भर्खरै :

‘राजनीति नगरौँ’ भन्नेबारे

केही बुद्धिजीवी मित्रहरूले समेत बेलामौकामा ‘राजनीति नगरौँ’ जस्ता वाक्य थेगोजस्तै प्रयोग गर्दा मानिसहरू अचम्मित हुनु स्वाभाविक हो । साधारणतया ः ‘राजनीति नगरौँ’ को अर्थ ‘राजनीतिशास्त्र नपढौँ,’ ‘निर्वाचनमा कुनै पनि पक्षमा मत नहालौँ’, ‘कुनै पनि राजनैतिक दलको झमेलामा नफसौँ’ वा ‘मुखले एउटा, कामले अर्को नगरौँ’ वा ‘भाखाभित्र सामान वा पैसा फिर्ता देऔँ त्यसमा राजनीति नगरौँ’ आदि – आदि लाग्ने गरेको व्यवहारमा सुन्ने र अनुभव गर्ने गरेको देखिन्छ ।
‘राजनीति नगरौँ’ वाक्यलाई राजनीतिशास्त्र नपढौँ, निर्वाचनमा कुनै दलको उम्मेदवारलाई मत नदेऔँ, देशको राजनैतिक परिवर्तनका घटनाहरूमा ध्यान नदेऔँ वा देशलाई जेसुकै होस् हामीलाई मतलब छैन भन्ने अर्थमा प्रयोग गरिने हो भने व्यक्तिको वा नागरिकको कर्तव्य पूरा नहुने निश्चय छ । एक सचेत र जिम्मेवार नागरिकले देशको विषयमा राजनैतिक परिस्थिति र घटनाक्रमबारे कसरी आफूलाई अलग्ग वा बेवास्ता गर्न सक्छ ? अन्य देशमा निर्वाचनमा मत दिनसमेत निश्चित रकमभन्दा माथि कर तिरेको र नगरपालिकाको निर्वाचनमा मतदान गर्न त्यस नगरमा त्यस व्यक्तिको अचल सम्पत्ति हुनु अनिवार्य हुन्छ । व्यक्ति जतिसुकै धनी भएपनि असल सम्पत्तिको मालिक भएन भने नगरको निर्वाचनमा उसलाई मतदानको अधिकार दिइन्न ।
तर, ‘राजनीति नगरौँ’ भन्ने वाक्य र वाक्यांशको अर्थ कहीँकहीँ ‘आ–आफ्नो सानो स्वार्थ नहेरौँ’, ‘पक्षपात नगरौँ’ ‘झगडा नगरौँ’ ‘भेदभाव नगरौँ’ भन्ने आशयले पनि अभिव्यक्ति प्रकट भएको देखिन्छ । धेरै अर्थ लाग्ने ‘वाक्यांश’ प्रयोग गर्नु उत्तम होइन भन्ने कुराकानी पनि हुन्छ ।
बस्नलायक सहर वा स्मार्ट सिटी ?!
७ मंसिर २०७६ को गोरखापत्र, शनिबार अङ्कमा बसन्त राईको ‘यात्रा संस्मरण’ मा ‘विश्वकै पहिलो बस्नलायक सहर’ शीर्षकमा पहिलो नम्बरको सहर अस्ट्रियाको राजधानी भियना, दोस्रो स्वीट्जरल्यान्डको जुरिच र तेस्रो क्यानाडाको बैङ्कुवर लेखिएको छ । भियनालाई साँस्कृतिक, आर्थिक र राजनैतिक केन्द्रको रूपमा लिइएको छ ।
तर, नेपालमा सङ्घ राज्यसहितको संविधान पारित भएपछि र संविधानअनुसार निर्वाचित जनप्रतिनिधिहरूले केन्द्र, प्रदेश र स्थानीय तहहरूमा आ–आफ्नो कार्यभार समालेपछि केही कथित बुद्धीजिवी र उपबुज्रुहरूले ‘स्मार्ट’ सिटी, को नाममा ‘बढीभन्दा बढी’ जनसङ्ख्या भएको, लागूपदार्थको अपराधको राजधानी मेक्सिको नगर, सबभन्दा बढी यातायातका बाहनहरू दुर्घटना हुने सहर तथा अत्यन्त प्रदूषित सहरको उदाहरण दिएर नेपालमा त्यस्तै नगरहरूको निर्माण गर्ने सोच अगाडि सारे ।
केही घर–जग्गा कारोबारमा बदनाम व्यापारी, अरबौँ रूपैयाँको ठेक्का १० वर्ष अगाडिदेखि लिएर म्याद थप्दै शासक दलका राजनैतिक नेताहरूलाई घुस खुवाउँदै निर्माण अधोगतिमा देशलाई वर्वाद पार्ने र भूमाफिया, कालाबजारिया आदिको बलमा विदेशी ठेकेदारका एजेन्टहरूले नदी र खोलाका किनारहरूका सार्वजनिक जग्गा, नगरपालिका र सरकारले नसमालेका जग्गा समेटेर गरिब किसानहरूलाई सस्तोमा विकासको नाममा उठीबास गराउने उद्देश्यले स्मार्ट सिटी भन्दै अग्ला घरहरू ठड्याउने चाँजोपाँजो मिलाएका थिए ।
सफा नगर (ढल र उपचार पोखरीको बन्दोबस्त भएको), समयमा फोहर सङ्कलन गर्ने स्कूल, कलेज, अस्पताल, सङ्ग्रहालय, पुस्तकालय, पार्कहरू, मनोरञ्जन स्थल, नाँचघर, सिनेमा घर, खेलकूदका कोर्टहरू तथा कभर हल र फूटबल ग्राउन्ड भएको एवम् देशका सांस्कृतिक धरोहरको संरक्षण र अमूर्त कलाहरूको समेत संरक्षण भएको सहरको निर्माण नै आजको बस्नलायकको सहर हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *