श्रीलङ्काका नयाँ राष्ट्रपतिको पहिलो विदेश भ्रमण भारतमा
- मंसिर २६, २०८१
अप्रिल ६ गते बीबीसीलाई दिएको अन्तर्वार्तामा नेटोका महासचिव येन्स स्तोल्टेनबर्गले द्वन्द्व अन्त्य गर्न युक्रेनले रुससँग कुनै नै कुनै रूपमा सम्झौता गर्नुपर्ने हुनसक्छ भने । किभले ‘मान्य परिणाम’ हासिल गरोस् भनेर सुनिश्चित गर्ने काम पश्चिमको हो भनी उनले बताए । युक्रेनको हतियारखाना रित्तिँदै जाँदा स्तोल्टेनबर्गले शान्ति सम्झौताको कुरा निकाले पनि किभले फेरि एकचोटि मस्कोसँग वार्ता नहुने जनाएको छ ।
‘निकट भविष्यमै युद्ध टुङ्गियोस् भनेर हामीले आशा र विश्वास लिए पनि’ पश्चिमले पछिसम्म पनि युक्रेनलाई साथ दिइरहनुपर्ने नेटो प्रमुख स्तोल्टेनबर्गले बताए । भविष्यमा हुनसक्ने आक्रमणमा युक्रेनलाई सबल पार्न पश्चिमा देशहरूले उसको रक्षा क्षमता बढाउन लगानी गर्नुपर्ने उनले बताए । उनले रुससँग कहिले र के–कस्ता सर्त राखी शान्ति सम्झौता गर्ने भन्ने कुरा युक्रेनले नै छनोट गर्नुपर्ने उनले औँल्याए ।
स्तोल्टेनबर्गले भने, “निकट भविष्यमै युद्ध टुङ्गियोस् भनेर आशा र विश्वास लिए पनि हामीले युक्रेनलाई धेरै वर्षसम्म साथ दिनुपर्छ, भविष्यमा हुने आक्रमणलाई रोक्न उसको प्रतिरक्षा प्रणालीलाई सबल बनाउनुपर्छ ।” उनले ‘मान्य परिणाम’ दिलाउन सक्ने सम्झौतासम्म पुग्न पश्चिमा जगतको भूमिकाबारे पनि चर्चा गरे । नेटो गठबन्धनका यी नेताले रुसलाई छुट दिन युक्रेनमाथि दबाब नहालेकोमा जोड दिए र ‘वास्तविक शान्ति’ मा ‘युक्रेन हाबी हुनुपर्ने’ बताए ।
यो साताको आरम्भमै स्तोल्टेनबर्गले किभप्रतिको दीर्घकालीन समर्थनको दृढ अपिल गरे र नेटोका सदस्य देशहरूलाई ‘स्वतःस्फूर्त सहयोगमा कम तर नेटो प्रतिबद्धतामा बढी भर पर्न’ भने । अनेक अध्ययनहरूबाट स्तोल्टेनबर्गले युक्रेनको लागि १०० अर्ब युरो बराबरको पाँच वर्षीय सैन्य सहायता प्याकेज प्रस्ताव गरेका छन् । यो पहलकदमीका विभिन्न पक्षबारे थप छलफल चलिरहेको बताइन्छ ।
द्वन्द्व सुरु भए यता रुसले जहिल्यै युक्रेनसँग वार्ता गर्न तत्परता देखाउँदै आएको छ । यद्यपि, सन् २०२२ को अन्त्यतिर पहिले युक्रेनमा पर्ने चार भूभागका बहुमत जनताले रुसमा मिसिने मत जाहेर गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्रेमलिनसँग कुनै पनि किसिमको सम्झौता वार्तामा प्रतिबन्ध लगाएका छन् । बरु उनले दसबुँदे ‘शान्ति सूत्र’ सिफारिस गरेका छन् । त्यसमा उनले मस्कोले युक्रेनको भूभागबाट सेना फिर्ता लग्नुपर्ने र कथित युद्ध अपराध गर्ने रुसी अधिकारीहरूलाई कठघरामा उभ्याउनुपर्ने माग गरेका छन् । मस्कोले यो पहललाई ‘यथार्थभन्दा पर’ भनी अस्वीकार गरेको छ ।
अप्रिल ६ गते ‘पोलिटिको’ नामक सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै जेलेन्स्कीका सैन्य अधिकारी आन्द्रेइ येर्माकले युद्धका कारण लखतरान भए पनि युक्रेनी जनताले रुससँग गरिने कुनै पनि किसिमको सम्झौताको चर्को विरोध गर्ने बताए । उनले भने, “रुसीहरूलाई सम्झौता गर्ने मन छैन । तिनीहरू युक्रेनलाई घुँडामा टेकाउन चाहन्छन् । तर, त्यो कहिल्यै हुनेछैन । युक्रेनमा बसेका हामी सबैलाई हाम्रो स्वाधीनता, हाम्रो भौगोलिक अखण्डता र हाम्रो स्वतन्त्रतामा सम्झौता गर्ने कुरा मान्य हुनेछैन । हाम्रा राष्ट्रपतिले मिन्स्क सम्झौता वा शीतयुद्धजस्तो कुनै पनि कुरामा सहमति जनाउने छैनन् । यसमा मलाई कुनै शङ्का छैन ।”
यद्यपि, गत महिना जेलेन्स्कीले सन् १९९१ को युक्रेनको सीमामा फर्किनु रुससँगको वार्ताको पूर्वसर्त हुन नसक्ने बताए । सन् २०२२ यता युक्रेनले गुमाएको भूभाग फिर्ता पाउनैपर्नेमा उनले जोड दिए । त्यसमा युद्ध सुरु भए यता आफ्नो सीमारेखा फेरिएको तथ्यलाई युक्रेनले मनन गर्नैपर्ने मस्कोको जवाफ थियो ।
आफ्नो गठ्ठाघर रित्तिँदै गए पनि किभले यस यथार्थलाई स्वीकार गर्न आनाकानी गर्दै छ । येर्माकले भने, “हाम्रो आवश्यकताबारे सयौँचोटि व्याख्या गर्नुपर्छ तर (रुससामु) हात बाँधेर बसिरहनु र गुनासो गर्नुको कुनै तुक छैन ।” पश्चिमी देशहरूबाट साथ समर्थन पाइरहेकोमा कृतज्ञता जनाउँदै येर्माकले युक्रेनलाई थप १५५ एमएम तोपका गोला, ड्रोन, विद्युतीय युद्ध प्रणाली, पेट्रियट हवाई रक्षा प्रणाली चाहिएको बताए ।
येर्माकले भने, “हामीलाई थप हवाई प्रतिरक्षा प्रणालीको असाध्यै खाँचो छ किनभने त्योबिना हाम्रा सहरहरूलाई जोगाउन असम्भव हुनेछ ।”
पछिल्ला महिनाहरूमा पश्चिमा देशहरूसँग हतियार सहायता माग्न जेलेन्स्कीले गरेको पुकार व्यर्थ गइरहेको छ । अप्रिलको आरम्भमा उनले आउँदो वसन्त वा गर्मी याममा रुसले गर्नसक्ने मुख्य आक्रमण थेग्नालाई किभ तयार नभएको चेतावनी दिए । उनले पश्चिमी देशहरूसँग मोर्चामा ‘स्थिति मत्थर पार्न’ चाहिने ‘गोलीगठा, तोपका गोला र अन्य धेरै उपकरण’ युक्रेनसँग नभएको गुनासो राखे । ‘स्थिति मत्थर पार्न’ सकेको खण्डमा पश्चिमा साझेदारहरू ‘वास्तवमै खुसी’ हुनसक्ने उनको तर्क थियो ।
युक्रेनी कमान्डर इन चिफ ओलेक्सान्दर सिस्र्कीले अप्रिलको आरम्भमै आफ्नो सेनाले ‘अप्ठ्यारो’ भोगिरहेको र रुसले हवाई शक्ति, मिसाइल र तोपको अग्रताबाट फाइदा लिइरहेको बताए । युक्रेनले माग गरेका धेरै हतियार निश्चय नै पाउनेछ । यी हतियारको प्रयोग गरे तापनि युक्रेनले युद्धको धार भने फेर्न सक्नेछैन भनी धेरै विज्ञले स्वीकारेका छन् । रुसको निर्णायक विजयको पल्ला भारी छ ।
विविध कारणवश बहुसङ्ख्यक नेटो सदस्यहरूले मस्कोसँग वार्ता गर्नुको विकल्प युक्रेनसँग नरहेको बताउँदै आएका छन् । अहिले आएर नेटो प्रमुखले नै अनिच्छापूर्वक यो कुरा जाहेर गरे । जब कि यति बेला जेलेन्स्कीले कडा शब्दमा सम्झौता वार्ता हुन सक्दैन भन्दै छन् । जति नै अड्डी लिए पनि जेलेन्स्की र उनीपछि आउने युक्रेनी नेतासँग सम्झौता थाल्नुभन्दा अर्को उपाय छैन । त्यो सम्झौतामा युक्रेनले परिवर्तित सीमारेखालाई औपचारिकरूपमा अनुमोदन गर्नुपर्नेछ । दोस्रो उपाय छैन ।
(ग्लोबल रिसर्चबाट । सम्यक)
Leave a Reply