भर्खरै :

प्रेमको एउटा कथा

हरिबहादुर श्रेष्ठ
भक्तपुरको सिद्धपोखरीको ठीक दक्षिणमा नेवारी भाषामा भाज्यापुखु भनिने एउटा सुन्दर पोखरी थियो । पोखरीको आकार चौकुने थियो भने बीचमा एउटा मन्दिर थियो, स–साना डुङ्गामा युवा–युवतीहरू आनन्दले खेल्दै थिए । पोखरीको चौडा डीलमा चारैतिर आगन्तुकहरूलाई बस्न र रमाउनको निम्ति लामा–लामा बेञ्च र मेचहरू थिए, चारै कुनामा स–साना सुविस्तासित आराम गर्ने पाटीहरू थिए । स्थानीयमात्र होइन अनेक प्रकारका लुगा लगाएका बाहिरबाट आएका आगन्तुकहरू बढी देखिन्थे । तिनीहरूको हात–हातमा खानेकुरा र पुस्तकहरू थिए भने केही मनोरम हृदयका चित्रहरू कोर्दै थिए । धेरै घुम्न आएका युवा–युवती र ज्येष्ठ नागरिकहरूको निधारमा टीका र कपाल तथा टोपीको छेउछाउका जमरा देखिन्थ्यो । घामले बिदा लिनै लागेको बेला थियो ।
पातलो जिउ, सावला रङ, दामी कुर्ता र सुरूवाल लगाएकी, बायाँ हातमा हिराको औँठी, जीउमा लट्केका हारले सीता कुनै एक सम्पन्न परिवारकी सदस्य भएको जनाउँथ्यो । उनी बेञ्चको एउटा भागमा अडेस लाएर युवाको मुखतिर हेर्दै थिइन् । तिनले मौनता भङ्ग गरिन् –‘‘भानु तिमीले पत्र त लेखेनौ, तर फोनमा त भलाकुसारी गर्न सक्थ्यौ !’’
‘‘सीता, यही कुरा म पनि त भन्न सक्छु, होइन र !’’ भानु ।
‘‘हाम्रो भेटघाट नभएको कति भयो थाहा छ ?’’
‘‘अँ, थाहा छ – २० वर्ष भयो ।’’
‘‘तिमीले विवाह ग¥यौ, कमसेकम एउटा कार्ड त पठाउन सक्थ्यौ, हामीले चार वर्ष एउटै कलेजमा पढेका होइनौ र !’’
‘‘हो, सीता तिमीले भनेको ठीकै हो, मेरो छोरा यसपाली ११ कक्षामा पढ्दै छ ।’’
‘‘बधाई छ, तिम्रो सुखद दाम्पत्य जीवनको निम्ति ।’’
‘‘म तिमीलाई के को निम्ति बधाई दिऊँ – आफ्नो तपस्यामा अडिग रहेकोमा ?’’
‘‘हो, भानु म आफ्नो अडानमा छु । मेरो त्यो अडान नभएको भए आज म तिमीसँग यत्ति खुला हृदयले भेट्न पाउने थिइनँ, म पुरूषकै बन्दी हुनेथिएँ ।’’
भानु एक छिन गम्भीर भयो र सीताको पुरानो स्वभावमा रत्तिभर परिवर्तन नआएको लख काट्यो । सीताले पनि भानुको मनको भाव बुझ्ने कोसिस गर्दै रहिन् ।
‘‘सीता ! मानिस रहस्यमय प्राणी हो हगि ?’’
‘‘किन ?’’
‘‘मानिस बाहिरबाट जे देखिन्छ, त्यो नहुन पनि सक्छ होइन र !’’
‘‘भानु, तिमी मलाई कस्ती केटी सम्झन्छौ ?’’
‘‘म तिमीलाई आफ्नै व्यक्तित्र्वको धनी केटी सम्झन्छु ।’’
‘‘भानु, तिमी र ममा के फरक पाउँछौ ?’’
‘‘अहिलेसम्म मैले नबिर्सेको हाम्रो भिन्नता हो – तिमी हरेक दिन सुनको भाउ र डलरको मूल्यमा ध्यान दिन्छ्यौ । म सधैं अन्तर्राष्ट्रिय राजनैतिक उथलपुथल र परिवर्तनबारे जानकारी राख्छु ।’’
‘‘भानु तिमीले मलाई बिर्सेका रहेनछौ, न त मैले बिर्सन सकेँ ।’’
‘‘यसैलाई मित्रता भनिन्छ, होइन र ?’’
‘‘अरू भिन्नता ?’’
‘‘तिमी एउटी केटीको निम्ति मुक्का–मुक्कीदेखि मारकाटसम्म भएको भारतीय सिनेमा हेर्न मन पराउँछ्यौ, म विभिन्न भाषा र देशका इतिहास र उपन्यासहरू हेर्न मन पराउँछु ।’’
‘‘भानु ! त्यसो त तिमीले नै भनेर टल्सटायको ‘अन्नाक्यारेनिना’ र चिनीयाँ साहित्यहरू पढेकी छु ।’’
‘‘हाम्रो मित्रतामा साहित्य नै हाम्रो पुल बनेको थियो ।’’
‘‘जाऔँ, हामी चिया खाऔँ ।’’ दुवै नजिकैको सानो चिया पसलमा गए ।

सीता र भानु चिया खाएर त्यही ठाउँमा आएर अघिकै ठाउँमा बसे । सीताले भानुसँग आफ्नोबारेमा केही भनोस् भन्ने चाहेकी थिइन् भने भानु व्यक्तिगत आलोचना गरेर उनको चित्त दुखाउन चाहदैनथ्यो । मौनतालाई थाति राखेर सीताले भानुलाई २० वर्ष पुरानै पाराले भनिन्– ‘‘के तिमी पहिलेजस्तै मेरो घरमा आउन सक्दैनौ ? तिमीलाई मेरी आमा र भाइहरूले पनि चिन्छन् । आए हुन्थ्यो ।’’
‘‘सीता, म पहिलेजस्तो एक्लो छैन, बरू म तिमीलाई आजै मेरो घरमा जान र मेरी श्रीमतीसँग परिचित हुन निम्तो दिंदैछु । मेरो छोरोले एउटी फुपूसँग परिचित हुने अवसर पाउनेछ ।’’
‘‘भानु ! तिम्रो स्वभावमा अरूलाई अप्ठेरो पार्ने गरी कुरा गर्ने शैलीमा अलिकति पनि परिवर्तन किन हुँदैन ?’’
‘‘अहो ! सीता, मलाई साथीहरूलाई उमेरको, धनको, रूपको र परीक्षामा पाउने दर्जाको हिसाबले बाध्य पार्ने भाषा आउँदैन । म हरेक विषयमा सरलता चाहन्छु र समान व्यवहार गर्न चाहन्छु ।’’
सीता एक छिन मौन बस्छिन् र आफूले बोलेको भाषाले भानुलाई असजिलो भएको र आफ्नो पुरानै ढङ्गको बोलीको अनुभव गरिन् अनि बिस्तारै उभिएर भनिन्– ‘‘लौ, आज तिम्रो प्रस्ताव मलाई मञ्जुर छ, म तिम्रो जीवन सङ्गिनीसँग परिचित हुन्छु र छोरोलाई पनि माया गर्ने अवसर प्राप्त गर्छु ।’’
दुवै बिस्तारै हिँड्दै भाज्या पोखरीको उत्तरपूर्वी कुनाको बाटोबाट साँझको धमिलो वातावरणमा विलीन भए ।
‘‘आज म भाउजूसँग भेटेर तथा छोरोलाई माया गर्न पाएकोमा अत्यन्त खुसी र सुखको अनुभव गर्दैछु ।’’ सीताको अनुभूतिबाट भानुले आश्चर्य मिश्रित भावले उत्तर दियो– ‘‘सीता, आज मैले तिमीलाई बिनादुविधा र शङ्काबाट निर्लिप्त खुसी भएको साथीको रूपमा पाएँ, तिम्रो निश्चल अभिव्यक्तिको निम्ति धन्यवाद !’’
सीता भानुको टिप्पणीले उत्साहित भइन् र उठेरै एउटा प्रस्ताव राखिन्– ‘‘भानु, हरेक राजनैतिक नेता र कार्यकर्ताको घर वा डेरामा पुस्तकालय वा अध्ययन कोठा हुन्छ भन्ने सुनेकी छु, म अनुमान गर्छु तिम्रो पनि कुनै पुस्तकालय वा अध्ययन कोठा होला, मलाई हेर्ने वा अवलोकन गर्ने इच्छा लाग्यो, के मेरो इच्छा पूरा होला ?’’
‘हेर सीता, साधारण परिवारबाट हुर्केको व्यक्ति हुँ, आज पनि म आफूलाई किसान कार्यकर्ता नै सम्झन्छु, हो मेरो सानो अध्ययन कोठा छ, तर मेरो पुस्तकालय जनता नै हुन् मेरा हरेक साथीभाइहरू एउटा–एउटा पुस्तक हुन् र हाम्रा कार्यकर्ताहरू समाजका पात्र र वीर (हिरो–हिरोनीहरू) हुन् ।’’ एकै सासमा आफ्नो स्थिति प्रस्ट पा¥यो ।

भानुले सानो अध्ययन कोठा खोल्यो, बत्ती बाल्यो र दुवै भित्र पसे । अध्ययन कक्षको बीचमा एउटा टेबुल र चारवटा मेच थिए । दुई–चार वटा दराज, दराजमा केही पुस्तक र पत्र–पत्रिका सङ्गालिएका थिए । सीताले चारैतिर आफ्नो आँखा डुलाइन्, सानो पत्रिका आकारका तस्वीरहरू भित्ताभरि देखिन् । आश्चर्यको भावमा सीताले भनिन्– ‘‘भानु, आज मैले पहिलोचोटी नयाँ नयाँ अनुहार र नाउ नजानेका तस्वीरहरू देखेँ, के तिमी यिनीहरूको बारे बताउने कष्ट गर्छाैं ?’’
भानुले सकारात्मक टाउको हल्लायो र हल्का व्यङ्ग पनि कस्यो – ‘सीता ! बढी औपचारिक बन्नु आवश्यक छैन ।’’
‘‘हामी पुराना मित्र हौँ ।’’
‘‘लौ बाबा, ठीक छ, म ती महापुरूषहरूको परिचय चाहन्छु,’’ एक छिन मनमा कुरा खेलाउँदै ‘‘तर यहाँ मैले कुनै महिलाको तस्वीर देखिनँ । भानु, के तिमी महिला राष्ट्रपति र प्रधानमन्त्री भएको हेर्न चाहन्नौ ?’’
भानुलाई सीताको मनोभाव बुझ्न समय लागेन र भन्यो ‘‘प्रश्न कुनै व्यक्ति पुरूष वा महिलाको होइन, बरू उसले कुन वर्गको पक्ष लिन्छ, ऊ कुन राजनैतिक व्यवस्थाको पक्षपाति हो र उसले देश र जनताको हितमा काम गर्छ वा गर्दैन भन्ने हो ।’’
‘‘मैले कुरा बुझेँ, अब परिचयमा जाऔँ ।’’
एउटा तस्वीरको अगाडि उभिएर भानुले सीतालाई परिचय दियो –‘‘उहाँ समाजवादी भियतनामको पहिलो राष्ट्रपति हुनुहुन्थ्यो, उहाँ अविवाहित हुनुहुन्थ्यो, उहाँले विभिन्न देशमा भूमिगत र जेल जीवन बिताउनुभयो । १५ वर्ष फ्रान्सेली उपनिवेशवादीको विरोधमा र पछि १५ वर्षसम्म अमेरिकी साम्राज्यवादी आक्रमणको विरोधमा भिषण सशस्त्र सङ्घर्षको नेतृत्व दिनुभयो । स्वतन्त्रता र मुक्तिपछि उहाँले सरल जीवन बिताउनुभयो, राष्ट्रपति भवनलाई उहाँले विदेशी पाहुनाहरूको स्वागत र भेटघाटमा उपयोग गर्नुहुन्थ्यो भने आफ्नो निम्ति दुईकोठे एकतले सानो भवनलाई उपयोग गर्नुभयो ।’’
‘यसको अर्थ हो चि मिन्हले हाम्रा राष्ट्रपतिहरूले जस्तै आफ्नो सुविधाको निम्ति ठूलठूलो बजेटको माग गर्नुभएको थिएन, होइन ?’’–सीताले जिज्ञासा राखिन् ।
‘‘अवश्य !’’ – भानुले उत्तर दियो । सीताले सन्तोषले श्वास फेरिन् ।
त्यसपछि भानुले लावशका राष्ट्रपति सुभानोभोङ्गको तस्वीर देखाउँदै भन्यो –‘‘राजाको छोरो भएर पछि विभिन्न जात–जातिसँग मिलेर फ्रान्सेली उपनिवेशवाद र अमेरिकी आक्रमणको विरोधमा सङ्घर्ष गरेर आफ्नो देशलाई स्वतन्त्रता र मुक्ति दिलाएका थिए ।’’
‘‘भानु, राजाका छोरा–छोरी पनि ‘कम्युनिष्ट’ हुन्छन् ?’’ सीताले अचम्म मानेर प्रश्न गरिन्
। आफ्नो देशको स्वतन्त्रता र सार्वभौमिकताको निम्ति देशभक्त राजा र राजकुमारहरू कम्युनिष्टहरूसँग पनि मिल्छन् र राजकुमारहरू पनि कम्युनिष्ट हुन्छन् ।’’
‘‘कम्युनिष्टहरूसँग मिल्ने राजा को हो ? के यहाँ त्यस्ता राजाको तस्वीर छैन ?’’
‘‘कम्बोडियाका राजा नरोदम सिंहानोक कम्युनिष्टहरूसँग मिलेर देशको स्वतन्त्रताको निम्ति फ्रान्सेली उपनिवेशवाद र अमेरिकी आक्रमणसँग लडेका थिए । तर उनको तस्वीर यहाँ छैन ।’’
सीताले अर्कै दिशामा भित्तामा झुण्ड्याइएका तस्वीरहरूतिर हातले सङ्केत गरी सोधिन् –‘‘यी कहाँका नेताहरू हुन् ?’’
एक एक वटा तस्वीर देखाउँदै भानुले भन्दै गए – ‘‘यी राष्ट्रपतिहरू अफ्रिकी देशहरूका एन्क्रुमा, नेरेने हुन् भने युवा देखिने तस्वीरमा कङ्गोका पहिलो प्रधानमन्त्री पेट्रिश लुमुम्बा हुन् जसले उपनिवेशवादीहरूको अगाडि झुक्नुभन्दा देशको मुक्तिको निम्ति सङ्घर्ष गर्दा गर्दै मरे ।’’
सीताले अर्को भित्तामा तस्वीरहरू हेर्दै भानुलाई ‘‘यी तस्वीरहरू कुन महादेशका हुन् ?’’ भनी प्रश्न गरिन् । भानुले ती तस्वीरहरूको अगाडि गएर सङ्केत गर्दै भन्यो –‘‘यो क्युवा भन्ने देशको राष्ट्रपति हुन् र यो तस्वीर भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेजको हो । दुवै राष्ट्रपतिहरू आफ्नो देशको स्वतन्त्रता, सार्वभौमिकताको रक्षा गर्न समाजवादको निम्ति अन्तिम श्वास भएसम्म आ–आफ्नो अडानमा लाग्दै गएका थिए ।’’
सीताले घडी हेरिन् र भनिन् –‘‘काठमाडौं फर्कनु छ, ९ बज्यो, पछि फेरि आएर भाउजू र छोरोसँग कुराकानी गर्नेछु । बिदा ।’’ भानु सीतामा आएको परितर्वनलाई मनमनै गुन्दै थियो ।
– २०७५ असोज ३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *