भर्खरै :

‘चिट’ चोर्नु गलत संस्कार हो

सविन ख्याजू
एसएलसीको परीक्षाको समय थियो । एकजना सरकारी कर्मचारी मुगु जिल्लामा बसाइको क्रममा थिए । बाटोमा लौरो टेक्दै एक बुढी आमासँग भेट भएको थियो ।
कर्मचारी ः तपार्इं कहाँ हिँड्नुभयो ?
बुढी आमा ः छोरीको परीक्षा छ, त्यहीँ जान ला’ को ।
कर्मचारी ः परीक्षा छोरीको र तपाईं चाहिँ किन नि ?
बुढी आमा ः होइन । छोरीले किताब घरमा छोड्यो । त्यहीँ भएर परीक्षामा लगिदिन लागेको नि ।
“डाक्टरले पेटको अपरेसन गरिसकेपछि बिरामीले केही दिनपछि पेट दुख्यो … । एक्स–रे गर्दा कैची भेटाएको …” समाचार धेरैले सुनेका छन् ।
परीक्षाको अर्थ विद्यार्थीले आफ्नो पढाइको क्रममा निजको सिकाइ मापन गर्ने प्रणाली हो । नेपालमा विद्यार्थीहरूको परीक्षामा चिट चोर्ने संस्कार एक विकृति हो भन्दा फरक नपर्ला । यो राम्रो होइन । चिट चोर्ने परिपाटीबारे शैक्षिक अनुभव भएका सबै जानकार छन् । यसबारे परीक्षा दिने विद्यार्थीहरूलाई थाहा छ । परीक्षा सञ्चालन गर्ने क्याम्पसका कर्मचारीहरूलाई झन् थाहा छ । परीक्षामा सुरक्षार्थ खटिएका प्रहरीहरूलाई पनि थाहा छ ।
नेपालका प्रायः सबै विश्वविद्यालय यस समस्याबाट अछुटो छैनन् । नेपालको सरकारी शिक्षा क्षेत्र चिन्ताजनक स्थितिमा छ । परीक्षामा चिट चोर्ने विषयमा नेपालको शिक्षाको गुणस्तरबारे चिन्ता गर्ने बुद्धिजीवीहरूले बोलेका छन् । विश्वविद्यालयहरूमा विद्यार्थीहरूले अर्काको शोधपत्रको चोरेर परीक्षा दिने गरेको विषयमा नेपालले बेइज्जती कमाएको छ । तर, आवाज सम्बन्धित निकायले सुनेको छैन । यही कारण चिट चोर्ने गलत प्रवृत्ति रोकिएको छैन ।
परीक्षाको समयमा विद्यार्थीले शौचालय, मोबाइल, हात, नाडी, पर्सलगायतमा लेखेर वा बोकेर चिट चोर्ने गर्दछन् ।
शौचालय ः यस ठाउँ चिट चोर्ने विद्यार्थीको निम्ति उत्तम ठाउँ रहँदै आएको छ । तिनीहरूले कापी, किताब, पाना, मोबाइल आदिमध्ये केही न केही बोकेका हुन्छन् । मोटो किताब बोक्दैनन् । ‘प्रयोग गर्ने अनि फाल्ने’ जस्ता सस्तो गाइडबुक बोक्छन् । ती पुस्तकहरू कमसल कागजबाट बनेका हुन्छन् । सुरक्षाकर्मीले देखेर खोसे पनि दुःख नलाग्ने, चिन्ता नलाग्ने खालको । यस्ता प्रकाशन गर्ने प्रकाशकहरूले पनि अप्रत्यक्ष तवरले मद्दत पु¥याएको छ । यस्ता गाइड बुकले विद्यार्थीहरूमा पुस्तक पढ्नुपर्छ भन्ने भावनामा कमी ल्याएको छ ।
मोबाइल ः विश्वविद्यालयहरूको नियमअनुसार परीक्षा हलमा मोबाइल बोक्न पाइन्न । परीक्षा हलमा केही विद्यार्थीहरू चलाखी अपनाउँछन् । प्रश्नका उत्तरहरू मोबाइलमा फोटो खिचेर राख्छन् । परीक्षामा उत्तर हेर्छन्, अनि सार्छन् । केही विद्यार्थी मोबाइलको घडी हेर्नलाई टेबलमा राखेको भन्छन् तर बेला बेला निरीक्षकले चाल नपाउने गरी जवाफ हेर्छन् । कोही राख्ने झोला नभएको बहाना बनाई टेबुल वा गोजीमा राख्छन् । त्यसपछि कि परीक्षा हलमा कि शौचालयमा उत्तर हेर्छन् । मोबाइललाई परीक्षा कोठामा प्रवेश निषेधको प्रावधानलाई कडाइ गर्न सके यो समस्या समाधान गर्न गा¥हो छैन ।
हात, नाडी, पर्स, घडी ः यस्तो चोरीमा विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका विद्यार्थीहरू र धेरै होलान् । परीक्षामा गार्ड बस्ने शिक्षकहरूले विद्यार्थीहरू परीक्षा कोठामा पस्नु अगाडि वा परीक्षामा बसेको समयमा जाँच गर्दा समाधान गर्न सकिन्छ । एकपटक थाइल्याण्डमा स्मार्ट घडीहरूमा चिट चोरेको थाहा पाउँदा ३ हजार विद्यार्थीलाई पुनः परीक्षा दिन लगाइएको थियो । बैङ्कको रङ्जिट विश्वविद्यालयका तीन जना विद्यार्थीले मसिना क्यामेराबाट उत्तरपुस्तिका खिचेर सहपाठीहरूलाई पठाएको थाहा पाएपछि उनीहरू पक्राउ परेका थिए ।
क्याल्कुलेटर र हातको नङ ः क्याल्कुलेटरको कभर वा पछाडि सिसाकलमले लेखेर पनि चिट चोर्ने गर्दछन् । मेमोरी भएका क्याल्कुलेटरमा गणितका सूत्रहरू रेकर्ड गर्छन् । हातको नङमा मसिना सिसाकलमले लेखेर चिट चोर्नेहरू पनि नभएका होइनन् ।
अन्य ः विद्यालय र विश्वविद्यालयमा आन्तरिक परीक्षा हुनुभन्दा अगाडि परीक्षार्थीहरूले ब्ल्याक बोर्ड वा ह्वाइट बोर्ड वा टेबुलमा उत्तर लेख्ने आदि कार्य पनि देखिन्छ । बाह्य परीक्षामा यसको सम्भावना न्यून रहन्छ । सानो अक्षरमा हातले लेख्ने वा नोटलाई सानो आकारमा फोटोकपी तयार पार्ने परिपाटी पनि देखिन्छ । त्यो चिट कि सिसाकलम बक्समा कि बगलीमा राख्ने गर्दछन् । कोही मोजाभित्र त कोही पेटीमा राख्छन् । विद्यार्थी चलाख भएर यस्तो गर्छन् ।
चिट चोर्न दिनुहुन्न ः सुरक्षा प्रहरीहरूले चिट चोर्ने विद्यार्थीहरूलाई निरुत्साहित गर्ने हिम्मत गर्नुपर्छ । शौचालयमा चिट हेर्दै गरेका विद्यार्थीलाई ‘नसमाउने गरी हेर’ भनेर प्रोत्साहन गरेका घटनाहरू पनि नभएका होइनन् । चिट चोर्ने विद्यार्थीहरूलाई प्रहरीले समाएका घटनाहरू हामीले सुन्न पाएका छैनौँ । तलब खाएर काम नगर्नु बदमासी हो । यसकारण परीक्षामा चिट चोर्ने परिपाटी घटाउन सुरक्षाकर्मीको पनि अहम् भूमिका हुन्छ ।
विद्यार्थीहरू देशका भविष्य हुन् । विद्यार्थी काँचो माटोजस्तै हुन्छन् । काँचो माटोलाई आफ्नो इच्छाअनुसार आकार–प्रकारको बनाउन सकिन्छ । त्यसपश्चात् आगोमा पोल्ने काम हुन्छ । अन्तमा, रङग दलेर राम्रो बनाइन्छ । तर, पहिला तयार भएको आकारलाई पछि आफूलाई मन परेन, अब परिवर्तन गर्छु, भन्यो भने त्यो सम्भव छैन । किनकि, आकार परिवर्तन गर्न बढी शक्ति प्रयोग गर्न खोज्दा त्यो वस्तु फुट्छ । यसको अर्थ, योजना बनाउने बेला विशेष ध्यान दिनुपर्ने हो । यहीं कुरा कस्ता विद्यार्थी बनाउने भन्नेमा पनि लागू हुन्छ । चिट चोरेर उत्तीर्ण गर्ने विद्यार्थीले पछि रोजगारी गर्ने ठाउँमा पनि चोर प्रवृत्ति पक्कै देखाउँछ । आफ्नै मेहनतमा चिट नहेरी परीक्षामा उत्तीर्ण गर्ने विद्यार्थीले पछि काममा सही र सत्यको पक्षमा लाग्छन् ।
विद्यार्थीलाई प्रयोगात्मक परीक्षामा वास्तविक प्राप्त अड्ढभन्दा बढी अड्ढ प्रदान गर्नाले पनि समस्या हुन्छ । यो विद्यार्थीलाई चिट चोर्न दिनुसरह नै हो । यो समस्या कहिले आउँछ भन्दा जब परीक्षामा परीक्षार्थी र शिक्षक एकअर्कालाई चिन्दछन् । शिक्षक अनुशासित भएर अड्ढ दिनु नै एकमात्र समाधान हो ।
चिट चोर्ने विद्यार्थीबाट चिट लिनु वा विद्यार्थीलाई परीक्षा हलबाट निष्काशन गर्नु परीक्षाको सामान्य नियम हो । तर, विडम्बना, कहिलेकाहीँ कतिपय विद्यार्थीहरूले यसको बदला लिन बाटोमा ढुकेर बस्ने, आक्रमण गर्ने, कुटपिट गर्ने गर्छन् । परीक्षामा खट्ने सुरक्षाकर्मी र शिक्षकहरू यो कार्यलाई जोखिम सम्झन्छन् र कारबाही गर्न पछि हट्छन् । यसरी चिट चोर्ने परिपाटीले समाजमा नकारात्मक असर परेको देखिन्छ ।
चिट चोर्न बन्द गर्नाका केही राम्रा पक्षहरू ः
– परीक्षामा विद्यार्थीहरूको वास्तविक क्षमतामापन गर्न सकिन्छ ।
– परीक्षामा राम्रो तयारी वा अध्ययन गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन मिल्दछ ।
– विद्यार्थीहरूमा मेहेनत गर्नेे बानी विकास हुन्छ । विद्यार्थीहरू आत्मविश्वासी, अनुसन्धानात्मक र सक्रिय हुन्छन् ।
– विद्यार्थी कालमा बसेको यस्तो बानीले उसको जीवनको दैनन्दिनी व्यवस्थापनमा मद्दत पुग्छ ।
– सबल र क्षमतावान विद्यार्थीहरू अगाडि बढ्छन् ।
– अध्ययन सकाएर रोजगारीमा लाग्दा तिनीहरूले झूटो बोल्दैनन् । इमानदार नागरिक तयार हुन्छ । देशले सही दिशा समाउँछ ।
अन्तमा, वर्षमा एकपटकमात्र परीक्षा लिंदा विद्यार्थीमा तयारी अपुग हुनु स्वाभाविक हो । वर्षभरिको पढाइ (अध्ययन) लाई परीक्षामा प्रस्तुत गर्न अभ्यास नपुग्ने हुन्छ । त्रैमासिक र आन्तरिक परीक्षाले विद्यार्थीहरूलाई सबल बनाउँछ । सबै विद्यालय र क्याम्पसहरूमा आन्तरिक परीक्षाहरू सञ्चालन गर्नु बुद्धिमानी हो । चिट चोर्ने अभ्यास बन्द गर्न सम्भव छ । सम्बन्धित निकाय यसमा गम्भीर हुनु अनिवार्य छ । विद्यालय वा क्याम्पस व्यवस्थापन समितिहरूले प्रशासन र शिक्षकहरूलाई यसबारे जानकारी वा तालिमको व्यवस्था गर्नुपर्छ ।
राजनैतिक भागबन्डा, कमिसन, भ्रष्टाचार, अनियमितताको अन्त्य गरी शैक्षिक वातावरण बनाउन निरन्तर लगाव आवश्यक छ । कमजोर विद्यार्थीका कारण राजनीति धमिलो र अस्थिर हुन्छ, राम्रो नेतृत्वको अभाव हुन्छ । यसले विद्यार्थीलाई अध्ययनशील बनाउँछ । असल नागरिक भावनाको विकास हुन्छ । देशको राजनीतिले सही बाटो समाउँछ । देश विकासले गति लिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *