भर्खरै :

भूकम्प सम्मेलन–अविश्रान्त यात्रा

बिहीबारबाट भक्तपुरको लिबालीमा ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा भूकम्प इन्जिनियरिङ र विपद्पछिको पुनःनिर्माणबारे दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु भयो । २०७२ साल वैशाख १२ गतेको भूकम्पको सन्दर्भमा पहिलो सम्मेलन २०७३ सालमा भएको थियो । दुई वर्षपछि दोस्रो सम्मेलन सुरु भएको छ ।
भूकम्पीय जोखिममा रहेको नेपाल भूकम्प इतिहासदेखि नै विपत्तिको कारण बन्दै आएको छ । भूकम्प प्राकृतिक प्रक्रिया हो । भूकम्प नियन्त्रण आजसम्म मानिसको वशको विषय बन्न सकेको छैन । भूकम्प आफैंले मानिसको ज्यान लिने गर्दैन । बरु मानिस आफैंले बनाएका संरचना कमजोर बन्दा त्यही काल बन्ने गर्दछ अर्थात् भूकम्पलाई रोक्न नसके पनि मानिस बस्ने संरचना बलियो वा सुरक्षित बनाउन सके मानिसलाई कालको मुखमा पर्नबाट जोगाउन सक्छौँ । भक्तपुरमा सुरु भएको सम्मेलनले मूलतः आजसम्म संसारमा आएका भूकम्प, तिनले पु¥याएको क्षतिको प्रकृति, क्षति न्यूनीकरण गर्न प्रयुक्त उपाय, पुनःनिर्माणका अनुभवको विषयमा अध्ययन गरिरहेका अध्येताहरूको अध्ययन सार प्रस्तुत गर्नुका साथै विद्हरूबीच छलफल भयो ।
भूकम्प र पुनःनिर्माणसम्बन्धी सम्मेलन प्राज्ञिक अभ्यासमा सीमित हुनुहुन्न । सम्मेलनमा प्रस्तुत विचार र अध्ययन सारलाई कुनै पनि बेला आउन सक्ने भूकम्पबाट मानिसलाई जोगाउन उपयोगमा ल्याउन सकिने बनाउन जरुरी छ । सम्मेलनमा सीमित अध्येताको बीचमा मात्र ज्ञानलाई सीमित राखिनुहुन्न । सम्मेलनका निचोडलाई अङ्ग्रेजी भाषाबाहेक नेपाली भाषामा समेत सारमा प्रकाशित गर्नुपर्छ । ती निचोडलाई सम्बन्धित सरकारी निकायसम्म लगी कार्यान्वयनमा ल्याउने तहसम्म विस्तार गरिनुपर्छ ।
भूकम्प हाम्रो चुनौती हो र त्यसबाट जोगिन ज्ञानको विकास गर्न आयोजित सम्मेलन प्रशंसायोग्य हो । देशकै नमुना कलेज बनिसकेका ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले भूकम्पका साथै अन्य विभिन्न क्षेत्रका विषयमा सम्मेलन गर्दैै जान आवश्यक छ । काठमाडाँै उपत्यकाभित्रको खुला क्षेत्रको महत्र्व र संरक्षणको विषयमा पनि सम्मेलनहरू गर्न उपयुक्त हुन्छ । भक्तपुर नगरपालिकाले नगरभित्रका पोखरी संरक्षणमा उल्लेख उपलब्धि हासिल गरेको छ । लोप हुने अवस्थामा पुगेका सिद्धपोखरी र भाजु पोखरीको संरक्षणमा भक्तपुर नपाले हासिल गरेको सफलता देशकै लागि उदाहरणीय बन्यो । त्यसै आधारमा भक्तपुर नपाले काठमाडौँको रानीपोखरी संरक्षणमा समेत योगदान गरिरहेको छ । उपत्यकाका धेरै पोखरी आज लोप हुने अवस्थामा पुगेका छन् । तिनको संरक्षण कसरी र किन गर्ने भन्ने विषयमा पनि सम्मेलनहरू हुन सके इन्जिनियरिङ विषय जनताको जीवनसँग जोडिन सक्छ ।
काठमाडाँैको रक्तनली मानिने बागमती र त्यसका शाखा नदीहरूमा बढ्दो प्रदूषण अर्को चुनौती हो । बागमती सरसफाइको नाममा शासक दलका नेता कार्यकर्ताले अरबौं रुपैयाँ कुम्ल्याइसकेका छन् । ख्वप इन्जिनियरिङ कलेजहरूले नदीलाई कसरी प्रदूषणमुक्त बनाउने विषयमा पनि आगामी सम्मेलनहरू गर्नुपर्छ ।
सरकारले विकास र समृद्धिको नाममा सस्ता भाषण गरेर जनता झुक्याउन निमग्न भएको अवस्थामा भक्तपुुरका कलेजहरूले देशलाई नै सन्देश जाने खालका अभ्यास गरिरहनु प्रशंसनीय कार्य हो । असल कार्य गर्नेलाई प्रतिकूलताका हजार उबडखाबडले रोक्न खोजेको हुन्छ । तर, त्यस्ता सबै प्रतिकूलता चिरेर अघि बढ्ने अविश्रान्त यात्राले समाजमा उज्यालो बनेर सधैं प्रकाश दिइरहेको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *