भर्खरै :

आयोगहरुलाई अधिकारसम्पन्न बनाइनुपर्छ— अन्सारी

नेपालगन्ज, १४ पुस । राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले मुलुकका सबैखाले संवैधानिक आयोगलाई अधिकारसम्पन्न बनाइनुपर्नेमा जोड दिनुभएको छ ।
नागरिक संवाद केन्द्र संस्थाद्वारा आज यहाँ आयोजित ‘नागरिक संवाद’ कार्यक्रममा उहाँले मानवअधिकारमैत्री समाज निर्माण अहिलेको आवश्यकता भएको बताउँदै यसका लागि मानवअधिकारकर्मीले राज्य र नागरिकबीच पुलको काम गर्नुपर्छ भन्नुभयो ।
सरकारद्वारा गठित संवैधानिक आयोगमा महिला सहभागिता समानताका आधारमा गरिनुपर्ने बताउँदै प्रवक्ता अन्सारीले आयोगलाई चलायमान बनाउन सोसँग सम्बन्धित विद्यमान नीतिनियमलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अधिवक्ता दीपेन्द्र झाले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको मधेसी, मुसलमान, आदिवासी, जनजाति र थारु आयोगसम्बन्धी प्रस्तावित विधेयकमा गरिएको व्यस्था सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
त्यस अवसरमा सहभागी अधिकारकर्मी, विभिन्न राजनीतिक दलका स्थानीय नेता, पत्रकार, कानुन व्यवसायी, प्राध्यापक र नागरिक समाजका अगुवाले मुलुकको राजनीतिक गतिरोध अन्त्य नभएसम्म आयोगको काम प्रभावकारी हुन नसक्ने धारणा राख्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *