भर्खरै :

इँटाभट्टालाई सुधार गर्न सार्कका व्यवसायी सहमत

ललितपुर, ५ फागुन (रासस) ः दक्षिणी एशियामा वायु प्रदूषणको मुख्य कारक मानिएको इँटाभट्टालाई आधुनिक र स्वच्छ प्रविधिबाट सञ्चालन गराउन यस क्षेत्रका इँटाभट्टा सञ्चालकद्वय सहमत देखिएका छन् ।
एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र नेपाल इँटा व्यवसायी महासंघको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न हरित दक्षिण एशियाको इँटा क्षेत्रका लागि जिकज्याक प्रविधिको प्रवद्र्धनसम्बन्धी कार्यशालामा सहभागी इँटा व्यवसायी यसका लागि सामूहिक रुपमा कार्य गर्नसमेत तयार देखिएका छन् ।
नेपाललगायत बंगलादेश, भारत र पाकिस्तानका २५ जना इँटा व्यवसायीको सहभागिता रहेको सो दुईदिने कार्यशालामा जिकज्याक प्रविधिबाट इँटा उत्पादन गर्दा हरितगृह ग्यास उत्सर्जन कम भई ब्ल्याक कार्बनलाई न्यूनीकरण हुने, उत्पादकत्वमा वृद्धि, कोइलाको खपतमा कमी र इँटाको गुणस्तरमा सुधार हुने भएकाले यस प्रविधिको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइयो ।
कार्यशालामा इसिमोडका उपमहानिर्देशक एकलव्य शर्माले परम्परागत इँटाभट्टाबाट निस्कने ब्ल्याक कार्बनले खासगरी पर्वतीय क्षेत्रमा प्रत्यक्ष असर पु¥याएको र यसबाट दक्षिण एशियाका बासिन्दाको स्वास्थ्य, कृषि उत्पादनमा ह्रास आएकाले यसमा सुधार ल्याउन सामूहिक प्रयासको खाँचो औँल्याउनुभयो ।
सो अवसरमा इसिमोडका विद्याविमली प्रधान, अरनिको पाण्डे, महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले नेपालमा गोरखा भूकम्पपछि इँटाभट्टामा जिकज्याक प्रविधिलाई प्रोत्साहन गरिएको र यसबाट झण्डै ४० प्रतिशत प्रदूषण उत्सर्जनमा कमी आएको जानकारी दिनुभयो ।
सहभागीहरुलाई जिकज्याक प्रविधिबाट इँटा उत्पादन गरिएका भक्तपुर, धादिङ र विराटनगरका भट्टीहरुको अवलोकन भ्रमण गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *