भर्खरै :

बिजुलीमा व्यापार घाटा

गएको वर्ष नेपालले भारतबाट २३ अर्ब रुपियाँको बिजुली किनेछ, नेपालले भारतलाई १२ करोड २० लाख रुपियाँ बराबरको बिजुली बेचेछ । भारतमा विद्युत् बेचेको होहल्ला त गरियो, तर यति लाजमर्दो निर्यात ¤ लोडसेडिङ मुक्त गरियो, तर जलस्रोतमा विश्वमा धनी मानिएको देशको बिजुली कारोबारमा पनि भारतसँग अचाक्लि व्यापार घाटा भएको तथ्यले स्पष्ट पार्छ ।
भारतबाट बिजुली आयातमा दुई वर्षअघि भन्दा गत वर्ष साढे तीन अर्ब रुपियाँले बढी व्यय भएको तथ्याङ्क छ । नेपाललाई विद्युत्मा आत्मनिर्भर बनाउने सपना बाँडेर धेरै पार्टी तथा नेताहरूले सत्तास्वाद चाखे, तर अझै पनि नेपाली जनतालाई पुग्दो बिजुली उत्पादन भएको छैन । हिमाल, पहाड र चुरेबाट बग्ने सानाठूला ६ हजार नदी छन्, नेपालमा । इन्जिनियर हरिमान श्रेष्ठले ८३ हजार मेगावाट विद्युत् उत्पादन हुने भनेको पनि युगै वित्यो । पछिल्ला अध्ययनले पनि ४२ हजार मेगावाट जलविद्युत् व्यवसायिकरूपमा उत्पादन गर्न सकिने बताएको छ । तर, नेपाली एकखाले अँध्यारोमै बस्न विवश छन्, अझ पनि पर्याप्त विद्युत् उत्पादन भएको छैन ।
वर्तमान सरकारले आगामी १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने भनेको छ, तर विश्वास गर्ने आधार भने छैन । सरकारका राष्ट्रिय गौरवका कैयौँ योजना असफल वा अस्तव्यस्त अवस्थामा छन् । ठेक्कामा भागवण्डा, कमिसन, भ्रष्टाचारले योजनाको गुणस्तरमा प्रश्न उठेको छ । कुनै पनि योजना समयमा नहुने कारण पनि अनेक खालका भ्रष्टाचार हुन् । भ्रष्टाचार रोक्ने क्षमता यो सरकारमा पनि छैन ।
नेपालमा जलाशययुक्त विद्युत् परियोजनामा निजी क्षेत्रले हात हालेको छैन । जलाशययुक्त विद्युत् परियोजना महँगो हुन्छ र यसको निम्ति ठूलो लगानीको आवश्यकता छ । ‘रन अफ द रिभर’ (नदी प्रवाहमा आधारित) बिजुली सस्तो हुन्छ, तर यसको निम्ति सम्भावित सबै नदी निजी क्षेत्रले ओगटेको अवस्था छ । अझ नेपालका बिजुली उत्पादनको अत्यधिक सम्भावना भएका अधिकांश नदीमा भारतले आफ्नो कब्जा जमाएको छ । अपर कर्णाली जलविद्युत् परियोजना नेपालको सबभन्दा सस्तोमा बिजुली उत्पादन गर्न सकिने परियोजना हो, तर त्यो परियोजना भारतीय कम्पनीलाई सुम्पिएको छ ।
आगामी ०७६ भित्र सरकारी र निजी क्षेत्र गरी १ हजार ५ सय मेगावाट विद्युत् उत्पादन हुनसक्ने दाबी गरिएको छ । यो स्वाभाविक विकासको एउटा पाटोमात्र हो भन्नेमा नेपाली भ्रम राख्दैनन् । नेपालमा अहिले दैनिक १ हजार दुई सय मेगावाट विद्युत्को खपत हुने बताइएको छ । तर नेपाली सबैको घरमा अहिले पनि बिजुली पुगेको छैन भन्ने तथ्य भुल्नुहुँदैन । सबै नेपालीलाई पुग्दो बिजुली दिने हो भने र उद्योग–कलकारखानाको विस्तार गर्ने हो भने नेपालको निम्ति अरू बढी बिजुलीको आवश्यकता हुन्छ । बिजुलीको शुल्क कम गर्ने हो भने मानिसहरू बिजुलीबाटै खाना पकाउनेलगायत घरेलु काममा यसको प्रयोग बढाउँथे । विद्युतीय गाडीलगायत विद्युतीय उपकरणको प्रयोगको बढोत्तरीले फोसिल फ्युल (डिजेल, पेट्रोल, ग्यास) को प्रयोगमा कम हुन्थ्यो, नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पाथ्र्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *