भर्खरै :

सञ्चारमाध्यमः पुँजीवादी वा पुँजीवादविरोधी

पुँजीवादी व्यवस्थाले सञ्चारमाध्यमलाई मूलतः दुईवटा प्रयोजनका लागि प्रयोग गर्दछ । पहिलो, पुँजीवादी व्यवस्थाअन्तर्गत अन्य क्षेत्रजस्तै सञ्चार क्षेत्रलाई पनि पुँजीपति वर्गले व्यापारको क्षेत्र बनाएको हुन्छ । पुँजीवादी व्यवस्थामा सञ्चार क्षेत्र पुँजीपति वर्गको लागि नाफा कमाउने उद्योगमात्र हो । त्यसकारण यो व्यवस्थामा सञ्चार क्षेत्रलाई उद्योग र सञ्चार क्षेत्रमा लगानी गर्ने व्यापारीलाई सञ्चार उद्यमी भनिन्छ ।
दोस्रो प्रयोजन, नाफामा आधारित पुँजीवादी व्यवस्थालाई जोगाउन पुँजीवादी सञ्चारमाध्यम स्वयम् वैचारिक–सांस्कृतिक हतियारको रूपमा प्रयोग हुन्छन् । पुँजीवादी सञ्चारमाध्यम पुँजीवादी व्यवस्था जोगाउन वैचारिक प्रभुत्व (हेजेमोनी) बनाउने माध्यम हुन् । पुँजीवादी सञ्चारमाध्यमले कहिल्यै पनि पुँजीवादको विकल्पबारे चर्चा गर्दैनन् । बरू उनीहरू पुँजीवादी व्यवस्थाभित्र आइपर्ने अकाट्य सङ्कटलाई कुनै व्यक्ति वा राजनीतिक समूहको दोषका रूपमा चित्रण गर्छन् । तर त्यस्ता सङ्कटको जरा पुँजीवादी व्यवस्थाको संरचनागत विषमता हो भन्ने कुरा उनीहरू स्वीकार्दैनन् । यसको अर्थ पुँजीवादलाई उदार बनाउने वा अनुदार भन्ने विषयमा उनीहरूबीच विमति भए पनि पुँजीवादी व्यवस्थाको संरचनामा कुनै दोष देख्दैनन् । नाफामुखी पुँजीवादको प्राणवायु जोगाउनु उनीहरूको धर्म हो । जुन दिनदेखि उनीहरूले यो धर्म पूरा गर्दैनन्, त्यो दिनदेखि उनीहरूको अवसान सुरू हुने गर्दछ ।
पुँजीवादी व्यवस्थामा दुई थरीका सञ्चारमाध्यमबीच सधैं द्वन्द्व हुने गर्दछ । एक थरी सञ्चारमाध्यम शोषणमूलक पुँजीवादी व्यवस्था रक्षामा सञ्चालन हुन्छन् भने अर्को थरी सञ्चारमाध्यम नाफामुखी पुँजीवादी व्यवस्थाको विकल्पको खोजी गर्छन् । पुँजीवादविरोधी सञ्चारमाध्यमले पुँजीवादी व्यवस्थाका अवगुणबारे प्रचार गर्दै पुँजीवादी व्यवस्थाको जरा काट्ने काम गर्छन् । यसरी पुँजीवादी राज्यसत्ताको विरोधमा वैचारिक लडाईँको हतियारको रूपमा स्थापना गरिएका सञ्चार जगत आस्थामा आधारित सञ्चारमाध्यम हुन् । अर्कोतिर पुँजीवादकै जग अझ बलियो बनाउन सुरू गरिएका सञ्चारमाध्यमले आफूलाई निष्पक्ष र व्यवसायिक भन्ने गर्छन् । तर उनीहरू कदापि निष्पक्ष हुनसक्दैनन् । बरू नाफामुखी पुँजीवादी व्यवस्थाको शोषणमा आधारित संरचना जोगाउन तिनले भूमिका खेलिरहेका हुन्छन् । तिनीहरू वास्तवमा पुँजीवादी व्यवस्थाका पक्षपाती सञ्चारमाध्यम हुन् । उनीहरू आफूलाई व्यावसायिक सञ्चारगृह भन्न रूचाउँछन् । तर पुँजीपति वर्गको धन र पुँजीवादी राज्यसत्ताको सेवा नै उनीहरूको धर्म हो ।
पुँजीवादी व्यवस्थाको विकल्प स्थापनाको लागि सञ्चालनमा रहेका आस्थाका सञ्चारमाध्यमले पुँजीपति वर्गको भ्रष्ट चरित्र उदाङ्ग पार्ने र सिङ्गो पुँजीवादको जरा खन्ने भएकोले पुँजीपति वर्ग र राज्य सत्ता त्यस्ता सञ्चारमाध्यम उकासिएको हेर्न चाहँदैनन् । उनीहरू आर्थिक, राजनीतिक, कानुनी र बजार व्यवस्थाले आस्थाका ती सञ्चारमाध्यमलाई दबाउन खोज्छन् । सके कानुनी रूपमा नभए सशस्त्र बल प्रयोग गरेर पनि ती सञ्चार माध्यमलाई दबाउने गरिन्छ । कुनै पनि समय राज्यले आस्थाका सञ्चार माध्यममाथि प्रतिबन्ध लगाउन सक्छन् । जब आफ्नो सत्तामाथि प्रश्न उठ्छ, आफ्नो शासनमाथि खतराको घण्टी बज्छ तब पुँजीवादी राज्यसत्ताले बखान गर्ने गरेका प्रजातन्त्रका सबै पर्दा च्यातचुत हुने गर्दछन् ।
पुँजीवादी विचार विनाशउन्मुख विचार हो । शोषणमा आधारित यो व्यवस्थासँग मरणतिर जानुको अर्को विकल्प छैन । पुँजीवादी सञ्चारमाध्यमले जतिसुकै कोरामिन औषधि खुवाए पनि पुँजीवादी व्यवस्था चित्तातिर जानुको अर्को बाटो छैन । पुँजीवादको विषमताविरूद्धको लडाईँका लागि सञ्चालनमा रहेका आस्थाका सञ्चारमाध्यमको विजय भने अवश्यम्भवी छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *