भर्खरै :

मुराभ्योभ बन्धुहरूको कथा

मुराभ्योभ बन्धुहरूको कथा

मुराभ्योभ परिवार रूसको पुरानो खानदानी परिवार थियो । गुप्त समाजका गतिविधि र सैनिक विद्रोहमा मुराभ्योभ परिवारका आठजना युवा अफिसर सहभागी थिए । नाताले उनीहरू दाजुभाइका छोरा थिए । १८१६ फेब्रुअरीमा स्थापित ‘मुक्ति सङ्घ’ का ६ संस्थापकमध्ये चारजना मुराभ्योभ परिवारका थिए । अलेक्सान्दरका पिता हुनेखानेहरू पढ्ने सेन्ट पिटर्सबर्गको एक अभिजात्य विद्यालयका अध्यक्ष थिए । निकिताका पिता मस्को विश्वविद्यालयका प्राध्यापक थिए ।
अर्का दुई मुराभ्योभ संस्थापक मात्भेइ र सेर्गेइ मुराभ्योभ अपोस्तोल थिए । नाताले उनीहरू अलेक्सान्दर र निकिताका काकाका छोरा थिए । उनीहरूका बुबा तनोभ मात्भेइभिच मुराभ्योभ–अपोस्तोल थिए । आमातर्फको अपुतालीको रूपमा तनोभले युक्रेनको पोल्ताभामा ५ हजार भूदासहरूको मालिकत्व प्राप्त गरेका थिए । यसकारण, उनको थरमा अपोस्तोल शब्द जोडिएको थियो । उनी रूसी कूटनीतिज्ञ र राजपरिषद् सदस्य (सिनेटर) थिए । विद्रोहको बेला पनि उनी सिनेटर नै थिए ।
डिसेम्बर विद्रोहपछि फाँसी दिइएका पाँचजना युवाहरूमध्ये सेर्गेइ मुराभ्योभ–अपोस्तोल एक थिए । मात्भेइ र सेर्गेइका भाइ इप्पोलित १९ वर्षको कलिलो उमेरमा दक्षिणको विद्रोहमा मरेका थिए । मात्भेइ, निकिता र अलेक्सान्दर सर्वस्वहरणसहित सदाका लागि साइबेरिया निर्वासित भए ।
गुप्त समाजमा मुराभ्योभ परिवारका अन्य युवाहरू पनि सहभागी थिए । तीमध्ये निकोलाई र मिखाइल मुराभ्योभ सन् १८२० तिरै गुप्त समाजका गतिविधिहरूबाट अलग भइसकेका थिए । विद्रोहको केही महिना अघिमात्र गुप्त समाजमा ल्याइएका आर्तामोन मुराभ्योभ विद्रोहमा सहभागी नहुने निर्णयमा पुगे । साथीहरूको पोल खोलेर उनले जारसमक्ष माफी माग्ने बाटो रोजे ।
पेरिसको शिक्षा
सेर्गेइका बुबा तनोभ मुराभ्योभ सैनिक सेवाबाट प्रशासनमा प्रवेश गरेका थिए । आठवटा विदेशी भाषाका ज्ञाता तनोभलाई जार पाउलको शासन (१७९६– १८०१) मा युरोपका विभिन्न देशहरूमा रूसको प्रतिनिधिको रूपमा खटाइएको थियो । सन् १८०२ मा नयाँ जार अलेक्सान्दर प्रथमले तनोभलाई स्पेनको राजदूत नियुक्त गरे । कूटनीतिज्ञको रूपमा उनले नेपोलियनको फ्रान्सविरुद्ध अन्तर्राष्ट्रिय गठबन्धन निर्माणमा अहम भूमिका खेलेका थिए ।
तनोभका जेठा छोरा मात्भेइको जन्म १७९३ मे ६ का दिन पिटर्सबर्गमा भएको थियो । माइलो छोरा सेर्गेइको जन्म १७९६ अक्टोबर ९ मा भएको थियो । पिताको जिम्मेवारीसँगै मात्भेइ, सेर्गेइ र चार दिदीबहिनी ह्यामबर्ग, कोपनहेगन र म्याड्रिडजस्ता विदेशी सहरमा हुर्के ।
१९ औँ शताब्दीमा पेरिस युरोपको सांस्कृतिक र शैक्षिक केन्द्र थियो । तनोभ म्याड्रिडको दाँजोमा पेरिस नै आफ्ना सन्तानको शिक्षादीक्षाको निम्ति उपयुक्त हुने टुङ्गोमा पुगे । सन् १८०४ मा श्रीमती अन्ना सेम्योनोभ्नाको साथ लगाएर उनले ६ छोराछोरीलाई पेरिस पठाए । मात्भेइ र सेर्गेइ पेरिस पुग्दा फ्रान्सका नयाँ सम्राट नेपोलियनको राज्याभिषेकको तयारी चल्दै थियो । पेरिस पुग्दा मात्भेइ ११ वर्ष र सेर्गेइ ८ वर्षका थिए । उनीहरूलाई पेरिसको एक अभिजात्य विद्यालयमा भर्ना गरियो । सेर्गेइका कान्छा भाइ इप्पोलित सन् १८०६ मा पेरिसमै जन्मेका थिए ।
अन्ना सेम्योनोभ्ना सुसंस्कृत परिवारमा हुर्केकी महिला थिइन् । छोराछोरीको शिक्षामा उनी विशेष ध्यान दिन्थिन् । आमाको प्रत्यक्ष निगरानीमा बच्चाहरू हुर्कँदै गए । स्वास्थ्य खराब भए पनि छोराहरूका पढाइ र प्रगतिबारे अन्ना पतिलाई बरोबर लामालामा चिठी लेख्थिन् । सानैदेखि विदेशी सहरमा हुर्केका हुनाले उनीहरूलाई अन्ना सेम्योनोभ्ना रूसी भाषाको औपचारिक ज्ञान थिएन । त्यसकारण, पेरिसस्थित रूसी दूतावासको सहयोगमा सन् १८०६ देखि विद्यालयमा रूसी भाषाको पढाइ सुरु भयो । मातृभाषाको औपचारिक शिक्षा सुरु गर्दा मात्भेइ १३ वर्ष र सेर्गेइ १० वर्ष पुगिसकेका थिए । जन्मभूमि रूसबारे कुनै सहपाठीले नराम्रो टिप्पणी गरे उनीहरू झगडा गर्न अघि सर्थे ।
सेर्गेइ पढाइमा तीक्ष्ण थिए । उमेरमा अरू सहपाठीभन्दा सानो भए पनि पढाइमा उनी अब्बल थिए । उनी एकान्तमा बसेर पुस्तक पढ्न रुचाउँथे । विज्ञान र गणित विषयमा उनको विशेष दख्खल थियो । सेर्गेइ चञ्चल थिए भने मात्भेइ शान्त स्वभावका थिए ।
विद्यालय पढाइपछि छोराहरूलाई पेरिसमै गणितमा उच्च शिक्षा दिलाउन शिक्षकहरूले आमालाई सल्लाह दिएका थिए । तर, रूस र फ्रान्सको सम्बन्ध दिनप्रतिदिन बिग्रँदै थियो । पिता तनोभ नेपोलियनविरोधी गठबन्धन निर्माण गर्न सक्रिय थिए । अन्ततः पेरिस बसाइको ५ वर्षपछि १८०९ को जून महिनामा तनोभ र अन्ना आफ्ना ७ बालबच्चासहित रूस फर्के ।
मातृभूमि रूसमा
मातृभूमि फर्किने बेला प्रसिया (जर्मनी) र रूसको सिमानामा पहरा बसेका रूसी कज्जाक सैनिक देखेर सेर्गेइ रोमाञ्चित बने । तर, रूसमा अझै पनि भूदासहरू रहेको तथ्य आमाको मुखबाट उनले पहिलोचोटि सुने । भूदासहरूको पसिनाको बलमा आफू पढेको, बढेको र परिवार चलेको थाहा पाएर उनीहरू खिन्न भए । पेरिसको खुला परिवेशमा हुर्केका र अभिजात्य विद्यालयमा पढेका यी किशोरको उत्साह केही क्षणमै बिलायो । मनमा कोरेको मातृभूमिको सुन्दर तस्बिर चकनाचुर भयो । यो तथ्य स्वीकार्न उनीहरूलाई सजिलो भएन । रूस फर्केको केही महिनामै आमा अन्ना सेम्योनोभ्नाको मृत्यु भयो ।
रूस फर्केर दुवै दाजुभाइ रेलवे इन्जिनियरिङ पढाइने विद्यालयमा भर्ना भए । फ्रान्ससँगको लडाइँ नजिकिंदै थियो । त्यसकारण, १८ वर्षका मात्भेइ सन् १८११ मा कनिष्ठ सैनिक अफिसरको रूपमा सेम्योनोभ्स्की गार्ड पल्टनमा प्रवेश गरे । त्यसपछि उनी १८१२ को फ्रान्सविरोधी प्रतिरोध युद्धमा सहभागी भए । भर्खरै १६ वर्ष पुगेका सेर्गेइ पनि रेलवे टुकडीसँगै युद्धमा गए । नेपोलियनविरोधी युद्धका क्रममा उनीहरू पुनः पेरिस पुगे र युद्धवीरको रूपमा रूस फर्के ।
गुप्त समाजमा
युद्धसँगै पश्चिम युरोप पुगेका रूसी कुलीन युवाहरूमा स्वदेशको पछौटेपनप्रति दिक्दारी र असन्तोष फैलिसकेको थियो । पुस्तकमा पढेको खुला समाज पश्चिम युरोपमा उनीहरूले आफ्नै आँखाले देखेका थिए । जारको स्वेच्छाचारिता र सामन्ती भूदास प्रथा नै रूसी पछौटेपनको जड हो भन्नेमा उनीहरू एकमत थिए । रूसमा उदारवादी सुधार चाहने युवाहरूको गुप्त सङ्गठनहरू बन्न थाले । त्यसको नेतृत्व मात्भेइ र सेर्गेइजस्ता युवाहरूले गरे । ‘मुक्ति सङ्घ’ र ‘समृद्धि सङ्घ’ दुवैमा सेर्गेइ र मात्भेइले सक्रिय भूमिका खेलेका थिए ।
दाजु मात्भेइ सन् १८१८ मा युक्रेनमा सरुवा भए । सेनाका उच्च अधिकारीहरूसँग मत नमिल्दा उनले सन् १८२३ मा लेफ्टिनेन्ट कर्नेलको पदबाट अवकाश लिए । उनले पिटर्सबर्ग बसेर स्थायीरूपमा दक्षिणी गुप्त समाजको उत्तरी सम्पर्क सुत्रको रूपमा काम गर्न थाले । भाइ सेर्गेइ सन् १८१८ मा पुनः गठित ‘समृद्धि सङ्घ’ को कार्यकारी परिषद्का सदस्य थिए । उनी पनि दाजुसँगै सेम्योनोभ्स्की पल्टनका अफिसर भइसकेका थिए । सैनिक अफिसरको रूपमा उनी आफ्ना जवानहरूलाई क्रूर सजाय दिने सहकर्मीहरूसँग कहिल्यै सहमत हुन सकेनन् । सेर्गेइजस्ता उदारवादी अफिसरहरूको जोडले सेम्योनोभ्स्की पल्टनमा सिपाहीहरूलाई अनुशासनको नाममा दिइने क्रूर शारीरिक यातना हटाइयो । त्यसकारण, सेर्गेइ सैनिक जवानहरूबिच प्रिय अफिसर बने ।
गणतन्त्र र संवैधानिक राजतन्त्रको विवादमा सेर्गेइ गणतन्त्रको पक्षमा तर्क गर्थे । जारलाई ज्ञापनपत्र दिएर रूसमा कुनै सुधार हुन सक्दैन भन्ने कुरामा उनी स्पष्ट थिए । सैनिक विद्रोह नै रूसमा शासन व्यवस्था परिवर्तनको एउटै माध्यम हुनुपर्छ भन्नेमा उनी जोड दिन्थे । तर, अनावश्यक हिंसा नहोस् र विद्रोह फ्रान्सेली क्रान्तिजस्तै अराजकतामा नटुङ्गियोस् भन्नेमा उनी सहकर्मीहरूलाई सजग पार्थे । जारको हत्यामा उनको समर्थन थियो तर राजपरिवारका सम्पूर्ण सदस्यहरूको हत्या गर्नुपर्ने पाभेल पेस्तेलको योजनाको उनी विरोधी थिए । भनिन्छ, पाभेलको खेस्रा संविधानमा भूदासहरूलाई जमिन वितरण गर्ने योजना सेर्गेइको जोडले नै थपिएको थियो ।
सन् १८२० मा सेम्योनोभ्स्की पल्टनमा नयाँ जर्नेल आए । जवानहरूले नयाँ जर्नेलले शारीरिक यातनाको सजाय प्रणाली पुनः लागु गरेको विरोधमा पर्चा छरे । त्यसमा जारको तानाशाहीको पनि विरोध गरिएको थियो । प्रत्यक्ष संलग्नता नभए पनि पल्टनका उदार अफिसरहरूलाई कारबाहीस्वरूप दक्षिणका युक्रेनी सहरहरूमा सरुवा गरियो । सैनिक जवानहरूप्रति उदार विचार राखेकै कारण उनलाई सजायस्वरूप राजधानी बाहिरको सेवामा पठाइयो । सेर्गेइलाई किभबाट ४० किलोमिटर दक्षिणमा पर्ने भासिल्कोभ सहरमा सरुवा गरियो । त्यहाँ उनी चेर्निगोभ पल्टनको लेफ्टिनेन्ट कर्नेल पदमा रहे ।
दक्षिणमा गुप्त समाजको नेतृत्व कर्नेल पाभेल पेस्तेलले गरेका थिए । उनको पल्टन किभ सहरको ३०० किलोमिटर दक्षिणमा रहेको युक्रेनी सहर तुलचिनमा थियो । संवैधानिक राजतन्त्रवादीहरूसँग विचारको भिन्नताले गर्दा ‘समृद्धि सङ्घ’ विघटन भइसकेको थियो । पाभेल, भोल्कोन्स्कीजस्ता दक्षिणमा रहेका सेनाका उच्च अधिकारीहरूले स्वतन्त्ररूपमा दक्षिणी समाजका गतिविधि अगाडि बढाइरहेका थिए । रूसबाट स्वतन्त्र हुन चाहने पोल जातिका क्रान्तिकारीहरूसँग पनि उनीहरूको बलियो सम्पर्क थियो ।
पाभेलसँगको सम्पर्कपछि सेर्गेइले भासिल्कोभमा दक्षिणी समाजको शाखा स्थापना गरे । बेस्तुजेभ रुमिनको सहयोगमा केही महिनाको प्रयासमै वरपरका सहरमा रहेका छाउनीका अफिसरहरूलाई गुप्त समाजमा आबद्ध गर्न सेर्गेइ सफल भए । मिखाइल बेस्तुजेभ कुशल युवा सङ्गठक थिए । रूसी क्रान्तिकारीहरूप्रति शङ्काको दृष्टिले हेर्ने पोल क्रान्तिकारीहरूलाई पनि एकै उद्देश्यमा ल्याउन उनी सफल भए । यही विशेषताले गर्दा नै बेस्तुजेभ जारशाहीको निम्ति खतरनाक मान्छे साबित भए । विद्रोहपछि २० वर्षको कलिलो उमेरमै उनलाई फाँसी दिइयो ।
विद्रोहको तयारी
सन् १८२३ को सुरुमा सैनिक बैठकको आवरणमा दक्षिणी गुप्त समाजका विभिन्न शाखाका नेतृत्वदायी अफिसरहरूको बैठक किभमा बस्यो । दक्षिणका अधिकांश पल्टनहरूमा गुप्त समाजको प्रभाव रहेको हुँदा दक्षिणबाट सैनिक विद्रोह सुरु गर्नुपर्छ भन्ने सेर्गेइले तर्क गरे । तर, पेस्तेललगायत बहुमत नेतृत्व त्यसमा सहमत भएनन् । जारको हत्याबिना दक्षिणबाट विद्रोह सुरु गर्दा जारलाई विद्रोह दबाउन देशभरि सैनिक परिचालन गर्न समय मिल्ने हुँदा विद्रोह पिटर्सबर्गबाटै सुरु गर्नुपर्छ भन्ने बहुमत सदस्यको मत थियो । त्यसको लागि उत्तरी गुप्त समाजसँग सहकार्य अनिवार्य थियो । उत्तरी समाजका एक नेता सेर्गेइ त्रुबेत्स्कोइ त्यसबेला किभको बैठकमा सहभागी थिए । उनीमार्फत उत्तरी समाजसँग सम्पर्क भयो । मात्भेइ मुराभ्योभले पिटर्सबर्गमा दक्षिण र उत्तरबिच बैठकको चाँजोपाँजो मिलाए । अन्ततः १८२६ को जून महिनाभन्दा अगाडि जार अलेक्सान्दरको राज्याभिषेकको रजत जयन्ती (१८०१–१८२६) को अवसरमा दक्षिणमा हुने समारोहको क्रममा जारको हत्या गरेर विद्रोह सुरु गर्ने कुरामा सबै सहमत भए ।
सेर्गेइ मुराभ्योभ विद्रोहको तयारीको निम्ति गुप्त प्रचार र सङ्गठनमा अझ सक्रियतापूर्वक लागिपरे । तर, जार अलेक्सान्दरको अप्रत्यासित निधन र पाभेलको पक्राउले गुप्त समाजको योजना भताभुङ्ग भयो । डिसेम्बर २६ मा भएको उत्तरको विद्रोहको असफलतासँगै दक्षिणका नेताहरूको नाममा पक्राउ पुर्जी जारी भयो । भासिल्कोभमा आफ्ना भाइ भेट्न आइपुगेका मात्भेइसँगै सेर्गेइ पनि १८२६ जनवरी १० का दिन पक्राउ परे । तर, गुप्त समाजमा आबद्ध चेर्निगोभ पल्टनका अफिसरहरूले आफ्ना नेताहरूलाई छुटाए । उनीहरूसँग विद्रोह सुरु गर्नु बाहेक अर्को बाटो थिएन ।
दक्षिणको विद्रोह
विद्रोही सेनाले डिसेम्बर ११ का दिन भासिल्कोभ सहर कब्जा गरे । सहरको मुख्य चोकमा चर्चका पुरोहितमार्फत रूसको जार रूसी जनताको रगत चुस्ने अत्याचारी शासक भएको कारण यशु क्राइष्टमात्र असली जार हुनसक्ने उद्घोष गर्न लगाए । उनीहरूले सबै भूदासहरू स्वतन्त्र भएको घोषणा गरे । त्यसैदिन उत्तरबाट विद्रोहको सूचना दिन आइपुगेका कान्छो भाइ इप्पोलित भासिल्कोभ पुगे । सहरमा बस्ने किसानहरू टोली बनाएर विद्रोही नेतालाई धन्यवाद दिन आए । सेर्गेइले रूसी किसानहरूको पक्षमा आफू निरन्तर लडिरहने बताए ।
विद्रोह अरू पल्टनहरूसँग पनि जोडिनु आवश्यक थियो । वरपरका पल्टनहरूमा समयमै सूचना पठाउन सके विद्रोह छिटो फैलिन सक्ने आशाले उनले सम्पर्क स्थापना गर्ने प्रयास गरे । तर, त्यतिबेलासम्म धेरै पल्टनमा गुप्त समाजका नेताहरू पक्राउ परिसकेका थिए । अन्य सहरका विद्रोहीहरूसँग जोडिने प्रयास गर्दागर्दै अन्ततः जनवरी १५ का दिन विद्रोही सेना जारसमर्थक पल्टनहरूको घेरामा प¥यो । युद्धको क्रममा ३ विद्रोही अफिसर र ६० सैनिक जवानको मृत्यु भयो । विद्रोहका नेता सेर्गेइ मुराभ्योभ गम्भीर घाइते बने । नेतृत्वको अभावमा विद्रोही सेना तितरबितर भयो । सेर्गेइ र मात्भेइ मुराभ्योभलाई पक्राउ गरियो र पिटर्सबर्ग पठाइयो । सेर्गेइ जारसामु कहिल्यै झुकेनन् । पिटर्सबर्गको पिटर–पाउल किल्लामा कैद गरिएका विद्रोहीहरूको निम्ति सेर्गेइ निरन्तर ऊर्जाको स्रोत बनिरहे । सेर्गेइले अन्तिम समयसम्म पनि विद्रोह र बलिदानको औचित्यबारे सम्झाउँदै जेलमा रहेका आफ्ना सहकर्मीहरूलाई उत्साहित गरिरहे ।
संयोगले विद्रोहको समयमा तीन भाइ एकै ठाउँ आएका थिए । १९ वर्षका कान्छा भाइ विद्रोहमै मारिए भने २९ वर्षका सेर्गेइलाई ६ महिनापछि जुलाई १३ का दिन फाँसीमा झुन्ड्याइयो । ३३ वर्षका ठुलो दाजु मात्भेइलाई १२० जना अन्य विद्रोहीसँगै आजीवन निर्वासनमा साइबेरिया पठाइयो । ३० वर्षको लामो साइबेरिया बसाइको क्रममा मात्भेइले साइबेरियाली आदिवासीहरूको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेले । उनी जहाँ–जहाँ पठाइन्थे त्यहाँ–त्यहाँ आदिवासीहरूको निम्ति विद्यालय स्थापना गरेर कक्षा सुरु गरिहाल्थे । सन् १८५६ को आममाफीपछि मात्भेइले मस्कोनजिक एउटा गाउँमा अर्को ३० वर्ष बिताए । उनी नयाँ पुस्ताका क्रान्तिकारीहरूको निम्ति प्रेरणाको स्रोत बनिरहे । ९३ वर्षको उमेरमा १८८६ फेब्रुअरी २१ का दिन मस्कोमा ‘डिसेम्बरवादी बाजे’ मात्भेइ मुराभ्योभ–अपोस्तोलको निधन भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *