भर्खरै :

सरकार ढाल्ने र बनाउनेमा ठुला दलका नेताहरू नै दोषी

सरकार ढाल्ने र बनाउनेमा ठुला दलका नेताहरू नै दोषी

पुँजीवादी व्यवस्थामा सरकारको नेतृत्व बरोबर फेरिरहन्छ; सरकारमा नयाँ नयाँ दलहरू थपघट भइरहन्छन् । सरकारको नेतृत्व फेर्नु र सरकारमा नयाँ दलहरू सहभागी हुनु देशको परिवर्तन होइन । सरकारको नेतृत्व त कति फेरियो कति फेरियो । तर, व्यवस्थामा परिवर्तन भएन । जनताले राहतको अनुभूति पाएनन् । नयाँ सरकार र नयाँ मन्त्री भनेर जनताले पत्याउने विश्वास सरकारले दिलाउन सकेन । सरकारको नेतृत्व परिवर्तन गर्ने, सरकारमा दलहरू थपघट भइरहने तर परिवर्तन कुनै नहुने अनुभव जनताले गरिसकेका छन् । जनताको चाहना र देशको आवश्यकता छिटोछिटो सरकार परिवर्तन र मन्त्रीहरूको हेरफेर होइन; देश र जनताको पक्षमा राम्रो काम गर्नु हो । सत्तासीन र ठुला दलका नेताहरू सरकार ढाल्ने र बनाउने खेलमा किन समय खर्च गर्छन् ? जनताको विषयमा किन सोचेनन् ? यसले थाहा हुन्छ, सरकार गम्भीर छैन; सरकार देश र जनताप्रति समर्पित छैन ।
हिजो जसलाई गल्ती ठानेको थियो, शत्रुको आँखाले हेरेको थियो, सत्ता पाएपछि आज त्यही ठीक, त्यही राम्रो ! के शासक नेताहरूले बोलेपछि भनेपछि कालो पनि सेतो, सेतो पनि कालो हुन्छ ? के बेइमान पनि इमान, खराब पनि असल, अवैधानिक पनि वैधानिक, देशघाती पनि देश हित हुन्छ ? हिजोको दयनीय या कमजोर आर्थिक अवस्था आफू सरकारमा जाने बित्तिकै कसरी सबल या प्रगति हुन्छ ? अरु सरकारमा रहुञ्जेल सबै खराब अनि आफू गएपछि एकाएक कसरी स्थिति मजबुत हुन्छ ? नेकासमेतको माओवादी नेतृत्वको सरकार गलत, अनि एमालेसमेतको माओवादी नेतृत्वको सरकार कसरी ठीक हुन्छ ? वामपन्थी दल अधिक भएको सरकार ठीक मान्ने हो भने माओवादी र एकीकृत समाजवादी दल वामपन्थीविरोधी दल नेका सम्मिलित दलमा किन समावेश भए ? अनि हिजो एमालेसमेतको सरकार छोडेर माओवादी केन्द्र किन नेकासँग घाँटी जोडेर सरकार गठन गर्न पुग्यो ?
सरकार ढाल्ने र बनाउनेमा ठुला दलका नेताहरू नै दोषी छन् । अस्थिर सरकार निर्माण र अराजक गतिविधिका दोषी पनि ठुला दलका नेताहरू नै हुन् । सत्ताको निम्ति खुट्टा तान्ने र पछार्ने काममा पनि ती दलका नेताहरू नै जिम्मेवार छन् । एउटा सहमति तोडेर अर्काे सहमति गरेर सरकारको संरचना हेरफेर गर्ने नेताहरू पनि तिनीहरू नै हुन् । एउटा सहमति तोडेर अर्काे सहमति गर्ने नेताहरूमा अडान खोइ, प्रतिबद्धता खोइ ? के नेताहरूमा इज्जत, प्रतिष्ठा, नैतिकता भन्ने कुरा हुँदैन ? जोसँग जसरी भए पनि मिलेर प्रधानमन्त्री पद लम्ब्याउनु नै देशको परिवर्तन हो ? पदको निम्ति अनेक चलखेल गर्ने अनि सत्ताको निम्ति राजनीति गरेको होइन भनी स्पष्टीकरण दिँदै जाने ? हिजो एकले अर्काेलाई अत्यन्त निकृष्ट गालीगलौज गरी पानी बाराबारको स्थितिमा पुगेका या कम्युनिस्ट पार्टीको मुख्य शत्रु कम्युनिस्ट पार्टी भएसरि हिलोछ्याप्ने ती नेताहरू आज विचार र सिद्धान्त मिल्ने मित्रको रूपमा चर्चा परिचर्चा गर्न किन अघि सरे ?
यो सरकार ‘वामपन्थीहरूको सरकार’ पनि होइन । जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीलाई वामपन्थी भन्न मिल्छ कि मिल्दैन ? या उनीहरू आफूलाई वामपन्थी पार्टी स्वीकार्छन् ? वामपन्थी भनिने दलका नेताहरू पार्टी फुटेको बेला, सरकार ढाल्दा एकले अर्काेलाई वामपन्थी भन्न के प्रतिगामी र प्रतिगामीलाई सहयोग गर्ने प्रतिक्रियावादी भन्न पनि पछि परेनन् । तर, ती नै दलका नेताहरू आफूलाई क्रान्तिकारी, समाजवादी पक्षधर कम्युनिस्ट ठान्छन् । पद र पैसामा भुलेका दलका ती नेताहरू कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार छोडेर, विचार तोडेर निर्वाचन र सरकार गठबन्धनमा वर्गीय शत्रुसँग एकाकार गर्न पुगेका छन् । त्यस्ता नेताहरूको सहकार्य केको निम्ति, गठबन्धन केको निम्ति भन्ने कुरा के घामझैँ छर्लङ्ग छैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *