भर्खरै :

सडक छेउका यमराज

शनिबार बिहान काठमाडौंको बल्खुमा दुःखद् घटना भयो । साइकलमा सवार श्याम श्रेष्ठ त्रिभुवन विश्वविद्यालयको मूलगेट नजिकैको ढलमा खसेर निस्सासिएर मृत्यु भयो । लामो समयदेखि ढलमाथि छोपिएको स्लाब निकालिएको खाल्डोमा खसेर उनको अनाहक मृत्यु भयो । काठमाडांै उपत्यकाका मूल सडक छेउछाउ यसरी खुला छोडिएका ढलहरू असङ्ख्य ठाउँमा देख्छौं । कुनै पनि बेला जोकोहीको ज्यान लिन पर्खिबसेका जस्ता त्यस्ता खाल्डा वा स्लाब निकालिएका ठाउँको उचित व्यवस्थापन स्थानीय तह र सङ्घीय सरकारअन्तर्गतको सडक विभागको हो । विशेषतः राति हिंड्डुल गर्ने बटुवा र साना सवारी साधनमा यात्रा गर्ने सर्वसाधारणको लागि त्यस्ता खाडल मृत्यु वा दुर्घटना बनेर कुरिरहेका हुन्छन् ।
सरकारले आजभोलि गर्ने विकास र समृद्धिका ठूलठूला कार्यक्रमको तुलनामा सडकछेउका यस्ता समस्या ‘मसिना’ मानिन सक्छन् । ‘अन्तर्राष्ट्रिय’ स्तरका विमानस्थल, खेलमैदान, सभास्थल, रेल, विद्युत्तीय यातायातको तुलनामा सडक छेउका यस्ता खाल्डा ‘ठूलो सपना’ देख्नेका लागि नाथे समस्या हुनसक्दछ । तर त्यस्ता साना मानिएका समस्याबाट सर्वसाधारण जनता अनाहकमा मारिन्छन्, दुर्घटनामा पर्छन् भने तिनलाई पनि जनताकै समस्या मानी समाधानको दिशामा सरकार अग्रसर बन्न जरुरी छ ।
धेरै वर्ष भएको छैन, वर्षायाममा पानीले भरिएको नालीले एकजना बालिकालाई बगाएको घटना । त्यत्तिबेला पनि काठमाडौंको जीर्ण र अव्यवस्थित सडकबारे सरकार र स्थानीय तहको चर्को आलोचना भएको थियो । तर शनिबारको घटनाले सम्बन्धित निकाय अझै पनि यो समस्याको गम्भीरताप्रति सजग नभएको देखाएको छ ।
राज्यले सडक निर्माणको काम ठेक्कामा दिने गर्दछ । ठेकेदारले सबै शक्ति केन्द्रलाई कमिशन पु¥याउनुपर्ने बाध्यता छ । अनि त्यसैले ठेकेदारले अपूर्ण वा कमसल निर्माण गरिदिने गर्दछ । आफूले कमिसन खाएको विकास निर्माण कार्य गुणस्तरहीन भए पनि अनुगमनकारी निकाय पनि मौन रहनुबाहेक अर्को विकल्प हुँदैन । फलतः सडक छेउका खाल्डा, पेटी निर्माणमा लार्पावाही र सडकमा ट्राफिक चिह्नको प्रयोगमा कमजोरी हुने गर्दछ । त्यस्ता कमजोरी नै अन्ततः सर्वसाधारणको लागि ज्यान जाने वा जीउधनको क्षतिका कारण हुने गरेका छन् । समस्या काठमाडांै उपत्यकाभित्र मात्र होइन । राजधानीबाहिरका अधिकांश साना–ठूला सहरमा पनि यस्ता समस्या अझ बढी देखिएका छन् ।
विशेषतः स्थानीय तहले यस विषयमा गम्भीरतापूर्वक ध्यान दिन जरुरी छ । गल्ती गर्ने कर्मचारीलाई उपयुक्त दण्ड नगरिंदा पनि यस्ता लापर्वाही हुने गरेका छन् । बल्खुको घटनाको सन्दर्भमा ढलभित्र वर्षांै वर्षदेखि जमेको फोहोर हटाउने जिम्मेवारी पाएको स्थानीय तहले यो काम किन नियमित रुपमा गरेन ? जमेको फोहोर निकाल्ने वा बगाउने अनि स्लाबले छोप्ने बन्दोबस्त हुँदो हो त, श्याम श्रेष्ठजस्ता युवाले अनाहकमा ज्यान गुमाउनुपर्ने थिएन ।
बल्खुमा भएको घटना जुनकुनै ठाउँमा फेरि फेरि पनि दोहोरिन नदिन स्थानीय तह र सरकारको सम्बन्धित विभागले तत्काल कदम चाल्न जरुरी छ । यस्ता घटनालाई सधैं दुर्घटनाको रुपमा मात्र लिंदा थप घटना दोहोरिने सम्भावनाको ढोका खुला हुने गर्दछ । तसर्थ सडक यातायात र आवतजावतलाई सहज र सुरक्षित बनाउने जिम्मेवारी पूरा गर्न सम्बन्धित निकायले तुरुन्तै पूर्वसावधानीका कदम चाल्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *