भर्खरै :

अस्पताल आफैं रोगको घर !

अस्पताल अस्वस्थ मानिसलाई स्वस्थ बनाउने ठाउँ हो । तर अधिकांश सरकारी अस्पतालहरूको वातावरण बिरामी नभएका स्वस्थ मानिसलाई समेत अस्वस्थ बनाउने खालको छ । बिरामीको उपचार गर्ने ठाउँको वातावरण अझ बढी सफा र स्वच्छ हुनुपर्ने हो । वातावरण फोहोर र अस्वस्थकर बन्दा अस्वस्थ मानिस त प्रभावित हुन्छन् नै, स्वस्थ मानिस पनि बिरामी पर्ने सम्भावना रहन्छ । विशेषतः देशभरका सरकारी अस्पतालमा यसप्रति ध्यान दिएको देखिंदैन । अधिकांश सरकारी अस्पताल रोगको उपचार केन्द्रजस्तो भन्दा रोगको विस्तार केन्द्र बनेका छन् ।
अस्पतालबाट निस्कने फोहोरले मानव स्वास्थ्यको लागि हानिकारक हुने गर्दछ । त्यस्तो फोहोर प्राणघातक हुनसक्दछ । त्यसकारण संसारभरि नै अस्पतालको फोहोर व्यवस्थापनको विशेष बन्दोबस्त हुने गर्दछ । अस्पतालको फोहोर खुला ठाउँमा जलाउँदा, फाल्दा वा पानीमा मिसाउँदा वरपरको वातावरण प्रदूषितमात्र हुने होइन, त्यसबाट रोगको सङ्क्रमणसमेत हुने गर्दछ । त्यसले सिङ्गो बस्तीमै महामारी प्रकोप फैलिन सक्दछ । तर देशका अधिकांश अस्पतालसँग फोहोर व्यवस्थापनको कुनै विशेष बन्दोबस्त छैनन् । हालै वन तथा वातावरण मन्त्रालयले काठमाडांै उपत्यकाभित्रका तीसभन्दा बढी अस्पतालमा अनुगमन गर्दा अधिकांश अस्पतालले फोहोर पानी सिधै ढलमा मिसाउने गरेको भेटाएको छ । यसरी निर्धारित मापदण्डविपरीत ढलमा अस्पतालको फोहोर पानी मिसाउनेमा सरकारी र निजी दुवै थरी अस्पताल छन् ।
राजधानीका अस्पतालहरूको अवस्था यस्तो छ भने मोफसलका अस्पतालबाट अरू राम्रो अवस्थाको अपेक्षा गर्नु बेकार हो । स्वास्थ्य क्षेत्रमा व्यापार गर्न दिने राज्यको नीतिका कारण आज देशभर नाङ्गले पसलजस्तै अस्पतालहरू खुलेका छन् । त्यस्ता कतिपय अस्पतालले नाफालाई मात्र ध्यान दिने गर्दा अस्पतालसँग हुनुपर्ने पूर्वाधारसमेत छैन । ठूला निजी मेडिकल कलेज र अस्पतालमा फैलिएको विकृतिबारे बरोबर चर्चा हुने गरेका छन् । सरकारले बनाएका मापदण्ड न ती अस्पतालले मानेका छन् न त अनुगमनकारी निकायले तिनको कुनै अनुगमन गरेका छन् । चिन्ताजनक कुरा त ती अस्पतालले फाल्ने फोहोर र पानीका कारण कुनै पनि बेला फैलिन सक्ने रोगव्याधी र महामारी हो । अस्पतालले गर्ने त्यस्ता कमजोरीका कारण रोग निको बनाउने आशा बोकेर अस्पताल जाने बिरामी र बिरामीका आफन्त अरू रोगबाट पीडित हुनुपर्ने अवस्था आउन सक्दछ । साथै बिरामीको सेवाका लागि परिचालित चिकित्सक र स्वास्थ्यकर्मीहरू अनेकन रोगको शिकार बन्न सक्दछन् ।
स्वस्थ नागरिक देशको सम्पत्ति हो । नागरिकलाई स्वस्थ बनाउने जिम्मेवारी राज्यको हो । राज्यले निजी अस्पतालमा नाफाका लागि भइरहेका यस्ता कमजोरी र सरकारी अस्पतालमा कर्मचारीको व्यवस्थापन कमजोरीका कारण निम्तिएका समस्या समाधान गर्नुपर्दछ ।
मापदण्ड पूरा नभएका अस्पताललाई मापदण्डको पालना गर्न कडाइ गर्नुपर्दछ । पालना नगर्ने अस्पताललाई कारबाहीको दायरामा ल्याइनुपर्दछ । विशेषतः अस्पतालको फोहोर व्यवस्थापनको लागि पूर्वाधार नभएका सरकार अस्पतालमा पूर्वाधार विकासका लागि पहल गर्नुपर्दछ भने निजी अस्पतालमा त्यस्ता पूर्वाधार विकासका लागि दबाब दिन जरूरी छ ।
सरकारी अस्पतालको वातावरण स्वच्छ र स्वस्थकर बनाउन कर्मचारी परिचालन र पूर्वाधार विकासमा ध्यान दिन जरूरी छ । स्वास्थ्य क्षेत्रमा प्राप्त हुने विदेशी सहयोगको उचित परिचालन नहुँदा त्यस्तो रकम बालुवामाथि पानीसरह भइरहेको छ । दाता निकायबाट रकमभन्दा पनि अस्पतालको फोहोर व्यवस्थापनसम्बन्धी प्रविधिको सहयोग माग गर्न सके देशको स्वास्थ्य क्षेत्रमा सानै भए पनि महत्वपूर्ण परिवर्तनको आशा गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *