भर्खरै :

पेचिङतिर–१

पेचिङतिर–१

पहिलो खण्ड (सन् १९५९ सेप्टेम्बर–१९६० जुलाई)

कलकत्ता, रङ्गुन र कुन्मिङ
१२ सेप्टेम्बर १९५९ मा ४ बजे पटना हवाई अड्डाबाट रेलवे स्टेसनमा पुगेँ । ठुलो प्लेटफार्ममा टाउकोमा एउटा थोत्रो रुमाल र एउटा लगौँटी मात्रै लगाएका अनगिन्ती काला काला मानिसहरू सुतिरहेका थिए । यताउता चल्नै डरलाग्दो, कहीँ कसैलाई नकुल्चोस् भनेर । हुन त यही एक दृश्यले मलाई यो सम्झन बेर लागेन कि भारत कस्तो छ ? जब म नेपालमा थिएँ, कलकत्ता, बम्बई, दिल्लीको झिलीमिली सुन्दा एकैबाजी हाम्फालेर भारतमा पुग्ने इच्छा हुन्थ्यो । तर, पटनाको त्यो दुब्ला दुब्ला भोकानाङ्गाहरूले थोत्रो आराम गर्ने ठाउँ नपाएर सिमेन्टको भुइँको फोहर प्लेटफार्ममा सुत्नुपरेको देख्दा खुब प्रशंसा सुनेको भारतभन्दा मैले आफ्नै देशलाई सम्झेँ, कमसेकम यहाँ त्यहाँसम्मको दृश्य त छैन ¤
ट्रेनमा धक्कमधक्का, झगडा तगडा सहेर बल्लतल्ल १३ सेप्टेम्बरमा बिहान ६–७ बजेतिर कलकत्ताको हावडा स्टेसनमा पुगेँ । भारतमा जनसङ्ख्या धेरै भएर हो कि मानिसको भीड हेर्दा त रेलको डिब्बा सा¥है सानो देखिन्थ्यो । डिब्बामा सीट (बस्ने ठाउँ) को त के कुरा एक खुट्टाले टेकेर बस्न पनि मुक्कामुक्की चल्थ्यो, गालीगलौज त हिन्दूहरूको ‘हरे राम’ जप्ने पवित्र ठाउँमा चल्ने नै भयो । फेरि हामी भारतको नजिकै र सानो देशको मानिस भएरै हो कि विदेशीहरूलाई गर्ने व्यवहार त सायदै कहिल्यै त्यसरी अङ्ग्रेजहरूले नै भारतीयहरूलाई गरेका होलान् । जसोतसो तातोपिरो सहेर हावडा पुगिहालेँ । आँखा तिरमिराउने जनसमूह देख्दा त एकछिन त्यसै अल्मलिएँ । आखिर २–३ घण्टापछि पुलिसहरूको केही रुखो र असत्य औँल्याई पछि एकजना विद्यार्थीको सहायताले ट्रामबाट ‘स्टुडेन्ट हेल्थ होम’ पुगेँ । यहाँका पुलिसको रुखो र अजिम्मेदार कार्य देख्दा भारतका पुलिसहरूको खुब फर्माएको मनगढन्ते आदर्शका गफ गर्ने बकम्फुसेहरूलाई कहिले नेपाल फर्केर जवाफ दिउँ जस्तो लाग्यो ।
एकदिन पूरा आराम लिएपछि बङ्गाली साथीहरूसँग कलकत्ताको मुख्य मुख्य दर्शनीय स्थानहरू हेर्न गएँ ।
रातमा जहाँ तहाँ चहलपलहको धूम थियो । ठुला ठुला घरहरू, फराकिला र लामा लामा सडकहरू, धेरै मानिसहरू, बिजुली बत्तीको झिलिमिली र मालसामानको विज्ञापनको उत्ताउला दृश्यहरूले आँखै तिरमिराउँथ्यो, बान्ता होला जस्तो चहलपहल । संसद् भवन, गभर्नर भवन, पार्कहरू र अरु हेर्नलायक ठाउँहरू हेरेँ । बजारहरूमध्ये नयाँ बजारमा विशेष झिलिमिली थियो । रातो–नीलो सारीको प्रदर्शनी, लिप्स्टिक र पाउडरका गन्ध र रक्सीको महक नै यस बजारको विशेषता थियो । नोट र रूपैयाँको लेनदेन, शुभलाभको कानेखुसी नै यहाँको मधुर सङ्गीत थियो । रक्सी र रेशमको प्यास नमेटिएकाहरूको जमघट नै यहाँको निचोड हो । यस सुन्दर बजारको, पैसावालहरूको इन्द्रलोक ।
भोलिपल्ट हेल्थ होमका साथीहरूले मलाई पत्रिकाहरू देखाए– ‘स्वाधीनता’ । खाद्यान्नको आन्दोलनमा मरेका सहिदहरूका लासहरूले भरेका चित्रहरू नै त्यस बङ्गाली ‘स्वाधीनता’ को मोहडा थियो । अनि मैले सोधेँ, “के गान्धीको देशमा पनि हिंसा हुन्छ ?” उनले उत्तर दिएनन्, खालि खिस्स हासेँ । पत्रिका पल्टाउँदै गएँ । पुलिसले निःशस्त्र जनतामाथि लाठी, गोली, टियरग्याँस (अश्रुग्याँस) चलाएका दृश्यहरूले पत्रिका भरिएको थियो । नेहरू सरकारको निन्दा र जनतामा परेको कोलाहल, पिरमर्का, रोदन र क्रन्दन छापेको थियो त्यस पत्रिकामा ।
साँच्चै भनूँ भने १४ सेप्टेम्बरको रातमा हेरेको कलकत्ताको अर्थ मैले उल्टो लगाएँ । मतलब त्यसरात मैले कलकत्तालाई बुझ्न सकिनँ त्यस्तो सुन्दर स्वर्गलाई !
१५ र १६ सेप्टेम्बर दिन दिनभर घुमेँ तर १४ सेप्टेम्बरको रात देखेको भन्दा उल्टो थियो । कलकत्ता हरिसन रोड, बहुबजार, धर्मतल्ला आदि मुख्य बजारहरू डुलेँ । जहाँ तहाँ मान्छेको रिङ्गटा लाग्ने भीड, ट्राम, मोटर, रिक्सा र टमटमको कर्कश आवाज नै कलकत्ता थियो । सडकहरूको फोहर र दुर्गन्ध नै त्यहाँको विशेषता थियो । गान्धीको सत्याग्रहभन्दा मगन्तेहरूको पिछा जबरजस्ती थियो । रातको १०–११ बजेसम्म डुलेँ, झिलिमिली सडकमा मात्र होइन, गल्ली र सडकमा पनि । तर, दिउँसो चहलपहल भएको ठाउँ, ठुलठुला गगनचुम्बी घरहरूको तल हिरा–जुहारात र सुनचाँदीका पसलहरूकै अगाडि राति पेटीपेटीमा भोकानाङ्गा मानिसहरू लम्पसार परेर सुतिरहेका हुन्थे । सडकमा सुतेका ती नाङ्गा बालकहरू र पेटी पेटीमा सुतिरहेका आईमाईहरूको थोत्रो फोहर फरियाको प्वालबाट नै वास्तविक कलकत्ता चियाइरहेको थियो । ठुलठुला ऐसआरामका मालसामानहरूको झिलिमिली विज्ञापनको साथसाथै बगलीमारासँग बच्ने चेतावनी पनि टाँसिएको हुन्थ्यो ।
कलकत्ता भारतको एक मुख्य उद्योग र व्यापारको केन्द्र हो । यो ठुलठुला थैलीवालाहरूको पनि केन्द्र हो । त्यस्तै, भोका नाङ्गा, मगन्ते र बेकारीहरूको संसार पनि, नाउँ नै राख्ने हो भने बहु–बजारलाई फोहर बजार, हरिसन रोडलाई मगन्ते रोड, धर्मतल्लालाई कोलाहल तल्ला । सम्पूर्ण कलकत्तालाई नै कोलाहल भनिदिए पनि सुहाउला, निचोडमा भन्ने हो भने कलकत्ताले एउटा ठुलो आँधी अथवा ज्वालामुखीलाई आफूभित्र लुकाएको छ जो समयमा आफ्नो जबरजस्त प्रभाव देखाउन कहिले कसैले रोकेर रोक्न सक्नेछैन ।
१७ सेप्टेम्बरमा डमडम हवाई अड्डाबाट रङ्गुनको लागि उडेँ । पानी झमझम परिरहेको थियो । हवाई अड्डा खुब राम्रो र ठुलो थियो । बर्मी चित्रकलाले सज्जिएको हवाई अड्डाको भित्री भाग आधुनिक ढङ्गले निर्माण गरिएको थियो, एयरकन्डिसन (वातानुकुलित) मिलाएको । यो रङ्गुन हवाई अड्डा हेर्दा कलकत्ताको डमडम त एकदम फिक्का थियो । नेपालीजस्ता बर्मेली कर्मचारीहरूको व्यवहार भारतका हवाई अड्डाका कर्मचारीहरूको जस्तो रुखो थिएन बरु मैत्रीपूर्ण र भद्र थियो ।
त्यसबेला बर्मामा नेपालको कन्सुलेट याकथुम्बा हुनुहुन्थ्यो । श्रीमती याकथुम्बा हवाई अड्डा आइराख्नुभएको थियो र सँगै मोटरमा कन्सुलेट अफिस गयौँ । बर्मा पनि नेपालजस्तै पहाडी मुलुक भएकोले उकालोओरालो र बाङ्गोटिङ्गो पिचमा करिब २ घण्टापछि कन्सुलेट अफिस पुग्यौँ ।
कन्सुलेट अफिस सानो थियो तर चिटिक्क परेको । चारैतिर हरियाली र अगाडिको शान्त पोखरीले त्यस ठाउँलाई खुब आनन्ददायक बनाएको थियो । तैपनि, अफिसले आफ्नो गरिबी लुकाउन सफल थिएन । कन्सुलेट साहेबलाई सञ्चो थिएन । अफिसका सेक्रेटरी साहेबहरूसँग खाना खायौँ, आफ्नै घर सम्झेर ।
१८ सेप्टेम्बरको दिन रङ्गुन सहर डुल्न गयौँ । रङ्गुन बन्दरगाह सहरको नजिक थियो । सहर नयाँ ढङ्गको थियो । राम्रा राम्रा भवनहरू र मिलेको सडकले कलकत्तालाई सजिलैसित जित्थ्यो । कलकत्ता जस्तै रङ्गुनमा पनि खुब गरम थियो । तर, कलकत्ता जस्तो फोहर र गन्हाउने थिएन । त्यहाँ सबै लोग्ने र स्वास्नीमानिसहरू लुङ्गी लगाउँदा रहेछन् जसले गर्दा हामीलाई एउटा अनौठो दृश्य उपस्थित भएको अनुभव हुन्थ्यो । मेरो विचारमा बर्मा अथवा रङ्गुनको मुख्य विशेषता उनीहरूको समाजमा आईमाईले पाएको सामाजिक स्वतन्त्रता हो– पसल, बजार, स्कूल, सिनेमाघर, ट्राम, मोटर जताततै आईमाईहरू उत्तिकै फूर्तिसाथ बिनासङ्कोचले हिँड्छन् । सायद त्यहाँका आईमाईहरू समाजको हरेक क्षेत्रमा त्यतिकै भाग लिन्छन् जतिको लोग्नेमानिस । त्यहाँ आईमाईहरू पनि एउटा लुङ्गी र चोलोसिवाय अरु लगाउँदैनन् ।
रङ्गुन विश्वविद्यालयमा अध्ययन गरिरहेका एक नेपाली विद्यार्थीसँग रातमा घुम्न गयौँ नगरको मुख्य मुख्य ठाउँहरूमा । रातको १०–११ बजेतिर रङ्गुन बन्दरगाह हेर्न गयौँ । बन्दरगाह खुब सुन्दर थियो । जीवनमा पहिलोपटक मैले बन्दरगाह या समुद्र देखेको थिएँ । पिलपिल गरेर साना साना जहाजहरूको आवतजावतले खुब आनन्द दिइरहेको थियो । रङ्गुन विश्वविद्यालय पनि हेर्याँै र फर्कँदा रङ्गुनको विश्वप्रसिद्ध सुनको पागोडा पनि देख्यौँ । पागोडामा बलिरहेको बत्तीको सुन्दरताले मानौँ आकाशको झिलिमिलीलाई चुनौती दिइरहेको थियो ।
रङ्गुनमा बसेका अरु नेपालीहरूसँग कुरा गर्दा थाहा पाएँ कि बर्माको कुनाकाप्चामा पनि नेपालीहरू पसिना बगाइरहेका छन् । रङ्गुनको ५० प्रतिशत दूध नेपालीहरूकै हातमा रहेछन् । धेरै वर्ष बित्दा पनि उनीहरूमा आफ्नो नेपालप्रतिको भक्ति ताजै पाएँ ।
२० सेप्टेम्बर १०–११ बजेतिर गणतन्त्र चीनको लागि उड्यौँ । त्यस चिनी हवाईजहाजमा २–४ जनामात्रै यात्रुहरू थिए । अङ्ग्रेजी, नेपाली र हिन्दी नजानेका चिनियाँ परिचारिकाले आफ्नै दिदीले जस्तै राम्रो सेवा गरिन् । त्यही पहिलो दिन थियो मेरो जीवनमा, मूक भाषाले वार्तालाप गरेको । कहिलेकाहीँ त हाँसो पनि उठ्थ्यो त्यस मूक वार्तालाप र उनको सेवाले ।
५ बजेतिर कुन्मिङ हवाई मैदानमा ओल्र्यौँ र एक द्वेभाषीसँग चिनियाँ विद्यार्थीहरू स्वागतका लागि आइरहेका थिए । हवाई अड्डाभित्र पस्नासाथै मेरो आँखा चिनियाँ जनताका महान् नेता अध्यक्ष माओको ठुलो सेतो प्रतिमामा प¥यो, अनि भित्ताको अर्को ठुलो तस्बिरमा जसमा रुसका महान् नेता स्तालिनसँग अध्यक्ष माओ हात मिलाइरहनुभएको थियो । मगमग बास्ना आउने हरियो चिया आयो तर थाहै थिएन चिनियाँहरू खाली चिया पिउँदा रहेछन्, बिनाचिनी र दूधको । तर, जसोतसो तीतै भए पनि पिएँ, अनुभव नयाँ थियो नयाँ संसारमा ।
सूर्य बिदा माग्दै थियो । फराकिलो सडकमा मोटर बेतोडले दौडिरहेको थियो । नीलो पोशाकमा किसानहरू खेतबाट फर्किरहेका थिए । बाटोमा पर्ने गाउँका हरेक घर घरमा भने जस्तै ‘अध्यक्ष माओ–जिन्दावाद’, ‘कम्युनिस्ट पार्टी–जिन्दावाद’ र ‘जन कम्युन राम्रो छ’ भन्ने नारा र कविताहरू लेखिएका थिए ।
कुन्मिङ सहर पुग्यौँ । कुन्मिङ गणतन्त्र चीनको युनान प्रान्तको एक प्राचीन सहर हो । २० वर्ग किलोमिटर क्षेत्रफल भएको त्यस सहरमा १० लाख २० हजार जनता बसोबास गर्छन् । चिनियाँ जनक्रान्तिको इतिहासमा यस सहरको पनि महत्व छ । १९५४ नोभेम्बरमा त्यहाँ चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा मुक्ति सङ्ग्राममा अमेरिकी साम्राज्यवादको हस्तक्षेपको विरोधमा स्थानीय विद्यार्थीहरूले ठुलो सङ्घर्ष गरेका थिए ।
त्यस सङ्घर्षमा विद्यार्थीहरूले खुब वीरतापूर्वक शत्रुको मुकाबिला गरेका थिए । त्यस सङ्घर्षमा केही विद्यार्थीहरू सहिद भए र कैयौँ घाइते भए । च्याङ काईशेकको प्रतिक्रियावादी र अमेरिकी साम्राज्यवादीहरूको फौजबाट आफ्नो स्कूल, कलेज र विश्वविद्यालयको रक्षा गर्न स्कूल, कलेजका द्वारहरूमा भीषण मुठभेड गरे । गृहयुद्धमा यो सहर प्रायः ध्वस्त भएको थियो । यस दृष्टिले कुन्मिङ चीनको एक महत्वपूर्ण सङ्घर्षशील सहर हो ।
कुन्मिङ सहरमा हामीले चीपांलु, नांफेङ्गवे, नाईपीलु, चीसील, उचींग्ल, लेगील आदि मुख्य मुख्य ठाउँ र बजारहरू हे¥यौँ । नयाँ ढङ्गको ठुलाठुला घरहरू र खुब मिलेको चौडा र लामा बजारहरूले सहर खुब राम्रो देखिन्थ्यो । एक वर्षमा तयार भएको चीसील बजार देख्दा आश्चर्यले जीब्रो टोक्नु प¥यो । चिनशीक्याङको ‘डिपार्टमेन्ट स्टोर’ मा गयौँ । त्यत्रो ठुलो भवनको चारै तला घुम्यौँ । हजारौँ किसिमका मालसामानहरू राखिएका थिए । प्रश्नको उत्तरमा द्वेभाषीले अनुवाद गर्दै भने, पहिले यहाँ धेरैजसो मालसामानहरू अमेरिकी हुन्थ्यो र क्रान्तिपछि अब यी सयौँहजारौँ मालसामानहरू कुन्मिङमै तयार हुन्छन् । सडक, पसल, जहाँतहाँ मानिसहरू खुब शान्त र सभ्य तरिकाले आफ्ना आफ्ना काममा व्यस्त थिए र कलकत्तामा जस्तो गन्हाउने गल्ली थिएन न त सडक बजारमा धक्कमधक्का र गालीगलौजको कर्ण कटु आवाज नै सुनिन्थ्यो । न त वाक्क लाग्ने रिक्सा र गाडाको टनटन र टीँ.टीँ…।
मोटर सहर बाहिरको होटलतिर दौडिरहेको थियो । बाटामा मजदुर र किसानहरू हँसिलो मुखले अक्टोबर दिवसको लागि तयारी गर्दै थिए । ठाउँठाउँमा किसानमजदुरहरू समूह समूहमा आफ्ना क्लवहरूमा पत्रपत्रिका हेर्दै थिए, कोही मस्त भएर खेल्दै थिए । तर, कुन्मिङ सहरको कुनै प्लेटफार्म र सडक पेटीमा भोकानाङ्गा र रुन्चे मुख लाएका मानिसहरू देखिएनन् न त बगलीमाराबाट बच्ने होसियारीको सूचना नै ।
गृहयुद्धमा ध्वस्त भएको सहरको भग्नावशेष मात्र देखेका १९५६ मा भ्रमण गरेका एकजना मेरो साथीले १९६० मा भनेको थियो, सायद पुरानो कुन्मिङ हो भन्न पनि असजिलो छ । एक गाउँ जस्तो सहर आज ५÷६ वर्षमा यत्रो परिवर्तन, आश्चर्य छ । साँच्चै चिनियाँ जनताको कार्य आश्चर्यजनक छ ।
मोटर ठुलो होटलको अगाडि अड्यो । चारैतिर फूलहरू हाँसिरहेका थिए, रङ्गीचङ्गी होटलको फूलबारीमा चीन महादेशका चिनियाँ जनताजस्तै । कुल्चनै डरलाग्दो भुइँ भएको बादशाही होटलमा एकरातमात्रै बसेर २१ सेप्टेम्बर बिहान सबेरै कुन्मिङबाट बिदा लियौँ चीनको राजधानी पेचिङको लागि ।
हवाईजहाज उही थियो । यात्रुहरू कम थिए । विदेशीहरूमा म र रत्ना थियौँ । रत्ना काठमाडौँका साथी, कलकत्तादेखि हामीसँगै उडेका थियौँ ।


७० करोड चिनियाँ जनताको विशाल देश
७० करोड जनता भएको विशाल चीन मानव सभ्यताको दृष्टिले एक महत्वपूर्ण महादेश हो । यो ५ लाख वर्ष अगाडिको ‘पेचिङ मानव’ को जन्मस्थल हो । प्राचीन समयमा चीनले नै कागत, छापा, चुम्बक, बारुद, भुइँचालो (भूकम्प) पत्ता लगाउने यन्त्र आदि कुराहरूको संसारमा सबभन्दा पहिले पत्ता लगाएको वा आविष्कार गरेको थियो । साथै चीन आजसम्म पनि चिया, रेशम आदि वस्तुहरूको लागि प्रसिद्ध छ । अहिलेसम्म पनि चीनमा मानव विकास र मानव सभ्यताको विषयमा राम्रो जानकारी हासिल गर्नलाई चाहिने आदिम मानिसहरूको हाडखोर (फोसिल्स), दाँतटाउको, उनीहरूले काममा ल्याएका ढुङ्गाका हातहतियारहरू र अति प्राचीन समयका विभिन्न जात र प्रकारका जलथलका प्राणीहरूको ‘फोसिल्स’ (जीवावशेष) पनि खुब सुरक्षित ढङ्गले राखिएको छ । ती वस्तुहरू प्राणी विज्ञान या जीव विज्ञान र मानव समाजको विकासको विषयमा अध्ययन र मनन गर्नमा धेरै सहायकसिद्ध हुनेछन् । यसको अतिरिक्त चीनले कलाको क्षेत्रमा सा¥है ठुलो योगदान गरेको छ । चीनको मुख्य मुख्य नगरमा भएका पुराना मन्दिर र महल या दरबारहरूको काठ र ढुङ्गा अनि धातुका कलात्मक वस्तुहरूलाई हेर्दा थाहा हुन्छ, प्राचीन चीनले कलामा कत्रो उच्चस्थान प्राप्त गरेको रहेछ । प्राचीन चीनले विज्ञान, चिकित्सा शास्त्र, गणित, भाषा र साहित्यमा पनि धेरै उन्नति गरेको छ । चीनको प्राचीन चिकित्सा शास्त्रका ‘चञ्च्यु’ (अकुपञ्चर–सियो घोच्ने), मेडिटेसन (ध्यान गर्ने) जस्ता विषयहरूले आज पनि चीनको चिकित्सा विज्ञानलाई मद्दत गरिरहेको छ । बौद्ध धर्मको दृष्टिले पनि चीन एक महत्वपूर्ण महादेश हो ।
चीनको जम्मा क्षेत्रफल ९६ लाख वर्ग किलोमिटर छ, जो करिब सारा युरोपको बराबर छ । यसको पूर्वमा १४ हजार किलोमिटर लामो बाङ्गोटिङ्गो समुद्री किनार छ । ताइवान, हाइनान, मकाओजस्तै ७ हजारभन्दा बढी ठुला साना टापुहरू प्रशान्त महासागरमा फैलिएका छन् । तीमध्ये ताइवान र हाइनान सबभन्दा ठुला छन् । चीनको सबभन्दा ठुला नदीहरू ह्वाङ्हो र याङगत्सी हुन् । ह्वाङ्हो चीनको सबभन्दा ठुलो नदी हो जसलाई ‘चीनको दुर्भाग्य’ को नाउँले हामी भूगोलमा पढ्थ्यौँ ।
चीन बादलसँग म्वाई खाइरहेका हजारौँ पहाडपर्वत र विभिन्न प्रकारका विशाल हरिया जङ्गलहरू, धानका सुनौला बाला झुल्ने हजारौँ कोसको समतल जग्गा, अनगिन्ती नदीनालाको देश हो । नदीनाला र झरनाहरूमा बिजुलीको अपार शक्ति लुकेको छ । साथै चीनको गर्भभित्र धेरै प्रकारका बहुमूल्य खनिजहरू लुकेका छन् ।
चीनको ७० करोड जनतामा हान जाति मुख्य जाति हो । चीनमा ५० भन्दा पनि बढी अल्पसङ्ख्यक जातिहरू छन् । अल्पसङ्ख्यक जातिहरूको जनसङ्ख्या ३ करोड ८० लाख छ । अल्पसङ्ख्यक जातिहरूमध्ये मङ्गोल, हुई, तिब्वती, वेबुर, माऊ, ई, पुई, कोरियाई, मञ्चु आदि हुन् ।
आदिम सभ्यताको विकास भएको, अनेक प्रकारका वैज्ञानिक वस्तुहरूको आविष्कार गर्ने, धेरै दार्शनिक, राजनीतिज्ञ, साहित्यकार र कलाकारहरूको जन्मभूमि चीन एक विशाल देश हो । वीर चिनियाँ जनताले आफ्ना राष्ट्रिय स्वतन्त्रता र मुक्तिको निमित्त १०९ वर्षसम्म वीरतापूर्वक लडेर १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पूर्ण विजय प्राप्त गरे ।
चीन अहिले मजदुरवर्गको नेतृत्वमा छ, जहाँ शोषणको व्यवस्था खतम भइसकेको छ र समाजवादको निर्माणमा दिलो ज्यानले लाग्दै छ । चीनमा सबै प्रकारका धर्म मान्नेहरू पनि छन् जहाँ सबैले प्रजातान्त्रिक अधिकारहरू प्राप्त गर्छन् ।
अध्यक्ष माओ त्सेतुङ चिनियाँ जनताका महान् र प्रिय नेता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *