भर्खरै :

इरानको निर्णयलाई प्रजग कोरियाको समर्थन

इरानको निर्णयलाई प्रजग कोरियाको समर्थन

प्योङयाङ, ११ मार्च । मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन गर्ने इरानको निर्णयलाई प्रजातान्त्रिक जनगणतन्त्र (प्रजग) कोरियाले सम्मान गर्ने जनाएको छ । साथै उसले इरानमाथि भएको अमेरिका–इजरायलको आक्रमणलाई अवैध भन्दै कडा निन्दा पनि गरेको छ ।
प्रजग कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले बुधबार प्रजग कोरियाको विदेश मन्त्रालयका एक प्रवक्तालाई उद्धृत गर्दै इरानी जनताले आफ्नो सर्वोच्च नेता चयन गर्ने अधिकारलाई प्योङयाङले सम्मान गर्ने जनाएको हो ।
मोज्तबा खामेनी इरानका पूर्वसर्वोच्च नेता आयतोल्लाह अली खामेनीका माइला छोरा हुन् । अली खामेनी गत फेब्रुअरी २८ मा युद्धको सुरुवातमै भएको अमेरिका–इजरायलको आक्रमणमा मारिएका थिए । त्यसपछि इरानको एक्सपट्र्सको सभाले मोज्तबा खामेनीलाई इस्लामिक क्रान्तिको नयाँ सर्वोच्च नेताका रूपमा चयन गरेको घोषणा गरेको थियो ।
विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, “अमेरिका र इजरायलले इरानमाथि गरेको अवैध सैन्य आक्रमणले क्षेत्रीय शान्ति र अन्तर्राष्ट्रिय स्थिरतालाई कमजोर बनाएको छ, जसको हामी कडा निन्दा गर्छाैँ” कुनै देशको राजनीतिक प्रणाली र भौगोलिक अखण्डतामाथि आक्रमण गर्नु अस्वीकार्य भएको भन्दै विश्व समुदायले यसको विरोध गर्नुपर्ने पनि उनले बताएका छन् ।
यसअघि पनि उत्तर कोरियाले इरानमाथि भएको अमेरिका–इजरायल आक्रमणलाई गुण्डागर्दी शैलीको व्यवहार भन्दै आलोचना गरेको थियो । यसैबिच, केसीएनएले प्रजग कोरियाका नेता किम जोङ उनले देशको नयाँ तथा सबैभन्दा ठुलो नौसैनिक विध्वंसक जहाज चोए ह्योनबाट रणनीतिक क्रुज मिसाइल परीक्षणको अनुगमन गरेको पनि जनाएको छ । किमले सो परीक्षणको क्रममा शक्तिशाली र भरपर्दो परमाणु प्रतिरोध क्षमता कायम राख्ने र विस्तार गर्ने रणनीतिक आवश्यकता रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *