भर्खरै :

पैसामुखी प्रवृत्तिले विनयहरू जन्माइरहने छ

चन्द्रागिरी नगरपालिका वडा नं ४ थानकोटमा बस्दै आएका विनय लामिछाने ऋणको बोझ सहन नसकेर शुक्रबार त्रिशुली नदीमा परिवारसहित हेलिएको समाचारले धेरैलाई तरङ्गित बनायो । विनयले आफ्नी श्रीमती र दुई सन्तानसहित नदीको बेगमा हेलिएर आत्महत्याको प्रयास गरेका थिए । श्रीमती र दुई सन्तान पानीमा डुबेर मरे तर विनयको भने स्थानीयले जीवित उद्धार गरे । उनी शिक्षक थिए । तर, छोटो समयमा धेरै पैसा कमाउने चाहनाले उनलाई शिक्षक पेशा त्यागेर अनलाइनमार्फत व्यापार गर्न बाटोतिर डो¥यायो ।
अनलाइन व्यापार विनयको लागि अपार भएन, सारा जायजेथा बेचेर पनि ऋण तिर्न नसक्ने भएपछि उनले आफ्नो परिवारसहित आत्महत्या गर्ने निर्णय गरे । तर, उनी जोगिए । श्रीमती र कलिला दुई सन्तान सदाको लागि बिदा भए । छोटो समयमा धनी बन्ने सपनाले विनयलाई जीवनमा कहिल्यै नमेटिने चोट पु¥यायो ।
पुँजीवादी सहरमा विनयजस्ता छोटो समयमै धनी बन्ने, ऐशआरामको जीवन बिताउने सपना बोकेका मानिसको कमी हुँदैन । अधिकांश मानिस पुँजीवादी सहरहरूमा यस्तै सपना साँचेर बाँचेका हुन्छन् । तर, पुँजीवादी व्यवस्थाले मानिसभित्र हुर्काउने मृगतृष्णाले उसलाई अन्ततः वियोगको जालोमा थचार्ने गर्छ । पुँजीवादी व्यवस्थाका अनेकन झिलिमिलीले मानिसमा धेरै आकाङ्क्षा र रहर हुर्काएको हुन्छ ।
अग्ला भवन, चिल्ला कार, छोराछोरीको लागि भव्य विद्यालय, आरामदायी दिन र खर्चालु रात सबै देखेर मानिस मोहित हुन्छन् । अनि पैसा कमाउन जालझेल, चाप्लुसी, ठगी, बठ्याइँ, झूठ, अनैतिकताको सहारा लिन्छन् । पुँजीवादी व्यवस्थाले मानिसलाई धनी बन्न जस्तोसुकै कुकर्म गर्न पनि उत्साहित गर्छ ।
पुँजीवादी व्यवस्था र बजारको विशेषता भनेको छोटो समयमा धनी बन्न चाहनेलाई केही समय सफल भएको भान पार्न दिनु हो । साना–साना त्यस्ता भ्रमले उसलाई अझ बढी पैसा कमाउन हौस्याउँछ । तर, एउटा बिन्दुमा उसले सबै गुमाउने गर्छ । ठूलो माछाले सानो माछालाई नखाए यो व्यवस्था चल्दैन पनि । ठूला माछाले यस्ता सबै साना माछालाई निल्छ ।
पुँजीवादी व्यवस्थाका यस्ता अनेकन कुरुप देखेर नै युरोपेली दार्शनिकहरूले त्यसको विकल्पको खोजी गरेका हुन् । पुँजीवाद के कारणले यति निर्मम हुन्छ र यसको विकल्प के हुन सक्छ भन्ने प्रश्नको उत्तरको खोजीमा काल्पनिक समाजवादीहरूले आदर्शवादी चिन्तन गरे ।
उनीहरू यसमा विफल भए । उनीहरूका कमजोरीबाट सिक्दै माक्र्सले वैज्ञानिक समाजवादको सिद्धान्त प्रतिपादन गरे । फलतः जब–जब पुँजीवादले सामाजिक तहमा यस्ता कुरुप अनुहार देखाउन थाल्छ, मानिसले विकल्पमा समाजवादी व्यवस्थाको अपरिहार्यता महसुस गर्छन् ।
विनय लामिछाने नेपालमा हुर्कँदो पुँजीवादी व्यवस्थाले जन्माएका व्यक्ति हुन् । ऋण थेग्न नसक्ने भएपछि उनले परिवारलाई समेत मृत्युतिर डो¥याउनु उनीभित्रको कोमलता र क्रुरता दुवै हो । उनीमाथि कानुनबमोजिम कारबाही हुनुपर्छ । तर, विनयको निर्णयलाई उनको व्यक्तिगत निर्णयको रूपमा मात्र लिनु समस्याको जरालाई उपेक्षा गर्नु हो । समस्या पुँजीवादले हुर्काएको द्रव्यपिशाच प्रवृत्ति हो । यो प्रवृत्तिले समाजमा फेरि पनि विनय लामिछानेहरू जन्माइरहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *