साम्राज्यवादी खेमा छिन्नभिन्न बन्दै गर्दा संसारको समाजवादी खेमा भने क्रमशः आपसमा नजिकिरहेका छन् । इतिहासले छोडेका कतिपय तिक्ततालाई थाती राख्दै आज समाजवादी व्यवस्था अङ्गाल्दै गरेका देशहरू आपसी सहयोग र समर्थनमा अघि बढिरहेका छन् । झण्डै सात दशक लामो नाकाबन्दी सामना गरिरहेको प्रजातान्त्रिक जनगणतन्त्र कोरिया आज समाजवादी देश चीनको मैत्रीपूर्ण सहयोगमा संरा अमेरिकी शासक वर्गसँग आमनेसामने वार्ता गरिरहेको छ । समाजवादी देशबीचको एकताको अभावमा त्यस्तो खालको ‘निःशस्त्र युद्ध’ मा प्रजग कोरियाको आत्मविश्वासपूर्ण उपस्थिति सहज हुने थिएन । साम्राज्यवादले ध्वस्त बनाउन खोजेको प्रजग कोरिया आज उही साम्राज्यवादसँग शिर अझ उँचो गरी वार्ता गरिरहेको छ ।
कोरियाली जनताको चाहना युद्ध कहिल्यै थिएन न त अस्त्रशस्त्रमा होडबाजी नै थियो । कोरियाली जनता शान्तिपूर्ण विकासका पक्षधर हुन् । तर, साम्राज्यवादले कोरियाली प्रायः द्विपलाई कहिल्यै चैनसँग अघि बढ्न दिएन । इतिहासमा उपनिवेशवादी शासकबाट भोगेको निर्ममता फेरि साम्राज्यवादी शक्तिबाट दोहोरिन नदिन प्रजग कोरियाली जनताले आफ्नो गाँस काटेर शक्ति आर्जन गरेका छन् । अस्त्रशास्त्र नहुँदो हो त आज प्रजग कोरिया संसारमा स्वाभिमानी देशको उदाहरण बन्न सक्ने थिएन । प्योङयाङको यो सङ्घर्षमा समाजवादी चीन सधैँ साथमा रह्यो । चीनकै सहयोगले पनि साम्राज्यवादी शक्ति प्रजग कोरियामाथि साम्राज्यवादी हमला गर्न हच्किएको थियो ।
साम्राज्यवादी शक्तिले प्योङयाङलाई फेरि पनि इराक, लिविया र सिरियाजस्तै ध्वस्त गर्न नचाहेको होइन । इरान, सिरियासँगै प्रजग कोरियालाई पनि संरा अमेरिकाले कथित ‘दुष्टहरूको मण्डली’ मा समावेश गरेको थियो । साम्राज्यवादले प्रजग कोरियालाई पनि सके आफ्नो तखतमा राख्ने, नभए सिध्याउने रणनीति अङ्गालेको थियो । तर, इराक र सिरियामा जस्तै प्रजग कोरियामा हमला गर्नु सजिलो नहुने सत्य वाशिङ्टनले पनि बुझेको छ । फलतः आज ऊ बाध्य भएर प्योङयाङसमक्ष मित्रताको हात बढाइरहेको छ । सन् १९५०–५३ को कोरिया युद्ध र भियतनाम युद्धमा भोग्नुपरेको पराजय फेरि दोहोरिनेमा संरा अमेरिका सजग छ । यतिबेला साम्राज्यवादले यसप्रकार ‘मित्रताको हात’ बढाउनुको मूल कारण समाजवादी देशहरूबीचको ऐक्यबद्धता नै हो ।
सोभियत संशोधनवादका कारण कुनैबेला विभाजित समाजवादी खेमा आज इतिहासबाट पाठ सिक्दै धुलो टक्टक्याउँदै अझ अघि बढ्ने प्रयत्न गरिरहेको छ । हिजो सोभियत संशोधनवादले समाजवादी खेमाभित्रै ठूल्दाइको व्यवहार गर्ने गल्ती गरेको थियो, आज अवस्था त्यस्तो छैन । आज समाजवादी देशबीच समकक्षी सम्बन्ध छैन । एकआपसमा सहयोग आदानप्रदानको सम्बन्ध छ । तर, कसैले अर्को समाजवादी देशमाथि आफ्नो चाहना र आदेश थोप्ने अवस्था छैन । समाजवादी देशहरू आ–आफ्नो विशिष्ट परिस्थितिअनुसार समाजवादको विकास गरिरहेका छन् । एकआपसमा मैत्रीसम्बन्ध स्थापित छ । यसैकारण आज समाजवादी खेमाले साम्राज्यवादी खेमामाथि चुनौती दिइरहेको छ ।
अर्को समाजवादी देश क्युवाको आर्थिक नीति विकासको लागि चीनलगायत समाजवादी देशको अनुभवले सहयोगी भूमिका खेलिरहेको छ । ल्याटिन अमेरिकाका भेनेजुयलालगायतका देशमाथि साम्राज्यवादी हमलाको प्रतिकारको निम्ति संसारको समाजवादी खेमा एकजुट भएका छन् । साम्राज्यवादको आन्तरिक द्वन्द्व र आफ्नो विषम अवस्थाका कारण त्यहाँका जनता साम्राज्यवादप्रति वितृष्णा व्यक्त गर्दै समाजवादी खेमाप्रति आकर्षित भइरहेका छन् । यो नै समाजवादी विचारको विजय हो । समाजवादी देशहरूको एकता र मैत्रीसम्बन्धले नै संसारमा साम्राज्यवादलाई क्रमशः प्रतिरक्षात्मक अवस्थामा र समाजवादलाई विजयको दिशामा अघि बढाउनेछ ।