भर्खरै :

फरक बागी लुनिन

फरक बागी लुनिन

डिसेम्बर विद्रोहको पुग नपुग चार महिनापछि १८२६ को अप्रिलमा पोल्यान्डको वार्सा सहरमा एक प्रमुख नेता पक्राउ परे । उनी थिए मिखाइल सेर्गेइभिच लुनिन । उनी डिसेम्बरवादीहरूमध्येका सबैभन्दा प्रभावशाली व्यक्तित्व थिए । गुप्त समाजका संस्थापकहरूभन्दा सालाखाला १० वर्ष जेठा लुनिन नेपोलियनविरोधी युद्धका वीर थिए । रूसी कुलीन समाजमा उनी लोकप्रिय थिए । जस्तोसुकै परिस्थितिमा पनि जारको तानाशाहीविरुद्ध निडरतापूर्वक उभिने, कहिल्यै नथाक्ने र कहिल्यै नहार्ने दृढ निश्चयी योद्धाको रूपमा लुनिनलाई सम्झना गरिन्छ ।
विद्रोहको बेला लुनिन वार्सास्थित गार्ड पल्टनमा लेफ्टिनेन्ट कर्नेल पदमा कार्यरत थिए । त्यो पल्टन अधिराजकुमार कोन्स्तान्तिनको प्रत्यक्ष नेतृत्वमा थियो । वार्सासहित पोल्यान्डको ठुलो भूभाग त्यसबखत रूसी साम्राज्यको अधीनमा थियो । कोन्स्तान्तिन रूसी साम्राज्यअन्तर्गतको पोल्यान्ड राज्यका मानार्थ गभर्नर थिए । रूसी साम्राज्यको पूर्वी भागको सैनिक मामिला उनको जिम्मामा थियो । लुनिन कोन्स्तान्तिनका सहयोगी र विश्वासपात्र थिए ।
लुनिन नाताले उत्तरी गुप्त समाजका नेता निकिता मुराभ्योभका दाजु (फुपूका छोरा) थिए । स्थापनाकालदेखि नै लुनिन गुप्त समाजको गतिविधिमा सक्रिय थिए । सन् १८२३ मा उनले औपचारिकरूपमा गुप्त समाजबाट बिदा लिए । यसका दुई कारण थिए । एक, उनी अधिराजकुमार कोन्स्तान्तिनको नजिकै बसेर काम गर्नुपर्ने अफिसर थिए अर्को, नेतृत्वसँग उनको मौलिक मतभेद थियो । आमजनताको साथबिना षड्यन्त्रबाट जारशाहीलाई पल्टाउने र आधुनिक रूस निर्माण गर्ने गुप्त समाजको उद्देश्य पूरा हुनेमा शङ्का व्यक्त गर्ने लुनिन पहिलो व्यक्ति थिए । साथीहरूलाई सहमत गराउन नसकेपछि उनी गुप्त समाजबाट अलग्गिएका थिए । सन् १८२३ पछि उनले गुप्त समाजसँगको सम्पर्क धेरै पातलो बनाएका थिए । उनीसँगको गुप्त समाजको सम्बन्धबारे समाजका प्रमुख नेताहरूलाई मात्र जानकारी थियो ।
पिटर्सबर्गको विद्रोहमा लुनिनको प्रत्यक्ष सहभागिता थिएन । न त दक्षिणको सैनिक विद्रोहबारे नै उनलाई पूर्वजानकारी थियो । विद्रोहको केही दिनमै पक्राउ गरिएका क्रान्तिकारीहरूबाट गुप्त समाजमा उनको सहभागिताबारे पोल खुल्यो । तर, जार निकोलसले बलियो प्रमाणबिना उनलाई पक्राउ गर्न दाजु कोन्स्तान्तिनलाई मनाउन सकेनन् । उल्टै कोन्स्तान्तिनले लुनिनलाई विदेश भाग्ने व्यवस्था मिलाए । लुनिनले भाग्न मानेनन् । वार्साबाटै उनले अनुसन्धान अधिकारीहरूका प्रश्नको जवाफ लेखेर पठाए । निकोलस लुनिनविरुद्ध बलियो प्रमाणको खोजीमा थिए । सन् १८१६ मै पहिलेका सम्राट अलेक्सान्दर प्रथमको हत्याबारे भएको छलफल बैठकमा लुनिन उपस्थित थिए । डिसेम्बर विद्रोहको तीन महिनापछि यसको प्रमाण भेटियो । गाथगादी ताक्ने षड्यन्त्र बुनेको आरोपमा लुनिनविरुद्ध पक्राउ पुर्जी जारी गरियो । वास्तवमा त्यस बैठकमा लुनिनले जारको हत्या गर्ने योजनामा विमति जनाएका थिए ।
बालापन
मिखाइल सेर्गेइभिच लुनिन फ्रान्सेली राज्यक्रान्ति (१७८९ मे) भन्दा अगाडि जन्मिने थोरै डिसेम्बरवादीमध्ये एक थिए । उनी फ्रान्सेली क्रान्तिभन्दा डेढ वर्षअगाडि अर्थात् १७८७ डिसेम्बरमा पिटर्सबर्गमा एक उच्च तहको कुलीन घरानामा जन्मेका थिए । उनका पिता जार अलेक्सान्दरका समूहका उनको सल्लाहकार सदस्य थिए । परिवार मस्को सहरबाट करिब ४ सय किलोमिटर दक्षिणपूर्वमा रहेको ताम्बोभ क्षेत्रको विशाल मौजा र हजारौँ भूदासको मालिक थियो ।
औपचारिक शिक्षाको लागि लुनिन विद्यालय जानुपरेन । नयाँ पुस्तालाई बदलिँदो समयअनुकूल उत्कृष्ट शिक्षा दिनुपर्छ भन्ने लुनिनका पिताको मत थियो । त्यसैले देशविदेशबाट विभिन्न विषयका उत्कृष्ट शिक्षक झिकाई लुनिनका बुबाले छोरालाई घरमै पढाउने व्यवस्था मिलाए । रूसीबाहेक फ्रान्सेली, स्वीस, अङ्ग्रेज, स्वीडेनी शिक्षकहरूको तालिममा लुनिन हुर्के । १५ वर्षको उमेरमै लुनिन रूसीबाहेक फ्रान्सेली, अङ्ग्रेजी, जर्मन र ल्याटिन भाषामा पोख्त भइसकेका थिए । गणित, इतिहास, साहित्य, चित्रकारिता, सङ्गीत, तरबारबाजी, घोडचढी र नृत्यमा समेत उनको रूचि थियो । आफ्ना शिक्षक र तिनले सुझाएका पुस्तकमार्फत लुनिनले पश्चिम युरोपमा फैलिरहेको क्रान्ति र उदारवादी विचारहरूबारे जानकारी प्राप्त गरेका थिए ।
लुनिनकी आमा धनी र सुसंस्कृत मुराभ्योभ घरानाकी छोरी थिइन् । लुनिनका मामा मिखाइल निकितिच मुराभ्योभ तत्कालीन अधिराजकुमारहरू अलेक्सान्दर र कोन्स्तान्तिनका शिक्षक थिए । पाँच वर्षको उमेरमै लुनिनले आमा गुमाउनुपरेको हुनाले आफ्ना भान्जाको पठनपाठनमा मामा मुराभ्योभले विशेष ध्यान दिए । फुर्सदको समय उनी आफ्नो मामाघरमा बिताउँथे । उनका मामा लेखक र इतिहासकार मिखाइल मुराभ्योभ पिटर्सबर्गको बुद्धिजीवी घेरामा कहलिएका व्यक्ति थिए । मामाघरमा हुने बुद्धिजीवी भेलाहरूमा लुनिनले ‘धेरै पढैया र तेज नवयुवा’ को परिचय बनाइसकेका थिए ।
सैनिक सेवामा
रूसी सेनामा गार्ड पल्टनलाई सामान्य रूसी सेनाभन्दा माथिल्लो तहको मानिन्थ्यो । गार्ड पल्टन कुलीनवर्गका युवाहरूको विशेष फौज थियो । यो पल्टनको जारसँग घनिष्ट सम्बन्ध हुन्थ्यो । यसलाई जार र राजधानीको सुरक्षा गर्ने विशेष जिम्मेवारी दिइन्थ्यो । जारशाहीविरुद्ध गुप्त सङ्गठनमा सामेल अधिकांश डिसेम्बरवादीहरू गार्ड पल्टनका अफिसर नै थिए ।
सन् १८०३ मा लुनिन सो¥ह वर्षका पुगेका थिए । त्यही साल उनले घोडचढी गार्ड पल्टनबाट सैनिक सेवा सुरु गरे । सन् १८०५ देखि १८०७ सम्म युरोपमा नेपोलियनको गठबन्धनविरुद्ध धेरै लडाइँ भएका थिए । तीमध्ये हरेकजसो लडाइँमा सहभागी भएर लुनिनले युद्धवीरको परिचय बनाए । सन् १८०७ मा प्रसियाको फ्रिडल्यान्डमा भिषण भिडन्त भयो । त्यस लडाइँमा हार खाएपछि जार अलेक्सान्दर र प्रसियाली राजा भोक र जाडोले थाकेर असुरक्षित बनेका थिए । उनीहरूलाई शत्रु सेनाबाट बचाउन लुनिनको पल्टनले ठुलो साहस देखायो । त्यसैले उनी जार अलेक्सान्दरका प्रिय अफिसर बने ।
अधिकांश डिसेम्बरवादीहरू नेपोलियनले रूसमाथि आक्रमण गरेपछि नाम कमाएका थिए । तर, लुनिन उनीहरूभन्दा धेरै अगाडि सन् १८०७ तिरै युद्धवीर कहलिएका थिए । त्यसको केही वर्षपछि उनी घोडचढी गार्ड पल्टनको लप्टन पदमा बढुवा भए ।
नेपोलियनले बेलायतविरुद्ध सैनिक गठबन्धन बनाएका थिए । बेलायतलाई लक्षित गरी व्यापारिक नाकाबन्दी लगाएका थिए । नेपोलियनको सेनासँगको हारपछि जार अलेक्सान्दर र प्रसियाका राजा फ्रेडरिख विलियम दुवैजना नेपोलियनको गठबन्धन र नाकाबन्दीमा सामेल हुन बाध्य भए । लुनिनजस्ता युवा अफिसरलाई त्यो कुरा चित्त बुझेन । उनीहरूमा नेपोलियनविरुद्ध बदलाको भावना थियो । लुनिन नेपोलियनविरुद्ध युद्ध भइरहेका स्पेनलगायतका विदेशी मोर्चामा सहभागी हुन चाहन्थे । तर, उनलाई रूसी गार्ड पल्टनबाट बिदा हुने अनुमति दिइएन ।
सेनामा लुनिन हाँसो–मजाक गर्ने रमाइला, चलाख र शूरा व्यक्तिको रूपमा चिनिन्थे । आफूलाई ठीक लागेको काममा उनी कहिल्यै पछि हट्दैनथे । त्यतिबेलाको रूसी कुलीन समाजमा आफूलाई चित्त नबुझेको कुनै पनि व्यक्तिलाई डुयलमा लल्कार्ने चलन थियो । डुयल भनेको दुईजना व्यक्ति आमनेसामने बसेर आलोपालो एकअर्कालाई ताकेर बन्दुकले हान्ने र छल्ने आत्मघाती खेल थियो । यस्ता डुयलहरूमा एक वा दुवैजना घाइते हुने वा मर्ने सम्भावना रहन्थ्यो । रूसी महाकवि पुश्किन त्यस्तै एउटा डुयलमा मारिएका थिए । लुनिन चित्त नबुझेका व्यक्तिलाई डुयलमा लल्कार्न नामी थिए । युद्धको बेला समेत गम्भीर चोटपटक नव्यहोरेका लुनिनको शरीरभरि डुयलका चोटहरू थिए । भनिन्छ, एकपटक लुनिनले तत्कालीन अधिराजकुमार कोन्स्तान्तिनलाई नै डुयलमा लल्कारेका थिए । त्यसलाई कोन्स्तान्तिनले हाँसेर टारिदिएका थिए रे ।
सन् १८१२ मा नेपोलियनले रूसमा हमला गर्दा लुनिनको पल्टनलाई मोर्चामा जाने आदेश थिएन । रणनीतिकरूपमा पछाडि हट्दै रूसी सेनाले नेपोलियनको सेनालाई रूसी मैदानभित्र तानिरहेको थियो । लुनिनलाई फ्रान्सेली सेनासँग आमनेसामने नलड्ने नीति चित्त बुझेन । त्यसैले बिनाआदेश आफ्नो पल्टनलाई स्मोलेन्स्कको लडाइँमा सहभागी गराई उनले धेरै शत्रु सेना मारे । दुवैतर्फ लाखौँको सङ्ख्यामा हताहत भएको बोरोदिनोको लडाइँदेखि पेरिससम्मको हरेक लडाइँमा लुनिन अग्रमोर्चामा रहे । बहादुरीको निम्ति उनले तीनवटा पदक र स्वर्ण तरबार हासिल गरे । सन् १८१५ मा युरोपेली अभियानबाट फर्किँदा उनी घोडचढी गार्ड सेनाका २७ वर्षे कर्नेल भइसकेका थिए ।
विश्व नागरिक !
विद्यालयको अनुशासनमा नहुर्केका लुनिनलाई सेनाको कठोर अनुशासन अपनाउन गा¥हो हुने नै भयो । युद्धपछि सेनाको नियमित र निरस जीवनबाट उनी आजित भए । त्यसबाहेक गार्ड अफिसरको जीवन उनको निम्ति खर्चिलो बन्दै गयो । पारिवारिक बेमेलका कारण पिताले उनलाई दैनिक खर्च दिन छोडेका थिए । उनी क्रमशः ऋणको भारले थिचिंदै थिए । नेपोलियनको हारपछि उनले सैनिक सेवामा रहनुको औचित्य देखेनन् । अन्ततः उनले आफ्ना बुबासँग एउटा सम्झौता गरे । बुबाले उनका सबै ऋण तिरेर थप केही रकम दिने भए । बदलामा लुनिनले पैतृक सम्पत्तिमाथिको आफ्नो हक त्याग्ने भए । यसका साथै जारसँग अनुमति लिएर लुनिनले गार्ड पल्टनबाट राजीनामा दिए ।
सैनिक सेवा छोड्ने लुनिनको निर्णयले परिवार र साथीहरू अचम्मित भए । बहिनीलाई अपर्झट पठाएको चिट्ठीमा उनले लेखे, “मेरो निम्ति एउटैमात्र पेसा खुला छ, त्यो हो स्वतन्त्रताको पेसा । त्यो पेसामा जतिसुकै ठुलो मान र पदवी पनि अर्थहीन हुन्छ । तिमीहरू ममा पर्याप्त क्षमता देख्छौ । त्यसबाट भविष्यमा ठुलो पद र पदक हासिल हुनसक्ने बताउँछौ । तर, म आफ्नो क्षमतालाई कुनै अफिसमा कुहाएर मान र पदवीको फोस्रो घमण्डमा रमाउन सक्दिनँ । मलाई थाहा छ, कुनै अर्थपूर्ण काम नगरी वा बसीबसी पनि म प्रशस्त तलब पकाउन सक्छु । सेनामा ममाथि एउटा मूर्ख हाकिम हुनेछ । उसलाई खुसी पार्न मैले अनेक हाँस्यास्पद किस्साहरू सुनाउनेछु । पछि उसैलाई हुत्याएर आफू हाकिम बनेको सपना देख्नेछु । तर, के मलाई यति टिठलाग्दो अस्तित्व स्वीकार्य होला ? मलाई उकुसमुकुस हुनेछ । त्यस्तो अस्तित्व मेरो आत्मालाई दण्डसरि हुनेछ । उद्दाम ऊर्जाले म निसास्सिनेछु । अहँ हुँदैन, मलाई विचार स्वतन्त्रता चाहिन्छ† आकाङ्क्षाको स्वतन्त्रता चाहिन्छ† सेवाको स्वतन्त्रता चाहिन्छ । त्यो पो वास्तविक जीवन त ¤ जागिरको घस्राइबाट पर, तुच्छ प्राणी हुनुभन्दा माथि उठेर बाँच्नु पो बाँच्नु ¤ म मेरो औपचारिक पदका आधारमा बाँच्न चाहन्न । मेरो मन र मस्तिष्कले डो¥याएअनुसार म जनताको सेवामा रहन चाहन्छु । विश्व नागरिक ¤ संसारमा योभन्दा ठुलो अरू कुनै पदवी हुनसक्दैन । स्वतन्त्रता ¤ म यहाँबाट टाढा जाँदै छु ।”
लुनिन हरेक बन्धनबाट मुक्ति चाहन्थे । उनले युरोपभन्दा पर ल्याटिन अमेरिका पुगेर बोलिभारको नेतृत्वमा चलिरहेको मुक्ति युद्धमा सामेल हुने सपना देखेका थिए । सेना छोडिसकेपछि उनले विदेश यात्रामा निस्किने तर्खर गर्न थाले । तर, रूस छोड्नुभन्दा केही महिनाअघि लुनिनले ‘मुक्ति सङ्घ’ को सदस्यता लिए । त्यो गुप्त समाज उनका मामाका छोराहरू निकिता र अलेक्सान्दर मुराभ्योभको नेतृत्वमा स्थापना भएको थियो । सदस्य बनिसकेपछि लुनिन जारको हत्या गर्ने योजनाको छलफलमा सहभागी भए । गुप्त समाजको सदस्य भएर उनी मातृभूमिको सेवा गर्ने सबभन्दा राम्रो तरिकाबारे सोच्दै थिए । तर, उनी मुक्ति सङ्घमा मात्र सीमित हुन पनि चाहन्नथे ।
हिप्पोलाइट औगर लुनिनका घनिष्ट साथी थिए । लुनिनले उनलाई एउटा अनौठो घटना सुनाए । कुरा पेरिसको थियो । लुनिन त्यसबेला नेपोलियनविरोधी देशभक्तिपूर्ण युद्धको क्रममा पेरिसमा थिए । त्यहाँ बस्दा लुनिनले नाम कहलिएकी ज्योतिषी लेनोरमाँलाई भेटेका थिए । लेनोरमाँले लुनिनलाई ‘एक दिन फाँसीमा झुन्ड्याइने’ भविष्यवाणी गरेकी थिइन् । कुरैकुरामा लुनिनले औगरलाई ‘त्यो भविष्यवाणी पूरा गर्न पनि मैले सकेको केही गर्नैपर्छ’ भने । तर, उनलाई गुप्त समाजमा भइरहेका छलफलबारे बताएनन् । कुनै दिन गुप्त समाजको निम्ति केही नयाँ र महत्वपूर्ण ज्ञान लिएर स्वदेश फर्किने सोच्दै उनले पेरिस यात्राको तयारी गर्न थाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *