भर्खरै :

वागीश्वरीमा अन्तर्राष्ट्रिय श्रमिक दिवस

वागीश्वरीमा अन्तर्राष्ट्रिय श्रमिक दिवस

भक्तपुर, १९ वैशाख । विश्वका शोषितपीडित र अन्यायमा परिरहेका श्रमिकहरूको हकहितको सवालमा अन्तर्राष्ट्रिय मई दिवस मनाइरहेको बेला वागीश्वरी विद्यालयले पनि १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसमा प्रवचन कार्यक्रम ग¥यो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष जिल्लाध्यक्ष गणेशराम थुसाले सन् १८८६ मा सिकागोमा संरा अमेरिकाका श्रमिक मजदुरहरूले ज्यानको बाजी राखेर सङ्घर्ष नगरेका भए आज मजदुर श्रमिकहरूले दैनिक ८ घण्टा काम र त्यसअनुसारको सेवा सुविधा प्राप्त हुने थिएन भन्नुभयो । अधिकार र सुविधा पाउन सङ्घर्ष र आन्दोलन नै एक विकल्प भएको विचार व्यक्त गर्दै उहाँले विगतमा हाम्रा अग्रज शिक्षक, प्राध्यापकहरू नेक्राशिसिङ्घका अग्रजहरूले आन्दोलन गरेर नै आज हामीले सञ्चयकोषलगायतका विभिन्न सेवा सुविधाको फल पाएको हो भन्नुभयो ।
उहाँले राजनीति व्यापार होइन, देश र जनताको निःस्वार्थ सेवा गर्न हो† वर्तमान शासक दलहरूले राजनीतिलाई पैसा कमाउने पेसा बनाएको विचार, सिद्धान्त छोडेर पद र सुविधाको लागि कुकुर झगडा गरेको हुँदा राजनीतिप्रति जनताको वितृष्णा बढेको हो भन्नुभयो ।
नेपाल प्राध्यापक समाज वागीश्वरी एकाइ समितिका अध्यक्ष ज्ञाहेन्द्रप्रसाद दाहालले शिक्षक, प्राध्यापक पनि बौद्धिक श्रमिक भएको हुँदा अन्तर्राष्ट्रिय श्रमिक दिवसलगायत अन्य समसामयिक राजनीतिक तथा शैक्षिक कार्यक्रमहरूमा सक्रिय सहभागी हुनु आवश्यक छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ वागीश्वरी एकाइका प्रतिनिधि एवम् शिक्षक राजन लाखाले हिजो अमेरिकाका मजदुरहरूले सिकागोमा आन्दोलन र सङ्घर्ष नगरेका भए आजको अमेरिका हुने थिएन भन्नुभयो । शिक्षक तथा प्राध्यापक बौद्धिक श्रमिक मजदुर भएको हुँदा श्रमिकवर्गका हितमा श्रमिक दिवस मनाउनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले देश र जनताको सेवा गर्न देश बनाउन देशभक्ति राजनीति गर्नुपर्छ भन्नुभयो ।
उक्त प्रवचन कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले मजदुरहरूको आन्दोलनले विश्वका श्रमिक कामदारवर्गको सेवा सुविधा पाएको बताउनुभयो ।
श्रमिकवर्गले रगत र पसिनाबाट देश र विश्वको निर्माण भइरहेको चर्चा गर्दै अग्रज शिक्षकहरूको नेतृत्व, सल्लाह र सहयोगले नै आज विद्यालय यो अवस्थामा पुगेको छ भन्नुभयो । शिक्षक तथा कर्मचारीले व्यक्तिगत स्वार्थमात्र हेरेका भए विद्यालयले प्रगति गर्न नसक्ने विचार व्यक्त गर्दै उहाँले स्कूल र कलेज बनाउन हामीले सहयोगको कञ्जुस्याइँ गर्नुहुँदैन भन्नुभयो ।
शिक्षक – प्राध्यापकले श्रमलाई माया र सम्मान गर्न, देशको रक्षा गर्न विद्यार्थीलाई सचेत गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा सम्पन्न उक्त प्रवचन कार्यक्रममा शिक्षकहरू विश्वेश्वर मानन्धर, तुल्सीराम प्रजापति र रामलक्ष्मी कोजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *