भर्खरै :

‘हजुरबुबाका चिठ्ठी’ – एक टिपोट

एल. जोशी
‘हजुरबुबाका चिठ्ठी’ शीर्षकमा अमेरिकामा अध्ययन गरिरहेका नाति–नातिनीलाई लेखेका चिठ्ठीहरूको सङ्गालो संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) बाट पहिलो संस्करण २०७६ मा प्रकाशित भएको छ ।
यस सङ्गालोमा २०७१ पुस १९ देखि २०७६ असार ३१ सम्मका ३० वटा चिठ्ठी समेटिएका छन् । त्यसमा २०७१ सालका ५, ७२ सालका ५, ७३ सालका ७, ७४ सालका ३, ७५ सालका ८ र ७६ सालका २ वटा चिठ्ठी छन् ।
‘राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठ्ठी’, ‘दुई चिठ्ठी’, ‘जेलका चिठ्ठीहरू’ का स्रष्टा जनसाहित्यकार हरिबहादुर श्रेष्ठ
(नारायणमान बिजुक्छेँ (का.रोहित)) को नयाँ कृति पढ्न पाउँदा खुसी लाग्यो । नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ(रोहित) नै हरिबहादुर श्रेष्ठ हुनुहुन्छ । तर, कतै लेखिएको छैन । पुस्तकको प्रकाशकीयमा उल्लेख गरिदिएको भए अन्योल हुने थिएन ।
त्यस्तै प्रकाशकीयमा ‘नयाँ पुस्तालाई समाज र देश चिनाउने, परिर्तनप्रति आशा जगाउने, जीवन उद्देश्य छनोटमा सघाउने, कर्तव्यप्रति सचेत बनाउने, आप्mनो ज्ञान गुण क्षमताको आधारमा देश र जनताको सेवामा समर्पित बन्न हौस्याउने, आत्मस्वाभिमान र आत्मगौरवको जीन्दगी रोज्न सघाउने उद्देश्यका साथ लेखकले पत्र लेख्न थाल्नुभएको’ लेखिएको छ ।
तात्कालिक घटना र सन्दर्भको सङ्क्षिप्त अभिलेखझैँ रहेका ३० वटा चिठ्ठीहरूको छोटो टिपोट प्रस्तुत गर्दछु ।
पहिलो चिठ्ठीमा क्युवाको समाजवादी व्यवस्थाबारे र ५ क्युवाली देशभक्त बन्दीलाई मुक्त गरेको विषयमा लेख्दै आफ्नो दिन चर्या वर्णन गरिएको छ । त्यसपछिका केही चिठ्ठीमा विभिन्न निकायमा हुने कमिसनतन्त्र, मन्त्रीहरूको भ्रष्ट चरित्र, कार्यालय हाकिमहरूको जातिवादबारे लेखिएको छ र पँुजीवादी चुनावमा हुने उद्योगपति र व्यापारीहरूको चलखेलबारे जानकारी दिइएको छ ।
२०७२ सालको महाभूकम्पपछिको पहिलो चिठ्ठीमा आफ्नो दिक्दारी कलात्मक ढ·मा वर्णन गरिनुका साथै विपदमा हरेस नखाई सक्रिय रहनुपर्ने र विजयको इच्छा नराखे पराजयले पर्खने भनी हौसला दिइएको छ । भूकम्पपछिको पुनः निर्माणबारे दोस्रो विश्वयुद्धले ध्वस्त भएको सोभियत सङ्घ, चिनियाँ क्रान्तिपछि आफ्नो प्राचीनताको गौरवलाई कायम गरेको, एउटा सग्लो इँटा बाँकी नभएको कोरियाको पुनःनिर्माणको चर्चा गर्दै निराश हुनेहरू लोप हुने र आशावादीहरू रहिरहने शिक्षा दिइएको छ ।
पुँजीवाद के हो र कसरी शुरु भयो, नेपालमा पुँजीवाद हो कि होइन भन्ने जिज्ञासामा हजुरबुबाले पुँजीवादको विकासबारे लेखेका छन् र विदेशको नागरिकता लिइसकेकालाई नेपाली नागरिकता पनि दिने विषयबारे उल्लेख गरेका छन् । यस चिठ्ठीमा नातिनातिनालाई निक्कै सङ्क्षिप्तमा उत्तर दिँदै पुँजीवादी गणतन्त्र धनीहरूको व्यवस्था भएको बताएका छन् ।
निजी मेडिकल कलेजहरूबारे धेरै कुराको जानकारी दिँदै ‘पुँजी लगानी नगरी अकुत सम्पत्ति कमाउने उद्योग र सेवा’ को संज्ञा दिइएको छ । त्यस्ता कलेजमा अयोग्यलाई समेत मोटो रकम लिएर पढाउने गरेको, त्यस्ता कलेजमा प्रम र मन्त्रीहरूको लगानी भएको जानकारी दिँदै योग्य तर गरिबले उच्चतहको अध्ययन गर्न पाउँदैन त्यसैले गरिबले पनि डाक्टर–इन्जिनियर पढ्न पाउन क्युबा–कोरियाको जस्तो समाजवाद हाम्रो देशमा स्थापना गर्नुपर्ने आवश्यकता देखाइएको छ ।
चिठ्ठी १९ मा – सङ्घ र प्रदेश निर्वाचन गतिविधिसम्बन्धी नातिनातिनाको जिज्ञासालाई निर्वाचन आचारसंहिता उल्लङ्घन, ठोस कारबाही नहुनु आदि बुँदागतरूपमा दिएर समाधान गरिएको छ । यसमा माओवाद र माओ विचारधारको पनि चर्चा गर्दै ओली – प्रचण्डको वाम गठबन्धन अर्को पुँजीवादी मोर्चा भएको र चुनावले आमूल परिवर्तन नगर्ने तथ्य स्पष्ट गरिएको छ भने चिठ्ठी २० मा – अमेरिकामा कलमसरह बन्दुक किन्न दिने गर्दा ठाउँठाउँमा जथाभावी गोली हानेर हत्या गरेको समाचार आइरहेका छन् । यसको कारण अमेरिकाले अन्य देशका जनतामाथि गरेको नृशंस अपराधबाट अमेरिकीहरूमा मर्ने–मार्ने मनोविज्ञान विकास भएको परिणाम देखिएको छ । सङ्कलित चिठ्ठीहरूमा लामो यस चिठ्ठीमा बोक्सी, चेली बिक्री, दहेज, छाउपडीको जानकारी दिँदै अपराधीलाई कम सजाय दिइनु, महिलाहरू मन्त्री भए पनि समस्या नसुल्झिनु, अयोग्यहरूले मन्त्रीको लोभ गर्नु ‘… देख्ने लाई लाज’ भएको बताउँदै स्वदेश फर्की जनताको सेवा गर्न उत्साहित पारिएको छ ।
सत्तामा जाने पार्टीहरूको चरित्र र व्यवहारको छोटो जानकारी दिँदै नेपालको संविधान शासक दलहरूले आफ्नो हितमा बनाएको अनुभव गरे भने भारतीय एकाधिकार पँुजी र पश्चिमाहरूले आफ्ना हितका छिद्रहरू राख्न सफल भएको पनि चिठ्ठीमा लेखिएको छ । प्रदेश मुख्यमन्त्रीलाई बन्दोबस्त गरिएको अधिकार ‘लौरो न हतियार’ भएको, गाउँलाई नगरपालिका बनाइयो तर पूर्वाधारको कमीमात्र होइन नगरवासीलाई शिक्षित नगराएको, सरसफाइ सेवा नदिई सफाइ कर लगाइएको आदि लेख्दै पार्टीलाई चन्दा लिएपछि त्यसबारे शिक्षित नगर्दा नगरपालिकाको नियम मिच्ने आधार ठान्ने गल्ती गरेको लेखिएको छ ।
चिठ्ठी २६ मा – हाम्रा राष्ट्रपति प्रधानमन्त्रीहरूले विभिन्न देशका असल र बुद्धिमान राष्ट्रपति तथा प्रधानमन्त्रीहरूको जीवनी नपढेकोले राम्रो काम गर्न नजानेको हो कि भन्ने नाति–नातिनाको जिज्ञासामा विगतका राजाहरूले अर्काे देशका सल्लाहकारहरूलाई हातमा लिने, त्यस देशको बलियो र कमजोर पक्ष पत्ता लगाउने, विभिन्न आवरणमा गुप्तचर पठाउने, विषकन्या प्रयोग गर्ने आदि गरेको बताउँदै वर्तमान युगमा अर्थतन्त्र कब्जा गर्ने गर्छन् त्यसैले महत्वपूर्ण पदका व्यक्ति विदेशीको प्रभावमा पर्दा एक एक पाइला गरी देश नै विदेशीको प्रभावमा पुग्ने लेखिएको छ । होचिमिन्ह, क्यास्ट्रो, लुमुम्बा, एनक्रुमा, एलेन्डेको उदाहरण दिएर उनीहरूले देश र जनताको हितमा काम गरेको बताइएको छ ।
चिठ्ठी २७ मा – पुसको जाडोमा लेखिएको यस चिठ्ठीमा धनीहरूको घर न्यानो, लुगा बाक्लो तर गरिबको घर पनि न्यानो बनाउन सम्भव छ भन्दै यसको लागि सरकारले अगुवाइ गर्नुपर्ने लेखिएको छ । फ्रान्सेली राज्यक्रान्तिको बेला जनताका सिपाहीहरूका जुत्ता मोजा नहुँदा क्रान्तिकारीहरूले जुत्ता नपाए कुनैपनि धनीको खुट्टामा जुत्ता हुनेछैन भनी उर्दी जारी गरेपछि २४ घण्टाभित्र जुत्ता, मोजा र लुगा पाएका थिए । तर, नेपालमा सरकारी गोदाममा अन्न सडाइन्छ उता गरिब जनता भोकै हुन्छन् । यिनै समस्याको समाधान समाजवादी व्यवस्थामा हुने कुरा क्युवाको उदाहरणसहित दिइएको छ । यसमा इराक र लिबियाको तेलखानी हत्याउन संरा अमेरिकाले त्यहाँका सेना गुप्तचर विभाग कर्मचारीलाई प्रभाव पारेको परिणाम बताउँदै सन् १९६२ को भारत–चीनको भीडन्तमा भारतीय गुप्तचर विभागका प्रमुख सीआइएको मानिस भएको लेखिएको छ ।
सम्पादक बन्ने जीवनको उद्देश्य बनाएका नातिनातिनालाई हजुरबुबाले ‘गुलाफको ओछ्यान होइन काँडाले भरिएको बाटो’ रोजेकोमा आश्चर्य व्यक्त गर्दै आस्थाको पत्रकारिताको अगाडि पैसामा बिक्ने र भ्रष्ट पत्रकारहरू भष्म हुने आशा प्रकट गरेका छन् । यस चिठ्ठीमा माक्र्स, लेनिन, होचिमिन्ह, एडगर स्नो, अन्ना लुइस स्ट्रङ, आदिको पत्रकारिताको परिचय दिँदै नेपालका मणिराज, गोविन्द ‘वियोगी’, मदनमणि, आदिको जानकारी दिइएको छ ।
यी चिठ्ठीहरूको व्यहोराबाट लेखकले आफ्नो सेरोफेरोका साना–ठूला विषयदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय सन्दर्भलाई समेट्नुभएको छ । जीवन र समाजका विविध पक्षलाई विषयवस्तु बनाउँदै देश र जनताको हितमा परिवर्तन र समाजवादको पक्षमा आफ्नो आस्था एवम् विश्वास व्यक्त गर्नुभएको छ । यथार्थ घटना र स्थितिलाई साहित्यकरूपमा सरल भाषामा लेखिएका प्रस्तुत चिठ्ठीहरूमा पनि हरिबहादुर श्रेष्ठको सरल र गम्य शैलीले निरन्तरता पाएको छ । तर, कुनै चिठ्ठीका केही ठाउँका अस्पष्टता हुनुको कारण सङ्क्षिप्तमा लेखिएकोले या सम्पादनको कमजोरी हुनसक्छ । त्यस्तै केही ठाउँमा मुद्रा राक्षसले दुःख दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *