भर्खरै :

हङकङमा भविष्यको शिक्षा

आर्थिक विकासको कुरा गर्दा आवश्यक पर्ने प्रमुख पक्षमध्ये प्रतिभा र दक्षता पनि पर्दछन् । आज विभिन्न सहरहरूले आफ्नो विकासमा विदेशी प्रतिभालाई आकर्षित गर्ने नीति लिइरहेका छन् । त्यस्तो परिस्थितिमा स्थानीय विज्ञहरूको प्रवद्र्धन मानव पुँजीको आधार हुने गर्दछ । हङकङको भविष्य पनि त्यहाँको शिक्षा व्यवस्थामा भरपर्नेछ । हङकङको क्षमता विस्तारमा हामीले दुई वटा क्षेत्रमा ध्यानकेन्द्रित गर्न जरूरी छ । त्यसलाई नै ‘भविष्यको शिक्षा’ भन्न सकिन्छ ।
पहिलो क्षेत्र भनेको स्टीम (STEM-Science,Technology,Engineering and Mathematics) अर्थात् विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणित । पछिल्लो समयमा यसले विशेष ध्यानाकर्षण गरेको छ । स्टीम शिक्षाको सबभन्दा पहिलो प्रस्ताव सन् २०१५ को नीति कार्यक्रममा प्रस्तुत भएको थियो । त्यो नीतिलाई सन् २०१६ मा हङकङका पूर्व प्रमुख कार्यकारी ल्युङ छुन यिनले समर्थन गरे । यो नीतिले विद्यार्थीलाई जीवनभर विज्ञान, प्रविधि र गणितको क्षेत्रमा काम गर्न मद्दत गर्दछ । उनीहरूले आउने सबै चुनौतीको सामना गर्नसक्नेछन् । यो नीतिको लक्ष्यबारे स्टीम शिक्षा प्रवद्र्धनबारे हङकङको शिक्षा विभागले सार्वजनिक गरेको प्रतिवेदनमा प्रस्ट पारिएको छ । सो प्रतिवेदनले स्टीम शिक्षा कार्यक्रम प्राथमिक र माध्यमिक विद्यालयहरूमा पनि लागू गर्नुपर्ने सिफारिस गरेको छ ।
स्टीम शिक्षाको महत्व वैज्ञानिक र अनुसन्धानमूलक प्रतिभालाई प्रवद्र्धन गर्नेमा मात्र सीमित छैन । बरू यो हङकङ सहरको रूपान्तरणसँग पनि जोडिएको विषय हो । हङकङमा अझै पनि ‘उच्च प्रविधि उच्च जोखिम’ भन्ने परम्परागत मान्यता बाँकी छ । त्यही भएर धेरै लगानीकर्ता उच्च प्रविधिसँग जोडिएका परियोजनामा लगानी गर्न चाहँदैनन् किनभने त्यो क्षेत्रमा लगानी उठाउन निकै लामो समय कुर्नुपर्ने हुन्छ । तथापि एक देश दुई बन्दोबस्त अनुसन्धान प्रतिष्ठानले गरेको एक अध्ययनअनुसार अब कृत्रिम बौद्धिकता (Artificial Intelligence) को युग आउनेछ । त्यसले धेरै मानिसको रोजगारीमाथि खतराको घण्टी बजेको छ । यदि हामी यो नयाँ युगको चुनौती सामना गर्न तयार भएनौं भने हामी बुढो भएसँगै हामी पछाडि पर्दै जानेछौं । स्टीम शिक्षाको मूलअन्तर्य भनेको नयाँ युगलाई सुहाउने गरी सहरको सोचमा परिवर्तन गर्नु हो । अनि स्टीमसँग सम्बन्धित विकासको दृष्टिकोणलाई अघि बढाउने हो ।
भविष्यको शिक्षाको अर्को पाटो भनेको ‘राष्ट्रिय शिक्षा’ हो । राष्ट्रिय शिक्षा शिक्षासम्बन्धी परम्परागत अवधारणा भएकोले किन यसलाई भविष्यको शिक्षाअन्तर्गत ल्याइएको होला भन्ने कुरामा अन्योल हुनसक्दछ । यहाँ ‘भविष्य’ शब्द हङकङको शिक्षाको विशिष्ट परिस्थितिमा अथ्याईएको हो । हामी सबैलाई थाहा छ, हङकङको विशिष्ट उपनिवेशको इतिहासले राष्ट्रिय शिक्षालाई औपचारिक रूपमा बेलायती शासनको सेवामा मोडिएको छ । सन् १९९७ मा हङकङलाई औपचारिक रूपमा चीनलाई हस्तान्तरण गरे पनि चीनको राष्ट्रिय शिक्षा राजनीतिक कारणले त्यहाँ लागू गर्न गा¥हो थियो । त्यसकारण हङकङको राष्ट्रिय शिक्षाको मुद्दा समाधान गर्नुपर्ने विषय हो ।
‘भविष्य’को कार्यान्वयनको सन्दर्भमा हामीले राष्ट्रिय शिक्षाबारे हङकङको परिवेशअनुसार पुनर्विचार र पुनःपरिभाषित गर्नुपर्दछ । आज राष्ट्रिय शिक्षा भनेको सन् २०१२ मा जारी भएको तथाकथित नैतिक र राष्ट्रिय शिक्षामा सीमित छैन । त्यसको अर्थ राष्ट्रिय पहिचानको भावना निर्माण गर्नु र असल राष्ट्रिय नागरिक तयार गर्नु पनि हो । राष्ट्रिय शिक्षाका दुई वटा मूल तत्व छन्ः प्रतिबद्धता र समझदारी । राष्ट्रिय शिक्षाको महत्व भनेको हङकङका जनता स्वयं राष्ट्रिय विकासमा प्रतिबद्ध हुनुपर्दछ । मातृभूमिबारे सही बुझाईले त्यहाँका जनतालाई उदयीमान चीनले प्रस्तुत गरेको भविष्यका अवसर संगाल्न अझ प्रतिस्पर्धी बनाउनेछ ।
अरू नयाँ विषयहरू अघि ल्याउनुभन्दा शिक्षा विभाग, शिक्षक तथा सामाजिक स·ठनलगायत शिक्षासँग सम्बन्धित कार्यालयले दुई वटा विद्यमान विषयमा ध्यान केन्द्रित गर्नुपर्दछ ः पहिलो, चिनियाँ भाषा र दोस्रो चिनियाँ इतिहास । असल नागरिक बनाउन यी दुई विषय अत्यन्त महत्वपूर्ण छन् । तर यी दुई विषयमा पनि केही गम्भीर कमजोरी छन् । चिनियाँ भाषाको सन्दर्भमा यो विषय पनि अङ्ग्रेजी भाषाकै शैलीमा डिजाइन गरिएको छ । श्रवण, लेखन, पठन र अभिव्यक्ति सीपमा यो विषयको ढाँचा बनाइएको छ । यो दोस्रो भाषाको रूपमा सिकाइने ढाँचा हो । यो शैलीले सामान्यतः कला र संस्कृतिलाई उपेक्षा गर्ने गर्दछ । चिनियाँ इतिहासलाई राष्ट्रिय शिक्षाको नामकरण गरिएको छ । तर यो विषयको दिक्कलाग्दो अध्यापन र बुझाउने शैलीले विद्यार्थीले यसप्रति कममात्र चासो राख्ने गरेका छन् । मातृभूमिको इतिहासबारे नयाँ–नयाँ कुराको अनुसन्धान र अध्ययनबारे उनीहरूले चासो दिने गरेका छैनन् ।
भविष्यको राष्ट्रिय शिक्षा भनेको एकै प्रकारको शिक्षामात्र कदापि होइन । हङकङको चिनियाँ विश्वविद्यालयअन्तर्गत एसिया–प्रशान्त अध्ययनको लागि हङकङ प्रतिष्ठानले हालै सार्वजनिक गरेको चिनियाँ मूलभूमि आदानप्रदान कार्यक्रमसम्बन्धी पछिल्लो अनुसन्धान नतिजाले केही महत्वपूर्ण शिक्षा दिएको छ । चिनियाँ मूलभूमिबारे बुझ्न त्यहाँमात्र जानु कम उपलब्धिमूलक रहेको अध्ययनले देखाएको छ । तथापि हङकङका विद्यार्थीलाई मूल चिनियाँ भूमिबारे बुझाउने अझ गहिराइको प्रभावकारी कार्यक्रमको आवश्यकता छ ।
ग्रीसेली दार्शनिक डायोजिनिसले भनेका छन्, ‘हरेक राज्यको आधार भनेको त्यहाँका युवाहरूको शिक्षा हो ।’ हङकङको भविष्यको बलियो आधारको लागि हाम्रो नयाँ पुस्तको शिक्षाबारे अझ धेरै सार्वजनिक चासोको आवश्यकता छ ।
लेखक हङकङको एक देश दुई व्यवस्था अनुसन्धान प्रतिष्ठानका अनुसन्धान अधिकारी हुन् ।
मूलस्रोतः चाइना डेली
नेपाली अनुवादः मनिष

Leave a Reply

Your email address will not be published. Required fields are marked *