भर्खरै :

निकट भविष्यमा कस्तो होला संसार ?

निकट भविष्यमा कस्तो होला संसार ?

एक आँखीझ्याल
केही महिनामै १४ हजारभन्दा बढी प्यालेस्टिनी बालबालिकाको हत्या भयो । यहुदी जातिवादीमा विश्वास गर्ने कब्जाकारीहरू योजना बनाएरै २० लाख प्यालेस्टिनीहरूलाई भोकभोकै मार्ने ध्याउन्नमा छन् । अर्कोतिर पश्चिमा विश्वका सरकारहरूले तिनै जातिवादीहरूलाई पूर्ण साथ–सहयोग दिइरहेका छन् । यस घटनाक्रमबाट हामीले मान्दै आएको सङ्गतिपूर्ण संसार धुजाधुजा भइरहेको छ । यसैलाई ‘सभ्यता’, ‘लोकतान्त्रिक मूल्य’ र ‘अन्तर्राष्ट्रिय विधिको शासन’ भन्ने हो भने वर्तमान संसारलाई असङ्गतिपूर्ण भन्नैपर्छ† मानव जातिलाई यो संसार सुहाउन्न भन्नैपर्छ । तैपनि, जलवायु परिवर्तनविरुद्ध लड्नका निम्ति हाम्रो मानव जातिसँग यिनै भग्न मूल्य र संस्थानबाहेक अर्थोक केही छैन भन्ने भ्रम छरिँदै छ । गाजाको हत्या शिविरमा आगो दन्किरहेकै बेला सन् २०२४ फेब्रुअरीमा मानव इतिहासमै सबैभन्दा बढी जीवाश्म इन्धन उत्खनन गरियो भने पृथ्वीको तापक्रम अहिलेसम्मकै उच्च पुग्यो । कोप–२८ मा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले भने, “गाजा हाम्रो निकट भविष्यको आँखीझ्याल हो ।”
यस्तो अन्धकारपूर्ण भविष्यलाई रोक्नको लागि हेर्दा असङ्गतिपूर्ण लाग्ने यी यावत मुद्दाहरू पछाडिको तर्क बुझ्नैपर्छ । यो लेखमा हामी प्यालेस्टिन र साम्राज्यवादबारे विस्तृत सैद्धान्तिक छलफल गर्छौँ । संरा अमेरिकी दबदबामा रहेको विश्व पुँजीवादी व्यवस्थाले आफूलाई ‘हरित साम्राज्यवाद’ मा फेर्दै छ र चर्किँदै गइरहेको पर्यावरणीय सीमा र जनप्रतिरोधले ल्याएको संरचनात्मक सङ्कटमा मलम लगाउने प्रयास गर्दै छ । अहिले यहुदीवादी बसोबासी उपनिवेशवादको सामना गरिरहेको प्यालेस्टिन यही साम्राज्यवादी प्रक्रियाको अग्रमोर्चामा छ । हरित प्रविधिको घमण्ड गरिरहेको साम्राज्यवादको दोहोरो चरित्र अहिले त्यही देखापर्दै छ । आफूले ‘मान्छे नभएको भूमि’ भनेको प्यालेस्टिनको पर्यावरण नै हातमा लिने उपनिवेशवादीहरूको विरोधाभाषपूर्ण र भयानक कार्यमा हरित प्रविधिको अन्तर्विरोध निहित छ । लेखको पुछारमा हामी साम्राज्यवादविरोधी डिग्रोथतिर हामी कसरी सङ्गठित बन्न सक्छौँ भन्ने विषयमा चर्चा गरिनेछ । किनभने पुँजीवादको छत्रछायाँमा सयौँ वर्षसम्म ‘प्रगति’ गरेपछि मानव जीवन र पर्यावरणमा देखिएको त्रासदीलाई सुधार्न यसबाहेक अर्को विकल्प छैन ।

हरित साम्राज्यवाद के हो ?
सन् १९४७ देखि सन् १९४८ सम्म चलेको इजरायलको ‘स्वतन्त्रता सङ्ग्राम’ लाई प्यालेस्टिनीहरू नक्बा भन्छन् । त्यो ‘सङ्ग्राम’ को अन्त्यतिर यहुदी जातिवादी नेताहरूले तुरुन्तै परमाणु विज्ञान कार्यक्रम अघि बढाए । त्यसको उद्देश्य भर्खर बनेको इजरायलको गठ्ठाघरमा आणविक हतियार जम्मा गर्नु थियो । त्यसमा आशङ्का जाहेर गर्दा आणविक ऊर्जा इजरायलको हरित रूपान्तरण नीतिको भाग हुने छलकारी तर्क दिइयो । यो नीति बनेको धेरै भएको छैन र ऊसँग परमाणु टुक्र्याउने भट्टी छैन ।
नकाब (नेगेभ) मरुभूमि युरेनियम खनिजमा धनी छ । त्यसकारण, पनि रैथाने प्यालेस्टिनी जनतालाई यहुदी राष्ट्रिय कोषको वृक्षरोपण कार्यक्रमको आडमा बाहिर खेदेपछि यो मरुभूमि आणविक हतियार उत्पादनको मुख्य अड्डा बन्यो । यो कुनै खुफिया गतिविधि थिएन किनभने इजरायलसँग आफ्नै प्रविधि र विज्ञ थिएनन् । आफ्नै ढङ्गले विकास गर्नका लागि इजरायल आत्मनिर्भर थिएन । यद्यपि, संरा अमेरिकाले इजरायली आणविक कार्यक्रमबारे केही थाहा नपाएझैँ ग¥यो । यता फ्रान्सले भने आणविक हतियारको निर्माणमा इजरायललाई प्रत्यक्ष सहयोग ग¥यो । पश्चिमा ढाकछोप र अलमलले इजरायलाई आणविक अप्रसार सन्धि छल्न सहयोग ग¥यो । पश्चिमा साम्राज्यवादकै छत्रछायाका कारण इजरायल आणविक क्रियाकलाप नियमन गर्ने अन्तर्राष्ट्रिय एजेन्सीहरूको पर्यवेक्षणबाट पनि जोगियो ।
एउटा भनाइ नै छ । इजरायलसँग अन्तर्राष्ट्रिय सङ्घसंस्था र नियम–कानुनले छुन नसक्ने आणविक भन्डार छ । यो सानोतिनो कुरा होइन बरु इजरायली विशेषता नै हो† भिमकाय पुँजीवादी विश्व चिहाउने सानो आँखीझ्याल हो । यसमा व्यापारिक स्वार्थ, प्राविधिक एकाधिकार र राजनीतिक चालबाजी एक ठाउँ आएको देख्न पाइन्छ । यसको इतिहास केलाउँदै जाँदा अटोमन साम्राज्यको युगसम्म पुगिन्छ, जतिबेला बेलायती उपनिवेशवादीहरूले प्यालेस्टिनमा आँखा गाडेका थिए । बेलायती उपनिवेशवादीहरूले युरोपका यहुदीवादीहरूलाई अलग्गै देश दिने वाचा गरेर बाल्फोर घोषणा गरे । सन् १९३६–१९३९ को प्यालेस्टिनी क्रान्तिमाथि दमन गर्दा दुवै सँगै थिए । तिनीहरूले इजरायली हतियार उद्योगलाई निःसर्त सैन्य सहयोग गरिरहे । तिनका कुकर्मको विरोध गर्नेहरूलाई दुष्ट देखाएर जातिसंहारको बचाउ गरिरहे । बेलायती शासक खलकलाई पछि अमेरिकी र युरोपका उसका भरौटे शासकहरूले विस्थापित गरे । यिनीहरूले सदैव इजरायललाई आफ्नो आर्थिक र भूराजनीतिक दबदबाको पहरेदार मान्दै आएका छन् ।

१. औपनिवेशिक मोर्चाको औद्योगीकरण
एक्काइसौँ शताब्दी आउनै लाग्दा उन्नत प्रविधि उद्योगमा वित्तीय पुँजीको भेल आयो । यसले संरा अमेरिकाको प्राविधिक नगरी सिलिकन उपत्यका झिलिमिली भयो । त्यहाँ उद्यमशीलता र विज्ञतन्त्रको अचाक्ली भावना पाइन्छ । त्यो मुक्तिकामी भावनाको जरा ‘असभ्य जातिलाई रताउने’ अमेरिकी पुँजीवादको पुरानो रोगसँग जोडिएको छ । अमेरिकामा बसोबासी उपनिवेशवाद थियो र त्यसको झल्को आधुनिक क्यालिफोर्नियामा पनि पाइन्छ । यो सोचले प्रकृतिलाई बाँझो ठान्छ अनि त्यसमा मानव बुद्धिको प्रयोगबाट सम्पदा दोहन गरिनुपर्ने मान्छ । यसमा उन्नत प्रविधिका लागि हुने अनुसन्धान र विकासरूपी विज्ञान काम आउँछ भन्नेअमेरिकी धारणा होे । सिलिकन उपत्यकामा आएको पैसाको भेल सट्टा बजारमा अल्झियो र अस्थिर बन्यो । तैपनि, विश्वका शासक वर्गले उन्नत प्रविधिको पुँजी हात पारे र केही ठोस उपकरणको पनि उत्पादन गरे । दसकौँसम्म इजरायलले पश्चिमा आडभरोसामा विकास गरिरह्यो । तर, सन् १९६० को दशकको अन्त्यतिर आएर उसले आफूलाई ‘स्टार्टअप राष्ट्र’ भन्न थाल्यो । आफ्ना प्राविधिक उपलब्धिहरूको हर्षबढाइँ गर्दै अमेरिकामा सक्रिय इजरायली लबीका मान्छेहरूले अमेरिकी स्रोतालाई ‘विकास’ अर्थ सिकाए, “कृषि, कपडा उत्पादन र खनिज निर्यातमा आधारित अर्थतन्त्रबाट सुरु गरेर इजरायल उच्च प्रविधि निर्यात गर्ने देश बनेको छ । यसको थालनी सरकारी र निजी प्रतिरक्षा उद्योगबाट भएको थियो । आइएआइ (इजरायली उड्डयन उद्योग), रेफाइल (हतियार प्राधिकरण), एल्बिट, तादिरान, एल–अप र एल्टा यिनै उद्योग हुन् । यिनै उद्योगले विद्युतीय प्रतिरक्षा उपकरण उत्पादन गर्ने प्रविधि बनाएका थिए । यी उपकरण इजरायली प्रतिरक्षा बल (आइडिएफ) को प्रयोगका लागि निर्माण गरिएका थिए । इजरायलका ‘लडाइँमा परीक्षण भएका’ उत्पादनको मागले गर्दा प्रतिरक्षाजन्य उत्पादन निर्यात गर्ने उद्योगको विकासमा टेवा पुग्यो । इजरायली उच्च प्रविधि निर्यातको ठुलो हिस्सा यिनै उपकरणले ओगटेका छन् । साथै, प्रतिरक्षा उद्योगले प्रयोग गर्ने प्रविधिलाई नै पछि फस्टाउँदो आम इलेक्ट्रोनिक उद्योगहरूले प्रयोग गर्न थाले ।”
इजरायली अर्थतन्त्र युद्ध र दमनले बनेको हो भन्नु अतिरञ्जना होइन । त्यस्तै अर्को सत्य पनि छ । इजरायली विज्ञान, प्रविधि र औद्योगीकरणको जग मध्यपूर्व, उत्तर अफ्रिका र विश्वभरि पश्चिमी देशहरूको स्वार्थरक्षा गर्ने मूल उद्देश्यले हालिएको हो । यसका तीन पक्ष छन् । पहिलो, इजरायललाई उसकै हतियार उद्योगवरिपरि रहेर औद्योगीकरण गरेको खण्डमा उसलाई दिइरहनुपर्ने ठुलो सैन्य सहयोगको खर्च घट्ने र इजरायलका छिमेकीलाई पनि खुसी पार्न सकिने हुन्थ्यो । दोस्रो, इजरायललाई हतियार र अन्य दमनकारी प्रविधि निर्यात गर्ने देश बनाउँदा पश्चिमा शासक वर्गको फोहरी कर्म ढाकछोप हुने थियो । पहिलेको रोडेसिया, पिनोचेको चिली, मार्कोसको फिलिपिन्स र आज मोदीको भारत सबैतिर नवउपनिवेशवादी सत्ताले पश्चिमाहरूलाई आफ्नै देश र जनतालाई लुट्न स्वागत गरेका थिए । यी सबै घटनामा इजरायल विद्रोह दबाउने तालिम तथा हतियार आपूर्तिको केन्द्र रह्यो । तेस्रो, आर्थिक र प्राविधिकरूपमा उन्नत इजरायलले विकासमुखी विचारधारा प्रसार ग¥यो । पुँजीवादी शोषणका पीडितहरूलाई स्रोतसाधन उपयोगको रणनीतिलाई सही ढङ्गले प्रयोग गर्न विफल भएको दोष लगाइन्छ । त्यसैगरी, साम्राज्यवादी लुटका सिकार भएका देशलाई पिछडिएको आक्षेप लगाइन्छ । यहाँ पिछडिएको भनेर ‘जातीय वा सांस्कृतिकरूपमा तुच्छ’ भन्न खोजिएको हो । यसरी पश्चिमा जगतले ती देशमाथिको आफ्नो नियन्त्रण तथा ‘सैन्य’ कब्जालाई उचित ठह¥याउँछन् ।
सारमा, इजरायल अमेरिकी साम्राज्यवादकै हाँगाबिँगा हो । इजरायल ‘पश्चिमा शक्तिको खाँटी अभिव्यक्ति हो । यसले सैन्यवाद, साम्राज्यवाद, बसोबासी उपनिवेशवाद, विद्रोहसमन, कब्जा, जातिवाद, वैचारिक पराजयको प्रसार, अकुत नाफादायी युद्ध र उच्च प्रविधिको विकासलाई विध्वंस, हत्या र गञ्जागोल मिश्रित भयावह दैत्यसँग जोड्छ ।
स्रोत : ‘साइन्स फर द पिपल’ बाट
अनुवाद : सम्यक
क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *