भर्खरै :

नेता किमद्वारा आणविक शक्तियुक्त राष्ट्रका रूपमा प्रजग कोरियाको स्थिति ‘अपरिवर्तनीय’ रहेको घोषणा

नेता किमद्वारा आणविक शक्तियुक्त राष्ट्रका रूपमा प्रजग कोरियाको स्थिति ‘अपरिवर्तनीय’ रहेको घोषणा

प्योङयाङ, १० चैत (केसीएनए) । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने स्पष्ट सन्देश दिएको छ । देशका सर्वोच्च नेता किम जोङ उनले आणविक शक्तियुक्त राष्ट्रका रूपमा आफ्नो स्थिति ‘अपरिवर्तनीय’ रहेको घोषणा गर्दै युद्ध उन्मादमा रहेका कठपुतली दक्षिण कोरियाली शासन र संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिनुभएको छ ।
सर्वोच्च जनसभामा नीतिगत सम्बोधन गर्दै प्रजग कोरियाको राष्ट्रिय मामिला आयोगका अध्यक्ष किमले शत्रु शक्तिविरुद्धको सङ्घर्षलाई अझ आक्रामक बनाउने बताउनुभयो । उहाँले संविधानले दिएको जिम्मेवारीअनुसार आत्मरक्षात्मक आणविक प्रतिरोधलाई अझ विस्तार र सुदृढ बनाइने स्पष्ट पार्नुभयो । उहाँका अनुसार प्रजग (उत्तर) कोरिया अब आणविक शक्ति त्याग्ने दिशामा कहिल्यै जानेछैन ।
सर्वोच्च नेता किमले अमेरिकाले इरानमाथि गरेको सैन्य कारबाहीलाई ‘राज्य आतङ्कवाद’ को उदाहरणका रूपमा उल्लेख गर्दै विश्वव्यापी रूपमा शक्ति प्रदर्शन गर्ने प्रवृत्तिको आलोचना गर्नुभयो । संयुक्त राज्य अमेरिका र इजरायलले भने इरानमाथिको आक्रमण आणविक हतियार विकास रोक्नका लागि सैनिक कारबाही गरेको दाबी गर्दै आफ्नो कदमको बचाउ गर्दै आएका छन् ।
वर्षौंको अन्तर्राष्ट्रिय प्रतिबन्ध र कूटनीतिक अलगावका बाबजुद प्रजग कोरियासँग दर्जनौँ आणविक हतियार र थप उत्पादन गर्न सक्ने सामग्री उत्पादन गरिसकेको छ । यसले ठोस इन्धनयुक्त अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्रसहित उन्नत प्रक्षेपण प्रणाली विकास गरेको छ, जसले कम समयमै दूरको लक्ष्यमा प्रहार गर्न सक्ने क्षमता राख्दछ । प्रजग कोरियाले हालसम्म छ वटा परमाणु परीक्षण गरिसकेको छ र करिब ९० वटा परमाणु वारहेड बनाइसकेको अनुमान गरिन्छ ।
हालै राज्य मामिला आयोगको प्रमुखका रूपमा पुनः नियुक्त भएपछि किमले दक्षिण कोरियाप्रति पनि कडा धारणा प्रस्तुत गर्नुभएको छ । उहाँले दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रु राष्ट्र’ घोषणा गर्दै पूर्ण रूपमा अस्वीकार र बेवास्ता गरिने बताउनुभयो । संरा अमेरिकासित गठबन्धन गरी दक्षिण कोरियाले प्रजग कोरियाविरुद्ध निरन्तर शत्रुतापूर्ण क्रियाकलाप गरिरहेको कारण प्योङयाङले दक्षिणलाई बेवास्ता गरेको छ ।
किमले आफ्नो देशविरुद्ध हुने कुनै पनि आक्रामक कदमको ‘निर्दयी’ जवाफ दिइने चेतावनी दिँदै प्रतिकारमा कुनै हिच्किचाहट नराखिने उल्लेख गर्नुभयो । उहाँले कोरियाली प्रायःद्वीपमा शान्ति र स्थिरता कोरियाली जनताको चाहना चए तापनि साम्राज्यवादी संरा अमेरिका, जापान र दक्षिण कोरियाको कठपुतली शासनका कारण त्यो सम्भव नभइरहेको प्रस्ट पार्नुभयो ।
नेता किमले संरा अमेरिकामाथि क्षेत्रीय सुरक्षालाई कमजोर बनाउने षडयन्त्र गरिरहेको आरोप लगाउँदै आफ्नो देश वरपर आणविक रणनीतिक साधनहरूको तैनाथी बढाइएको बताउनुभयो । उहाँले विश्वभर अमेरिकाले ‘आक्रामकता र हस्तक्षेप’ गरिरहेको पनि बताउनुभयो ।
आर्थिक पक्षमा नेता किमले यस वर्ष देशले औद्योगिक उत्पादन डेढ गुणाले वृद्धि गर्ने लक्ष्य लिएको बताउनुभएको छ । उहाँका अनुसार पछिल्ला पाँच वर्षमा अर्थतन्त्रमा उल्लेखनीय प्रगति भएको छ र विभिन्न कठिनाइ पार गर्दै प्रमुख उद्योगहरूको पुनःसंरचना गरिएको छ ।
उहाँले आणविक कार्यक्रम कायम राख्दै पनि आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने दाबी गर्दै विरोधी शक्तिहरूको तर्कलाई खारेज गर्नुभयो । साथै सन् २०२६ मा कुल बजेटको १५.८ प्रतिशत रक्षा क्षेत्रमा खर्च गरिने जानकारी पनि दिनुभयो । यो अघिल्लो वर्षभन्दा केही बढी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *