भर्खरै :

खानदानी वर्गविरुद्ध खानदानीहरूको विद्रोह

खानदानी वर्गविरुद्ध खानदानीहरूको विद्रोह

१८२५ डिसेम्बर १ को दिन थियो । रूसका सम्राट जार अलेक्सान्दर प्रथमको निधन भयो । महारानी एलिजाबेथलाई क्षयरोग लागेको हुनाले दक्षिण रूसको एजोभ समुद्र किनारमा रहेको ग्रीष्म दरबारमा राजारानी स्वास्थ्यलाभ गर्दै थिए । अचानक सम्राटलाई कामज्वरोले समात्यो । ४७ वर्षको उमेरमा पुरानो रूसी पात्रोअनुसार नोभेम्बर १९ का दिन उनले संसार छोडे । अलेक्सान्दरका सन्तान थिएनन् । त्यसैले, राजसिंहासन माइला भाइ कोन्स्तान्तिनलाई जाने भयो । सम्राट मरेको खबर उत्तरमा १९ सय किलोमिटर दूरी छिचोल्दै राजधानी सेन्ट पिटर्सबर्ग पुग्न ८ दिन लाग्यो । त्यसबेला कोन्स्तान्तिन पिटर्सबर्गमा थिएनन् । त्यहाँ रहेका साइँला भाइ निकोलसले रोलक्रमअनुसार माहिला दाइ कोन्स्तान्तिन सम्राट हुने घोषणा गरे । राजधानीमा तैनाथ सेना र शाही गार्ड पल्टनले सम्राट कोन्स्तान्तिनको नाममा शपथ खाए । त्यसपछि राजधानीबाट १२ सय किलोमिटर पश्चिममा पर्ने वार्सा सहरमा रहेका कोन्स्तान्तिनलाई लिन पठाइयो । भाइ कोन्स्तान्तिनको सम्राट नबन्ने इच्छा बुझेर जार अलेक्सान्दरले २ वर्षअघि नै एउटा गोप्य इच्छापत्र लेखेका थिए । आफ्नो शेषपछि भाइ निकोलस सम्राट हुने गरी लेखिएको त्यो इच्छापत्र बाहिरियो । उता वार्साबाट कोन्स्तान्तिनले राजपाटको अधिकार त्यागेको सन्देश पठाए । त्यो सन्देश राजधानी आइपुग्दा अर्को २ हप्ता बित्यो । यसरी उत्तराधिकारको अलमलले दुई–चार हप्ता गुज्रियो ।
यही अन्योलबिच रूसी क्रान्तिकारीहरूले जारशाहीविरुद्ध विद्रोह गर्ने निर्णय गरे । विद्रोह डिसेम्बर महिनामा हुनाले उनीहरूलाई डिसेम्बरवादी भनियो । ती क्रान्तिकारीहरू उदार विचारका सैनिक अफिसर थिए । तीमध्ये धेरै तत्कालीन जार शासनको उच्च ओहदामा रहेका घरानिँया परिवारका युवाहरू थिए । वर्गको हिसाबले उनीहरू सामन्त वा कुलीनवर्गका थिए ।
अधिकांशको उमेर २० नाघेर ३० पुगेको थिएन । जारविरुद्ध यसअघि पनि शाही गार्ड र कुलीनहरूले अनेक दरबारी षड्यन्त्र गरेका थिए । ती विद्रोहले रोमानोभ वंशकै एक व्यक्तिको ठाउँमा अर्कोलाई राजगद्दीमा स्थापित गरेका थिए । अलेक्सान्दर, कोन्स्तान्तिन र निकोलसका पिता सम्राट पाउल र हजुरबुबा सम्राट पिटर तेस्रो त्यस्तै दरबारिया षड्यन्त्रमा मारिएका थिए ।
१८२५ डिसेम्बर २६ (पुरानो पात्रोअनुसार डिसेम्बर १४) का दिन सुरु भएको डिसेम्बर विद्रोह अघिल्ला दरबारिया विद्रोहभन्दा एकदम भिन्न थियो । डिसेम्बरवादीहरू युरोपमा पिछडिएको सामन्ती रूसलाई जारको तानाशाहीबाट मुक्त गरी आधुनिक र खुला देश बनाउन चाहन्थे त्यसको लागि रूसमा संवैधानिक व्यवस्था लागु गर्न चाहन्थे । रूसी किसानलाई अत्याचारी भूदास प्रथाबाट मुक्त गर्न चाहन्थे । अनिवार्य सैनिक सेवाको नियम खारेज गर्न र राज्यका ठुला अधिकारीहरूको राजकोषमाथिको ब्रह्मलुट रोक्न चाहन्थे । डिसेम्बरवादीहरूमध्ये केही संवैधानिक राजतन्त्रको पक्षमा थिए भने केही गणतन्त्र स्थापना गरेर किसानलाई जमिन वितरण गर्ने पक्षमा थिए । तिनताक रूसी समाज पिछडिएको र बन्द थियो । पश्चिम युरोपको उदारवादी पुँजीवादी विचारको किरण भर्खरैमात्र छिर्न थालेको थियो । यसकारण, डिसेम्बरवादीहरूका विचार रूसमा अत्यन्त क्रान्तिकारी र समय अगाडिका थिए ।


डिसेम्बर विद्रोह
२६ (१४) डिसेम्बरका दिन सबेरै सेन्ट पिटर्सबर्गको सिनेट चोकमा ३ हजार बागी सेना भेला भए । तिनमा शाही गार्ड पल्टन र नियमित सेना दुवै थिए । तिनका अफिसरहरूले सम्राट कोन्स्तान्तिनको नाममा शपथ लिइसकेको हुनाले निकोलसको नाममा शपथ लिन अस्वीकार गरे । राजधानीका धेरै पल्टन विद्रोहमा सामेल हुन आउने उनीहरूले आशा गरेका थिए । तर, केही प्रमुख अफिसरहरूले खुट्टा कमाए† तिनीहरू विद्रोहस्थल सिनेट चोकमा देखिएनन् । आशा गरेझैँ अन्य सैनिक पल्टनको साथ सहयोग भएन । बागी सेनालाई ९ हजार जारसमर्थक सैनिकले घेरा हाले । आमजनताका बिचमा विद्रोहको उद्देश्यबारे सङ्गठन र प्रचार थिएन । त्यसैले, सिनेट चोक वरिपरि जम्मा भएका दसौँ हजार जनता रमितेमात्र बने । निकोलसले विद्रोही सेनालाई आत्मसमर्पण गराउन वार्ताको निम्ति दूत पठाए । विद्रोहीहरू पछि हटेनन्† सम्झाउन आएका दूतको लास फिर्ता पठाए । त्यसको अगुवाइ युवा क्रान्तिकारी प्योतर काखोभ्स्कीले गरेका थिए । आत्मसमर्पण गराउने दिनभरिको प्रयास विफल भएपछि निकोलसले विद्रोहीमाथि बन्दुक र तोप चलाउने आदेश दिए । सिनेट चोक रक्ताम्य बन्यो । डिसेम्बर विद्रोहलाई निरङ्कुशतापूर्वक दबाइयो । १ जर्नेल, १८ अफिसर र २८२ सिपाहीले वीरगति प्राप्त गरे । तोप र बन्दुकको आवाजले रमिता हेर्न बसेका पिटर्सबर्गका जनता तितरबितर भए । जाडोले जमेको नेभा नदीको बरफमा तोपगोलाले प्वालैप्वाल पर्यो । भागेका सयौँ मानिस तिनै प्वालमा खसेर नदीमा डुबेर मरे । विद्रोहीबाहेक ७९ महिला र १५० बालबालिकासहित ११७० सर्वसाधारणको मृत्यु भयो ।
गोलाबारी शान्त भएसँगै विद्रोही नेता र गुप्त समाजका सदस्यहरूको पक्राउ सुरु भयो । २ हप्तापछि विद्रोहको सूचना दक्षिणी गुप्त समाजमा पुग्दासम्ममा तिनका प्रमुख नेताहरूका नाउँमा पक्राउ पुर्जी पनि पुगिसकेको थियो । क्रान्तिकारी युवा अफिसरहरूले एकमुष्ट समातिनुभन्दा विद्रोहको नेतृत्व गर्नु निको माने । ४० किलोमिटर पर किभ सहरमा रहेको सेनालाई सन्देशवाहकमार्फत विद्रोह गर्न आह्वान गरेर विद्रोही चेर्निगोभ्स्की पल्टनले भासिल्कोभ सहर कब्जा गर्यो । उनीहरूले गुप्त समाजमा आबद्ध सैनिक अफिसरहरूको नेतृत्वमा दक्षिण रूसका विभिन्न सहरमा विद्रोह फैलिने आशा लिएका थिए । तर, त्यतिञ्जेल गुप्त समाजका धेरैजसो सदस्य पक्राउ परिसकेका थिए । अन्ततः ५ दिनको कब्जापछि जनवरी १५ (३) का दिन निकोलस समर्थित बलियो सेनासँग विद्रोही सेना पराजित भयो । बागी नेताहरू समातिए । तीन प्रमुख नेतालाई पिटर्सबर्ग पठाइयो । ८७७ जना विद्रोही सैनिकलाई ककेसियामा चलिरहेको लडाइँमा पठाइयो । यसरी दक्षिणी विद्रोह पनि असफलतामा टुङ्गियो ।
पक्राउ परेकामध्ये केही कर्कलोझैँ गले । तिनले आफ्नो बयानमा गुप्त समाजको गतिविधि र सदस्यबारे प्रशासनलाई जानकारी दिए । थप पक्राउ पुर्जीहरू जारी भए । तर, अधिकांश विद्रोहीहरूले जार र उनका प्रहरी अधिकारीसामु विद्रोहको कारण स्पष्ट राखे† जारले आशा गरेजस्तो आफ्नो जीवनको निम्ति याचना गरेनन्, माफी मागेनन्; पछुताउ गरेनन्, आफ्नो विचारमा सतिसालझै अडिग रहे । पक्राउ परेका ५८९ जनामध्ये १० जना क्रान्तिकारीको भेषमा सुराकी थिए । विद्रोहसँग साइनो नदेखिएका २८६ जना अफिसरलाई रिहा गरियो । १६५ जनालाई विद्रोह र गुप्त समाजसँग कम सम्बन्धित भएकोले मुद्दा चलाइएन । तीमध्ये केहीलाई अटोमन साम्राज्य (टर्की) र फारस (इरान) सँग चलिरहेको लडाइँमा सहभागी हुन टाढाको ककेसिया क्षेत्रमा सैनिकको रूपमा खटाइयो । यो एक प्रकारको निर्वासन थियो । १२१ जनालाई जारको हत्या गर्ने षड्यन्त्र गरेको अभियोगमा मुद्दा चलाउने निर्णय भयो ।
विद्रोहको परिणाम
युवा क्रान्तिकारीहरूलाई सजाय दिन जार निकोलसले बनाएको ७२ सदस्यीय सर्वोच्च अपराध अदालतमा राजसभा सदस्य, चर्चका प्रतिनिधि, सैनिक जनरल र निजामती अधिकारीहरू थिए । तिनको सालाखाला उमेर ५५ वर्षको थियो । अभियुक्तको रूपमा उभ्याइएका १२१ जना क्रान्तिकारीहरूको सालाखाला उमेर त्यसको आधा अर्थात् साढे २७ वर्षमात्र थियो । परिवर्तन ल्याउने ‘दुस्साहस’ गरेको हुनाले बाबु पुस्ताले छोरा पुस्तालाई सजाय सुनाउँदै थियो ।
विद्रोहको ६ महिनापछि जुलाई २५ (१३) का दिन पाँचजना बागीलाई फाँसी दिइयो । फाँसी पाउनेमा सेर्गेइ मुराभ्योभ, पाभेल पेस्तेल, कोन्द्राती रिलेयेभ, प्योतर काखोभ्स्की र मिखाइल बेस्तुजेभ रुमिन थिए । बाँकी अधिकांशलाई कहिल्यै फर्किन नपाउने गरी साइबेरिया निर्वासनमा पठाइयो ।
डिसेम्बर विद्रोह सम्राट र खानदानीवर्गको तानाशाहीविरुद्ध थियो । विद्रोहको नेतृत्व पनि खानदानी वर्गका युवाहरूले नै गरेका थिए । ती युवाहरूले त्यस व्यवस्थाको विरोध गर्दै थिए जसले उनीहरूलाई सम्पत्ति र समृद्धि दिएको थियो । त्यसकारण, डिसेम्बर विद्रोहको खबर सुन्दा बुढा काजी रोस्तोपचिनले भनेका थिए, “कम्तीमा म फ्रान्सेली क्रान्तिको कुरा बुझ्न सक्छु । त्यहाँ राजाविरुद्ध सार्कीहरू उठेका थिए । तिनीहरू आफैँ राजा बन्न चाहन्थे । तर, रूसको डिसेम्बर विद्रोह म बुझ्नै सक्दिनँ । यहाँ राजाहरू सार्की बन्न खोजेको देख्छु ।”
विद्रोह असफल भएपछि मुक्तिका निम्ति रूसका भूदासहरूले अर्को ३५ वर्ष कुर्नुपर्यो । भूदास प्रथाजस्तो पुरानो उत्पादन सम्बन्धले रूसको खाद्यान्न उत्पादन ओरालो झरिरहेको थियो । विदेशीसँगको लडाइँमा रूस कमजोर साबित हुँदै थियो । रूसले औद्योगीकरण नगरी नहुने भयो । त्यसको लागि सस्तो ज्यामी चाहिन्थ्यो । त्यसैले सन् १८६१ मा भूदासहरूको मुक्तिको घोषणा गरियो । यससँगै रूस औद्योगीकरणको युगमा प्रवेश ग¥यो । औद्योगीकरणले रूसमा विपरीत स्वार्थका दुई नयाँ वर्गको जन्म भयो – पुँजीपति र सर्वहारावर्ग । सन् १९०५ मा रूसमा सर्वहारावर्गको नेतृत्वमा पहिलो क्रान्ति भयो । त्यो क्रान्ति असफल भयो । तर, जार निकोलस तेस्रो देशको संविधान बनाउने संसद् वा ड्युमाको चुनाव गराउन बाध्य भए । डिसेम्बर विद्रोहको ८० वर्षपछि रूसको पहिलो संविधान बनाउन लुकाइएका डिसेम्बरवादीहरूका खेस्रा संविधान सरकारी अभिलेखालयबाट झिकाइएको थियो ।


युरोपेली प्रभाव
डिसेम्बरवादी युवाहरू सन् १७९०–१८०० को फ्रान्सेली राज्यक्रान्तिको उथलपुथलकारी दशकमा जन्मेका थिए । उनीहरूको हुर्काइमा सामन्तवादविरुद्ध समानता, न्याय र भ्रातृत्वको गहिरो छाप ने पाइन्छ । उनीहरू हुर्किदै गर्दा फ्रान्समा नेपोलियनको उदय भयो; युरोपमा प्रभुत्व कायम गर्न उनले लडाइँ छेडे, पुराना सामन्ती सत्ताहरू ढल्दै गए† नयाँ गणतन्त्र र राजतन्त्रहरू उदाए । पोर्चुगलदेखि रूससम्म भएका क्रान्ति र प्रतिक्रान्तिको अध्ययनले ती युवा युरोपका कुनै पनि राज्यसत्ता स्थायी छैनन् भन्ने टुङ्गोमा पुगे । केही क्रान्तिकारीहरू रूसी कूटनीतिज्ञको रूपमा विदेशमा सेवारत आमा–बुबासँगै युरोपमा हुर्केका र पेरिसका आधुनिक शिक्षालयहरूबाट प्रशिक्षित थिए । तीबाहेक अन्य अधिकांश युवाले सन् १८१२ देखि १८१५ सम्म नेपोलियनविरुद्ध चलेको लडाइँमा सैनिक अफिसरको रूपमा कलिलै उमेरमा सहभागी भएर पश्चिम युरोपका विभिन्न सहरको जीवन र विचार अनुभव गरेका थिए । तिनताका औद्योगिक क्रान्ति र पुँजीवादी मानवताले प्रेरित पश्चिमी युरोपको समाज द्रुतगतिमा बदलिँदै थियो । बन्द रूसी समाजमा हुर्केका ती युवा अफिसरहरूको मस्तिष्कमा त्यसको गहिरो प्रभाव पर्नु स्वाभाविक थियो ।
सन् १८१६ को भियना सम्मेलनपछि बेलायत, रूस, अस्ट्रिया र प्रसिया (तत्कालीन जर्मनी) को नेतृत्वमा एउटा नयाँ युरोपेली व्यवस्थाको जन्म भयो । नेपोलियनले उखेलेका अनेक राजसंस्थाहरू पुनः स्थापित गरिए । रूसी साम्राज्य युरोपमा बलियो सैनिक शक्तिको रूपमा स्थापित भयो; सम्राट अलेक्सान्दर विजेताको रूपमा रूस फर्के । तर, नौलो संसार अनुभव गरेर आएका युवालाई रूसको पछौटेपन बिझायो । रूसको पछौटेपनको प्रमुख कारण जारको तानाशाही हो; भूदास प्रथा मानवीय समानता र न्यायको मर्मविपरीत छ; भूदास प्रथा रहेसम्म रूसको तीव्र आर्थिक प्रगति सम्भव छैन । त्यसकारण, जारको तानाशाही र भूदास प्रथालाई जरैबाट फाल्नुपर्छ भन्नेमा उनीहरू एकमत भए । तिनै युवामध्ये ६ जनाले लडाइँबाट फर्केपछि १८१६ को फेब्रुअरीमा ‘मुक्ति सङ्घ’ नामको गुप्त समाज गठन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *