भर्खरै :

बिस्का जात्रा: कोभिड, सामाजिक एकता तथा विज्ञान प्रविधिको पाठ

बिस्का जात्राको रौनक शनिबार सुरु भएको छ । कोभिड–१९ को महामारीको कारण भैलखः (भैरवनाथको रथ) तान्ने र लिङ्गो उठाउनेबारे व्यापक छलफल भयो । स्वास्थ्यका मापदण्ड पालना गरी रथ तान्ने छलफल भए पनि त्यसको परिपालना यथोचित देखिएन शनिबार । भीड नभई जात्रा सञ्चालन हुने कुरै थिएन । सयौँ मानिसको एकमुष्ट पहलमा मात्र रथ तान्न सकिन्थ्यो । तर, रथ तान्न आएका अधिकांश मानिसले नाकमुख छोपिने मास्क लगाएका थिएनन् । को कताबाट आएका, को सङ्क्रमित वा नसङ्क्रमित छुट्याउने सम्भावना हुने कुरै थिएन । आशा गरौँ जात्रामा सहभागी कोही पनि कोरोना पोजिटिभ होइनन् । सबैलाई सुस्वास्थ्यको कामना ¤ केही गरी कोही कोरोना पोजिटिभ निस्किए भने समयमै आइसोलेसनमा रहने र आवश्यक सावधानी अपनाउन अनुरोध पनि गर्छौँ ।
सांस्कृतिक, धार्मिक, ऐतिहासिक महत्वबारे धेरैले गाथा गाएका छन् । अन्धविश्वास, दैवी शक्तिको भक्ति, देवी देवताको नाममा गरिने बलि आदिलाई छुट्याउने हो भने र जाँड–रक्सीको अत्यधिक सेवन, जुवा–तास, तडकभडक आदिलाई कम गर्ने हो भने नयाँ वर्षको अवसर पारेर अथवा सूर्यमासअन्तर्गत चैत मसान्तमा मनाइने बिस्का जात्राजस्तो रमाइलो अरू पर्व नहोला । त्यसैले मानिसले यो जात्रालाई ‘मिस’ गर्न चाहेनन् । विश्वकै निम्ति नमुना मानिएको यो जात्रा गत साल महामारीकै कारण लकडाउन भएकोले हुनसकेन । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षको स्वागत गर्ने चाड, पुरानो वर्ष र नयाँ वर्षबीचको सेतु चाड भएकोले पनि मानिस यसलाई उत्तिकै महत्व दिन्छन् ।
बिस्का जात्राको ‘हस्से–हाइसे’ ले सिकाउने सामाजिक एकताको पाठ अनुपम छ । एक–दुईको बलले ७०–८० फीटको सल्लाको रुखको लिङ्गो उठाउने सम्भव हुँदैन । हजारौँ मानिसको उपस्थितिमा सयौँ मानिसको प्रत्यक्ष बलको सामञ्जस्यमा लिङ्गो उठाइन्छ । लिङ्गो बाँधिएको डोरी तान्दा तालमेल मिलेन भने लिङ्गो उठ्न सक्दैन । सामूहिक भावना एवम् कार्यको यो कम उत्कृष्ट नमुना होइन । भैरवको रथको गतिको निम्ति पनि मानिसको बल÷क्षमताको समन्वय उत्तिकै आवश्यक हुन्छ । यस मानेमा एकता नै बल भन्ने जीवन दर्शन बिस्केटले सिकाएको हुन्छ । यसर्थ, भैरव रथकोे तानातानीले जीवनमा हुने द्वन्द्वको प्रतीकात्मक भूमिका खेलेको भन्दा पनि फरक नपर्ला ।
विज्ञान र प्रविधिको आँखाबाट पनि बिस्केट जात्रा उत्कृष्ट मान्न सकिन्छ । काठै–काठको संयोजनमा (फलामको किलाको प्रयोग नभएको) र काठकै चुकुलको आधारमा बनेका जोर्नीबाट बनेको तीनतले भैरवको रथ सयौँ मानिसले दुईतिरबाट तान्दा पनि न त ढल्छ, न त भत्किन्छ (ठोक्किएर हुने क्षतिबाहेक) । दुईतिरबाट तानिँदा रथ ढल्ला–ढल्लाजस्तो मात्र हुन्छ । रथमा बस्नेले अनुभव गर्लान् कति महाभूकम्प बराबर हल्लिन्छ – रथ । सायद यही प्रविधिकै कारण तीन सय वर्ष पहिले बनाइएको सबभन्दा अग्लो पैगोडा शैलीको पाँचतले मन्दिर १९९० र २०७२ सालका ठूला भूकम्पलाई पनि चुनौती दिन सफल छ । लिङ्गो उठाउन प्रयोग गरिने अडेसा (कालाँ सिं) राख्ने तरिका, डोरी बाँध्ने प्रविधि, लिङ्गोको फेदबाट टुप्पोसम्म चढ्ने कला नयाँ पुस्ताको निम्ति ज्ञानको खुला पुस्तक हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *