भर्खरै :

पुँजीवादी व्यवस्था फालेर समाजवाद स्थापना भए पो उथलपुथल हुन्छ

छिनछिनमा सत्ता समीकरण गर्नु आफूले गरेको प्रतिबद्धता उल्लङ्घनको एक दृष्टान्त हो । हरेक पटक सरकार गठन गर्दा पूरै कार्यकाल चल्ने प्रतिबद्धता गरिएको हुन्थ्यो, ढिलो चाँडो साझा सङ्कल्प सार्वजनिक हुन्थ्यो । तर त्यो प्रतिबद्धता र साझा सङ्कल्प पूरा नहुँदै अर्को समीकरणको सरकार बन्थ्यो र फेरि पूरै कार्यकाल सरकार चल्ने र साझा सङ्कल्प लागु गर्ने उद्घोष हुन्थ्यो । सरकारको नेतृत्व या मन्त्रीहरू हेरफेर हुनु नै उथलपुथल ठान्ने देशका शासक र प्रधानमन्त्रीहरू सरकार बनाउने र गिराउने खेल या चक्करमा लागिरहेका छन् । गणतन्त्र ल्याएको दाबी गर्न पछि नपरेका ती शासकहरू विधिको शासन र कानुनी शासनको कुनै ख्याल गर्दैनन् । के यो सरकारको कमजोरी होइन ?
साझा सङ्कल्प लागु गर्न कोही बाधक बन्दैन† बाधक बनेको स्वीकार्दैन । तर एकले अर्कोलाई बाधक बन्यो, विश्वासघात ग¥यो भनी उनीहरू आरोप–प्रत्यारोप लगाउँछन् । यही कारण नयाँ सत्ता समीकरणको सरकार बन्छ । यसलाई प्रम दाहाल कहिले क्रमभङ्ग त कहिले उथलपुथल गरेको भनी गर्व गर्छन् । नयाँ सत्ता समीकरण बनेको घटना सेलाउन नपाउँदै फेरि अर्काे उथलपुथल हुन्छ है भनी प्रम दाहाल सरकारमा सामेल ठुला दललाई तर्साउँछन् । बिगतमा चुनावी गठबन्धनको हैसियत जोडेर पार्टी एकता सम्म गरेका दलका ती नेताहरूले एकतालाई निरन्तरता दिन सकेनन् । आखिर सत्ताकै निम्ति तिनै शासक दलका नेताहरूमा विवाद बढ्यो र दल टुक्रा भयो । प्रम दाहालको निम्ति सायद त्यो पनि उथलपुथल नै भयो होला ¤ उथलपुथल केको निम्ति ? एउटा सरकार ढालेर अर्को सरकार बनाउँदा मन्त्री हेरफेरलाई नै ‘उथलपुथल’ भनेपछि देशमा व्यवस्थै फेरियो भने कस्तो उथलपुथल भन्ने हो ?
प्रम दाहाल देशमा उथलपुथल गर्न चाहन्छन् भने सरकारको नेतृत्व हेरफेर होइन, दल र मन्त्रीहरू हेरफेर होइन व्यवस्थै फेर्न अघि सर्नुपर्छ र व्यवस्थै फेरेर उथलपुथल गर्नुपर्छ । पुँजीवादी व्यवस्था फेरेर समाजवादी स्थापना गर्ने काम कम्युनिस्ट पार्टीको उद्देश्य हो । त्यो उद्देश्य पूरा गर्न देशमा कम्युनिस्ट पार्टीहरू लाग्नुपर्ने हो । ‘जनयुद्ध’ गर्न पछि नपर्ने माओवादी कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार नै तिलाञ्जली दिएर पुँजीवादी बाटोमा लागेकै हो । शान्तिपूर्ण बाटो भन्दैमा माओवादीले वर्गसङ्घर्षको विचार छोडेकै हो । वर्गसङ्घर्षको बाटो छोड्ने दलले के साँच्चै उथलपुथल गर्ला ? समाजवादी मोर्चाले साँच्चै देशमा समाजवाद स्थापना गर्ला ? समाजवाद स्थापना नगर्ने समाजवादी मोर्चा कतै देखाउने दाँत होइन ?
गठबन्धन या समीकरण सरकारमा धेरै दल सहभागी हुनु स्वाभाविक हो । समीकरण सरकारमा जुन दलको नेतृत्वमा सरकार बने पनि प्रतिबद्धता या साझा सङ्कल्प लागु गर्ने हो । साझा सङ्कल्प लागु गर्न पालैपालो प्रम बन्नु आवश्यक छैन । पालैपालो प्रम बन्ने अभिलाषा राखेर या बनेर देशमा हेरफेर हुने होइन । व्यवस्था बदल्ने कुरा छोडेर या पुँजीवादी व्यवस्थाको शासक बनेर प्रम दाहालले देशमा के हेरफेर गर्लान् ? नयाँ समीकरणको सरकार बनाएर बहुमत जनताको निम्ति के राहत पु¥याइयो ? बहुमत जनताको निम्ति केही नगर्ने सरकारले उथलपुथलको कुरा गर्न कम्युनिस्ट भनिने नेता दाहाललाई सुहाउँदैन । यसकारण, उथलपुथल गर्न चाहने दाहाल सर्वप्रथम सच्चा कम्युनिस्ट हुनुपर्छ । कम्युनिस्ट बनेर कम्युनिस्टको सिद्धान्त र विचारअनुसार राजनीति गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *