भर्खरै :

धम्कीसामू आत्मसमर्पण गलत

भक्तपुर, १६ पुस । नेपाल मजदुर किसान पार्टीका सचिव सुनिल प्रजापतिले मधेसी दलहरुका धम्कीसामू झुके देशको सार्वभौमिकता नजोगिने बताउनुभएको छ । शनिबार नेपाल क्रान्तिकारी विद्यार्थी संघ सूर्यबिनायक नगर समितिको आयोजनामा समितिको मुखपत्र स्टुडेन्ट भ्वाइसको पहिलो अंक सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले कसैको धम्कीसामू आत्मसमर्पण गर्नेहरु राजनीतिमा लाग्नु बेकार हुने बताउनुभयो ।
संविधानमा संविधान संशोधनको लागि माथिल्लो सदन, तल्लो सदन र बहुमत प्रदेशहरु तयार हुनु पर्ने प्रावधान हुँदाहुँदै भारतीय विस्तारवादी शक्तिलाई खुशी बनाउन प्रचण्ड नेतृत्वको सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको सचिव प्रजापतिको भनाई थियो ।
उहाँले राजनीति तस्कर, ठेकेदार र पूँजीपतिहरुको हातमा फस्दै गएकोमा चिन्ता व्यक्त गर्दै नेपालको राजनीति विभिन्न देशमा शक्तिकेन्द्रबाट सञ्चालन हुन सक्ने सम्भावनाप्रति सजग बन्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
सरकारी सम्पत्ति कुनै राजनीतिक दल विशेषको हितमा प्रयोग गर्नु राजनीतिक डकैती भएको चर्चा गर्दै उहाँले भन्नुभयो, शासक दलहरु राजनीतिलाई वैधानिक डकैतीको माध्यम बनाइरहेका छन् ।
नेक्राविसंघका केन्द्रीय अध्यक्ष नीरज लवजूले स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन नहुँदा राजनीतिमा नयाँ नेतृत्वको अभाव हुनसक्ने र विदेशमा तयार भएर नेपालमा शासक बन्ने प्रवृत्ति मौलाउन सक्नेप्रति सजग हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले त्रिविले केही शासक दलका विद्यार्थी संगठनहरुलाई काखी च्यापेकै भरमा स्ववियु निर्वाचन हुन नसक्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेमकिपा सूर्यबिनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वाती, नेक्राविसंघ भक्तपुर जिल्ला समितिका सचिव अनिल फोजू, नेक्राविसंघ सूर्यबिनायक नगर समितिका संयोजक उत्तम सेजुवाल, शिला माकलगायतले सार्वजनिक बुलेटिनमाथि टिप्पणी गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *