भर्खरै :

जुगेडी किसान सङ्घर्षका एक योद्धा ः पदमबहादुर गुरुङ

राजकुमार श्रेष्ठ
पदमबहादुर गुरुङ जुगेडी किसान सङ्घर्षका एक योद्धा हुनुहुन्छ । वि.संं १९९६ मा चितवनको तत्कालीन चण्डीभञ्ज्याङ पञ्चायतमा उहाँको जन्म भएको हो । हाल उहाँ कालिका नगरपालिका वडा नं. ८ स्थित गैरीबारी गाउँमा बस्दै आउनुभएको छ । पञ्चायत कालमा उहाँले अन्डर म्याट्रिकसम्मको शिक्षा हासिल गर्नुभयो । अहिले गुरुङ ८१ वर्ष पुग्नुभयो । सुगर र प्रेसर रोग भएकाले उहाँ अहिले आँखा कम देख्नुहुन्छ । उहाँको साथमा कान्छी श्रीमती, ४ छोरा, एक छोरी र नातिनातिनाहरू हुनुहुन्छ ।
वि.सं. २०२२ मा चण्डीभञ्ज्याङ गाउँ पञ्चायतमा सचिव भएर उहाँले सेवा गर्नुभयो । पञ्चायतको कार्यशैली र जनताप्रतिको क्रुर व्यवहारलाई उहाँले पटक्कै मन पराउनुभएन । जनतामाथि हुने अन्याय र अत्याचारले गुरुङलाई पञ्चायतको सेवक भई बस्न मनै लागेन । पञ्चायतको विरोध गर्न ६ वर्ष काम गरेर उहाँले पञ्चायती वडासचिव पद त्याग्नुभयो । वि.संं. २०२८ मा नेपाल कम्युनिष्ट पार्टीको प्रभावले गुरुङ अखिल नेपाल राष्ट्रिय किसान सङ्गठनमा संलग्न हुनुभयो । नारायणमान बिजुक्छें (रोहित) को निर्देशनमा चितवन जिल्लामा किसान सङ्गठनको नेतृत्वमा भएको सङ्घर्षमा उहाँले सक्रिय सहभागिता जनाउनुभयो । पञ्चायतको दमनकारी नीति र कार्यशैलीले गाउँका गरिब किसानहरूमाझ सङ्गठनको निर्देशनमा रहेर गुप्त तरिकाले प्रचार–प्रसार, सचेतना र सङ्गठन निर्माणमा उहाँ लाग्नुभयो ।
चितवनको पहाडी इलाकाहरूमा चेपाङ, गुरुङ, मगर, दमाई, कामी, तामाङ, क्षेत्री लगायतका मानिसहरूको बसोबास थियो । पाखा, खोरियाबाट उत्पादन भएको अन्नबालीले गरिब किसानहरूलाई ६ महिना काट्न पनि गा¥हो हुन्थ्यो । चेपाङ जातिलाई भने नयाँ बाली भित्याएको ३ महिना नकट्दै खान पुग्दैनथ्यो । त्यस्तो अवस्थामा पनि ती गरिब किसानहरूले साहुलाई चर्को व्याज, मालपोत, बचत र अनेकथरी कर तिनुपर्दथ्यो । खडेरी परेको वर्ष हुनाले जनतालाई थप भोकमरीले सताउँथ्यो । वन जङ्गलमा कन्दमूल पनि सकिएको अवस्था थियो । भोकमरीमा परेको जनतालाई पञ्चायत सरकारले झन् दबाउँदै थियो । क्रुर पञ्चायती दमनकारी सरकार र शोषक सामन्तीको व्यवहारले भोका जनताको लागि सङ्घर्ष गर्नु नै अन्तिम उपाय बन्न पुग्यो ।
संशोधनवाद र अवसरवादको विरोधमा नारायणमान बिजुक्छेँ (रोहित) को नेतृत्वमा वि.सं. २०३१ माघ १० गते नेपाल मजदुर किसान सङ्गठन गठन भयो । सोही सङ्गठनअन्तर्गतको नेपाल क्रान्तिकारी किसान सङ्गठनमा उहाँ सक्रियरूपमा लाग्नुभयो । चितवनका धैरै क्षेत्रहरूमा सुकुमवासी बस्ती थिए । सुकुमवासी गरिब जनतालाई वन र गैंडा गस्तीका हवलदार र सिपाहींहरूले शोषक सामन्तीसँग मिलेर बरोबर दुःख दिने गर्दथे । जनताको धनमाल लुट्ने, बिगार्ने, झुपडी भत्काउने, सुकुमवासी जनतामाथि धावा बोल्नेजस्ता अमानवीय व्यवहारहरू पञ्चायतका ‘रक्षक’हरूले गर्दथे । नेपाल क्रान्तिकारी किसान सङ्गठनको नेतृत्वमा शोषक–सामन्तको विरोधमा आन्दोलन, छाडा साहुको विरोधमा आन्दोलन, साँढे धपाउ आन्दोलन, बाली काट्ने आन्दोलन, भ्रष्टाचारविरोधी किसान सङ्घर्षलगायत गरिब किसानहरूको हितको लागि थुप्रै सङ्घर्षहरू भए ।
त्यसैक्रममा वि.संं. २०३४ असार ५ गते रातको समय थियो । चितवनका तत्कालीन दारेचोक, सिद्धी, काउले, गढी, कविलासलगायत गाउँ पञ्चायतका भोका, नाङ्गा किसानहरू तत्कालीन नेपाल क्रान्तिकारी किसान सङ्गठनको निर्देशनमा शोषक सामन्तीको अन्नको भण्डारण कब्जा गर्नको लागि पूर्व तयारीमा लागे । रातभर पानी परेको थियो । बिजुली चम्कावटको उज्यालोलाई साथ लिँदै जङ्गल, भिरपाखोे र खहरे खोला हुँदै जुगेडीतर्फ किसानहरू लागे । पुस्तौंदेखिका शोषकको भकारी कब्जा गर्न झण्डै ७÷८ सय पञ्चायत पीडित जनता हातहतियार, सरसामान हाल्ने थैैलो साथमा लिएर जुगेडी झरेका थिए । सङ्घर्षमा महिला, पुरुष सबै सहभागी भएका थिए ।संघर्षशील जनताहरुलाई समुह–समूहमा विभाजन गरेर जिम्मेवारीको बाँडफाँड गरेका थिए । पदमबहादुर गुरुङले पनि एउटा समूहको नेतृत्व गर्ने अवसर पाउनु भएको थियो ।२०३४ असार ६ गतेको बिहान सर्वप्रथमतः किसानहरू नारायणगढतर्फको बाटो, नारायणी नदीको डुङ्गा, मुग्लिङतर्फको बाटो अवरोध गर्न लागे । शोषक सामन्त्ती धर्मे र घोडे साहु देखेर भोका किसानहरू चिढिएका थिए भने अर्कोतर्फ सङ्गठित क्रान्तिकारी किसानहरू आफ्नो सङ्घर्षलाई देखेर उत्साहित भएका थिए ।
किसानहरूले धर्मे साहुको दुई वटा गाडी रोडमै पल्टाए । शोषक सामन्त्तहरूलाई पनि किसानहरूले कब्जामा लिए । झण्डै बिहानको ९ बजे धर्मे र श्यामेको भकारी कब्जामा लिए । वर्षौदेखि थुपारिएको सम्पति किसानहरूले खोसे । लत्ता, कपडा, धान, चामल, मकै, नुन, तेललगायत तत्काल खान र लाउन मिल्ने सामानहरू पोका, थैलो बनाउँदै एक एक किसानलाई बोकाउँदै पहाडतिर लागे । करिब ४ घण्टा क्रान्तिकारी किसानहरूले जुगेडी बजार कब्जामा लिए । क्रान्तिकारी गीत गाउँदै सो सङ्घर्षमा किसानहरूले ऊर्जा थपेका थिए । शोषक सामन्त्तीको थैलो खोस्न सफल भएका क्रान्तिकारीहरू उत्साहका साथ गाउँतर्फ लागे । भोका किसानहरूले पेट भर्न पाइने आशामा खुसीसाथ जुगेडी बजार छोडे ।
झण्डै ३ घण्टा उकालो हिँडेपछि सिमल डाँडामा खोसेर ल्याएका सबै सामानहरू क्रान्तिकारी किसान सङ्गठनको निर्देशानुसार एकै ठाउँमा जम्मा गरियो । आवश्यकतानुसार सबै भोका जनतालाई सामान वितरण गर्ने तयरी हुँदै थियो । चारैतिर ठाउँ–ठाउँमा सुरक्षा गार्ड राखेर सामान भागबण्डा लाइँदै थिए । एक्कासि बन्दुकको आवाज आयो । जनता तितर–बितर भए । केही किसानहरू रुखमा बसेर गार्डको काम गर्दै थिए । छिटो र सही सूचना नपुग्दा आन्दोलनकारीहरुलाई पुलिसले घेरा हाल्यो । रामनगर वन गस्तीका पुलिसहरूले घेरा हालेका थिए । जुगेडी बजारका शोषक सामन्तीहरूले पल्टाइएको गाडी उठाएर रामनगर पुलिसलाई खबर गरेका थिए । केही सामानहरू किसानहरूको हातमा पुग्यो । भने बाँकी सामान पुलिसले साहुलाई फिर्ता गरे । पुलिसको गोली लागी गार्ड बसेका दशरथ चेपाङ र सन्तबहादुर चेपाङको मृत्यु भयो ।
पदमबहादुर गुरुङलगायत किसान कार्यकर्ताहरू भागाभाग भए । गाउँका सबै जनतालाई पञ्चायती प्रहरीले समाते । गाउँका एक–एक जनतालाई बयान लिँदै छाडे । लुकेर बसेको गुरुङलाई पनि पुलिसले बयान लिएर छाड्ने बुझाइमा घर परिवारले पुलिस चौकीमा बयान दिएर आउन सम्झाए । परिवारको करले गएको गुरुङ पुलिसको हातमा परेपछि उम्कन सकेनन् । पुलिसको रिपोर्टमा पदमबहादुर गुरुङ, टेष्टबहादुर गुरुङ, लक्ष्मण गुरुङलगायतको नाम परिसकेको पछि थाहा भयो । गाउँका मान्छेहरूलाई पैसा दिई फकाएर जुगेडी किसान सङ्घर्षका नेतृत्वकर्ताहरूको नाम पुलिसले लिएका रहेछन् । पञ्चायत प्रशासनले सोझा जनतालाई थप दुःख दिन थाल्यो ।
पदमबहादुर गुरुङले ८ वर्ष पञ्चायतको जेल जीवन बिताउनुभयो । २०४२ सालमा जेलबाट छुट्दा घर परिवार बर्बाद भइसकेको थियो । श्रीमतीले घर छोडिसकेका थियो । घरमा छोरा छोरीहरू अर्कैको भरमा हुर्केका रहेछन् । राजनैतिक सङ्घर्षका योद्धा गुरुङको फेरि अर्को चरणको जीवन सङ्घर्ष सुरु भयो । उहाँ जीवनमा आइपर्ने कठिनाइहरूसँग कति पनि नआतिकन सङ्घर्षलाई अगाडि बढाउन हरदम लाग्नुभयो । आफन्तको सल्लाहनुसार गुरुङको दोस्रो बिहे भयो । ८ वर्षको पञ्चायतको जेल सजायले उहाँको क्रान्तिकारी भावनालाई मार्न सकेको थिएन । तर, पछि क्रान्तिकारी कार्यकर्ताहरूको सम्पर्क नभइदिँदा उहाँको क्रान्तिकारी भावना सेलाउँदै गयो ।
गुरुङ जेलमै हुँदा देशमा जनमत सङ्ग्रह (बहुदल वा निर्दल) को घोषणा भयो । पार्टी केन्द्रले बहुदलको पक्षमा निर्वाचनलाई उपयोग गर्ने लेनिनवादी नीति अगाडि सार्यो तर चितवन जिल्ला नेतृत्व पार्टीको नीति विपरित गएपछि कार्वाही भयो । त्यसैबेला  रातो झण्डा बोकेर रातो झण्डाको विरोध गर्ने तत्कालीन माले र चौमले ती सोझासिधा किसानहरूलाई भ्रममा पार्ने, भड्काउने काम गरे । अहिले नक्कली कम्युनिष्ट पार्टीको प्रभाव गाउँ –गाउँका जनतामाझ देख्दा उहाँ दुःख महसुस गर्नुहुन्छ । नेपाल मजदुर किसान पार्टीको नाम लिएर उहाँको घरमा कोही पुग्दा उहाँ खुसी हुनुहुन्छ । किसान कार्यकर्ता भएर सङ्गठनको काम गर्दा माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा शिक्षा लिने गरेको उहाँ सुनाउनुहुन्छ । चीनको किसान नेता माओ त्सेतुङले भन्नुभएको छ– “जनताको एउटा सानो सियो पनि त्यसै नलिनू ।” तर, नेपालका कम्युनिष्ट भनाउँदाहरू जनतालाई झन् बढी दुःख दिइरहेकोमा उहाँ कति पनि सन्तुष्ट हुनुहुन्न । राणाको इतिहास समेटेको रातो दरबार पुस्तक किसान कार्यकर्ता हुँदा अध्ययन गरेको उहाँ सम्झनुहुन्छ ।
सुन काण्ड, निर्मला पन्तको बलात्कारपछि भएको हत्या, वाइडबडी जहाज खरिदमा भएको अबौंँ भ्रष्टाचारले दुईतिहाइ नेकपा सरकारको चरित्र उद्ङ्याङिएको उहाँ बताउनुहुन्छ । पञ्चायत सरकारले झैं अहिलेको सरकारले जनतालाई पेल्दै गएकोले उहाँलाई दुःख लागेको छ । अहिले समाजमा गरिब झन् गरिब हुँदै गएको र धनी झन् झन् धनी हुँदै गएकोले सङ्घर्ष अनिवार्य भएको उहाँ बताउनुहुन्छ । एक दिन समाजमा आमुल परिवर्तन भएरै छोड्ने उहाँको बुझाइ रहेको छ । सच्चा कम्युनिष्ट पार्टी नेपालमा आवश्यक भएको भन्दै उहाँ नेपालमा नारायणमान बिजुक्छें ‘रोहित’ एक इमानदार नेता भएको मान्नुहुन्छ । पैसा, जागिर खाने कुुराको लोभलालच देखाएर कार्यकर्ता बनाउने र निर्वाचनमा भोट माग्ने पार्टी कम्युनिष्ट पार्टी नहुने गुरुङ भन्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *