भर्खरै :

इतिहासमा बाँचेका तीन दिन

इतिहासमा बाँचेका तीन दिन

शान्सी (Shanxi) प्रान्तको फिङयाओ (Pingyau) प्राचीन नगर पुग्दा केही दिनअघि परेको हिउँ अझै पुरै पग्लिसकेको थिएन । शान्सी प्रान्तको राजधानी थाइयुआन (Taiyuan) जान हिँडेको तेजगतिको रेलबाट फिङयाओ स्टेसन निस्कँदा चिसो हावाले स्वागत गरे पनि त्यो दिन मिठो घाम लागेको थियो । बिहान सखारै छङतुबाट थालेको यात्रा सिआन (Xian) हुँदै फिङयाओ पुग्दा दिन ढल्किने तरखरमा थियो । स्टेसनबाट निस्कँदै गर्दा चाओ (Chao) मलाई लिन सडकमा देखापरिसकेका थिए ।
छङतुबाट सिआनसम्मको बाटो पहाडैपहाड, जङ्गल र खोलानालाको बाटो थियो । एकतमासले दौडिरहेको रेल पहाड आउनासाथ सुरुङ मार्गभित्र छिरिहाल्थ्यो । एउटा सुरुङ मार्गबाट निस्कन नपाउँदै लगत्तै अर्को सुरुङमार्ग भित्र पसिहाल्थ्यो । कहिलेकाहीँ केही बेर देखिने जङ्गल, खहरे खोला र पहाडका थुम्काहरूले भने नेपालकै कुनै पहाडी जिल्लाको यात्रा गरिरहेको अनुभव दिलाइरहेको थियो । कुनै दिन कर्णाली प्रदेशमा तेजगतिको रेल चलेमा त्यहाँ गरिने यात्रा यस्तै हुने कल्पना गर्छु । तर, सिआन सहरबाट उँभो शान्सी (Shanxi) प्रान्तको भूगोल भने उदेकलाग्दो देखिन्थ्यो । हिउँ परिरहने ठाउँ भएकोले फेब्रुअरीको यो जाडोमा कतै हरियो परियो देखिएको थिएन । टाढाटाढासम्म फैलिएका फाँट कुनै मरुभूमिजस्तै देखिन्थ्यो । तथापि, किसानहरूले मिलेसम्मका खेतमा केही न केही रोपेको देखिन्थ्यो । चिसो र हिउँबाट जोगाउन प्लास्टिकका ठुलठुला सुरुङ बनाएर खेती गरिएका धेरै बस्तीका दृश्य पनि रेलबाट देखिन्थ्यो ।
प्राचीन नगर फिङयाओको संस्कृति र जीवनलाई अझ नजिकबाट बुझ्ने हेतुले मित्र चाओले हाम्रो लागि नगरभित्रै एउटा होटलमा बस्ने प्रबन्ध मिलाएका थिए । चारैतिर पर्खालबाट घेरिएको फिङयाओ नगरभित्र पस्दा कुनै ऐतिहासिक चिनियाँ चलचित्रको दृश्यभित्र पसेजस्तै अनुभूति भएको थियो ।
ढुङ्गा छापेको सडक, बढीमा साढे एक तल्ला नत्र एक तल्लाका ढुङ्गे घर, झिङ्गटी छाएका छाना, मौलिक चिनियाँ वास्तुकला, पाइलैपिच्छे भेटिने मन्दिर र ऐतिहासिक स्मारकहरू, अनेक थरी स्थानीय विशेषताका उत्पादनको बिक्री भइरहेका पसलहरू । यो वर्णन लेख्दै गर्दा मलाई आफ्नै गृहनगर भक्तपुरको वर्णन गरिरहेजस्तो लागिरहेको छ । तर, यो वर्णन शान्सी प्रान्तको प्राचीन संरक्षित नगर फिङयाओको हो । २०७२ सालको भूकम्पपश्चात् नेपालका प्राचीन र सांस्कृतिक नगरका स्वरूप बदलिए । पुराना शैलीका घर भत्किएपछि मानिसहरूले ढलान घर बनाए । झिङ्गटीका छाना देखिन छोड्यो । बरु हिजोआज कौसी कौसीमा काला र हरिया रङ्गका पानीका ट्याङ्की देखिन्छन् । फिङयाओ भने आजभन्दा दुई तीन दशकअघिको भक्तपुर, काठमाडौँ र ललितपुरका पुराना प्राचीन बस्तीहरूजस्तै देखिन्छ ।
फिङयाओ नगरको ढोकाभित्र छिर्दा हामी प्राचीन इतिहासको कुनै कालखण्डमा प्रवेश गरेझैँ स्वैर कल्पना भइरहेको थियो ।
रात बित्दै गर्दा फिङयाओमा चिसो पनि बढ्दै थियो । तर, फिङयाओको कलेवर भने झन्झन् जीवन्त र रङ्गिन बन्दै थियो । जतिजति रात पर्छ, उतिउति सुन्दर र चहकिलो हुने सहर नै खासमा जीवन्त सहर हो । फिङयाओ होटलमा आफ्ना झोला झम्टा बिसाएर नगर शयर गर्न निस्कँदा झमक्क साँझ परिसकेको थियो । अर्थात्, फिङयाओ आफ्नो चहकिलो रात्रि आभूषणले चिटिक्क परिसकेकी थिइन् ।
फिङयाओको ब्यस्त बजारमा हिँड्दाहिँड्दै चाओले मलाई सोधे, नीरज, तिमीलाई कतिको भोक लागेको छ ? अब एक घण्टा भोक थाम्न सकिने अवस्था छ कि छैन ?


फिङयाओको सुन्दर कायाले मोहित भइसकेको मलाई खाना खान कुनै हतार थिएन, न त होटलमा गएर कति बेला निदाउँ जस्तै नै लागेको थियो ।
हरेक दिन फिङयाओको दक्षिण ढोकामा त्यो प्राचीन नगरको ऐतिहासिकता झल्काउने विशेष वृत्तचित्र नगरको पर्खालमा देखाइने रहेछ । खाना केही समयको लागि थाती राखेर हामी हतार हतार दक्षिण ढोकातिर लाग्यौँ । हजारौँको सङ्ख्यामा मानिसहरू वृत्तचित्र हेर्न ठुलो चौरमा जम्मा भइसकेका रहेछन् । भक्तपुरको बिस्का जात्रामा मानिसहरू योसिंख्योमा योसिंद्यो उठाएको हेर्न भेला भएजस्तै मानिस ढुङ्गा छापिएको चोकमा भेला भएका थिए । दक्षिण ढोकाको अग्लो पर्खाललाई स्क्रिन बनाएर देखाएको वृत्तचित्र झन्डै बीस मिनेटको थियो । त्यति अवधिमा सिङ्गो फिङयाओको इतिहास र सांस्कृतिक गरिमा झल्काउने भव्य वृत्तचित्र प्रदर्शन भयो । हजारौँ मानिसबिच प्रकाशको प्रतापबाट देखाइएको वृत्तचित्र सकिएको मेसै पाएनौँ ।
फिङयाओ नगर २७ सय वर्षभन्दा लामो इतिहास बोकेको चिनियाँ प्राचीन नगर हो । यो नगर सन् १९२० को दशकसम्म सिङ्गो चीनको आर्थिक तथा वित्तीय केन्द्र थियो । चाओ भन्दै थिए, यो त चीनको कुनै बेलाको ‘वालस्ट्रिट’ (अमेरिकाको वित्तीय केन्द्र) हो नि ।
चीनमा सबभन्दा पहिला बैङ्कको विकास यही ठाउँमा भएको थियो । यहाँका बैङ्कहरूले लामो लामो यात्रामा व्यापारको निम्ति जाने व्यापारीहरूलाई फिङयाओमा पैसा जम्मा गरेर अर्को सहरको शाखाबाट पैसा निकाल्न सक्ने सेवा दिन्थ्यो । त्यसो गर्दा एकातिर यातायातको राम्रो विकास भइनसकेको समयमा लामो बाटोमा पैसाको भारी (उति बेलाका धातु मुद्रा ओसारपसार गर्न निकै सकस हुन्थ्यो) बोक्नुपर्थेन भने अर्कोतिर बाटोमा प्रायशः भइरहने डकैतीबाट धन जोगाउन सकिन्थ्यो ।


चीनको सबभन्दा पहिलो बैङ्क सञ्चालन भएको घरलाई अहिले भने सङ्ग्रहालय बनाइएको छ जहाँ दैनिक हजारौँ मानिस इतिहासको त्यो आर्थिक केन्द्र हेर्न र उत्तिबेलाको वित्तीय कारोबार बुझ्न जान्छन् ।
आर्थिक कारोबार र सुरक्षा निःसन्देह अन्योन्यास्रितरूपमा गाँसिएका विषय हुन् । सुरक्षा प्रबन्ध राम्रो भएको ठाउँमा आर्थिक गतिविधि सघन बनाउन सहज हुन्छ । फिङयाओ आर्थिक केन्द्र बनेसँगै त्यहाँका धेरै युवाहरू सुरक्षा व्यवस्थाको काममा लागे । समयान्तरमा त्यो काम सुरक्षा कम्पनीको रूपमा विकास भयो । उत्तरमा मंगोलिया हुँदै रुससम्म र दक्षिणमा छङतु अनि पेइचिङ, साङ्घाई, सिनचियाङसम्म व्यापारीका मालतालको सुरक्षा गर्न र ओसारपसार गर्न फिङयाओका ती बलिया सुरक्षाकर्मीहरू खटिन्थे । सयौँको सङ्ख्यामा घोडाका बग्गीमा ती मानिसहरूले व्यापारीका सामान ओसारपसार गर्थे । कति फर्कन्थे, कति भने फर्किन्थेनन् ।
सुरक्षा उद्योगको विकाससँगै फिङयाओमा शारीरिक आत्मरक्षाका विविधकला र सीपको पनि विकास भयो । सुरक्षा उद्योगको लागि आवश्यक पर्ने जनशक्ति तालिम दिने केन्द्रहरू त्यहीँ खोलिए । अनि सुरक्षाको लागि आवश्यक हातहतियारको पनि विकास हुँदै गयो । फिङयाओका चोकचोकमा मार्सल आर्टका तालिम चल्थे, युवाहरू आफ्नो कला र क्षमता देखाउन अनेक हातहतियारसहित प्रतिस्पर्धा गर्थे । तिनै युवाहरू व्यापारीका सामानको सुरक्षा गर्न चीनको लामो लामो यात्रा गर्थे । यसरी फिङयाओमा चीनका अनेक प्रान्त र विभिन्न देशबाट पनि व्यापारीहरू आउने जाने चलिरहन्थ्यो । जसले प्राचीनकालदेखि नै यो नगरलाई जीवन्त नगर बनाएको थियो ।
दक्षिण ढोकाको मुखैमा बिछाइएको ढुङ्गामा परेको खाल्डो देखाउँदै चाओ भन्दै थिए, “घोडाका बग्गी लगातार आउने जाने भइरहन्थ्यो । ऊ हेर, बग्गीका पाङ्ग्राले ढुङ्गामा पारेको खाल्डो ।”
फिङयाओ क्षेत्रफलको हिसाबले त्यत्ति ठुलो नगर होइन । तथापि, चाओ भन्दै थिए, मानिसहरू कम्तीमा पाँच दिन यहाँ बसेर फिङयाओलाई पूरै बुझ्ने प्रयास गर्छन् । फिङयाओ नगर कार्यालयले दिएको पर्यटक पुस्तिकामा उल्लेख कम्तीमा २०,२५ ठाउँ राम्ररी घुम्न पाँच दिनमा पनि मुस्किल होला । हामी पाँचै दिन फिङयाओमा बस्न सक्ने अवस्थामा थिएनौँ । बढीमा तीन दिनमा हामीले सबै प्रमुख ठाउँ घुम्ने निधो गर्यौँ । नगरभित्रका ती तोकिएका ठाउँ जान चिनियाँ वा विदेशी सबैले टिकट लिनुपथ्र्यो । १२० युआनको एउटा टिकटले ती सबै ठाउँमा जति दिन लगाएर घुमे पनि हुने व्यवस्था गरिएको थियो ।


जुनसुकै ठाउँमा जाँदा पनि त्यो ठाउँको बारेमा व्याख्या गर्ने केही युवाहरू उपलब्ध थिए । उनीहरूले हरेक ठाउँको कम्तीमा दुई घण्टा लगाएर व्याख्या गर्थे । सम्बन्धित ठाउँको विषयमा उनीहरूको जानकारी कुनै विशेषज्ञको भन्दा कम हुन्थेन । उनीहरूले इतिहास बनिसकेका सबै कुरालाई आजको समयसँग मिलाएर कथा भनेजस्तै कुरा सुनाउँथे । बिनाव्याख्या ती ठाउँहरूको अवलोकनले मात्र तिनको जीवन्तता अनुभव गर्न सकिन्न । आफ्ना स्कूले छोराछोरीलाई इतिहासका ती कथा सुनाउन कति चिनियाँ आमाबुबा तिनै युवा व्याख्याताहरूको सहायता लिइरहेका थिए ।
सामान्यतः नेपालमा विदेशी पर्यटकले मात्र कुनै पनि ठाउँको भ्रमण गर्दा व्याख्याता (गाइड) राख्ने चलन छ । अझ हाम्रो बुझाइमा त गाइड भनेको शाब्दिक हिसाबले पनि बाटो देखाउने पथप्रदर्शकमात्र हो । तर, खासमा उनीहरूलाई बाटो देखाउने पथप्रदर्शकभन्दा पनि व्याख्याता (क्युरेटर) को अर्थमा बुझ्नु उपयुक्त हुन्छ । स्वदेशीहरूलाई बाटो देखाउनु नपर्ने र भाषा पनि जान्ने भएकोले गाइड पनि चाहिँदैन भन्ने हाम्रो सोचाइ अपूर्ण छ । बाटो र भाषा जान्दैमा सबैलाई सबै ठाउँको इतिहास र महत्व थाहा हुन्छ भन्ने होइन । त्यसकारण, चीनका विभिन्न सङ्ग्रहालय र पर्यटकीय स्थलमा स्वदेशी होस् वा विदेशी, जो कोही पनि उत्सुक पर्यटकले आफू घुम्न पुगेको ठाउँबारे गहिरो जानकारी लिन ‘क्युरेटर’ को सेवा लिने गर्छन् । यसबाट लाखौँ युवाहरूले रोजगारी पाइरहेका छन् । ती युवाहरू वास्तवमै आफ्नो क्षेत्रका विज्ञहरू नै हुन् ।
हाम्रो स्थानीय सरकारले पनि यसरी आफ्नो क्षेत्रमा रहेका ऐतिहासिक क्षेत्रको व्याख्या गर्न नेपाली र विदेशी भाषा जानेका तालिमप्राप्त विज्ञ युवाहरू उपलब्ध गराउन सके ऐतिहासिक स्थलको भ्रमण मन्दिरका छाना र घण्टा नियाल्नुमा मात्र सीमित नहोला । त्यो आफैँ पनि इतिहास र समाजको प्रभावकारी कक्षा हुनसक्छ । नयाँ पुस्तालाई इतिहास बोध गराउन यो ज्यादै राम्रो तरिका हुनसक्छ । नेपाल घुम्न नेपालीलाई व्याख्याताको खाँचो पर्दैन भन्ने सोच सही होइन । आफैँ आँगनको मन्दिर र चोकबारे हामीलाई कति इतिहास थाहा हुँदैन ।
तीन दिनको बसाइँमा हामीलाई दसवटा पर्यटकीय केन्द्र घुम्न पनि मुस्किल पर्यो । तर, जति ठाउँ घुम्यौँ इतिहासको कुनै गहिरो पाठ पढेर फर्केजस्तो अनुभव गथ्र्यौँ । कसरी फिङयाओका व्यापारीहरूले चिनियाँ इतिहास र राजनीतिक परिवर्तनमा भूमिका खेले भन्ने कुरा पनि त्यहाँको उद्योग वाणिज्य सङ्घको सङ्ग्रहालय घुम्दा बुझियो । फिङयाओका सुरक्षाकम्पनीहरूले कसरी काम गर्थे र कस्ता हातहतियार प्रयोग गर्थे, कस्ता सुरक्षा तालिम दिइन्थ्यो भन्ने कुरा त्यहाँका सङ्ग्रहालयहरू घुम्दा बोध भयो । कुनै बेला फिङयाओकै सबभन्दा धनी मानिसको ठुलो दरबार भने अहिले सङ्ग्रहालयमा परिणत गरिएको छ ।
नगरलाई सांस्कृतिक स्वरूप दिन स्थानीय सरकारले गर्न सक्ने सबै उपाय लगाएको देखिन्थ्यो । चीनको परम्परागत पहिरन लगाएर फिङयाओ नगर डुल्ने सयाँै महिलाहरूले नगरलाई अझ परम्परागत स्वरूप दिइरहेको थियो । चिनियाँ युवती र अर्धवैँसे महिलाहरू त्यहाँका सौन्दर्य पसलमा कोरीबाटी चिटिक्क पारी परम्परागत पोशाक लगाएर घुमिरहेको देख्दा काठमाडौँ, ललितपुर र भक्तपुरमै पनि यो उपाय लगाउन सके गज्जब हुने अनुभव भयो । चिनियाँ महिलाहरूले नगरका पसलमा केही घण्टाको लागि भाडामा ती परम्परागत पोशाक लिन्थे र लगाएर केही घण्टाभित्र नगर घुम्ने र तस्बीर खिच्थे । यसले एकातिर स्थानीय रोजगारी प्रवद्र्धन पनि भएको देखियो, अर्कोतिर नगरमा जतिखेर पनि सांस्कृतिक र परम्परागत लुगा लगाएका सुन्दर महिलाहरू घुमिरहँदा सांस्कृतिक वैभव पनि उजागर भएको देखियो । हाम्रा प्राचीन नगरमा पनि हाकुपटासी लगाएका महिलाहरू यसरी नै घुमिरहने परिस्थिति बनाउन सके नगरलाई सांस्कृतिकरूपमा अझ जीवन्त बनाउन सकिन्छ, त्यसबाट संस्कृतिको प्रचार हुनुका साथै स्थानीय रोजगारी प्रवद्र्धनमा पनि टेवा पुग्ने देखिन्छ । ती चिनियाँ महिलाहरू परम्परागत पोशाक लगाएर घुम्दै गर्दा मेरो आँखा अघि मेरो गृहनगर भक्तपुरको बाटोमा देशी विदेशी महिलाहरू हाकुपटासी लगाएर घुम्दै गरेको, तस्बिर खिच्दै गरेको कल्पनामात्र नाचिरहेको थियो ।
फिङयाओको परम्परागत मौलिक परिकार पाइने भोजनालयहरूमा मानिसहरू पालो कुरेर खाना, खाजा खाइरहेका थिए । उनीहरू फिङयाओलाई चिनाउने मौलिक परिकार खान आतुर थिए । चाओले एउटा पसलमा हाम्रो लागि बल्ल पाएको टोकनअनुसार पालो आउन एक घण्टा कुर्नुपर्यो । एक घण्टा घुमेर फर्किँदा बल्ल भोजनालयभित्र पस्ने हाम्रो पालो आयो । पसलभित्र स्थानीय परिकार खाँदै गरेका चिनियाँहरूको भिड थियो । एउटा गल्लीबाट पस्दा आउने दुई तीनवटा चोकहरूलाई सफा चिटिक्क बनाएर खानाखाने ठाउँ बनाइएको थियो । त्यस्ता चोकमा बसेर खाँदा मानिसहरूले पक्कै इतिहासको कुनै कालखण्ड बाँचिरहेको अनुभव गरिरहेको हुनुपर्छ । अधिकांश पसलमा स्थानीय उत्पादन र परिचय झल्काउने परिकारलाई विशेष प्राथमिकता दिइएको थियो ।
फिङयाओको सिरका (भिनेगर) चीनभरि नै विशेष मानिँदो रहेछ । त्यसकारण, भिनेगर बेच्ने पसलहरूमा पनि मानिसको घुइँचो लागेको देखिन्थ्यो । पर्यटकहरू फिङयाओको भिनेगर किन्न एकपछि अर्को थरी चाख्दै थिए । एउटै पसलमा पनि धेरै थरी भिनेगर बेच्न राखिएका थिए ।
सडकमा मानिसको घुइँचो जति बढे पनि सरसफाइको काम पनि लगातार चलिरहेको देखिन्थ्यो । बाटोमा सानो कागजको चिर्कटोमात्र खसेको देख्दा पनि सफाइ मजदुरहरू टिप्न आइपुगिहाल्थे ।
बिहान, साँझ कठ्याङ्ग्रिने हावाले घोचे पनि दिउँसोको घामले भने हाम्रो फिङयाओ बसाइँ ज्यादै सुन्दर बनाएको थियो । प्राचीन सुरक्षा पर्खालले घेरिएको नगरको सुरक्षा व्यवस्था आफैँ पनि अध्ययनको लागि रोचक विषय हो । नगर बाहिर जान वा भित्र पस्न कुनै न कुनै ढोकाबाट पस्नुको विकल्प छैन । अग्लो पर्खाल बाहिर चौडा मानवनिर्मित खोला छ, जहाँ हिजोआज हिउँ जमेको देखिन्छ । तर, कुनै बेला यो खोला–नगरको सुरक्षाको आधार थियो । नगरमा हमला गर्दा शत्रुको निम्ति यो खोला तर्न सबभन्दा सकस हुन्थ्यो । फिङयाओको सुरक्षा पर्खाल माथि उक्लेर चारैतिर नियाल्दा एकातिर पर्खालबाहिर भव्य आधुनिक चिनियाँ सहर देखिन्थ्यो भने पर्खालभित्र इतिहास बाँचिरहेको एउटा चिनियाँ नगर देखिन्थ्यो ।
चाओ बाहिरका अग्ला भवन र भित्रका छाने घरहरू देखाउँदै भन्दै थिए, यो इतिहास हो, यो वर्तमान हो ।
त्यही बेला चाओको छोरालाई अँगालो मार्दै मैले भनेँ, अनि यो भविष्य ।
फिङयाओबाट फर्किने दिन बिहानै हामी त्यहाँको नगर नाटक घरमा पुग्यौँ । हामी पुग्दा नाटक हेर्न मानिसको घुइँचो लागिसकेको थियो । सामान्यतः हामीले देखेको नाटक घरमा दर्शक बस्छन् र दबुमा कलाकारले नाटक मञ्चन गर्छन् । एवम् रीतले दृश्य परिवर्तन हुँदै जान्छ । कथा अघि बढ्दै जान्छ । तर, फिङयाओको त्यो नाटक घरमा भने दर्शकहरू आफैँ नाटकका कलाकार हुन्छन् । दर्शकहरू क्रमशः एउटा कोठाबाट अर्को कोठामा गएर नाटकका दृश्यमा कलाकारसँगै आफैँ पनि सहभागी बन्छन् । कुनै बेला फिङयाओको एक जना व्यापारीको छोरा अपहरणमा पर्दा उसलाई बचाउन गएका फिङयाओका युवाहरूको वियोगपूर्ण कथामा आधारित नाटकले सिङ्गो फिङयाओको इतिहास र समाज बोलिरहेको थियो । कथासँगै नाटकले फिङयाओको संस्कृति, इतिहास, जनजीवन कथिरहेको थियो ।
सन् १९९७ मा फिङयाओकै शुआङलीन (Shuanglin) मन्दिर र चनकुओ (Zhenguo) को मन्दिरसहित फिङयाओको यो सांस्कृतिक नगरलाई युनेस्कोले विश्व सम्पदामा सूचीकरण गरेको थियो । फिङयाओलाई चीनकै सबभन्दा व्यवस्थितरूपमा संरक्षित काउन्टीस्तरको सम्पदा क्षेत्र मानिन्छ । इतिहासको संरक्षणसँगै फिङयाओले त्यहाँका स्थानीयलाई मनग्य रोजगारी पनि दिइरहेको देखिन्थ्यो । खाना खान गएको एउटा रेस्टुराँमा देखाइएको स्थानीय सांस्कृतिक कार्यक्रममा बाजागाजा बजाउने कलाकारहरू सबै कम्तीमा ६० नाघेका थिए । उनीहरूले बजाएको बाजाको धुनमा युवाहरू परम्परागत नाच नाचिरहेका थिए जसले चिनियाँ संस्कृतिको फराकिलो आयाम उजागर गरिरहेको थियो ।
फिङयाओबाट फर्किने दिन चिसो निकै बढिसकेको थियो । चाओ भन्दै थिए, कुनै पनि बेला हिउँ पर्न सक्छ । नभन्दै हामी थाइयुआन सहर पुगेको दिन परेको हिउँले जताततै सेतै बनाएको थियो । जाँदा उजाड मरुभूमि जस्तो लागेको शान्सीको भूगोल फर्किँदा हिउँले छपक्कै छोपिएको थियो, जताततै हिउँले सेतो कपडा ओछ्याए जस्तो देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *