भर्खरै :

पुँजीवादी निर्वाचनबाट समाजवाद असम्भव

नेपाल कम्युनिस्ट पार्टीप्रति जनताको विश्वास बढ्नु या कम्युनिस्ट पार्टीमा प्रभाव पर्नु राम्रो हो । कम्युनिस्ट पार्टीका जनतामा आस्था र विश्वास जगाउनु पनि पर्छ । आस्था र विश्वास जगाउने काम कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरूले गर्नुपर्ने हो । यो प्रत्येक कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरूको कर्तव्य हो । देशमा रहेका सबै कम्युनिस्ट पार्टीहरूले कम्युनिस्टको सिद्धान्त, विचार प्रचार गरेका भए या जनताको घर, आँगनमा गई सुसूचित पारेका भए नेपालको कम्युनिस्ट पार्टी बलियो र कम्युनिस्ट आन्दोलन अझ सुदृढ हुनेमा शङ्का छैन । तर, आफूलाई कम्युनिस्ट भनिने पार्टीहरूले कहिले पनि कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार प्रसार गरेनन् । कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारलाई थन्काएर या कतै पोको पारेर राख्ने कुचेष्टा ती दलका नेताहरूले गरे । पुँजीवादी व्यवस्थामा रहेरै या निर्वाचनबाटै कम्युनिस्ट सरकार बनाउने सपना तिनीहरूले बुने । तद्नुसार उनीहरूले केपी ओली, प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई आदि नेताको नेतृत्वमा बनेको सरकारलाई कम्युनिस्टको सरकार दाबी गरे ।
ती नेताहरूले भनेझैँ कम्युनिस्ट भनिने दलको नेतृत्वमा सरकार त बन्यो । तर, साँच्चै कम्युनिस्टहरूको शासन बनेन । नेपालमा कम्युनिस्ट शासकहरू विश्वको कुनै देशमा निर्वाचनबाट कम्युनिस्ट पार्टी सत्तामा पुगेको इतिहास नभएको तर नेपालमा उदाहरण देखाइएको भनी गर्व गर्छन् । नेपालमा कम्युनिस्ट भनिने दल माओवादीले देश, काल र परिस्थिति तयार नहुँदै ‘जनयुद्ध’को घोषणा ग¥यो । दस वर्ष युद्ध भयो । १७ हजारको ज्यान गयो । अन्ध, अपाङ्ग हुनेहरूको लेखाजोखा नै छैन । भौतिक क्षति धेरै भयो । बैङ्क लुटियो । व्यक्तिको सम्पत्ति लुटियो । अन्ततः माओवादी सरकारसामु झुक्नुप¥यो या आत्मसमर्पण गर्नुप¥यो । हातहतियार बुझाउनुप¥यो । त्यो भन्दा पनि शान्तिपूर्ण बाटो भन्दै क्रान्तिकारी विचार नै छोड्यो । कम्युनिस्टको सिद्धान्त र विचार नै त्याग्यो । तर पनि ती दलका नेताहरू आफूलाई कम्युनिस्ट पार्टी नै दाबी गर्छन् ।
एमालेका नेता मदन भण्डारीले जनताको बहुदलीय जनवादको बाटो रोजे । यो संशोधनवादी बाटो हो । संशोधनवाद माक्र्सवाद होइन । जनताको बहुदलीय जनवाद मान्ने दलका नेताहरूले यही बाटोलाई बिकल्प माने । बहुदलीय जनवाद कम्युनिस्टको लागि अर्को भविष्य छैन भनी उनीहरूले फुके । बहुदलीय जनवाद वास्तवमा पुँजीवादी बाटो हो । यसरी एमालेले पनि पुँजीवादी बाटो रोज्यो र कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार छोड्यो । उनीहरू आफ्नो दलको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद र लेनिनवाद ठान्छन् तर त्यसअनुसार राजनीति गर्दैनन् । उनीहरू वर्गसङ्घर्ष चाहँदैनन् । पुँजीवादी निर्वाचन या संसदीय व्यवस्थाबाटै उनीहरू समाजवाद ल्याउने सपना बुन्छन् । यो पनि सम्भव छैन । पुँजीवादी व्यवस्थामा निर्वाचनबाट समाजवाद स्थापना गर्ने विचार पनि कम्युनिस्टविरोधी विचार हो । कम्युनिस्ट सरकारले गर्ने दुई चार ओटा सुधारको काम गर्दैमा त्यो कम्युनिस्ट शासन हुँदैन । देशमा कुनै सरकारले निःशुल्क अध्ययन गर्ने र निःशुल्क स्वास्थ्योपचार गर्दैमा त्यो कम्युनिस्ट शासन हुँदैन । कम्युनिस्टको सरकारले श्रमजीवीवर्गको प्रतिनिधित्व गरेको हुनुपर्छ । बहुमत जनताको हित हुने ऐन कानुन बनाउनुपर्छ । शोषक, सामन्त, जमिनदार पुँजीपति, जालीफटाहा, भ्रष्टाचारी, ठेकेदार, कमिसनखोर र विदेशी दलालहरूको दबाब र प्रभाव हुन्छ † उनीहरूको उठबसमा सरकार चल्छ भने त्यो साँचो मानेमा कम्युनिस्ट शासन हुँदैन ।
कम्युनिस्ट पार्टीले विधान र साइनबोर्डमा कम्युनिस्ट पार्टीको नाउँ झुन्ड्याउँदैमा कम्युनिस्ट हुने होइन । कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारलाई व्यवहारमा लागु गरिँदैन भने दल जतिसुकै ठुलो भए पनि त्यसको अर्थ हुँदैन । पुँजीवादी व्यवस्थाभित्र पसेर समाजवाद स्थापना हुँदैन । कम्युनिस्ट पार्टीको नेतृत्वमा पटक पटक सरकार गठन भएकै हो । तर, कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारअनुसार काम भएको छैन, बजेट र नीति नियम बनेको छैन । ती कम्युनिस्ट पार्टीहरू अवसरवादी र संशोधनवादी भए । कम्युनिस्ट भनिने पार्टीहरू पुँजीवादी सरकारमा जान तँछाडमछाड भए । सरकारमा नगइकन सबै कम्युनिस्ट पार्टीहरू जनताको बिचमा राजनीति गरेका भए यहाँ छिटोभन्दा छिटो कम्युनिस्ट शासन आउनेछ, श्रमजीवीवर्गको विजयी हुनेछ । कम्युनिस्ट पार्टीले कम्युनिस्ट पार्टीको नै मूल उद्देश्य छोडेपछि देशमा कसरी कम्युनिस्टहरूको शासन आउँछ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *