भर्खरै :

६० औँ क्युवाली क्रान्ति दिवस: सार्वभौमसत्ता सम्पन्न स्वाधीन समाजवादी देश निर्माण सम्भव छ

हवाना, २ जनवरी । समाजवादी देश क्युवाले नयाँ वर्षको पहिलो दिन जनवरी १ मा ६० औं क्युवाली क्रान्ति दिवस मनायो । राजधानी हवानाबाट झण्डै ९ सय किलोमिटर पूर्वमा रहेको सान्टियागो डी क्युवा सहरमा ६० औं क्रान्ति दिवसको अवसरमा विशेष समारोह आयोजना गरिएको थियो । सान्टियागो डि क्युवा सहरबाट सन् १९५३ मा क्युवाली क्रान्तिका नायक फिडेल क्यास्ट्रोले क्रान्तिको शङ्खघोष गरेका थिए ।
सो अवसरमा सन् २०१८ को अप्रिलमा क्युवाको राष्ट्रपति पदमा निर्वाचित मिगुएल डायज कानलले क्युवामा सामाजिक – आर्थिक सुधार गर्ने क्रममा फिडेल क्यास्ट्रो र राउल क्यास्ट्रोले थालेको क्रान्तिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
“क्युवाली क्रान्ति अपराजयी छ । क्युवाली क्रान्तिको विकास भइरहेको छ र भइरहनेछ । सन् २०१८ क्युवाली जनताको निम्ति कडा मेहनेतको वर्ष रह्यो । क्युवाली जनताले साहस र बुद्धिमत्ताका साथ कडा मिहिनेत गरे । क्युवाली जनताले क्रान्तिलाई अझै अघि बढाउनेछन् ।”, कानलले ट्वीटरमार्फत दिएको सन्देशमा भनेका छन् ।
तीन वर्षको गुरिल्ला युद्धपश्चात् सन् १९५९ को जनवरी १ मा फिडेल क्यास्ट्रो नेतृत्वको सेनाले सान्टियागो डी क्युवा सहर कब्जा गरेको थियो । त्यसअघि नै क्रान्तिकारी सेनाले क्युवाका धेरै प्रान्तमाथि कब्जा जमाइसकेको थियो । अन्ततः क्रान्तिकारी सेनाले संरा अमेरिकी साम्राज्यवादको सहायता प्राप्त फाल्गुनसिओ बाटिस्टालाई देश छोडेर भाग्न बाध्य बनायो । क्युवा क्रान्तिकारी सेनाको नियन्त्रणमा आयो ।
क्युवाली क्रान्तिकारी दस्ताको सहयोगमा फिडेल क्यास्ट्रोमा तत्कालै क्युवाली समाजमा परिवर्तनको प्रक्रिया सुरु गरियो । फिडेलले अघि सारेको समाजवादी आन्दोलन क्युवाली जनताले निकै रुचाए र कार्यान्वयनमा सक्रिय सहयोग गरे ।
क्रान्तिकारी सरकारले धेरै प्रकारका प्रगतिशील सामाजिक सुधारका कार्यक्रम घोषणा ग¥यो । काला जातिका क्युवाली जनतालाई पनि समान अधिकार प्रत्याभूति गरियो । महिलालाई अधिकारसम्पन्न बनाइयो । सञ्चार पूर्वाधार, स्वास्थ्य पूर्वाधार, स्वास्थ्य सेवा, आवास र शिक्षामा सुधार भयो ।
क्रान्ति भएको ६० वर्षपछि आज क्युवाका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा, निःशुल्क र अनिवार्य शिक्षा, खानाको बन्दोबस्त र सुरक्षा सुनिश्चित गरिएको छ ।
“क्रान्तिप्रति हामी आभारी छौँ । आज हामी शान्तिसँग बाँच्न पाएका छौँ ।”, ४८ वर्षका कामदार लुइस पाल्मरले भने । संरा अमेरिकी आर्थिक नाकाबन्दीबीच पनि आज क्युवाली जनताले निःशुल्क स्वास्थ्य सेवा र शिक्षा तथा अन्य आधारभूत आवश्यकता उपभोग गरिरहेका छन् ।
सन् १९९० को दसकमा क्युवा आंशिकरूपमा आर्थिक सङ्कटमा फसेको थियो । तर, आज क्युवाले आफ्नो आर्थिक नीतिमा केही सुधार गरेको छ । विदेशी लगानी, पर्यटन, केही निजी क्षेत्रलाई क्युवाली बजार आंशिकरूपमा खुला गरेको छ । केही बजारकेन्द्रित सुधारका नीतिगत परिवर्तन गरिएको छ ।
बितेका दुई दसकमा हवानाले ल्याटिन अमेरिका तथा क्यारिबियाली देशहरूका साथै संसारसँग राजनीतिक र आर्थिक सम्बन्धमा विविधीकरण गरिरहेको छ । क्युवा ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रको कूटनीतिको प्रमुख देश पनि हो ।
“हरेक देशसँग राम्रो र नराम्रा पक्ष भएजस्तै पनि हाम्रा पनि राम्रा र नराम्रा पक्ष छन् । तर बितेका छ दसकमा क्युवाले सार्वभौमिकता र स्वाधीनताका साथ समाजवादी देश निर्माण गर्न सम्भव भएको कुरा पुष्टि गेको छ ।”, ५६ वर्षकी सरकारी कर्मचारी मेरिया चाकोनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *