावरणघाती पुँजी सञ्चयको यो विश्वव्यापी इन्जिनको एउटा महत्वपूर्ण कडी हो प्यालेस्टिनको कब्जा । गाजामाथि इजरायलको पहिलो दुईमहिने आक्रमणमा विश्वका सर्वाधिक जलवायु जोखिममा रहेका २० देशले गर्ने वार्षिक कार्बन उत्सर्जनभन्दा बढी कार्बन उत्सर्जन भएको छ । यसमा विमानले गर्ने कार्बन उत्सर्जनका साथै बम, तोप र रकेट आदि विस्फोटबाट हुने कार्बन डाइअक्साइड पनि पर्छ । झन्डै आधा जसो कार्बन डाइअक्साइड इजरायलमा सैन्य आपूर्ति गरिरहेका अमेरिकी मालवाहक विमानले मात्र गरेका छन् । यी विमानले ऊर्जाको अति प्रयोग गर्छन्† प्रकृतिको अति दोहन गर्छन्; फलतः फोहर सञ्चय गर्छन् । इजरायलले कृषि व्यवसाय, वृक्षरोपण, जल व्यवस्थापनको क्षेत्रमा आफूले हासिल गरेको विशिष्ट ज्ञान तथा नवीकरणीय ऊर्जा प्रविधिलाई आफ्ना व्यापक ग्रिनवासिङ प्रयासमा हतियारको रूपमा प्रयोग गर्छ । अरबका नवउपनिवेश देशहरूले नवीकरणीय ऊर्जा, व्यवसायिक कृषि तथा पानीलाई लिएर मिलेर वातावरणीय परियोजनाहरू लागू गर्न धेरै समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
यसप्रकारका सहकार्यहरू वास्तवमा पर्या–सामान्यीकरण हुन् । पर्या–सामान्यीकरणको अर्थ “इजरायली दमनलाई सामान्य देखाउन तथा ग्रीनवास गर्न ‘वातावरणवाद’ को प्रयोग गर्नु” हो । अमेरिकी साम्राज्यवादलाई हरियो–परियो पार्ने दिशामा कुनै पनि प्राविधिक वा कूटनीतिक सफलता हासिल हुन्छ भने त्यो केवल घातक मेर्काभा ट्याङ्कको डिजल इन्जिनलाई सौर्य पाता र लिथियम ब्याट्रीले विस्थापन गर्नु हुनेछ । जुनसुकै ऊर्जा प्रयोग गरे पनि त्यो ट्याङ्कले प्यालेस्टिनी प्रतिकार समूहको रकेटलाई पहिलेझैँ ध्वस्त पार्नेछ ।
(‘साइन्स फर द पिपल’ बाट । सम्यक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *