भर्खरै :

साझा सङ्कल्प देखाउने दाँत नहोस्

शासक दलका नेताहरू आफूलाई असल शासक, देश र जनताप्रति उत्तरदायी र चुस्त दुरूस्त सार्वजनिक सेवा प्रवाह गर्ने विश्वास दिलाउँछन् । तर सत्ता र प्रमुख प्रतिपक्षमा रहेका दलका नेताहरू सत्तामोहमा भुलेका छन् । सरकारले गरेको कमीकमजोरी औँल्याएर खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्षी दलका नेताहरू पनि सत्तामोहमा भुलेपछि त्यहाँ सही र गलत राजनीतिको उचित मूल्याङ्कन कसरी हुन्छ ? विपक्षमा रहेको ठुलो दलले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । उसले सरकारले गरेको नराम्रो कामको उजागर गर्ने या खबरदारी गर्नुपर्ने हुन्छ । गठबन्धन टिकाउने र गठबन्धन ढाल्ने नाउँमा सरकारलाई जनताको पक्षमा काम गराउन दबाब नदिने र आफ्नो दलको सिद्धान्त, विचार र मूल्य–मान्यताको ख्याल नगर्दा सरकार अस्थिर बन्छ र गतिहीन दिशामा जान्छ ।
संसद् जनताको आवाज मुखरित गर्ने थलो हो । सरकार संसद्प्रति जिम्मेवार हुनुपर्छ । संसद्ले सरकारको ध्यानाकर्षण गराउनैपर्छ । तर, प्रमुख विपक्ष दल सरकारमा जाने सम्भावना भएको हुँदा सरकारले भ्रष्टाचारी, कालाबजारी, अनियमित गर्ने अपराधीहरूलाई कारबाही नगरे पनि प्रमुख प्रतिपक्ष मुख खोल्दैन । सरकारमा गइसकेका दलका नेता, मन्त्री र सांसदहरू अनेक भ्रष्टाचार काण्डमा फसिरेहको कुरा उनीहरूलाई राम्ररी थाहा छ । सत्तारूढ दलका नेता, मन्त्री, सांसदलाई भ्रष्टाचार काण्डमा फसेमा या कसुरको आधारमा गल्ती भएमा कारबाही नगर्नुको कारण आफ्ना दलका नेताहरू पनि त्यो मुद्दामा पर्ला भन्ने चिन्ता हुन्छ । लामो समयसम्म मुद्दाको अभियोग लागेका या मुद्दा खेपिरहेका व्यक्तिहरूको मुद्दाको फैसला हुँदैन । त्यस्तो मुद्दाको सरकार प्रक्रिया अघि बढाउँदैन । अहिले नेता, मन्त्री र सांसदमाथि लगाइएका अधिकांश मुद्दाहरूको खोइ न खबर भइरहेको पाइन्छ ।
शासक दलका नेताहरूमा द्वैधचरित्र देखिएको छ । एउटै निर्णय उनीहरू कहिले ठीक र कहिले बेठीक ठान्छन् । नेताहरू सुझबुझका साथ काम गर्दैनन् । शासकहरू सत्ता स्वार्थ र दलीय दाउपेचमा फसेपछि सरकारले प्रतिबद्धता या सार्वजनिक गरेको साझा सङ्कल्प कसरी पूरा गर्ला ? के साझा सङ्कल्प देखाउने दाँत हो ? शासक दलका नेताहरूमा नैतिकता, इमान र विश्वासको सङ्कट छ । सम्पत्ति, शक्ति र सत्तामा रहेर अकुत सम्पत्ति आर्जन गर्ने, नैतिकता, इमानको ख्याल नगर्ने शासक या नेताहरूको सङ्ख्या देशमा बढिरहेको छ । यो देश र जनताको निम्ति राम्रो सङ्केत होइन । यसले देशलाई आर्थिक सङ्कट निम्त्याउँछ, देशमा गरिबीको सङ्ख्या बढाउँछ । यो देशको निम्ति अर्को खतराको सङ्केत हो ।
शासक र ठुला दलका नेताहरूले सही राजनीति गरिरहेका छैनन् । ती दलका नेताहरूले सरकारमा बस्दा या सरकारमा नबस्दा या निर्वाचनकै समयमा किन नहोस् विश्वासिलो राजनीति गरिरहेका छैनन् । सिद्धान्त र विचारको राजनीति गरेर जनताको विश्वास जित्नुपर्ने हो, जनतालाई सचेत र सङ्गठित गर्नुपर्ने हो । यहाँ बेथिति, विसङ्गति र गलत राजनीति हुन्छ । यहाँ सत्ता र भागबन्डाको राजनीति हुन्छ । पार्टीभित्र अनुशासन, अडान र स्पष्ट दृष्टिकोण नहुँदा यो समस्या देखिएको हो । अतः राजनीतिमा स्पष्ट दृष्टिकोण हुनुपर्छ; दलको अडान हुनुपर्छ । असल शासक बन्नुपर्छ । सरकार र सबै दलहरू देश र जनताप्रति उत्तरदायी हुनुपर्छ । शासकहरू इमानदार, दूरदर्शी र देशभक्त हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *