भर्खरै :

अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिष्ट नेता – ३

 सुशिला
पूर्णाङ्क १६ मा प्रकाशित क्रिस हानीको जीवन परिचयको बाँकी अंश प्रस्तुत छ –
कोङ्वामा दक्षिण–पश्चिम जनसङ्गठन (Swapo), फ्रिलिमो (FRELIMO), एम्पीएलए (MPLA) र एमेकका शिविरबीच हरेक शुक्रबार कुनै न कुनै प्रतियोगिता आयोजना गरिन्थ्यो । त्यहाँ जिम्बाबे अफ्रिकी जनसङ्घ (ZAPU) र जिम्बाबे अफ्रिकी राष्ट्रिय सङ्घ (ZANU)  का शिविर पनि थिए ।
कार्यकर्ताहरूले कठिन समय व्यतित गर्दैगर्दा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसका नेताहरूको जीवन भने भिन्न थियो । नेताहरू तलब पाउँथे भने कार्यकर्ताहरू कहिलेकाहिँ बियर र चुरोट खान पनि आफ्नो लुगा बेच्न बाध्य थिए । सन् १९६६ सम्ममा कार्यकर्ता तहको असन्तोष यति झाङ्गिसकेको थियो कि केही कार्यकर्ताहरू घर जान भनी ट्रक चोरेर भागे । तर, मारोगोरोमा उनीहरू गिरफ्तारीमा परे ।
त्यतिबेला स्वतन्त्रता आन्दोलन राजनीतिक रसरङ्गको उच्चत्तम चरणमा पुगेको थियो । पार्टीमा भर्ती बढेकोमा खुशी हुँदै केही नेताहरू एउटा परिस्थितिमा स्वतन्त्रता आफै आउने सोच्थे । त्यसकारण उनीहरू भित्र–भित्रै सल्किरहेको असन्तोषको आगोप्रति बेवास्ता गर्थे । त्यस्तो परिस्थितिमा हानीले नेतृत्वप्रति असन्तोष पोख्दै एउटा पत्र लेखे र सन् १९६९ को मोरोगोरो सम्मेलनमा त्यो पत्र पेस गरे ।
सन् १९६७ मा शिविरका धेरै कामरेडहरू केन्या पुगिसकेका थिए । केही कार्यकर्ताले हानीलाई आफ्ना असन्तोष बुझ्न नसकेको भन्दै आलोचना गरे तापनि धेरैले उनको सुन्ने धैर्य, समस्या समाधानको लागि अग्रसरताप्रति प्रशंसा पनि गरे । पार्टीका नेताहरूबीच नातावादी प्रवृत्ति, कोहीमा धेरै रक्सी सेवन गर्ने दुव्र्यसनी फैलिएको थियो । त्यही बेला क्रिस हानी जाम्बिया गए । कोङ्वामा उनको आलोचना पनि भयो । जोसाह जेलेको नेतृत्वमा रहेको एउटा सानो समूह पनि लुसाका हुँदै मोजाम्बिक जान कोङ्वाबाट हिँड्यो । सन् १९६७ को सुरूमा प्राज्ञ बेन मुगबानेले जाम्बिया विश्वविद्यालय क्याम्पस नजिकै सुनिनदालेस्थित एउटा घरमा क्रिस हानीको बस्ने बन्दोबस्त मिलाए । प्राज्ञ मुगबाने एक वर्षअघि मात्र संरा अमेरिकाबाट त्यहाँ आएका थिए । उनको घरमा ठूलो सङ्ख्यामा पुस्तकहरू थिए । उनी अफ्रिकी राष्ट्रिय काङ्ग्रेसका समर्थक थिए । उनले काङ्ग्रेसका टाम्बोलाई पनि बस्ने बन्दोबस्त मिलाएका थिए ।
मुगबाने परिवारका निम्ति हानी जेठो छोरोसरह थिए । प्रायशः आइतबार हुने भेटघाटमा हानीका विचार, शैली र किट्सका कविताहरू कण्ठस्थ धाराप्रवाह वाचनबाट सहभागीहरू चाँडै प्रभावित भए । कुनै पार्टी वा भोज हुँदा हानी केही बेरमै निस्कन्थे र कोठामा किताब समाएर बस्थे ।
लुसाका बोहमियाली अफ्रिकी भूमिगत बैठकहरूका सहभागीका लागि हानी एउटा नयाँ आविष्कार जस्तै थिए ।
सन् १९६१ डिसेम्बर महिनामा जोहान्सवर्गको एउटा गोप्य ठाउँमा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको बैठक भयो । त्यो बैठकले वर्णभेदी शासन सत्ताविरुद्ध युद्धको औपचारिक घोषणा ग¥यो । सन् १९६० मा सार्पभिल्ले र लाङ्गामा भएका नरसंहारपछि अफ्रिकी राष्ट्रिय काङ्ग्रेसले शान्तिपूर्ण सङ्घर्षको बाटो त्यागिसकेको थियो । त्यसपछि काङ्ग्रेस र अरु मुक्ति आन्दोलनमाथि सन् १९६१ को जोहान्सवर्ग बैठकले काङ्ग्रेसले अन्य मुक्ति सङ्गठनहरूसँग नयाँ उचाइमा सम्बन्ध स्थापित गर्ने तय गरेको थियो ।
जोहान्सवर्गमा गोप्य बैठक बसेको बखत हरारेको हाइफिल्ड्समा एउटा अर्को बैठक पनि बसेको थियो । त्यो बैठकबाट जापु (ZAPU) स्थापनाको औपचारिक निर्णय भयो र मजदुर नेता जोश्वा कोमो (Joshua Nkomo) त्यसको सभापतिमा निर्वाचित भए । पछि जोश्वालाई रोडेसियाली (हालको जिम्बाबे) प्रहरीले गिरफ्तार ग¥यो र क्रान्तिकारी नेता रोबर्ट मुगाबेसँगै जेलमा थुन्यो । मुगाबे जिम्बाबेली अफ्रिकी राष्ट्रिय सङ्घ जानु (ZANU) का सभापति र लामो समय जिम्बाबेका राष्ट्रपति बने ।
त्यही वर्ष पीएसीको सैनिक सङ्गठन पोको, अजानियाली जनमुक्ति सेना (एपीएलए) र अङ्गोला जनमुक्ति आन्दोलन (एमपीएलए–ःMPLA गठन भए ।
यतिञ्जेल जापु र अफ्रिकी राष्ट्रिय काङ्ग्रेस दुवै कसरी अगाडि बढ्ने विषयमा अस्पष्ट थिए । तथापि एक वर्षकै अन्तरालमा सोभियत सङ्घबाट सैनिक तालिमप्राप्त दुवै सङ्गठनसम्बद्ध लडाकूहरू तान्जानिया जाने महान् पूर्वी मार्ग नामले चर्चित स्थानमा भेट भयो । जापु, मोजाम्बिकको फ्रिलिमो, नामिबियाको स्वापो, एम्पीएलए र अफ्रिकी राष्ट्रिय काङ्ग्रेसका युवा नेता तथा लडाकूहरू डार–ए–स्लाममा भेला भए । डार–ए–स्लाममा जापु र काङ्ग्रेसले आफ्ना कार्यालय स्थापना गरे । अरु दुई वर्षमा पार्टीमा भर्ती हुनेको सङ्ख्या बढ्यो तर सन् १९६३ मा मात्र तान्जानियामा उनीहरूका शिविर स्थापना भए ।
क्रिस हानीका मित्र आकी सिबेकोले ट्युनिसियाबाट जिम्बाबे, जाम्बिया आदि बाटोमा पर्ने देशका सुरक्षाकर्मीलाई छकाउँदै लडाकूलाई आवश्यक पर्ने हातहतियार आपूर्ति गर्थे ।
सन् १९६६ को अन्त्यसम्ममा लडाकूको पूर्वतयारी लगभग भइसकेको थियो । हानी, टाम्बो, जेबी मार्क्स, मोसेस कोटानी र थोमस कोबीलगायतले रोडेसियामा संयुक्त सेना पठाउने विषयमा जापुसँग वार्ता गरिसकेका थिए । यी दुई सङ्गठनबीचको सम्बन्ध त्यतिबेला यति प्रगाढ बनिसकेको थियो, कुनै पनि अन्तर्राष्ट्रिय सम्मेलनमा उनीहरू एक–अर्काेलाई आपसी सहयोग गर्ने गर्थे । लुसाकामा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको मुख्यालय स्थापना गर्न जापुले महत्वपूर्ण सहयोग गरेको थियो । उच्च तहको सैनिक नेतृत्व काङ्ग्रेसका टाम्बो र जापुका उपसभापति जेम्स चिकेरेमाराले गरेका थिए । लुसाका बसाइकै क्रममा हानी र जिप्राका कमाण्डर जोन डुबेले बान्के कायरबाहीको योजना बनाएका थिए ।
दक्षिण अफ्रिकाभित्र स्वतन्त्रता आन्दोलन कमजोर देखिंदा जनता र स्वतन्त्रता सेनानीहरूमा एक प्रकारको निराशा छाएको थियो । त्यो निराशा तोड्न हानीलगायतका नेताहरू चाँडोभन्दा चाँडो आफ्नो देशभित्र पसी भूमिगत गतिविधि गर्न लालायित थिए । तर, उनीहरूसामु एउटा गम्भीर प्रश्न थियो – दक्षिण अफ्रिका पस्ने कसरी ? आफूसँग सेना भएकाले कुनै उपयुक्त समयको प्रतिक्षा गरिरहनु नपर्ने विचार चर्कोसँग उठेको थियो । जस्तै कठिन भूगोल, प्रतिकूल राजनीतिक अवरोध छिचोलेर पनि देशभित्र पस्नुपर्ने भावनाले काम गरिरहेको थियो । तर, दक्षिण अफ्रिका वरपरका देशहरू अङ्गोला, मोजाम्बिक र रोडेसिया सबै साम्राज्यवाद अधिनस्थ थिए । भाषागत समस्या, दुरुह जङ्गली भूगोल, कमजोर राजनीतिक एवम् सैनिक प्रभावका कारण त्यतिबेला हानीलगायतका सैनिक नेताहरूले बनाएका योजना साहसिक भए तापनि अव्यवहारिक सिद्ध हुन पुगे ।
रोडेसिया पार गर्ने कठिनाइ छिचोल्न हानीले भियतनाम युद्धका समयमा प्रचलित हो चि मिन्ह पदमार्ग (Ho chi Minh trail)को अनुभव उपयोग गर्ने प्रयत्न गरे । लडाकूलाई आवश्यक सर–सामग्री आपूर्ति गर्न भियतनामी अनुभवको सिको गर्दै काठे पुलहरूको निर्माणमा जोड दिइयो ।
सन् १९६० को मध्यावधिसम्म दक्षिण अफ्रिकी सरकारको चर्को दमनका कारण त्यहाँभित्रका मुक्तिकामी शक्तिहरूको हौसला झरिसकेको थियो । हेन्द्रिक भिर्वोरिडको सन् १९६६ सेप्टेम्बरमा संसद भवनभित्रै हत्या भएपछि जोन भोस्र्टर दक्षिण अफ्रिकाको प्रधानमन्त्री बनेका थिए । भोस्र्टर र रोडेसियाका प्रधानमन्त्री इयान स्मिथ स्वतन्त्रता आन्दोलन दबाउन दृढ निश्चयी थिए ।
सन् १९६७ को जुलाई २१ मा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसका सभापति अल्बर्ट लिथुलीको हत्या भयो । लिथुली सन् १९६१ मा नेल्सन मण्डेलाको नेतृत्वमा गठित लडाकू दस्ता एमकेको विपक्षमा थिए । रङ्गभेदी सत्ताले उनको दललाई प्रतिबन्ध लगाएपछि उनको प्रभाव क्रमशः कमजोर बन्दै थियो । तथापि उनको हत्याले केही जटिलता निम्त्यायो । उनको पद टाम्बोले सम्हाल्न पुगे । त्यतिञ्जेल हानीले नेतृत्व गरेको लडाकू दल रोडेसियाभित्र पसिसकेको थियो ।
सन् १९६७ अगस्ट १३ मा रोडेसियाको वान्के क्षेत्रमा हानीले नेतृत्व गरेको लडाकू दल र रोडेसियाली सेनाबीच भीषण लडाइँ भयो । जाम्बेजी नदी तरेर दिउँसै अँध्यारो हुने र जङ्गली जनावरको भय भएका भीषण जङ्गल छिचोलेर गुरिल्ला शैलीमा भएको त्यो हमलाले निराशा र चुपचाप दक्षिण अफ्रिका र रोडेसियाको स्वतन्त्रता आन्दोलनमा उत्साहको सञ्चार ग¥यो । सो लडाइँपछि अफ्रिकी राष्ट्रिय काङ्ग्रेसका सभापति टाम्बोद्वारा प्रकाशित वक्तव्यमा भनिएको थियो– ‘यो महिनाको १३ तारिखमा वान्के क्षेत्रमा स्वतन्त्रता सेना र रोडेसियाका श्वेत दमनकारी सेनाबीच अभूतपूर्व साहसिक लडाइँ भयो । गएको रातिमात्र रोडेसियाली सरकारले अघिल्लो दिन ६ घण्टा लामो लडाइँ भएको स्वीका¥यो । वास्तवमा त्यो क्षेत्रमा विगत ६ दिनदेखि लगातार लडाइँ भइरहेको छ । रोडेसिया र दक्षिण अफ्रिकी सत्ता दुवैले अफ्रिकी राष्ट्रिय काङ्ग्रेस सम्बद्ध दक्षिण अफ्रिकी स्वतन्त्रता लडाकूहरू त्यो वीरतापूर्वक युद्धमा सरिक भएको सकारेका छन् । उनीहरू दक्षिण अफ्रिका जाने क्रममा आइपर्ने तगाराविरुद्ध लडिरहेका छन् ।’
वान्केको लडाइँपछि विश्वले दक्षिण अफ्रिकामा एकजना साहसिक योद्धा क्रिस हानीको ज्वलन्त उपस्थिति स्वीका¥यो । क्रिस हानीको गौरव त्यही लडाइँबाट औपचारिक आरम्भ भयो । वान्के लडाइँले हानीलाई ‘एकजना प्रशंसित नेता … जो लडाइँमा संलग्न छन् र अहिले छुट्टै प्रकारको अनौपचारिक र अखण्डित प्राधिकार’ को रुपमा स्थापित ग¥यो ।
काङ्ग्रेस सभापति लिथुलीप्रति सम्मान व्यक्त गर्दै टाम्बोले हानी नेतृत्वको लडाकू दलको नाम ‘लिथुली दस्ता’ घोषणा गरेका थिए । हानीले पनि टाम्बोजस्ता व्यवहारिक, दुःख सहन सक्ने, सुविधा नखोज्ने, मिहिन जानकारीसहित नेतृत्व गर्ने नेताको प्रशंसा गरेका थिए ।
१३ अगस्टको लडाइँपश्चात् २५ अगस्टमा लिथुली दस्ताविरुद्ध रोडेसियाली सेनाले अर्को हमला ग¥यो । हेलिकप्टरबाट लडाकूहरूमाथि गोला वर्षा गरियो । तर, अघिल्लो विजयबाट उत्साहित लिुथली दस्ता थप बहादुरी साथ लडे र रोडेसियाली सेनालाई नराम्रोसँग पराजित गर्न सफल भयो ।
वान्के कार्यवाहीको सफलतासँगै लडाकूहरू जति हर्षित थिए, सँगै लडाकूहरूलाई रसद पानीको अभावले उनीहरूको दिनचर्या क्रमशः कठिन बन्दै थियो । त्यसैमाथि शत्रु सेनाले थप शक्ति परिचालन गर्ने निश्चित थियो । त्यस अवस्थामा लडाकू दस्ताब दक्षिणतर्फ अघि बढ्न गा¥हो हुने थियो । तसर्थ दस्तालाई बोत्सवानातर्फ लाने तय भयो । दक्षिण अफ्रिका सरकारले बोत्सवाना सरकारलाई लडाकू दस्तालाई दक्षिणतर्फ जानबाट रोक्न दबाब दियो । दक्षिण अफ्रिकी सेनासँग मिलेर रोडेसियाली सेनाले बोत्सवानामा गतिविधि बढाएको थियो । बोत्सवानाका अर्धसैनिक दस्ताले पनि उनीहरूलाई बोत्सवाना पस्न रोक्यो ।
बोत्सवाना अफ्रिकी सङ्घ (ओएयु) को सदस्य भएकाले सिद्धान्ततः दक्षिण अफ्रिकाको मुक्तिका लागि प्रतिबद्ध थियो । तसर्थ हानी नेतृत्वको टोलीले बोत्सवानाको अर्धसैनिक बलसँग नलड्ने राजनीतिक निर्णय ग¥यो । त्यसैअनुसार बोत्सवानाका अर्धसैनिक बलसँग भेट हुँदै मेलमिलापको व्यवहार गरियो । बोत्सवाना अर्धसैनिक दलले उनीहरूलाई बिथोल्न नचाहेको, त्यसकारण आत्मसमर्पण गर्न आग्रह गरे । गिरफ्तार नगर्ने शर्तमा उनीहरूले पनि आत्मसमर्पण गरे । आत्मसमर्पण गरेपछि मात्र रहस्य खुल्यो, ती बोत्सवाना अर्धसैनिक बल बेलायत र दक्षिण अफ्रिकी श्वेत अधिकारीहरूबाट निर्देशित थिए । हानीलगायतका दस्तालाई हठकडी लगाएर जेल पठाइयो । दुई वर्ष उनीहरू जेल जीवन बिताउन बाध्य भए ।
तथापि वान्के सैनिक कारवाहीले धेरै महत्वपूर्ण पाठ सिकायो । कुनै पनि सैनिक कारवाही थाल्नुअघि सो ठाउँको विषयमा मनग्य जानकारी, स्थानीय जनता, शत्रु सेनाको अवस्थिति आदिबारे प्रशस्त जानकारी आवश्यक हुने कुरा सो घटनाका मूलभूत पाठ थिए ।
गाबोरोन कारागारको जीवन त्यति सहज थिएन । लिथुली विद्रोही दललाई लगाउन दिइएको पोशाकसमेत अपमानजनक थियो । लगाउन जुत्ता थिएन । सुत्न दिइएका सिरक–डस्ना निकै फोहर थिए । जेल जविनको स्मरण गर्दै पछि क्रिस हानीले भने – “त्यो सजाय थियो, हामीले त्यसरी नै लियौं । सजायलाई पनि हामीले सङ्घर्षको रुपमा लियौं किनभने यदि म स्वतन्त्रता चाहन्छु भने मैले केही बलिदान गर्न पनि तयार हुनुपर्दछ ।”
जेलबाट भाग्न गरिएको प्रयासका कारण विद्रोहीहरूमाथि निगरानी थप कडा बनाइयो । बाहिर हिँडडुल गर्ने छुटसमेत दिइएन ।
वान्के कारबाही ‘सैनिक हिसाबबाट आफ्नो लक्ष्य प्राप्तिमा असफल थियो ।’ तर, ‘त्यो जिम्बाबेको स्वतन्त्र आन्दोलनको निम्ति कोशेढुङ्गा सावित भयो । जिम्बाबेका जनताले त्यसको प्रभाव महसुस गरे । शत्रुले त्यो कारबाहीबारे चाहेर पनि सूचना लुकाउन सकेनन् । तसर्थ कारवाही लक्ष्य प्राप्तिमा असफल भए पनि जनतालाई उत्साहित गर्न सफल रह्यो ।’
क्रिस हानी भन्छन् – ‘हामी दक्षिण अफ्रिकी जनतालाई पनि राजनीतिकरूपमा उत्साहित गर्न सफल भयौं किनभने अफ्रिकी राष्ट्रिय काङ्ग्रेसबारे लामो समयसम्म चुपचाप दक्षिण अफ्रिकी सञ्चार जगतले काङ्ग्रेसका गुरिल्लाहरू वान्के वरपर लडाइँ गर्दै जिम्बाबे छिचोलिरहेका छन् भनी समाचार लेख्दै थिए …………. त्यो घटनालगत्तै दक्षिण अफ्रिकामा विद्यार्थी आन्दोलन चर्कियो । कालो सचेतना (The Black Consciousness) र दक्षिण अफ्रिकी विद्यार्थी सङ्गठन (SASO) यही अवधिमा स्थापना भए ।………… यस प्रकार हामीले युवाहरूबीच सशस्त्र सङ्घर्षबारे प्रभाव विस्तार र उत्साहित बनाउन सफल भयौं ।’
गाबोरोन जेल जीवन क्रिस हानीको निम्ति वान्के हमलाको समीक्षा र भावी योजना तर्जुमाको राम्रो अवसरमा बद्लियो । साथै रोडेसियाका झाडीको लामो यात्रा (झण्डै २ सय किमि) पश्चात उनले त्यहाँ आफ्नो अध्ययनलाई निरन्तरता दिए । त्यस अर्थमा हानीको लागि कारागार जीवन आफैमा सङ्घर्षको बदलिएको रुपमात्र थियो । कठोर जेल जीवन बिताएर हानी र उनका सहयोद्धाहरू लुसाका फर्के । तर, त्यहाँ नेतृत्व तहमा बसेकाहरूको मौनता र निष्क्रियताले हानीलाई पिरोल्न थाल्यो । अफ्रिकी काङ्ग्रेस एक प्रकारले छिन्नभिन्नको अवस्थामा थियो । नेताहरू कोही व्यापार व्यवसायमा तल्लिन थिए, कोही आफ्नो वृत्ति विकासको लागि युरोपका विभिन्न देशमा भौंतारिरहेका थिए । नातावाद, सुविधाभोगी चरित्रले डरलाग्दो प्रभाव पारिसकेको थियो ।
क्रिस हानीसँगै आठजना पार्टी कार्यकर्ताहरूले त्यस्तो अवस्था अन्त्यको लागि ज्ञापनपत्र दिने निक्र्याेल गरे । उनीहरूले काङ्ग्रेस र एमकेको साँचो अर्थमा प्रतिनिधिमूलक सम्मेलनको माग गरे । सबै जनाले एकपछि अर्कोले ज्ञापन पत्रमा हस्ताक्षर गरे । सबैभन्दा माथि क्रिस हानीको नाम थियो । त्यसबेला क्रिस हानी भर्खर २६ वर्षका थिए । ७ पृष्ठ लामो ज्ञापनपत्र काङ्ग्रेस नेतृत्वलाई बुझाइयो । ज्ञापनपत्रमा नेतृत्वको कार्यक्षमताप्रति तिखो आलोचना गरिएको थियो । ज्ञापनपत्रले अफ्रिकी राष्ट्रिय काङ्ग्रेसका सदस्यहरूबीच ठूलो तरङ्ग फैलायो । हानी र ज्ञापनपत्रमा हस्ताक्षर गर्नेहरूको लक्ष्य स्वतन्त्रता सङ्घर्ष, वान्के हमला र त्यसपछिको कठोर जेल जीवनबाट फर्केपछि लडाकूहरूलाई हार्दिक स्वागत गर्न समेत लुसाकामा कोही थिएनन् । उनीहरूसँग अनुभव सुन्ने र नयाँ योजनाबारे सोध्ने पनि कोही थिएन । थप सशस्त्र हमलाको कुरा त कता हो कता टाढाको विषय बनेको थियो । नेतृत्वसँग थप कुनै कार्ययोजना थिएन ।
त्यस्तो परिस्थितिको परिणाम थियो – ज्ञापनपत्र । तर, नेतृत्व त्यसप्रति सहमत थिएन । उनीहरूले ज्ञापनपत्रमा हस्ताक्षर गर्नेहरू कसैबाट परिचालित भएको भन्दै मृत्युदण्डसम्मको तयारी गरे । तर, हानीलाई केही भए त्यसको परिणाम नकारात्मक हुने धारणा प्रवल हुँदा मृत्युदण्ड दिने निर्णय फिर्ता भयो । आफ्नो छोरोलाई सम्भावित मृत्युदण्डबाट जोगाउन हानीका पिता तत्कालीन सोभियत सङ्घ र जर्मनीका राजदूतहरूसामु पुगेका थिए । सन् १९६९ अप्रिल २५ मा तान्जानियाको मोरोगोरोमा हुने सम्मेलनमा ज्ञापनपत्रसम्बन्धी थप छलफल चलाउने टुङ्गो लगाएर तत्काललाई मृत्युदण्डको निर्णय फिर्ता गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *