भर्खरै :

देवघाटका दुई चेपाङ

– राजकुमार श्रेष्ठ
देवघाट, १ चैत । श्याम चेपाङ बिहान सबेरै घाट पुग्छन् । हिजो अबेरसम्म लास जलाएका स्थानहरूमा भए गरेका फोहोरहरू पानीले सफा गर्ने, काठका टुक्राहरू तह लगाउने र पन्छाउने गर्दछन् । भन्नु पर्दा नयाँ लासलाई स्वागत गर्न श्याम घाटमा तयार हुन्छन् । उहाँको लागि यो नियमित काम हो । झण्डै १२ वर्षदेखि उनले यस्तो काम गर्दै आएका हुन् ।
श्याम चेपाङको घर धादिङ जिल्लास्थित बेनिघाट रोराङ–९, रोवाङ हो । गाउँमा दुःख धेरै र कम उत्पादन हुन्थ्यो । वर्ष दिनको आम्दानीले ५ महिना कटाउन पनि धौ धौ हुन्थ्यो । नुन, तेल किन्नकै लागि पाँच छ घण्टा लगाएर बजार धाउनुपथ्र्यो । छोरा छोरीलाई पढाउनको लागि नजिक विद्यालय थिएन । हुने खानेले बजारमा राखेर पढाउँथे । गाउँमा लाउन, खान, बालबच्चालाई पढाउन धेरै गा¥हो हुन्थ्यो । गाउँमा गरेको दुःखले परिवार चलाउन गा¥हो भएपछि कामको खोजीमा श्याम मितको सल्लाहमा चितवन झरेका हुन् । उनको मितको घर देवघाट, तनहुँ हो । सुखको खोजीमा ५७ मा परिवारलाई लिएर उहाँ देवघाट झर्नुभयो ।
सुरुमा उहाँले ६ वर्ष जति देवघाटमै कुल्ली काम गर्नुभयो । काम गर्दै जाँदा देवघाट विकास समितिका मान्छेहरूसँग चिनजान भयो । घाट सफा गर्नुपर्ने आवश्यकताअनुसार उहाँ समितिमार्फत घाटमा भर्ती हुनुभएको हो ।
देवघाटमा अहिले उनको ऐलानी जग्गामा सानो घर छ । उनको परिवारमा श्रीमती, ६ छोरा र २ छोरी छन् । दुई छोरीको बिहे भयो । एक छोरा काठमाडांैमा अध्ययन गर्छ । एउटा छोरा डा«त्र छ । छोरा छोरी अहिले सबै हुर्कीबढिसकेकाले उहाँ खुसी हुनुहुन्छ । अहिले सन्तान हुुर्के बढेकाले आनन्द छ ।
देवघाटमा शव जलाउँदा निस्कने फोहोरहरू तह लगाउने, लास जलाएर बाँकी रहेको कालो ठुटा निकाल्ने, चिर्ने र लास जलाउनको लागि दाउरा तयार गर्नेलगायत उनी काम गर्छन् । उहाँलाई समितिले दिने मासिक तलब रु. ५ हजार छ । काठ, दाउरा चिर्नेलगायत काम गरेर उहाँले परिवार चलाउँदै आउनुभएको छ ।
त्यस्तै, पूर्णलाल चेपाङको पनि घाटमा काम गरेको ८ वर्ष बित्यो । पूर्णलाल श्यामको फुपूका छोरा हुन् । नाताले उहाँहरू दाजुभाइ पर्दछन् । उहाँ पनि श्याम चेपाङमार्फत देवघाट आउनुभएको हो । श्रीमती, दुई छोरा र तीन छोरी साथमा रहेको उहाँले यही पेशाले परिवार चलाउँदै आउनुभएको छ । देवघाट झरेपछि उहाँ ३ वर्ष साउदी काम गरेर फर्कनुभयो । तर, दुःख गरे नेपालमै कमाइ हुने उहाँको कुरा छ । छोराले बोर्डिङमा पढेको छ । ठूली छोरी १२ कक्षा पढ्दै छे । पहाडमा भन्दा यतै सुख भएको उहाँको बुझाइ छ । छोरा छोरीलाई पढाउन पाउनु, एक छाक खान र लाउन जुटाउनु नै ठूलो कुरा हो, उहाँ भन्नुहुन्छ ।
चितवनको देवघाट पवित्र धार्मिक स्थल भनेर चिनिन्छ । पवित्र स्थानमा दाहसंस्कार गरे स्वर्ग गइन्छ, वैकुण्ठमा बास हुन्छ । आत्माले शान्ति पाइन्छ भन्ने मान्यता छ । यही मान्यताअनुसार चितवन जिल्लालगायत आसपासका जिल्लाबाट देवघाटमा लास जलाउन मान्छेहरू आउँछन् । दैनिक झण्डै अठार बीस वटा लासहरू देवघाटमा दाहसंस्कारको लागि ल्याउने गरिन्छ ।
कोही कसैले मसाने, घाटे भने तापनि परिवार चलाउन केही न केही पेशा गर्नै पर्दछ । आफ्नो काममा सन्तुष्ट रहेको उहाँहरूको कुरा छ । उहाँहरूले लासलाई चढाएको पैसा जम्मा गरेरै पनि दिनको डेढ दुई सय बनाउनुहुन्छ । उहाँहरूको यो नियमित र सामान्य जीवन बन्न पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *