भर्खरै :

ख्वप कलेजमा विश्वविद्यालय अनुदान आयोगको समकक्षी परीक्षण टोलीको प्रारम्भिक अनुगमन सम्पन्न

ख्वप कलेजमा विश्वविद्यालय अनुदान आयोगको समकक्षी परीक्षण टोलीको प्रारम्भिक अनुगमन सम्पन्न

भक्तपुर, १० चैत । ख्वप कलेजको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) को लागि विश्वविद्यालय अनुदान आयोगको समकक्षी परीक्षण टोली (पीआरटी) ले चैत ८,९ र १० गते लगातार कलेजको प्रारम्भिक अनुगमन सम्पन्न गरेको छ ।
समापन कार्यक्रमका सभापति एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले अनुगमनको क्रममा टीमले दिएको सुझावलाई समयावधिभन्दा अगावै पूरा गर्ने प्रतिबद्धता जनाउँदै अनुगमनबाट प्राप्त सुझावले ख्वप कलेजको शैक्षिक सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
स्थानीय तहबाट सञ्चालित ख्वप कलेजले देशका अन्य स्थानीय तहलाई पनि शैक्षिक संस्था सञ्चालन गरी जनताको सेवा गर्न ऊर्जा प्रदान गरिरहेको उल्लेख गर्दै भक्तपुर नपाले सबैलाई समान सुविधा प्रदान गर्ने अवधारणाले काम गरिरहेको बताउनुभयो ।
उहाँले कलेजमा अध्ययनरत हरेक विद्यार्थीहरूलाई शैक्षिक प्रमाणपत्रका साथै हातमा कुनै न कुनै सीप दिने प्रयास गर्दै आएको बताउँदै विद्यार्थीले परीक्षामा ल्याएको उत्कृष्ट अङ्कले मात्रै उसलाई सफल बनाउने होइन, उसको नैतिकता, इमानदारिता र संस्कार महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप सर्कलअन्तर्गतका कलेजहरूको शैक्षिक गुणस्तर र सेवा सुविधाबारे धेरैको जिज्ञासा र चासो रहेको बताउँदै उहाँले यी कलेजहरूलाई अन्तर्राष्ट्रियकरण गर्दै लगिने बताउनुभयो ।
समापन कार्यक्रममा टोलीका संयोजक प्रा. सुवास केसीले ख्वप कलेजको समूहगत प्रयासले संस्थागत विकासमा सकारात्मक प्रभाव परेको उल्लेख गर्दै नगरपालिकाद्वारा सञ्चालित कलेजको उद्देश्य र दृष्टिकोण अनुकरणीय रहेको बताउनुभयो । उहाँले ख्वप कलेजको विकास र प्रगतिमा व्यवस्थापन समिति, विषयगत सङ्काय, विद्यार्थी र अभिभावकको सक्रिय सहभागिता र सहयोग रहेको बताउँदै समकक्षी परीक्षण टोलीको सुझावलाई पूर्ण कार्यान्वयन गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
टोलीका सदस्य नारायणप्रसाद भण्डारीले गुणस्तर सुनिश्चितताको विषयमा ख्वप कलेजबाट आफूले धेरै कुरा सिक्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै उच्च शिक्षा अध्ययन सकेका विद्यार्थीहरूलाई सक्षम बनाउन कलेजले जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र शिक्षक कमिनिका न्याइच्याईले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *