अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
राजनीतिक दलको नाम कम्युनिस्ट पार्टी या समाजवादी भए पनि समाजवादी व्यवस्थाप्रति प्रतिबद्धता नभएका र समाजवादी आचरणअनुसार राजनीति नगरेका दलले बहुमत जनताको हितको आशा गर्नु व्यर्थै हुन्छ । बेइमानी गर्ने मौका नपाएर इमानदार बनेका पार्टीका नेता, मन्त्री र सांसदहरू मौका या मञ्च पाएपछि देश र जनताप्रति गरेका प्रतिबद्धता भुल्छन् र व्यक्तिगत स्वार्थमा लाग्छन् या पदको दुरुपयोग गरेर अकुत सम्पत्ति कुम्ल्याउँछन् । जनतालाई सत्तामा पुग्ने भ¥याङ बनाउने दलका नेता र मन्त्रीहरू झूटको खेती गर्दै छन्; विश्वासघात गर्दै छन् । यो पुँजीवादी व्यवस्थाको वर्गचरित्र हो । राजनीतिक पार्टीको आ–आफ्नै वर्ग आधार र राजनीतिक दर्शनको विरोध पनि एक प्रकारको बेइमानी हो । यो जनताप्रतिको विश्वासघात पनि हो ।
शक्तिको अगाडि झुक्ने प्रवृत्ति आत्मसमर्पणवादी हो भने शक्तिले झुकाउन खोज्ने प्रवृत्ति शोषक वर्गीय, साम्राज्यवादी तथा प्रतिक्रियावादी प्रवृत्ति हो । आफ्नो इच्छा र निर्णय अरूमाथि लाद्न खोज्नु प्रजातन्त्रविरोधी र सामन्ती प्रवृत्ति हो । यस कार्यमा नेका मात्र होइन आफूलाई ठुला भनिने कम्युनिस्ट पार्टीहरू पनि विस्तारवादी भारत र साम्राज्यवादी अमेरिकासामु झुकेका छन् या उनीहरूको दबाब र प्रभावमा परेर सन्धि सम्झौता गरेका छन् । यस्तो कार्यबाट राजनीतिक दलहरू बच्नुपर्छ या जोगिनुपर्छ । नागरिकता ऐन भारतीय शासकहरूकै दबाबमा नेपाल सरकारले पारित गरेको हो । एमसीसी सम्झौता अमेरिकी शासकहरूकै दबाबमा पारित भएको हो । यी दुइटै सम्झौताहरू नेपालको सार्वभौमिकता र स्वाधीनतामा आँच पुग्ने खालका छन् । यस्ता देशविरोधी र जनविरोधी कार्य गर्न शासकहरू अघि सर्नुको कारण विदेशी शक्ति राष्ट्रहरूको दबाब या धम्की नै हो । यसमा देशका शासकहरू चुकेका छन् ।
सरकारमा पुगेका हरेकजसो पार्टी र नेताहरूले आफ्नो दलगत र व्यक्तिगत स्वार्थ हेरेर विकास गर्छन्; ठेक्कापट्टा दिन्छन्; सरुवा–बढुवा गर्छन्; पक्षपात र अन्य अवाञ्छनीय कार्य गर्छन् । यसबाट जनतामा पार्टी, नेता र गणतन्त्रप्रति नै वितृष्णा उत्पन्न भयो; असन्तोष देखियो । यसले शासक दलका नेताहरूको आस्था र इज्जतमा धक्का पुग्यो । उनीहरूको नैतिकता र चरित्रमा दाग लाग्यो । सत्तासीन र ठुला दलका नेता, मन्त्री तथा सांसदहरूको यस्तै कमजोरी र गल्तीले गर्दा देश रसातलमा पुगेको छ; सरकारले कुनै मौलिक काम गर्न सकेको छैन । यसले देश निकै पछि प¥यो । विकासको गति चिप्लेकीराको जति पनि भएन । के ठुलठुला र आकर्षक नारा दिएर देश समृद्ध बन्छ, जनता खुसी हुन्छन् ? ठुलो पार्टीले ठुलो जिम्मेवारी बोक्नुपर्ने हो तर सानो काम पनि गर्न सकेको छैन । तिनीहरूको बोली, व्यवहार र आचरण पनि संयमित भएन या मनपरी हुन थाल्यो ।
सिद्धान्त र विचारमा टेकेर राजनीति गरेन भने दलले गलत बाटो लिन्छ । सत्तासीन दलका नेताहरूले गलत बाटो लिइरहेका छन् । दलको विधानअनुसार काम नगर्नु, प्रतिबद्धता र चुनावी घोषणापत्रअनुसार काम नगर्नु र सत्ताको मातले अन्धो भएर राजनीति गर्नु सिद्धान्तको राजनीति होइन । उनीहरू सिद्धान्तहीन, राजनीतिविहीन राजनीति गर्दै छन् । उनीहरू राजनीतिलाई व्यापार गर्ने बाटो ठान्दै छन् । तर, नेमकिपा सिद्धान्त र विचारमा अडिग छ । नेमकिपा पार्टीको विधान र निर्वाचनताकाको घोषणापत्रअनुसार काम गर्छ । नेमकिपाका नेता, सांसद, जनप्रतिनिधिहरूले देश र जनताको निःस्वार्थरूपले सेवा गर्दै छन् । नेमकिपा कसैको डर र धम्कीको अगाडि झुक्दैन; पद, पैसा, लोभलालचमा फस्दैन र हो हल्लाको राजनीति गर्दैन । नेमकिपा कुनै पनि विदेशी हस्तक्षेपको विरोध गर्छ । नेमकिपा कानुनी र गैरकानुनी सङ्घर्ष गर्छ । नेमकिपा देश र जनताको निम्ति पु¥याइरहेको योगदानको नेपाली जनताको कदर गर्दै छन्; बुझ्दै छन् । नेमकिपा इमानपूर्वक राजनीति गर्ने दल हो भन्ने कुरा जनता बुझ्दै छन् ।
Leave a Reply