भर्खरै :

इलामको उपनिर्वाचनलाई सम्झँदा – २

इलामको उपनिर्वाचनलाई सम्झँदा – २

वैशाख ९ गतेका दिन बिहान सबेरै नास्ता खाएर केही साथीहरू पर्यटकीय क्षेत्र पाथीभरा मन्दिर अध्ययनको लागि गए । हामी केही साथीहरू देउमाई नगरपालिकाका पहिरे भञ्जाङ, शान्ति डाँडा, गाग्रो भञ्जाङ, जितपुर, पानीटार, नवमी, अरूबोरे, सिद्धथुम्कामा घरदैलो कार्यक्रममा लाग्यौँ । शान्ति डाँडामा एकजना दिदीसँग भेट भयो । दिदीका श्रीमान् रोजगारीको सिलसिलामा विदेश गएका रहेछन् । घरमा छोराछोरीमात्र थिए । दिदी स्थानीय निकायको निर्वाचनमा काङ्ग्रेसबाट दलित वडा सदस्यमा उठेकी रहिछन् । हामीले नेपाल मजदुर किसान पार्टीको विषयमा उनीसँग छलफल ग¥यौँ । अध्ययनका लागि उनलाई केही पार्टी प्रकाशन दियौँ ।
त्यसपछि हामी पानीटार गयौँ । एकजना स्थानीय दिदीले पानीटार चिया बगान कन्यामको भन्दा निकै राम्रोे छ भनेपछि हामी त्यहाँ जाने सोच्यौँ । पानीटारको चिया बगान हेरौँ । राम्रो चिया बगान रहेछ । चिया बनाउने कारखाना पनि गयौँ । चियापत्ती थुपारेर राखेको थियो । हामीले साहुजीसँग सोध्यौँ, कोठाभरि यतिका चियापत्ती किन थुपारेर राख्नुभएको ? उनीले भन्नुभयो, “नबिकेर राखेको जति बिक्री हुन्छ त्यसको पनि समयमै पैसा आउँदैन ।” हामीले पर्चा र घोषणापत्र दियौँ ।
उम्मेदवार श्याम दाइले भन्नुभयो, “किसानहरूको समस्या आज पनि त्यस्तै छ । जबसम्म काम गरी खाने जनताका प्रतिनिधि सत्तामा पुग्दैनन् तबसम्म कामदार जनताले सुख पाउने छैनन् । कामदार वर्गमाथि शोषण गर्नु नै पुँजीवादी व्यवस्थाको विशेषता हो । त्यसकारण, नेमकिपाको मादल चिह्नमा मतदान गर्नुपर्छ ।” कारखानामा थरीथरीका चियापत्ती रहेछन् । हामीले सबैभन्दा राम्रो चिया २ किलो किन्यौँ । त्यहाँबाट बिदा मागी जितपुरतिर लाग्यौँ ।
जितपुरमा एउटा कपडा पसलमा भोट माग्ने क्रममा एकजना दिदीसँग भेट भयो । उनका श्रीमान् पनि विदेशमा रहेछन् । उनले शासक पार्टीहरूले अहिलेसम्म केही नगरेको र आफ्नो व्यक्तिगत स्वार्थमा लागेको गुनासो सुनाइन् । हामीले उनलाई पार्टीको घोषणापत्र र पर्चा दियौँ । हामीले भन्यौँ, “अब शासक दललाई मत दिनु हुन्न । नेमकिपाको मादल चिह्नमा मतदान दिनुपर्छ । शासक दलहरूले देशघाती नागरिकता विधेयक, एमसीसी सम्झौतालगायत देशका ठुलठुला नदीनाला विदेशीलाई सुम्पिसकेका छन् ।” त्यसपछि हामी सिद्धथुम्काको एउटा होटलमा खाना खानको लागि रोक्यौँ ।


बिहानको १२ः३० बजिसकेको थियो । घाम चर्किसकेको थियो । होटलमा खाना बनुञ्जेल केही समय पर्चा बाँड्यौँ । खाना खाइसकेपछि हामी माङसेबुङ गाउँपालिकातिर लाग्यौँ । होटलका साहुजी पनि हाम्रै गाडीमा तल भञ्जाङसम्म गए । गाडीमा होटल साहुसँग कुरा भयो । उनी पहिले नेपाली काङ्ग्रेसको क्षेत्रीय प्रतिनिधि रहेछन् । काङ्ग्रेसको राजनीतिबाट वाक्कदिक्क लागेर निष्कृय भएको उनले बताए । बीपीको समाजवादी प्रजातन्त्र र एमालेको जबजको विषयमा उनले हामीलाई सुनाइरहे । छोटो यात्रामा उनले फ्रान्सको पेरिस कम्युन, जर्मनीको मजदुर आन्दोलनदेखि रुसको अक्टोबर क्रान्तिसम्मको विषयवस्तु बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा अध्ययन गरेको कुरा कुराकानीबाट थाहा भयो । हामीले उनलाई पार्टी अध्यक्ष रोहितको अन्तर्वार्तासङ्ग्रह ‘समय र विचार’ दियौँ र पछि भेट्ने वाचासहित उनी गाडीबाट ओर्ले ।
सिद्धथुम्काबाट माङसेबुङ गाउँपालिका पुग्न चार घण्टा लाग्यो । बाटो खाल्डाखुल्डी र धुलाम्मे थियो । धुलोले गर्दा अगाडिको बाटोसमेत नदेखिने अवस्था थियो । हामी गाडीको पछाडि बसेका थियौँ । हाम्रा साथीहरूको हालत के हुने भन्ने ठेगान थिएन । खाल्डाखुल्डीले गर्दा गाडीको यात्रा कठिनाइपूर्ण भयो ।
माङसेबुङ जाँदै गर्दा बिच बाटोमा (मुढा चिह्न) पहिचानवादीका स्वतन्त्र उम्मेदवार लिएका चुनावीसभा भइरहेको थियो । चतुरे बजारमा केही समय रोकेर हामीले उम्मेदवारका दाजु र भाउजूलाई भेट्यौँ । बेलुका ७ः३० बजे हामी माङसेबुङ गाउँपालिका पुग्यौँ । माङसेबुङ गाउँपालिका किराँती धर्मावलम्बीहरूको प्रमुख थलोका रूपमा लिइन्छ । किराँत धर्मका गुरु फाल्गुनन्द लिङ्देनको मृत्युपछि उनका नाति आनन्द लिङ्देनलाई किराँत धर्मको गुरु मानिँदो रहेछ ।


माङसेबुङ गाउँपालिकालाई माछा–मासु, जाँड–रक्सी, चुरोट, खैनीजन्य पदार्थ खान र बेच्न निषेधित क्षेत्र घोषणा गरेको रहेछ । त्यहाँ रैथाने वा पर्यटक जो कोहीले पनि त्यस क्षेत्रमा यी निषेधित पदार्थ सेवन गरेको थाहा पाएमा कारबाही हुने रहेछ । हातखुट्टा धोएर केही समय आराम गरेपछि खाना खान गयौँ । खाना खाएर भोलिका लागि सामग्री तयार गरी सुत्यौँ ।
पाँचौँ दिन १० गते बिहान चिया खाइसकेपछि घरदैलो गर्दै जाँदा हामी किराँती धर्मावलम्बीहरूका गुरुको आश्रममा पुग्यौँ । गुरुलाई भेट्न उनको आश्रममा गयौँ । उनीसँग भेट्नको लागि बार मिलाउनुपर्ने रहेछ । १० गते सोमबार छोरीको विवाहको तयारीका कारण गुरुसँग हाम्रो भेट भएन । त्यसपछि पर्चा बाँड्दै अघि लाग्यौँ । काठ नै काठले बनाएका घरहरू मनोरम देखिन्थे । एकजना आमा आलुचप बनाउँदै हुनुहुन्थ्यो । हामीले १५० रूपैयाँको आलुचप किन्यौँ । मौलिक शैलीमा बनाएको स्थानीय अचारसँग आलुचप खायौँ । हाम्रो प्रचार अभियान अगाडि बढ्यो ।
एउटा घरमा माटाका गमलाहरू देखेर हामीले नजिकै बसिरहेका दाइलाई सोध्यौँ, “तपाईँले यी माटाका गमलाहरू कहाँबाट ल्याउनुभएको ?” भित्रबाट एकजना दिदी बाहिर आउनुभयो र भन्नुभयो, “भक्तपुरबाट ल्याएको हो ।” भक्तपुर भनेपछि हामी उहाँसँग कुरा गर्न अलि नजिक गयौँ । उहाँको माइत भक्तपुरको कटुञ्जेमा रहेछ । अझ उहाँ हामीले चिनेका बखुन्छँे दाइको घर नजिकैको भन्ने थाहा भयो । केही समयको भलाकुसारीपछि हामी त्यहाँबाट बिदा मागेर घरदैलोमा लाग्यौँ ।


हामी माङसेबुङको भालुटार हुँदै माङसेबुङ स्वास्थ्य चौकीमा पुग्यौँ । स्वास्थ्य चौकीमा हामीले के कस्तो अवस्था छ भनेर जानकारी लियौँ । ५ शøयाको अस्थायी अस्पताल बनाइसकेको स्वास्थ्य चौकीलाई नगरस्तरीय अस्पताल बनाउने योजना रहेको स्वास्थ्यकर्मीहरूले बताए । हामीले हाम्रो प्रेसर जाँच गरायौँ । केही पुरिया जीवनजल र मास्क निःशुल्क उपलब्ध भयो । धुलोको कारण बखुन्छेँ दाइको आँखा रातो भएकोले ‘आइड्रम’ दिनुभयो । स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिँदै त्यहाँबाट घरदैलो गरेर हामी फाकफुकथुम गाउँपालिका जाने तयारी गर्न थाल्यौँ । बाटो राम्रो नभएको र गाडीमा डिजेल कम हुनाले हामी फाकफुकथुम जान सकेनौँ । साँझ ७ बजेतिर हामी होटल पुग्यौँ । आराम गरेर हामीले भोलि कुन–कुन क्षेत्रमा प्रचार गर्ने भनी छलफल ग¥यौँ । खाना तयार भएको खबर आएपछि खाना खाएर हाम्रो आराम गर्न कोठामा गयौँ ।
छैटौँ दिन ११ गते बिहान हामी प्रचारको लागि चिया खाएर तयार हुँदै थियाँै । गाडीको चाबी नभेटेपछि केही घण्टा ढिला भयो । नयाँ चाबी बनाउन कालिगड बोलाउनुपर्ने भयो । कालिगडलाई कुर्दै गर्दा खाना तयार भइसकेको थियो । खाना खाइसकेपछि चाबी पनि बन्यो र हामी चुलाचुलीमा प्रचारको लागि निस्कियौँ । चुलाचुली वडा नं १ को राई टोलमा एकजना मोटो शरीर भएका दाजु ठुलो स्वरमा कराउँदै हामीतिर आए । ती दाजुलाई हाम्रा साथीहरूले छलफलमा डाके । गर्मीका कारण ती दाजुले माथिको लुगा लगाएका थिएनन् । उनले ‘लुगा लगाएर आउँछु’ भने साथीहरूले तानेर छलफलमा ल्याए । मोटा दाजुले भने “यति नै हो कि अरू पनि छ ? छ भने बोलाउनू ।” त्यसपछि मैले हाम्रो पार्टीको धारणा तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा कुरा राखेँ । उनले सुनिरहे सायद मेरो कुराले मनमा छोयो होला । सुरुमा जङ्गिरका मान्छे पछि शान्त भए । उनले गुनासो गरे, “तपार्इँहरू सधँै आउनुप¥यो, एकचोटि आएर हुँदैन । पछि परिचय गर्ने क्रममा पहिले केही समय भक्तपुरको राधेराधेमा काम गरेको सुनाए । पछि भेट्न सहमतिमा हामीले उनको सम्पर्क नम्बर लियौँ र हाम्रो पनि दियौँ । त्यसपछि अलि वर राई टोलको मुख्य बजारमै एकजना दाजु बसिरहेका थिए । हामीले उनलाई पार्टीको घोषणापत्र र पर्चा दिन गयौँ । उनले म प्रेम सुवालको फ्यान हो भने । उनले संसद्मा प्रेम दाइले बोल्नुभएको प्रायःजसो सबै रेकर्ड हेर्ने गरेको बताए । त्यसपछि हामीले उनको विषयमा सोध्यौँ । उनले माओवादी चुलाचुली नगर समितिको अध्यक्षबाट राजीनामा दिएर बसेको सुनाए । पार्टीको कार्यशैली र व्यक्तिगत स्वार्थमा नेताहरू लागेको देखेर आफूलाई चित्त नबुझेकोले पार्टीबाट राजीनामा दिएको उनले भने । छलफल गर्दागर्दै साँझ भइसकेको हुनाले हामी होटलमा फर्कियौँ । होटलमा राति १२ बजेसम्म सिंहावलोकन बैठक बस्यौँ । बैठकमा सबैजनाले आ–आफ्नो अनुभव सुनाए । त्यसपछि मोरङ र उदयपुर जिल्लाका साथीहरूसँग सम्पर्क भयो । उनीहरूले कार्यक्रमको तयारी गरे र हामी तीन जना उक्त कार्यक्रमका लागि हिँड्यौँ । बाँकी साथीहरू घर फर्के । निर्वाचनमा सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद गर्दछौँ ।

–समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *