भर्खरै :

परम्परागत ङालाकेगु जात्रा

नारायणमान बनमाला
सांस्कृतिक नगर भक्तपुरको ऐतिहासिक प्रसिद्ध नवदुर्गाको माछा मार्ने जात्रा पुस ३० गतेदेखि भक्तपुर नगरपालिका वडा नं ९ सूर्यमढी (त्वचा) बाट वापे पाछाकिगु जात्राबाट सुभारम्भ हुन्छ । हरेक वर्षझैं परापूर्वकालदेखि निरन्तर चल्दै आइरहेको नवदुर्गा देवगण जात्रा भक्तपुर नगरपालिकामा ८ महिनाभित्र विभिन्न स्थानमा गरी २१ स्थानमा जात्रा हुन्छ । सूर्यमढी, तचपाल, क्वाठण्डौ, गछेँ, दथुटोल, इनाचो, गोल्मढी, याछँे, तौमढी, तालाको, मुलाखु, गःहिटी, क्वाछँे, टिबुक्छेँ, विलाछँे, खौमा, इताछेँ, बालाखु, तुलाछँे, चोछँे र इच्छुमा माछा मार्ने जात्रा गरिन्छ । यस जात्रा सञ्चालनमा जतिसुकै समस्याहरू देखिए तापनि जात्रालाई वर्तमान अवस्थासम्म निरन्तर सञ्चालन गर्न बढीजस्तो उजाजु (वनमाला) जातिको महत्वपूर्ण भूमिका देखिन्छ । सोही जात्राबाट उजाजु जाति सबै क्षेत्रमा पछि परेको देवगणहरूको भनाइ रहेको छ ।
मल्लकालीनबाट जात्रा सञ्चालन भएको भने तापनि यसको कुनै ठोस तथ्य प्राप्त गर्न सकिरहेको छैन । यस नवदुर्गाको जात्राले मानव समाजको विकासमा सन्देश दिइरहेको पाइन्छ । तर, कुनै लिपिबद्ध लेख रचना नभएको कारण जात्राको महत्वमा कमी आइरहेको देखिन्छ । मानव समाजको बारेमा दिशानिर्देशन गराउन यस जात्रा सञ्चालन भएको हुनुपर्छ । देवीहरूले पहिरण र मुकुन्दो लगाई बाजाको तालमा गीति नाटकको रुपमा देवगणहरूको नाच हुन्छ । यस नाचमा खिंबाजा, तंबाजा, कंशबाजा, भैरव, महाकाली, बाराही, कुमारी, गुज्यकाली, महालक्ष्मी, महादेव, गणेश, ब्रह्मायणाी, महेश्वरी, भद्रकाली, पुजारी नकीं, बालकुमारी, दुम्ह, सिम्ह, श्वेतभैरव देवगण रहेको हुन्छ । सोहीअनुसार फरक–फरक ढङ्गका व्यवहार, पञ्चरङ्ग (रातो, कालो, सेतो, हरियो, पहेँलो) बाट विभिन्न किसिमको नाच प्रस्तुति हुन्छ । नारीप्रति अपहेलनाबाट नारीक्रोध, दानव नरसंहार, चेलीबेटीको विलाप, केटाकेटीको चकचके व्यवहार, दैनिक जीवनमा गर्नुपर्ने सरसफाइ, मानव जीवनमा गर्ने बेलविवाह दाम्पत्य जीवनमा हुने रीतिरिवाज, मतिना नाचसँग सम्बन्धित यस जात्राले दिशाबोध गरिरहेको पाइन्छ । यस जात्रामा द्यो ब्वेकेगु अथवा प्रसादग्रहण गर्नेबारे पनि जात्रा हुन्छ । त्यस जात्रामा माछा, अण्डा, बारा, चतामारी, योमारी, भटमास, सम्हेबजी, मासुको परिकार, गेडागुडी, दही चिउरा साथै चौरासी व्यञ्जनको प्रयोग हुन्छ । पञ्चबलिको रुपमा हाँस, कुखुरा, राँगो, बोका, भेडा बलि दिने गरेको पाइन्छ । साथै मुख्य बलिको रुपमा सुँगुर लखेटेर (बां लिकेगु) जात्रा मनाउने चलन रहेको छ । यस नवदुर्गा देवगणलाई प्रसादग्रहण (द्यो ब्वेकेगु) कार्य गर्दा आफ्नो सन्तान निरोगी हुने, गरेको काम सफल हुनुको साथै कुल स्थिर हुने जनविश्वास रहेको छ । कुनै आफ्नो दिन दशा बिग्रेको बेला नवदुर्गाको दही चिउरा, पञ्चरङ्गी धागो, मूल पात्रको जल, कालो टीका (मोहनी) ग्रहण गर्दा विघ्न बाधा हट्नुको साथै निरोगी हुनेु विश्वास रहेको पाइन्छ । नवदुर्गा देवगण भित्याउँदा घरमा शान्ति हुने, कुनै डर त्रासबाट मुक्त हुने जनस्रुति रहेको पाइन्छ । यस नवदुर्गाको जात्रा भक्तपुरमा मात्र नभई जिल्ला बाहिर पशुपति, टोखा, गोकर्ण, साँखु, चाँगु, ठिमी, साङ्गा, नाला, धुलिखेल, बनेपा, खम्पु, पनौती विभिन्न स्थानमा सञ्चालन हुन्छ ।
यस जात्राबारे नयाँ पिंढीहरूलाई जनचेतना दिने उद्देश्यका साथ मानव जीवनमा आधारित ऐतिहासिक महत्व बोकेको सांस्कृतिक धरोहरलाई जोगाउन सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *