भर्खरै :

गाईजात्राको तयारीबारे केही सुझाव

स्वस्तिका, भक्तपुर
भक्तपुर जिल्लाको प्रख्यात गाईजात्रा पर्व (सापारु) सांस्कृतिक, धार्मिक, परम्परागत र पर्यटकीय हिसाबले महत्वपूर्ण रहँदै आएको छ । एक समय नेपालमण्डलको राजधानी रहेको भक्तपुर नगर कला, संस्कृति र सभ्यताको पनि केन्द्र थियो । यो हाम्रो गौरवको विषय हो ।
गाईजात्राको तयारीस्वरुप भक्तपुर नगरपालिकाले साउन ११ गते भक्तपुर नगरपालिकाका सांस्कृतिक गुरुहरूको भेला कार्यक्रम आयोजना गरेको थियो । यसपालिको गाईजात्रा व्यवस्थित र उल्लासमय बनाउन यस बैठकको महत्वपूर्ण भूमिका हुनेछ । स्थानीय तहबाट भएको यो प्रयास चाडपर्वमा सहभागी हुने सम्पूर्ण जनताको लागि निकै खुसीको कुरा हो । नगरपालिकाले परम्परागत संस्कृति संरक्षण गर्नेहरूलाई प्रोत्साहन गर्नको लागि पुरस्कारको बन्दोबस्त गर्नु सराहनीय पक्ष हो ।
अघिल्लो गाईजात्रा सकेको दिनदेखि यो जात्रासम्म देहावसान भएका स्थानीय व्यक्तिहरूको आत्मा चिरशान्तिको कामना गरिने यो पर्वको दिन मृतक परिवारको घरबाट सुरु गरिन्छ । टौमढी–नासमना–टेखापुखु–खौमा–दरबार स्क्वायर–इन्द्रायणी–छुमागणेश–महालक्ष्मी–नागपोखरी–क्वाठण्डौ–नवदुर्गा–सूर्यमढी–दत्तात्रय–गोल्मढी–सुकुलढोका हँुदै टौमढीको यात्राको बाटो हुन्छ ।
गाईजात्रा आउन महिनादिनमात्र बाँकी छ । माथि उल्लेखित स्थानहरूमा गर्नुपर्ने तयारीहरू निम्नानुसार हुनसक्छन् –
– सापारुलाई नछेक्ने गरी बिजुलीका, टेलिफोन, केबुल नेटवर्क र इन्टरनेटका तारहरूको उचित व्यवस्थापन गर्नुपर्ने,
– बाटोको खाल्डा–खुल्डी पुर्ने र जात्राको रुटमा निर्माण सामग्रीहरू हटाउन पहल गर्नुपर्ने,
– जात्रा क्षेत्रमा सवारीसाधन निषेध गर्ने । मोटरसाइकलहरूलाई गाईजात्रा पर्वको दिन नगरभित्र सञ्चालनमा रोक लगाउनुपर्ने,
– जात्रा मर्यादित गर्न आवश्यक स्वयम्सेवक खटाउने ।
– शुद्ध पिउने पानीको बन्दोबस्त गर्ने ।
– सडक सरसफाइ गर्ने ।
– जात्रामा सहभागीहरू (बाजा, घिन्त्ताङ्घिसी टोली) ले परम्परागत लुगा लगाउनमा जोड दिने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *