भर्खरै :

बाइडेनको एक महिनाः मिश्रित परिणाम

वाशिङ्टन, २४ फेब्रुअरी । संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको पहिलो महिनामा मिश्रितखालको प्रतिक्रिया पाएका छन् । विशेषतः उनलाई खोप वितरणदेखि विद्यालय पुनः सञ्चालन र विदेश नीतिको सम्बन्धमा यस्तो खालको प्रतिक्रिया प्राप्त भएको हो ।
एक महिनाअघि राष्ट्रपति कार्यालयमा कार्यभार सम्हाल्न पुगेका बाइडेनसामु झन्डै एक वर्षअघि फैलिन थालेको महामारी र त्यसले निम्त्याएको लकडाउनको कारण अर्थतन्त्रले भोगिरहेको चोटजस्ता चुनौती थिए ।
“बाइडेनको सबभन्दा मुख्य प्राथमिकता कोभिडबाट आर्थिक पुनःस्थापना र जनस्वास्थ्यमा सुधारको क्षेत्रमा राहत दिनु नै बन्यो”, ब्रुकलिङ प्रतिष्ठानका वरिष्ठ प्राध्यापक डारेल वेस्टले भने ।
गत सोमबार कोभिड–१९ को कारण मृत्यु हुने संरा अमेरिकी नागरिकको सङ्ख्या ५ लाख पुगेको थियो । तथापि, हालैका दिनमा त्यहाँ सङ्क्रमण दर भने क्रमशः ओरालो लागेको सङ्केतले केही उत्साह पनि दिएको छ ।
बितेका पाँच सातादेखि कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या तीव्रगतिमा ओरालो लागेको छ । चार सातादेखि कोभिड–१९ को कारण अस्पताल भर्ना हुनेहरूको सङ्ख्या पनि घटेको छ । अनि बितेका दुई सातादेखि मर्नेको सङ्ख्या पनि ओरालो लागिरहेको छ ।
संरा अमेरिकाभरि चालु प्रभावकारी खोप अभियानको कारण पनि यस्ता उत्साहप्रद सङ्केत देखापरेको विज्ञहरूले बताएका छन् ।
“बाइडेनले दैनिक खोप लगाउनेको सङ्ख्या १७ लाख पु¥याएका छन् र आगामी साता यो सङ्ख्यामा उल्लेखनीय वृद्धि हुनेछ”, वेस्टले भने । उनले यस्तो प्रगतिले व्यापार व्यवसायलाई सामान्य दिशातिर फर्किन र मर्नेको सङ्ख्या न्यून गर्न पनि योगदान गर्ने बताए ।
अघिल्लो ट्रम्प सरकार महामारी समाल्न असफल भएको भन्दै विज्ञहरूले बाइडेनले खोपको वितरणमा अघिल्लो सरकारको तुलनामा ठूलो परिवर्तन ल्याएको बताएका छन् ।
संरा अमेरिकामा हालसम्म ७ करोड ५० लाख मात्रा मोर्डेना र पिफाइजर खोपको वितरण भइसकेको छ । तीमध्ये ६ करोड ४० लाख मानिसलाई खोप लगाइएको छ । त्यो सङ्ख्या भनेको संरा अमेरिकाको १३ प्रतिशत हो ।
बाइडेनले सरकार समालेयता संरा अमेरिकाकामा विद्यालयहरू खुल्न थालेका छन् । गत डिसेम्बरमै बाइडेनले विद्यालयहरू खोल्न आह्वान गरेका थिए । उनले आफ्नो कार्यकालको सुरुका एक सय दिनभित्र संरा अमेरिकाका अधिकांश विद्यालयहरू खुल्ने वचन दिएका थिए । तर, अझै पनि शिक्षक सङ्गठनहरूको कारण विद्यालयहरू खुल्न नसकेको भन्दै अभिभावक, सञ्चारमाध्यमहरूले सरकारको आलोचना गरेका छन् । सरकारले विद्यार्थीलाई भन्दा शिक्षकलाई बढी प्राथमिकता दिएको भन्दै आलोचना भइरहेको छ ।
महामारीको कारण एक वर्षसम्म विद्यालयहरू बन्द हुँदा र अनलाइन कक्षहरू सञ्चालन हुँदा शिक्षाको स्तर खस्केको, निराशा बढेको, किशोर उमेरमा आत्महत्याको सङ्ख्या बढेको तथ्याङ्कले देखाएको छ ।
बाइडेन सरकारको लागि आर्थिक दुरवस्था नै सबभन्दा ठूलो चुनौती बनेकोमा विज्ञहरू सहमत छन् । संरा अमेरिकी सङ्घीय बैङ्कका अध्यक्ष जेरोमी पावलले सांसदहरूलाई गत मङ्गलबार संरा अमेरिकी अर्थतन्त्रको पुनःस्थापना अझै पनि असन्तुलित र पूर्णताबाट निकै पर रहेको बताए । उनले आगामी बाटो अझै अनिश्चित भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *