भर्खरै :

भाषानुरागको युगमा आलोचनाः बीसौं शताब्दीको पूर्वाद्र्ध–५

कमलप्रकाश मल्ल
कुनै आकर्षक ‘वाद’ को आधारमा गरिने साहित्यिक मूल्याङ्कन कवि, लेखकका विचार र दर्शनको मात्र मूल्याङ्कन नभई उनीहरूको कला, शिल्प र विधानको पनि मूल्याङ्कन हुन जरुरी छ । माणिकलाल श्रेष्ठको ‘कवि सिद्धिचरणबारे छुं’–(कवि सिद्धिचरणबारे केही कुरा) पढ्नुहोला । यो दृष्टिकोणबाट हेर्दा प्राध्यापक वर्गले लेखेका आलोचना स्तुत्य छन् । उनीहरूसँग ‘वाद’ प्रतिको आकर्षण वा विदेशी दृष्टिकोणको दुराग्रह किमार्थ देखिएको छैन । बरू नयाँ लेखक महोदयहरूले सिधा बाह्य प्रभाव र परम्पराप्रति अनास्था प्रदर्शन गर्ने प्रयास गरिरहेका छन् । जगदीश चित्रकारको ‘फिसः या लिसः’ को आलोचना र इन्द्र मालीको ‘न्हुगू कविताः जिगु मिखाय्’– (नयाँ कविता मेरो आँखामा) पढ्नुहोला । प्राध्यापकहरूले सायद त्यही भएर आ–आफ्नो आलोचनाको सैद्धान्तिक पृष्ठभूमिबारे प्रस्ट पार्न थप पाइला चाल्न थालेका छन् । त्यसकारण ईश्वरानन्द श्रेष्ठाचार्यको ‘सौन्दर्य व आलोचना’ (सौन्दर्य र आलोचना) र झुलेन्द्रमान प्रधानको ‘काव्यया स्वभाव’ (काव्यको स्वभाव) हाम्रो भाषाको समालोचना सिद्धान्तका प्रारम्भिक प्रयासमात्र नभई कदरयोग्य पाइला पनि हुन् । नेपालभाषामा जति पनि आलोचना प्रकाशनमा आए ती सबै व्यवहारिक आलोचनामात्र भए । हाम्रो भाषामा आलोचनाको सैद्धान्तिक पक्ष ज्यादै कमजोर छ । त्यसो हुनुको मूल कारण भनेको हाम्रो साहित्य र आलोचनाको इतिहास निकै छोटो हुनु नै हो ।
नेपालभाषा साहित्य र आलोचनाको समय निकै कम भएको हुनाले नेपालभाषाको आलोचनामा पनि धेरै कमजोरी छन् । स–साना शिशुहरूलाई धेरै थरी रोगले सताइरहेजस्तै हाम्रो आलोचना साहित्य पनि बालरोगले पिरोलिएको देखिन्छ । समस्या त धेरै नै छन् । त्यसको मूल कारण हाम्रो सन्दर्भमा आलोचक र लेखक समकालिक हुनु पनि हो । एकै उमेरका लेखक र आलोचक हुँदा हाम्रो आलोचनामा पक्षपात, सङ्कीर्णता, अहम्वाद, गुटबन्दीदेखि अनेकन एकाङ्गीपन देखिनु स्वाभाविक हो । एक त आलोचक आफ्ना समकालीन कवि–साहित्यिकप्रति कहिल्यै पनि निरपेक्ष र वस्तुनिष्ठ बन्न सक्दैन । अझ हाम्रो सन्दर्भमा काठमाडांै, ललितपुर र भक्तपुरका सबैले सबैलाई चिनिरहेकै हुन्छौँ । कहिलेकाहीं त लेखक र आलोचक आपसमा नातेदारसमेत हुने गर्दछ । त्यसकारण सिद्धान्त र कृतिको आधारमा मात्र आलोचना नभई लेखक चिने–नचिनेको, मनपरे–नपरेको, राम्रो–नराम्रो आदि आधारमा पनि आलोचकले आफ्नो कलम चलाइरहेको हुन्छ अर्थात् ‘यो मान्छेलाई उकास्नु ठीक छ’, ‘यो मान्छे नैतिकहीन हो’, ‘यो मान्छे त मेरो आँखामा परेको धुलो हो’ (हेर्नोस् कृष्णचन्द्रसिं प्रधानको ‘झीगु साहित्ये बाखँ’– हाम्रो साहित्यमा कथा) आदि गैरसाहित्यिक पृष्ठभूमिको हस्तक्षेप हुनु स्वाभाविक हो । अनि आलोचकले एउटा पूर्वनिर्धारित गैरसाहित्यिक कस्सीका आधारमा साहित्यिक मूल्याङ्कन गर्ने गर्दछ । त्यही भएर, हाम्रो साहित्यमा महाकाव्य भएर पनि त्यसको आलोचना भएको छैन । अब्बल नाटक भएर पनि तिनको उत्कृष्ट सिंहावलोकन हुन सकेको छैन । उपन्यास भएर पनि साहित्यमा तिनको स्थान कहाँ छ भन्न सकिएको छैन । यदि आलोचना भनेको आत्मसन्तुलन हो भने त्यस्तो सन्तुलित दृष्टिकोण हाम्रो आलोचनामा विकास हुन अझै बाँकी छ । आलोचनाको आधार भनेको कविता हो, कवि होइन । उपन्यास हो, उपन्यासकार होइन । सिर्जना हो, स्रष्टा होइन । यो कुरा बुझेर सैद्धान्तिक र वस्तुपरक आधारमा निरपेक्ष भई कलम नचलाएसम्म हाम्रा आलोचकहरू एकाङ्गी हुने प्रवल सम्भावना रहिरहन्छ । दुर्भाग्यको कुरा, हाम्रो सन्दर्भमा अहिलेसम्म पनि आलोचक र लेखकको उमेर लगभग समान नै हुने गरेको छ । त्यही भएर आलोचक या त कविको नजिकको मित्र हुने नभए आलोचकको अविश्वासको पात्र बन्ने गरेको छ । यी दुवैमध्ये कुनै पनि कुराको ख्याल नगरी आलोचकले कलम चलाए सायद त्यत्तिबेलामात्र आलोचनाको सक्कली रुप बाहिर अभिव्यक्त हुनसक्नेछ ।
नेपालभाषामा अरू केही नलेखी मात्र आलोचना लेख्ने आलोचक कति जना छन्, मलाई थाहा भएन । तर कसैले आलोचना लेखेरैमात्र आफ्नो मुखमा माड लगाउन सक्ने अवस्था छैन भन्ने कुरा प्रस्ट छ । आलोचनालाई (साहित्यलाई) फुसर्दको काममात्र बनाइरहेका मानिसहरू मनग्य छन् । तर हाम्रो भाषामा आलोचनालाई गम्भीरतापूर्वक लिएर, एउटा बौद्धिक वृत्ति वा साधनाको रुपमा अङ्गीकार गर्ने कोही पनि देखिएको छैन । सबैले सौखको रुपमा फुसर्दको काम वा रहर पूरा गर्ने ध्येयले मात्र आलोचनाको अभाव पूर्ति गर्न सकिन्न । आलोचना एउटा शैक्षिक साधना (Academic Discipline) बन्न धेरै समय लाग्नेछ । बितेका १८ वर्षभित्र विद्वतापूर्ण, खोजपूर्ण, तथ्यपूर्ण र एउटा पूर्ण आकारको आलोचना प्रकाशित भएको छैन भन्दा फरक नपर्ला । (जनकलाल वैद्यको ‘सत्यसती’ विवेचनाबाट यो अभाव पूर्ति भए राम्रो हुने थियो ।) एउटा निश्चित साधनाको निर्दिष्टता नहुनाले आलोचना स्याहार नपुगेको बालकजस्तै बनेको छ । असफल कविमात्र आलोचक बन्छ भनिएको छ । नेपालभाषाको आलोचना पनि यस्तै असफल कविहरूको शरणार्थी क्याम्प नभई एउटा उत्तरदायित्वपूर्ण अनुशिलन (Discipline) र बौद्धिक साधना बन्न अझै बाँकी नै छ ।
हाम्रो आलोचना साहित्य अझै कच्ची नै छ भन्ने कुरा यदाकदा आलोचनाको नाममा प्रकाशित हुने अनेक लेखका भाषा र शैलीबाट प्रस्ट छ । (पढ्नुहोस्, गाजलंदाःगु चा या लिच्व–भयभित माटोको प्रतिक्रिया) भाषा र शैलीमा अपरिपक्वता नवागन्तुक र अङ्ग्रेजी भाषामा शिक्षादिक्षा ग्रहण गरेकाहरूको मात्र विशेषता होइन । हाम्रो भाषामा आलोचनाजस्तो उच्चस्तरको क्लिष्ट बौद्धिक र भाववाचक शब्दले व्याख्या गर्नुपर्ने काम गर्न त्यत्ति सहज छैन । अझ संस्कृतका तत्सम् र हिन्दी भाषाको सहारा नलिई आलोचना लेख्ने प्रयास मात्र दुस्साहस हुने गरेको छ । त्यही भएर यहाँ मात्राको कुरा आउने गर्दछ । जुन लेखक (जस्तो इश्वरानन्द श्रेष्ठाचार्य) ले तत्सम् शब्दको सकेसम्म प्रयोग नगरी नै आलोचना लेख्ने प्रयास गरेका छन् । तर अधिकांश अरु आलोचकहरूका शैली अपरिमार्जित अवस्थामा नै छ । शैलीको हिसाबमा रत्नध्वज जोशी र माणिकलाल श्रेष्ठहरू मज्जाले जमेका छन् । माधवलाल कर्माचार्यको शैली निकै सौम्य र कसैलाई केही अप्ठ्यारो नहुने प्रकारको हुने गर्दछ । कृष्णचन्द्रसिं प्रधानको भाषामा नेपाली र हिन्दी भाषाको प्रस्ट प्रभाव छ । तैपनि प्रधानको भाषा खुकुरीजस्तै धारिलो छ ।
मेरो विचारमा त नेपालभाषामा आलोचना लेख्नु ढुङ्गामा लेख्नुभन्दा पनि कठीन काम हो जस्तो लाग्छ । नेपालभाषाका सीमित शब्दावलीभित्र बसेर अब्बल कृति प्रकाशन गर्न सैद्धान्तिक परिपक्वतालाई एकातिर राखेर शैलीको अनुशीलन गर्न पनि अत्यावश्यक हुन्छ ।
सार–अन्वेषण, इतिहास र आलोचना
नेपालभाषाको आलोचना विकासका लागि काम गर्न धेरै बाँकी छन् । यसको निम्ति प्रारम्भमा गर्नुपर्ने काम भनेको अन्वेषण नै हो । जबसम्म हामीले हाम्रो भाषाको भण्डारमा रहेका पुराना कृति एक एक छानबिन गरी, छानेर र सम्पादन गरी प्रकाशनमा ल्याउन सक्दैनौँ, हाम्रो प्राचीन र मल्लकालीन साहित्यको स्वरुप प्रकाशमा ल्याउन सक्दैनौँ, तबसम्म हाम्रो साहित्य र आलोचना दुवै मुर्कुटाजस्तो हुनेछ । हाम्रो भाषा कति समृद्ध छ भन्ने विषयमा गरिएको अन्वेषणका आधारमा निकालिएका तथ्याङ्कले मात्र हामीले नेपालभाषाको पूर्ण र उपयुक्त इतिहास लेख्न सक्छौँ । सिद्धिदास महाजूभन्दा अघिका साहित्यको अन्वेषण र इतिहास प्रकाशनपछि मात्र हामीले महाजूभन्दा पछिका साहित्यको वास्तविक मूल्याङ्कन गर्नसक्छौँ । नत्र हामीले जे कुरालाई आलोचना भनिरहेका छौँ, त्योमात्र एकाङ्की हुने सम्भावना रहन्छ । हामीले हाम्रो साहित्यलाई नै राम्ररी नचिनी कसरी आलोचना गर्नसक्छौँ र ? आलोचकको एउटा आँखा नयाँ प्रयोगमा हुनुपर्दछ भने अर्को आँखा पुराना परम्परालाई बुझेर आजको वर्तमानसँग सम्बन्ध स्थापित गर्नेमा हुनुपर्दछ ।
त्यसकारण अन्वेषण र इतिहासले मात्र हाम्रो आलोचना साहित्यलाई अत्यावश्यक पृष्ठभूमि बनाइदिन सक्छ । नेपालभाषाको पठनपाठन स्कूल, कलेज र विश्वविद्यालयसम्म पुगेको अवस्थामा अब यसको लागि आवश्यक पक्ष अन्वेषण र खोज पनि हुँदै जाने आशा छ । इतिहासको गर्भ उधिनेर, निकालेर नेपालभाषाको वास्तविक स्वरुप निर्धारण गरेपश्चात् यो भाषाको आलोचनाका लागि आवश्यक आधार बनाउने जिम्मेवारी विशेषगरी नेपालभाषा पढिरहेका र पढाइरहेकाहरूको हो । तर सबैको सहयोगमा गम्भीरतापूर्वक यो कामको थालनी गरिनुपर्दछ । त्यत्तिबेलामात्र नेपालभाषाको आलोचना अधकल्चो कच्ची नभई पक्का साधना र अनुशिलन हुनेछ ।
(नेपाल संवत् १०८७ मा कमलप्रकाश मल्लको सङ्कलनमा च्वसापासाद्वारा प्रकाशित नेपालभाषाको आलोचना सङ्ग्रह ‘नःलि स्वना’ मा मल्लले लेख्नुभएको भूमिकाको नेपाली अनुवाद । मल्लको गएको मंसिर १ गते निधन भएको थियो ।)
नेपाली अनुवाद ः नीरज
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *