शिक्षित, दक्ष तथा सचेत नागरिक राजनीति र नीति निर्माणबाट टाढा रहन नहुने
- मंसिर १३, २०८३
भक्तपुर, १३ मङ्सिर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजमा शैक्षिक वर्ष २०७८/७९ मा स्नातक तह र शैक्षिक वर्ष २०८०/८१ मा स्नातकोत्तर तहमा भर्ना भई अध्ययन पूरा गरेका विद्यार्थीको बिदाइ तथा शैक्षिक वर्ष २०८३/८४ मा स्नातक तह पहिलो वर्षमा भर्ना भएका विद्यार्थीको स्वागत कार्यक्रम आइतबार कलेज प्राङ्गणमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले उच्च शिक्षा अध्ययन र रोजगारीको नाममा युवाहरूलाई विदेश पठाउने नीति देशको हितमा छैन भन्नुभयो ।
“बालेन्द्र शाहको सरकार भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादले बनाइदिएको हो, यसमा कुनै शङ्का नै छैन”, अध्यक्ष बिजुक्छेँले स्पष्टका साथ भन्नुभयो ।
“भारतीय विस्तारवादले विगतका नेपाल सरकारहरूबाट ५० वर्षमा लिन नसकेको फाइदा बालेन्द्र शाहको ६ महिनाको प्रधानमन्त्री कालमै लिइसकेको र नेपाल सरकार प्रमुखहरूको भारत भ्रमणमा नेपालका कुनै न कुनै प्राकृतिक स्रोत र साधन भारतले हात पार्दै आएको छ”, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
शैक्षिक डिग्री हासिल गर्दैमा कूटनीति नजानिने स्पष्ट पार्दै सरकार चलाउनेहरूमा कूटनीतिक ज्ञान हुनु जरुरी भएको उहाँले बताउनुभयो ।
“सरकार प्रमुखलाई राज्यका सबै गतिविधिहरू थाहा हुनु जरूरी छ, राज्यका विभिन्न संयन्त्रहरूमार्फत सरकार प्रमुखलाई सबै गुह्य कुरा थाहा हुने गर्छ, यदि त्यस्तो गुह्य विषय जानकारी राख्ने क्षमता राख्दैन भने त्यो व्यक्तिमा सरकार प्रमुख हुने योग्यता हुनेछैन”, अध्यक्ष बिजुक्छेँले स्पष्ट पार्नुभयो ।
नेपालका विश्वविद्यालयहरूलाई समाप्त गर्ने उद्देश्यका साथ विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरू नेपालमा भित्रिएको चर्चा गर्दै उहाँले अपवादबाहेक प्रायः विदेशी विश्वविद्यालयबाट सम्बन्धन कलेजहरूले पैसा लिई शैक्षिक प्रमाणपत्र बेचिरहेका छन् भन्नुभयो ।
देश बचाउनु प्रत्येक नागरिकको कर्तव्य भएको स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले नयाँ पुस्ताले देशको हितलाई प्राथमिकतामा राखी काम गर्नु जरूरी छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख, कलेज सञ्चालक समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति सुनिल प्रजापतिले कम शुल्कमा गुणस्तरीय शिक्षा दिन ख्वप कलेजहरू प्रतिबद्ध रहेकोले गुणस्तरीय शिक्षा प्राप्तिको लागि विद्यार्थीहरू मेहनती, अनुशासित र अध्ययनशील हुनु जरूरी छ भन्नुभयो ।
विद्यार्थीको मागअनुसार ख्वप कलेजले बीबीए, बीएचएम, बीएस्सी सीएसआईटी, बीसीएलगायतका विषयहरू सञ्चालन स्वीकृतिको लागि निवेदन दिइरहेको तर सरकारले स्वीकृति नदिंँदा आफ्नो चाहनाअनुसार अध्ययन गर्ने अवसर नपाएकै कारण आर्थिक वर्ष २०८२÷८३ मा मात्र एक लाख चौध हजार विद्यार्थीले एनओसी पत्र लिएको र देशको १४२ अर्ब रुपैयाँ उच्च शिक्षा अध्ययनको लागि विदेश गएको उहाँले बताउनुभयो ।
एमबीबीएस (चिकित्सा शिक्षा) अध्ययनको लागि ७० लाखभन्दा बढी शुल्क लाग्ने समाचार बाहिरिएको प्रति चिन्ता व्यक्त गर्दै प्रमुख प्रजापतिले सर्वसाधारण जनताले त्यति शुल्क तिरेर एमबीबीएस अध्ययन गर्नसक्ने स्थिति नरहेको उल्लेख गर्नुभयो ।
योग्यता र क्षमताअनुसारको काम देशभित्रै गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सीपमूलक तालिममार्फत स्वरोजगार सिर्जना गर्न सकियोस् भन्ने उद्देश्यका साथ भनपाले विभिन्न सीपमूलक तालिमका साथै चिनियाँ र जापानिज भाषाको तालिम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले शिक्षा समाज परिवर्तनको महत्वपूर्ण आधार भएकोले भक्तपुर नगरपालिकाले ख्वप कलेजहरू सञ्चालन गरी देशभरिका जनताका छोराछोरीलाई उच्च शिक्षा हासिल गर्ने अवसर दिइरहेको छ भन्नुभयो ।
शैक्षिक संस्था शैक्षिक प्रमाणपत्र दिने संस्थामा सीमित हुन नहुने धारणा राख्दै उपप्रमुख जोशीले शिक्षामार्फत ठीक र बेठीक छुट्याउन सक्ने क्षमता विकास गराउन सक्नुपर्ने बताउनुभयो ।
शिक्षालाई व्यापारको विषय बनाउन नहुने धारणा राख्दै उहाँले भन्नुभयो, “शिक्षा अनुसन्धानमा आधारित र व्यवहारिक हुनुपर्छ । शिक्षा व्यक्तिभन्दा पनि समुदाय लक्षित हुनु जरूरी छ ।”
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले अध्ययनसँग विद्यार्थीहरू अतिरिक्त क्रियाकलापमा पनि सहभागी हुनुपर्ने बताउनुभयो ।
पढेर प्राप्त गरेको ज्ञान खेर नजाने भएकोले अध्ययनलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
ख्वप कलेजका उपप्राचार्य डा. राजेशकुमार श्रेष्ठले स्वागत गर्नुभएको उक्त कार्यक्रममा ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यलगायत सङ्कायगत विद्यार्थी प्रतिनिधिहरूले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा स्नातक र स्नातकोत्तर तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो भने विद्यार्थीहरूद्वारा सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।
Leave a Reply