भर्खरै :

वैदेशिक रोजगारको विकराल अवस्था

वैदेशिक रोजगारको विकराल अवस्था

मङ्गलबार बिहानको भोजनपछि मेरो यात्रा सानो ठिमीतिर सुरु भयो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा मेरो एक जना साथीसँग भेटघाटको योजना थियो । भक्तपुरको दूधपाटीबाट हिँडेको बस सानो ठिमी क्याम्पस नजिकै टक्क रोकियो । मुख्य सडक छोडेर परीक्षा नियन्त्रण कार्यालय नजिकै पुगेको थिएँ । एउटा सरकारी कार्यालयमा हातमा कागजात समाएका विद्यार्थीको भेषमा सयौँको लाइन देखियो । मेरो मनमा खुल्दुली उत्पन्न भयो । यति धेरै युवायुवतीहरू के गर्दै होलान् ? कुनै कलेजको परीक्षा फार्म भर्ने होला कि या कुनै रोजगार दिने सरकारी अफिस पो हो कि ? अफिसको नजिकै बसेर दृश्य अवलोकन गरेँ । त्यो त नेपाली विद्यार्थीलाई विदेश पठाउने आधिकारिक सरकारी निकाय रहेछ । बोर्डमा हेरेँ । त्यो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखा (NOC) कार्यालय रहेछ । मलाई दुःख लाग्यो, यी युवा युवतीहरूको लाइन देखेर । निजीरूपमा विदेश पढ्न पठाउने कन्सल्ट्यान्सिहरू, म्यानपावर कम्पनीहरूलगायत अन्य संस्थाको बारेमा अलिकति जानकारी थियो । तर, सरकारले नै विद्यार्थीलाई विदेश पठाउने अफिस नै खडा गरेको थाहा थिएन । मैले आफ्नो परिचय नदिएरै वैदेशिक अध्ययनको बारेमा धेरै जानकारीहरू बटुलेँ, केही तथ्याङ्कहरू सङ्कलन गरेँ । उक्त कार्यालयबाट मैले जानकारी पाएअनुसार २०८० फागुन १ देखि १७ सम्मको तथ्याङ्क यस्तो छ – क्यानडा १३५५३, जापान १२१२७, अस्ट्रेलिया ११०८२, बेलायत ७७३७, अमेरिका ५७६३, कोरिया ३४१८ लगायत अन्यत्र गरी ५९ वटा देशमा ६१७३२ जनाले एनओसी लिएका रहेछन् ।
आर्थिकरूपले निकै ऊर्जाशील अथवा उत्पादनशील उमेर १८ वर्षदेखि ४४ वर्षको हो । तर, देशका वैदेशिक रोजगारीमा जानेमध्ये आधाभन्दा बढी २५ देखि ३५ वर्षका व्यक्ति छन् । हिजो हामीले तिरस्कार गरेको पञ्चायती व्यवस्थाले बनाएका भन्दा धेरै उद्योग बन्नेछन्, लाखौँले स्वदेशमै रोजगार पाउनेछन् भन्ने नेपालीको भावनालाई कुल्चिएर नेका, एमाले र माओवादी सरकारले सबै उद्योगधन्दा, नदीनाला कौडीको मूल्यमा बेचे । युवाहरूलाई देश विकासमा लगाउलान् भनेको उल्टै गाउँगाउँमा फ्रि भिसा र फ्रि टिकटको नाममा ऊर्जाशील युवालाई पलायन गराउने काम भयो । नेपालबाट विदेश जाने नेपालीको अव्यवस्थालाई अझै गहिरिएर बुझ्न अध्यागमन विभागका सूचनालाई हेर्दा अझै दर्दनाक र कहालीलाग्दो दृश्य देख्न सकिन्छ । अध्यागमन विभागले प्रकाशित गरेको तथ्याङ्कअनुसार सन् २०२३ मा नेपाल छोड्नेहरू १६,०३,८३६ (सो¥ह लाख तीन हजार आठ सय छत्तीस) जना रहेका छन् । उक्त तथ्याङ्कअन्तर्गत स्थायी बसोबासमा साठी हजार नौ सय पन्ध्र (६०,९१५) जना, अस्थायी बसोबासको लागि बयानब्बे हजार तीन सय पन्ध्र (९२,३१५) जना, पारिवारिक भेटघाटमा एक लाख सत्सट्ठी हजार, वैदेशिक रोजगारीका लागि आठ लाख आठ हजार, अध्ययनको लागि एक लाख अठार हजार चार सय जना छन् भने अन्य प्रयोजनको रूपमा बिदेसिने, सरकारसँग अनुमति नलिई जानेहरू, भारतमा जानेहरू तथा भारतको बाटो भएर अन्य देशमा जानेहरूको सङ्ख्या यसको दोब्बरभन्दा धेरै हुनसक्छ । नेपालबाट बाहिरिनेको तुलनामा फिर्ता हुनेहरू धेरै कम देखिन्छन् । वैदेशिक रोजगार विभागका अनुसार अघिल्लो वर्ष अथवा २०७९ को असार महिनासम्म श्रम स्वीकृति लिएर ६ लाख तीस हजार युवा बिदेसिएका छन् । गत वर्ष दैनिक सत्र सयसम्म थिए भने यो वर्ष दैनिक एक्कासि सत्न्दा धेरै विदेश गएका छन् । यी माथिका तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने अबको पाँच वर्ष वा दस वर्षको नेपालको अवस्था कस्तो होला ? युवा जनशक्तिविनाको, बुढाबुढी, अपाङ्ग, रोगी, केटाकेटीको मात्रै देश भयो भने भविष्य के होला ? जुन देशमा मस्तिष्क, मशल, मनि (पैसा) रहँदैन त्यो देशको भविष्य के कल्पना गर्न सकिन्छ र ? समयमै देशको यो दुर्दशा बनाउनेहरूलाई चिन्न सकेनौँ भने थप दुख भोग्नुपर्ने देखिन्छ । आफूलाई कम्युनिस्ट, प्रगतिशील भन्नेहरू नेपालमै रोजगार सृजना हुने उद्योगधन्दा र कलकारखना खोल्नुपर्ने, अझै थप वैदेशिक रोजगार सृजना गर्ने भन्दै हिँडेको देखिन्छ । हालसम्म नेपालले श्रम रोजगारको निम्ति अनुमति १११ वटा देशमा दिएको छ भने व्यक्तिगतरूपमा १५० जति देशमा आप्रवासीको रूपमा जान स्वीकृति दिएको बुझिएको छ ।
बर्सेनि पाँच लाख युवाहरू, श्रम बजारको निम्ति तयार हुन्छन् । सबैजसो वैदेशिक रोजगारमा जाने अवस्था भइसक्यो । ६७ वर्षमा १५ वटा योजना बने तर स्वदेशमै रोजगारी बढाउन हरेक योजना असफल भएको देखिन्छ ।
सिस्नो रोपेर तुलसी उम्रँदैन भनेझैँ हामीले देखेका, भोगेका सबै समस्याको जड वर्तमानमा राज्य व्यवस्था नै हो । नेपालको शिक्षा क्षेत्रको जग नै खल्बलिएको छ† कमजोर छ । हाम्रा बुद्धिजीवीहरू, शिक्षकहरू असल, सक्षम, देशप्रेमी र प्रगतिशील हुनुपर्छ । हरेक अभिभावकहरूले आफ्ना केटाकेटीको शिक्षामा ध्यान दिनुपर्ने बेला भएको छ । हरेक विद्यालय, कलेज र विश्वविद्यालयलाई जनताको सेवामा लगाउनुपर्ने छ । प्रत्येक शिक्षक, कर्मचारी तथा प्राध्यापकहरूलाई हरेक नेपालीले भन्नुपरेको छ कि, मेरो सन्तानलाई शिक्षक तथा प्राध्यापकहरूले देशमा आइपर्ने समस्याको सामना गर्नसक्ने, आफ्नो लागि आफैँले बाँच्न सक्ने ज्ञान, सिप सिकाइदिनुहोस्, जीवन सङ्घर्ष हो, सङ्घर्ष नै जीवन हो भनेर सिकाइदिनुहोस् । नेपाली माटोको माया गर्ने, नेपाली माटोमै जीउन सिकाइदिनुहोस्, । गौरवमय इतिहास भएका हाम्रा पुर्खाको त्याग, तपस्या र समर्पणलाई फेरि बिउँझनुपरेको छ ।
देशका शासकहरूले देश बनाउने खालको शिक्षा नीति ल्याएनन्† देशलाई माया गर्ने शिक्षा व्यवस्था गर्न सकेनन् । उनीहरूले देशलाई आफ्नै खुट्टामा उभिने शिक्षा प्रणाली ल्याउन सकेनन् । उनीहरूले क्युवा, उत्तर कोरिया र चीनको जस्तो उत्पादन श्रमसँग जोडिएको, देश बनाउने, देशलाई माया गर्ने शिक्षाको व्यवस्था गर्न सकेनन् । त्यसैले, आज देशको अवस्था बेहाल भइरहेको छ । उनीहरू विदेशीले थोपरेको सहयोगमा मख्ख परेर गौरव गर्छन् । उनीहरूले देशको अर्थतन्त्र विदेशीलाई सुम्पँदै आएका छन् । हाम्रा प्रधानमन्त्री, मन्त्री, सांसद तथा उच्चपदस्थ कर्मचारीहरू विदेशीको पैसामा विदेश सयर गरेको खबर सञ्चारमाध्यममा आउन थालेका छन् । सित्तैमा विदेश भ्रमण गर्न पायो भन्दैमा, विदेशीले लावा लस्करसहित रातो कार्पेट बिछ्याएर भव्य स्वागत ग¥यो भन्दैमा मख्ख पर्नु राम्रो होइन । हाम्रा प्रम, मन्त्री र सांसदहरूलाई विदेशीले सित्तैमा विभिन्न सहयोगको नाममा त्यसै पैसाको खोलो बगाउँछन् र विदेशीले हामीलाई उनीहरूको पासोमा फसाउन लाग्यो है भन्ने कुरा बुझ्नु आवश्यक छ । विदेशीहरूले यसरी नै एसिया, अफ्रिका, ल्याटिन अमेरिकी देशका नेता तथा शासकहरूलाई त्यस्तै सहयोगको पासो थापेर देश कब्जा गरेको, शासकहरूलाई पासोले बाँधेर आफ्नो उठसमा राखेको र आफूले भनेजस्तो नबस्ने नेताहरूको हत्या गरेको इतिहास हामीले बिर्सनुहुँदैन । आशा गरौँ, नयाँ पुस्ताले यी समस्यालाई चिर्दै नयाँ नेपाल बनाउने अभियानमा हातेमालो गर्नेछ । एक दिन नयाँ नेपालको निर्माण भएरै छाड्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *