भर्खरै :

माक्र्समाथि पाखण्डीहरूको हमलाको नेपाली कम्युनिस्टहरूले किन प्रतिवाद गर्दैनन् ?

माक्र्समाथि पाखण्डीहरूको हमलाको नेपाली कम्युनिस्टहरूले किन प्रतिवाद गर्दैनन् ?

धार्मिक आतङ्क फैलाउँदै धर्म निरपेक्ष नेपाली समाजको मर्ममा घात गर्ने भारतीय धर्मभिरुहरूको नुनको सोझो गर्नेहरूले कार्ल माक्र्सको विरोधमा अनापसनाप बोल्दा पनि कम्युनिस्टको खोल ओढेर सत्ताको तर चाट्ने साम्राज्यवादी अमेरिकी कालो डलरमार्फत दानापानीमा उन्मत्त भएकाहरूले त्यसको प्रतिवादमा केही नबोल्नु राजनीतिक अवसरवादको पराकाष्ठा हो । केही सामन्तवादका पृष्ठपोषकहरू पृथ्वी जयन्ती मनाउँदै गर्दा अहिलेका नामधारी कम्युनिस्टहरूको विरोध गर्ने नाममा कार्लमाक्र्सको समेत विरोध गर्छन् । राजनीतिकरूपमा सैद्धान्तिक हिसाबले आलोचना जायज छ । तर, कथित भ्रष्ट कम्युनिस्टहरूको कुकृत्यको विरोध गर्ने बहानामा एक विश्वविख्यात दार्शनिक, राजनीतिक चिन्तक, आफ्नो सम्पूर्ण जीवन समग्र समाज परिवर्तनमा खर्चिने व्यक्तिको विरोध गर्दै अरुको समृद्धि लुट्ने एकजना सामन्तीको जय जय गान गर्दै छन् । कीर्तिपुरेहरूको नाक कान काट्ने आततायी कर्मका नायक पृथ्वीनारायणलाई एकताको प्रतीक भनेर काँधमा बोकेर हिँड्नेले पञ्चायतकालमा पहिचानको नामसम्म पनि दिन कञ्जुस्याइँ गर्ने जातीय अहङ्कार र क्षुद्रताले ग्रसित शासकले भक्तपुर नगरपालिकालाई नेवारी लिपिमा लेख्न निषेध गरेको इतिहास कदापि बिर्सिनु हुन्न । जयन्त रानाको छाला काढेर नुनचुक दलेर तड्पाई तड्पाई ज्यान लिने अहङ्कारी पृथ्वीनारायणको जयगान गरेर नथाक्नेहरूले विश्वका शोषितपीडित जनताको पक्षमा बोल्ने एक अन्तर्राष्ट्रवादी कार्ल माक्र्सको अन्धो विरोध गर्न पटक्कै सुहाउँदैन ।
कार्ल माक्र्सलाई इङ्गित गर्दै विदेशीलाई आदर्श मान्ने तर आफ्नै देशको पृथ्वीनारायणलाई बेवास्ता गर्ने भनेर गाली गर्नेले बुझ्नुपर्ने कुरा के हो भने विज्ञान संसारको सम्पत्ति हो जसमाथि सबैको हक हुन्छ, माक्र्सवादी सिद्धान्त एक वैज्ञानिक सिद्धान्त भएको हुनाले नेपालीले मात्र होइन संसारभरका मानिसले यसलाई अपनाउँछन् ।
पुँजीवादमा रहेको अन्तर्निहित असमानता र वर्गसङ्घर्षलाई ‘कम्युनिस्ट घोषणापत्र’ र ‘दास क्यापिटल’ जस्ता कार्यहरूबाट विश्वका शोषितपीडित जनतालाई जगाउने कार्ल माक्र्सलाई ब्राह्मणको वेद, पुराणजस्तै मनगढन्ते दिव्यउपदेशको बखान गरेर पृथ्वीनारायणलाई कार्ल माक्र्सभन्दा विद्वान् देखाउन खोज्छन् । कार्ल माक्र्सको विचारले सामाजिक र आर्थिक प्रणालीहरूको रूपरेखालाई आकार दिएको छ । अधिक समतामूलक र न्यायपूर्ण समाजको लागि तर्क गर्दै पुँजीपतिवर्गद्वारा श्रमजीवीवर्गको शोषणबारे माक्र्सको व्याख्यालाई अन्यायपूर्ण समाजलाई भाग्यवादसँग जोड्ने ब्राह्मणवादले माक्र्सको यो विचार मन नपराउनु स्वाभाविक छ । तर, माक्र्सको नाम लिएर सत्तामा पुग्ने कम्युनिस्टहरूले यस्ता पाखण्डीहरूको विरोध गर्नुपर्ला भनेर नसुनेजस्तै गरी बस्नु लाजमर्दो कुरा हो । माक्र्सको सिद्धान्तले कामदारहरूको अधिकार, सामाजिक न्याय र सम्पत्तिको निष्पक्ष वितरणको वकालत गर्ने आन्दोलनहरूलाई प्रेरित गरेको छ । राजनीति, समाजशास्त्र र दर्शनलाई जोडेर आधुनिक समाजका जटिलताहरूलाई बुझ्नका लागि माक्र्सको विचारलाई आधारशिला बनाउँछ । तर, गाईको पुच्छर समातेर स्वर्ग जान सिकाउने, ब्राह्मणलाई सम्पत्ति दान गर्याे भने पापमोचन हुन्छ भन्ने, खसी बोका बलि दिएमा भगवान् खुसी भएर भाकल पूरा हुने मनगढन्ते कथा बुन्ने यस्ता पाखण्डीहरूले वैज्ञानिक विचारलाई कसरी स्वीकार गर्छन् ?
अहिले सामन्ती राजाको नाममा आफ्नो व्यापार प्रवद्र्धन गर्ने दुर्गा प्रसाई, कमल थापा, राजेन्द्र लिङदेन, केशरबहादुर विष्टजस्ताहरू पृथ्वी जयन्ती मनाउँदै कार्ल माक्र्सको विरोध गर्दै छन् । हर्बो नेटवर्क ठगी र किर्ते जग्गा ठगीमा जेल परेर अहिले जोगीको भेष धारण गरेका पुष्पराज पौडेललाई पृथ्वीनारायणको गुणगान गाएर कम्युनिस्टको नाम लिँदै कार्ल माक्र्सको विरोध गर्न कति पनि सुहाउँदैन । बलात्कारी आरोपी कथित सिद्धबाबा कृष्णबहादुर गिरीहरूलाई सामन्ती राजाको गुणगान गर्दै कार्ल माक्र्सको विरोध गर्न लाज लाग्नुपर्ने हो । आफैँले आफैँलाई गोली हानेर इसाई मंगोल अर्गनाइजेसनले मलाई गोली हान्यो भनेर आरोप लगाउने समाजद्रोही कथित धर्म गुरुले कार्ल माक्र्सको विरोध गर्ने हिम्मत यी कथित कम्युनिस्टको कारणले आएको हो । कार्ल माक्र्समाथि यिनीहरूको गाली ‘गुहेकीराले मौरीलाई थुकेजस्तो’ हो ।
आजभोलि कुनै चातुर्यपूर्ण भनाइ लेखियो भने ‘चाणक्य नीति’ को बिल्ला भिराएजस्तै राम्रा राम्रा भनाइ टपक्क टिपेर पृथ्वीनारायणको दिव्यउपदेश भनी भ्रम छर्ने माहोल बनेको छ । पृथ्वीनारायणको मूर्तिको मुखाकृत नै नक्कली राख्नेले वाणी सक्कली राख्ला भनेर के आशा गर्नु । महेन्द्रले पृथ्वीनारायणको इतिहास र महेन्द्रमाला घोकाएर जबरजस्ती पात्र खडा गरेका हुन् भन्ने भनाइ अहिले बाहिर आएको छ । पृथ्वीनारायणकाललाई गौरवान्वित देखाउन महेन्द्र कालमा केही पण्डितले दिव्य उपदेश भनी रचिएका रचनाहरू नै हुन् भन्ने गरेको पाइन्छ । एउटा लेख अनुसार यो दिव्य उपदेश वि.सं. १९९० को भुइँचालो पछिमात्र देखा परेको कारणले यो नक्कली हो भनेर उल्लेख गरिएको छ । तत्कालीन भूकम्पको निहुँ पारेर त्यो दिव्य उपदेश अचानक कतैबाट हात लाग्यो र त्यसलाई सार्वजनिक गरियो भनेर फट्याइँ गरेको आशङ्का गरिएको छ । त्यसैले कथित दिव्य उपदेश बाबुराम आचार्य र नरहरिनाथको सहयोगमा महेन्द्रको रचना भन्ने शङ्का गरिएको छ ।
नेपाली समाजमा धर्मको नाममा अन्धविश्वास र भाग्यवादलाई बलियो बनाउने कार्यमा पृथ्वीनारायणकाल पछिका शासक वर्गहरूको ठुलो भूमिका छ । त्यसैले आजभोलि सामाजिक सञ्जालमा धर्मको वकालत गर्नेहरूले नै सबैभन्दा बढी पृथ्वीनारायणको साथै राजतन्त्रको वकालत गर्ने गरेको देखिन्छ । तर, आज धर्म र राजतन्त्रको नाममा ब्राह्मणवादलाई प्रभावशाली बनाउने राजनीतिक रणनीति नेपाली समाजले बुझ्नैपर्छ ।
जहाँसम्म राष्ट्रिय एकता दिवसको सन्दर्भ छ; नेपाल बहुराष्ट्रियताको भूमि भएको हुँदा राष्ट्रिय एकता दिवस भन्न मिल्दैन । आजसम्म पनि नेपालमा बहुराष्ट्रियता विद्यमान छ । भिन्न राष्ट्रियताबिच समभावको विकासले मात्र बहुराष्ट्रियताभित्र बृहत् राष्ट्रिय एकता निर्माण हुनसक्छ । ‘राष्ट्रवाद’ र ‘देशभक्ति’ एउटै विषय होइन । देश र राष्ट्र दुवैको एकीकरणलाई नै राष्ट्रिय एकीकरण भनिने हो । नेपालका बहुराष्ट्रियताहरूबिच एकता भएको छैन ।
पृथ्वीनारायणका कथित दिव्यउपदेशहरूको पाण्डुलिपीको खोजी गर्नुपर्छ । त्यसलाई अहिले उपलब्ध भएको वैज्ञानिक प्रविधि उपयोग गरी कहिले लेखिएको हो भनेर यकिन गर्न मिल्छ । इतिहास धर्म होइन, प्रश्न र तर्क गर्न पाइन्छ । इतिहासविद् र संस्कृतिविद्को पहल गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्छ । तर, विडम्बना ! इतिहास खोज्ने र अनुसन्धान गर्ने कुरा त परै जाओस्, विद्यार्थी नहुँदा विश्वविद्यालयमा इतिहास विषयको पढाइ नै हुन छाड्यो । इतिहास जित्नेको बलमा लेखाइने हुँदा राजा महाराजाहरूले इतिहासकारलाई धेरै बढाइचढाइ गरेर आफू अनुकूल लेखाएका हुन्छन् । तर, कार्ल माक्र्सले भनेअनुसार वास्तविक इतिहास राजा महाराजाको होइन कामदार जनताको हुनुपर्छ । जित्नेले जे गर्दा नि हुने भन्ने भ्रमजाल तोड्न इतिहासविद्हरू यसबारे सचेत हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *