भर्खरै :

१८४८ को मागपत्रको आन्दोलन

१८४८ को मागपत्रको आन्दोलन

सन् १८४२ मा मजदुरहरूको पहिलो मागपत्रको आन्दोलनलाई दबाइदिए पनि मजदुरहरूको स्थितिमा कुनै परिवर्तन भएन । त्यसकारण, आन्दोलनको बीउ बाँकी नै थियो । १८४७ मा झन्झन् नयाँ सङ्कट आइपर्यो† त्यो अति उत्पादनको सङ्कट थियो । पुँजीपतिवर्गले धेरै नाफा खान धेरै–धेरै मालसामान बनायो । तर, जनतासँग किन्ने क्षमता थिएन । पुँजीको धेरै भाग अथवा सबै पैसा उत्पादनमा लगाइसकेको थियो । पुँजी सबै फसेको थियो । यसकारण, व्यापार बन्द हुन थाल्यो । कारखानाहरू बन्द हुन थाले । मजदुरहरूले काम पाएनन् र सबै बेकार हुँदै गए । तिनीहरूको आर्थिक स्थिति सा¥है खराब हुँदै थियो ।
त्यसले गर्दा खानको निम्ति मजदुरहरूले आफूसँग भएको सानातिना सामान बेच्न थाले । लुगाफाटा बन्धक राख्न थाले । लगाउने लुगा नभएर मजदुरहरूका केटाकेटी स्कूल जान छोडे । जहान बच्चा भोकभोकै मर्न थाले । तर पनि सरकारले बेकारी र भोका जनताबाट हुने उपद्रो रोक्न र चाहिने बेलामा ज्यामी पाउन अलि–अलि पैसा दिएर राख्दथ्यो । त्यो हाम्रो देशमा भन्डारा ख्वाउने जस्तै थियो । पशुपति र विभिन्न मठ–मन्दिरमा दिनका दिन वा बेला–बेला गरिब जनतालाई दया गरेर ख्वाएको जस्तो देखिन्छ† वास्तवमा कुरो त्यो थिएन । गरिब जनताले धेरै दुःख सहन सकेन भने विद्रोह गर्न थाल्छन् । विद्रोह गरेनन् भने बिरामी हुन्छन् वा भोकै मर्दछन् । विद्रोह गर्दा शोषकवर्गलाई नोक्सान हुन्छ । बिरामी र भोकै मर्दा शोषकवर्गले चाहिने समयमा काम गराउन ज्यामी पाउँदैन, ज्यामी नपाएपछि तिनीहरूको नाफा घट्छ । यो कुरो मानिसले घरमा पशु पाले जस्तै हो । बाख्रा–बाख्री मर्दा आफ्नै नोक्सान हुने भएकोले मात्रै तिनीहरूलाई मानिसले घाँस ख्वाउने गर्छन् । बस् त्यस्तै, पछि काममा लिन पुँजीपति सरकारले ‘भन्डारा’ ख्वाए जस्तै बेलायतमा ‘गरिब दर’ दिने चलन थियो । त्यसलाई गरिबी भत्ता पनि भन्ने गरिन्थ्यो । तर, त्यति पैसाबाट त मजदुरहरूले मुस्किलले एक छाक नुनपानी खानमात्र सक्थे । त्यो खालि धोखा दिने वा जनताको विद्रोह दबाउने जाल मात्रै थियो । यस कुरालाई बेलायतका मजदुरहरूले बुझ्न थालेका थिए । त्यसबेला फ्रान्समा पनि मजदुरवर्गले पुँजीपति सरकारसँग बन्दुक लिएर सङ्घर्ष गरेका थिए । त्यस खबरले बेलायतका मजदुरहरूलाई पनि लड्नमा बल दिएको थियो । यसकारण, १८४२ मा असफल भएको ‘मागपत्र’ को आन्दोलन फेरि उठ्न थाल्यो ।
बेलायतमा ल्वेक बोर्न भन्ने एउटा ठाउँ थियो । एक दिन त्यहाँ बेकारी मजदुरहरू एक ठाउँमा भेला भए । तिनीहरू जुलुस जस्तै मिलेर त्यहाँ ‘गरिब ऐन कार्यालय’ मा गए । जुलुसले त्यहाँ एउटा निवेदन दियो । त्यसमा लेखिएको थियो :
“महाशयहरू, अहिले ‘गरिब दर’ अब छलकपटबाहेक अरू केही पनि रहेन । त्यो त हाम्रो दुःखकष्ट बढाउने र यसलाई लम्ब्याउने उपायमात्रै हो ……. । उतातिर पसलहरू खानेकुराले भरिभराउ छन् । यतातिर हाम्रा परिवार भोकै मरिरहेका छन् । यो हेरिरहन सक्दैनौँ ।”
त्यसबेला फेरि ठाउँ–ठाउँमा मजदुरहरू सङ्गठित हुन थाले । बेलायतका हरेक औद्योगिक क्षेत्रमा सङ्घर्षका फिलिङ्गाहरू देखिन थाले । राजधानी लन्डनमा देशभरका मजदुर प्रतिनिधिहरू भेला भए । फेरि एकचोटी मागपत्रमा सही छाप गर्ने आन्दोलन चलाउन थाले । मागपत्रमा ५० लाख जनताले हस्ताक्षर गरेका थिए ।
१० अप्रिल १८४८ मा एउटा ठुलो जुलुसले ५० लाख जनताको हस्ताक्षर भएको त्यो मागपत्रको बाकसलाई २० जना मानिसले बोकेर संसद्मा लग्यो । त्यस मागपत्रमा एउटा नयाँ कुरो थियो । पुँजीपतिवर्गले सधैँ अस्वीकार गर्दै आएको निवेदन या बिन्तिपत्रको मागलाई संसद्ले स्वीकार गर्ने हो वा राज्यशक्ति कब्जा गर्न कामदारवर्गले विद्रोह सुरु गर्नुपर्ने हो भनेर त्यसमा प्रश्न गरिएको थियो । त्यस प्रदर्शनमा ५ लाख मानिसहरूले भाग लिएका थिए ।
मजदुरवर्गमा समाजवादी विचारधारा बढ्दै गएको कुरालाई पुँजीपतिवर्गले देखिरहेको थियो । ‘उत्तरी तारा’ भन्ने तिनीहरूको मुखपत्रको प्रभाव बढ्दै गएको थियो । सशस्त्र सङ्घर्षबाट सत्ता कब्जा गर्न माक्र्सवादीहरू अगाडि बढिरहेको कुरो बेलायती पुँजीपतिवर्गले थाहा पाउँदै थियो । यसकारण, पुँजीपतिवर्गले मजदुरहरूको विद्रोहको डरले लन्डनमा झन्डै २ लाख सिपाही या पल्टनका जवानहरू थुपारेको थियो । छाउनी र मुख्यमुख्य बाटाघाटा र सरकारी भवनहरूमा लड्नको निम्ति मोर्चाहरू बनाइएको थियो । जहाँतही तोप र बन्दुक तेस्र्याइएको थियो । हुल्याहा र गुण्डाहरूलाई पुँजीपतिवर्गले ‘स्वयम्सेवक’ भनेर सङ्गठित गरेको थियो । ती आवारा गुण्डाहरूको जत्थालाई पुँजीपतिवर्गले हातहतियारले सज्जित पारेको थियो । त्यस प्रदर्शनलाई सरकारले कानुनविरोधी घोषणा ग¥यो ।
यता मजदुरहरू मर्न र मेट्नको निम्ति तयार थिए । तर, प्रदर्शनका मुख्य सङ्गठनकर्ता ओकोनोर आफैँ डराए । प्रदर्शन गर्ने निधो भए पनि मजदुरहरूलाई घर फर्कन र प्रदर्शन नगर्न बिन्ती गर्न थाले । शान्तिपूर्वक निवेदनलाई संसद्मा लगियो । तर, संसद्ले त्यसलाई फेरि एकचोटि लत्याइदियो । यसप्रकार ‘भौतिक शक्ति’ मा विश्वास गर्ने ओकोनोरको ‘नैतिक शक्ति’ कमजोर साबित भयो । यसरी १२ अप्रिल १८४८ को प्रदर्शन असफल भएपछि आन्दोलन सेलाउन थाल्यो र अन्त्यमा हारमा फेरियो ।
आन्दोलनका असफलताका कारणहरू
बेलायत त्यसबेला संसारको सबभन्दा ठुलो पुँजीवादी देशमा विकास भइरहेको थियो । त्यसले संसारमा सबभन्दा बढी उपनिवेश कब्जा गरिसकेको थियो । धेरै देश उसको उपनिवेश हुँदा त्यहाँबाट उसले सस्तोमा कच्चा सामान ल्याउँथ्यो र महँगोमा तयारी माल बेच्थ्यो । फेरि उपनिवेशका जनतालाई सस्तोमा ज्यामी लगाउँथ्यो । यसले गर्दा उसले अरू पुँजीवादी देशहरूले भन्दा सस्तोमा सामान बेच्न सक्थ्यो । यसरी बेलायतले संसारको बजार कब्जा गर्न सक्यो र बेलायती पुँजीपतिवर्गले अकुत नाफा कमायो । नाफाको केही भाग माथिल्ला मजदुरहरूलाई पनि दिन थाल्यो । अथवा, माथिल्ला मजदुरहरूको ज्याला र भत्ता बढाएर तिनीहरूको जीवनलाई पुँजीवादीकरण गरिदियो । यसकारण, माथिल्लो मजदुरवर्गमा क्रान्तिकारी भावना घट्न थाल्यो । तिनीहरू आन्दोलनलाई सशस्त्र विद्रोहमा नफेरि शान्तिपूर्ण ढङ्गले चलाउन चाहन्थे । तिनीहरू पुँजीपतिवर्गसँग सम्झौता गर्न चाहन्थे । आन्दोलनमा त्यस्ता तत्वहरूको प्रभाव बढी थियो ।
आन्दोलनका केही नेताहरू समाजवादलाई मन पराउँथे । तर, समाजवाद कसरी आउँछ भन्ने कुरो तिनीहरूलाई थाहा थिएन । बेलायतले हजारौँ र लाखौँ मजदुरहरूलाई क्यानडा, संयुक्त राज्य अमेरिका र अस्ट्रेलियाजस्ता काम पाइने ठाउँमा पठाइदिए । ती देशहरू बेलायतभन्दा धेरै ठुलो र बाँझो जग्गाले भरिएका थिए । खेती, बन्द व्यापार र खानीको विकास भइरहेको थियो । बाहिरबाट त्यहाँ गएका मजदुरहरूले काम–माम पाउन थाले । ती ठाउँमा सक्रिय मजदुर कार्यकर्ताहरू पनि गए । त्यसले गर्दा मजदुरवर्गमा काम गर्ने कार्यकर्ताहरू कम हुन गयो । पुँजीपतिहरूको घुस खाने मजदुर नेताहरूको गतिविधि बढ्यो । अर्को एउटा मुख्य कुरो, त्यसबेला बेलायतमा कुनै लडाकु क्रान्तिकारी राजनीतिक पार्टी थिएन ।
मजदुरवर्गमा राजनीतिक गतिविधिको अनुभवको कमी थियो । त्यसो हुँदा आन्दोलनभित्र अनेक विरोधी तत्व घुस्न पुगे । तिनीहरूले जाली हस्ताक्षर गराएर आन्दोलनलाई समेत बदनाम गराए । एक–आपसमा फुटाउने र जुधाउने काम पनि गर्दै गए । राजनीतिक चेतना र गतिविधिको अभावले गर्दा बेलायतको मजदुरवर्गमा आलोचनात्मक दृष्टिकोणको विकास भैसकेको थिएन ।
बेलायती मजदुरहरूको ‘मागपत्रका आन्दोलन’ असफल हुनुका कारणहरू यिनै हुन् । फेरि सन् १८५२ तिर बेलायतले अलि–अलि बाधा भोग्दै उल्लेखनीय आर्थिक प्रगति ग¥यो । त्यस प्रगतिले पुँजीपतिवर्गलाई विदेशका जनता चुसेर ल्याएको नाफाबाट मजदुरको केही ज्याला बढाउन सफल भयो । यी सबै कारणले गर्दा बेलायती कामदार वर्गको त्यो आन्दोलन बिस्तारै सेलाएर गयो ।
मागपत्रको आन्दोलनको महत्व
बेलायतका मजदुरहरूको मागपत्रको आन्दोलन असफल भए पनि त्यस आन्दोलनको ठुलो महत्व थियो । त्यस आन्दोलनका केही कमजोरीहरू भए पनि संसारमा यसको ठुलो प्रभाव परेको थियो । यसले बेलायतका व्यापक मजदुरलाई आन्दोलनमा भाग लिन लगाएको थियो । साँचो अर्थमा त्यो जनआन्दोलन थियो । राजनीतिकरूपले त्यो सर्वहारावर्गको आन्दोलन थियो ।
त्यस आन्दोलनबाट सबै सामन्ती र पुँजीपतिवर्गको विरोधमा मजदुरवर्गले स्वतन्त्र किसिमबाट राजनीतिक सङ्घर्ष गर्न सिके ।
यस आन्दोलनमा माक्र्स र एङ्गेल्सको प्रभाव परेका समाजवादीहरू पनि थिए । तिनीहरूले माग पूरा गर्न निर्णायक वा छिनोफानो हुने गरी सङ्घर्ष गर्न बल दिएका थिए । तिनीहरूले ‘अरू देशका क्रान्तिकारी मजदुरहरूसँग पनि एक हुनुपर्छ’ भनेर जोड दिएका थिए ।
सन् १८४७ मा यस आन्दोलनका आन्दोलनकारीहरूले स्वास्नी मानिसहरू र केटाकेटीलाई १० घण्टामात्रै काम गराउनुपर्ने माग गरेका थिए । तर, आन्दोलनको दबाबले पछि पुँजीपतिवर्गले लोग्ने मानिसलाई समेत १० घण्टाको कामको समय तय ग¥यो । त्यस आन्दोलनबाट मजदुरहरूले यस्तै अरू सानातिना सहुलियत पाए र आन्दोलन गर्न सिके । त्यसले बेलायत र संसारको मजदुर आन्दोलनलाई बाटो देखाएको थियो ।
त्यो बाटो हो । व्यापक मजदुरवर्ग एक भएर आफ्नो वर्गको निम्ति राजनीतिक सङ्घर्ष गर्नु, शोषकवर्गको विरोधमा सर्वहारावर्गको स्वतन्त्र राजनीतिक आन्दोलन गर्नु र संसारभरिका मजदुरहरूसँग एक हुनु । यो नै बेलायतका मजदुरहरूको ‘मागपत्रको आन्दोलन’ को महत्व र शिक्षा हो ।
‘मागपत्र’ को आन्दोलनलाई अङ्ग्रेजीमा ‘चार्टिस्ट’ आन्दोलन भनिन्छ । मागपत्रको आन्दोलन नै मजदुरवर्गको स्वतन्त्र राजनीतिक पार्टीको बीउ थियो ।

विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरूबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *