भर्खरै :

कर्मचारी सङ्गठनको जमिनदारी

मङ्गलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक चिकित्सक प्रा.डा. ध्रुवराज अधिकारीको राजीनामा पत्र ‘भाइरल’ (ज्यादै चर्चित) बन्यो । देशकै सबभन्दा पुरानो सरकारी वीर अस्पतालका न्युरो सर्जरी एकाइका प्रमुख अधिकारीले स्वास्थ्यमन्त्रीलाई सम्बोधन गरेर सो पत्र लेखेका छन् । ‘पूर्वाग्रहसाथ दुःख दिएको र चाकडी र घूससमेत मागेअनुसार दिन अक्षम हुँदा राजीनामा दिएको’ उनको राजीनामा पत्रमा लेखिएको छ । नेपालको कर्मचारीतन्त्रमा व्याप्त विकृतिको सानो झलक डा. अधिकारीको यो पत्रले दिएको छ ।
नेपालका अगुवा समाजशास्त्री डोरबहादुर विष्टले दसकौं अघि ‘फाटालिज्म एण्ड डेभलपमेन्ट’ नामको पुस्तकमा नेपाली समाजमा व्याप्त चाकडी प्रवृत्तिबारे लेखेका थिए । राणाशासनमा जागिर खान, बढुवा पाउन सत्तासीन राणाको दरबारमा चाकडी जानुपर्ने प्रथाबारे सो पुस्तकमा चर्चा गरिएको छ । आज पनि त्यही चाकडी प्रथाको रुपमा मात्र फेरिएको देखियो, मूल आन्तर्य भने उही नै छ । हिजो राजा र राणाको दरबारमा चाकडी जानुपर्ने अवस्था थियो भने आज शासक दलका नेता वा पत्याएको व्यक्तिको दरबारमा गएर चाकडी गर्नुपर्ने अवस्था छ । कर्मचारीहरूको बढुवा वा पायक पर्ने ठाउँमा सरुवाको लागि कर्मचारी नेताहरूको सेवा गर्नुपर्ने अवस्थामा कुनै परिवर्तन आएको छैन ।
प्रा.डा. अधिकारी यस्ता विकृतिप्रति आत्मसमर्पण गर्न तयार भएनन्, त्यसकारण उनले सानै आकारको भए पनि विद्रोह गरे । तर शासक दलको दबदबासामू आत्मसमर्पण गर्ने कर्मचारी कैयौं छन् जसले चाकडीलाई यो आफ्नो नियति मान्ने गरेका छन् । योग्यता र क्षमताभन्दा पनि कसैको पाउ मोलेको भरमा जागिर खाइरहेका कर्मचारी पनि कैयौं छन् र योग्यतालाई हवाई चप्पलमा पड्काएर हिंडेका बेरोजगार पनि धेरै छन् । कतिपय मानिस त देशले योग्यताको कदर नगरेको भन्दै विदेशमा पलायन भएका प्रशस्त उदाहरण छन् । विषयको ज्ञानभन्दा पनि चाकडी र आफ्नो मान्छेका भरमा जागिर खाने अवस्था रहेसम्म देशमा परिवर्तनको कुरा मृगतृष्णामात्र हुनेछ ।
प्रा.डा. धु्रवराज अधिकारीको राजीनामा पत्र वास्तवमा सरकार र शासक दललाई नसिहत पत्र हो । भाषणमा जतिसुकै ठूलो कुरा गरे पनि चाकडी र चाप्लुसीमा टिकेको कर्मचारीतन्त्र र भ्रष्टाचार गर्न पार्टी कार्यकर्ता बन्न आएका मानिसको जगमा जुनसुकै नामको राजनीतिक पार्टी सत्तामा आए पनि हातमा लाग्यो शून्य हुनेछ । तर आज सरकारमा बसेका र हिजो सरकार चलाइसकेका कुनै पनि राजनीतिक पार्टी यो अवस्थाबाट आफू दोष मुक्त हुनसक्दैन । किनभने कर्मचारीतन्त्रमा यस्ता विकृतिका विषवृक्ष रोप्ने नै आजसम्म सरकारमा गएका राजनीतिक पार्टीहरू हुन् । कर्मचारी सङ्गठनमा जमिन्दारहरू पालेर बाली जम्मा गर्ने शासक वर्गको चिन्तन नै कर्मचारीतन्त्रभित्रको विकृतिको जरा हो ।
शासक दलले आफ्ना कर्मचारी सङ्गठनलाई जसरी विकास गरेका छन्, त्यसमा सुरूवाती बिन्दुमै गल्ती छ । शासक दलका कर्मचारी सङ्गठन आफ्नो पार्टीको सरकार वा मन्त्री हुँदा अरु कर्मचारीहरूलाई तह लगाउने हाकिमभन्दा महाहाकिमहरूको जमघट बनिरहेको छ । कर्मचारीभन्दा कर्मचारी नेता बन्ने कर्मचारीलाई कारबाही नगर्दासम्म र आफ्नो पार्टीको कर्मचारी भएकैले काखीच्याप्ने प्रवृत्ति जोकोहीमा रहेसम्म धु्रवराज अधिकारीजस्ता मानिसहरू शिकार बनिरहन्छन् । कतिले राजीनामा पत्र सामाजिक सञ्जालमा राख्ने हिम्मत गर्छन्, कति भविष्यको झिनो मोहले चुपचाप शासकहरूको दबदबा सहेर बस्छन् किनभने सरकार आफैं कर्मचारीसामु निरीह भएको कुरा केही दिनअघि सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको निरीह अभिव्यक्तिबाट प्रस्ट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *