भर्खरै :

तिङ्कर नाका तत्काल खोल्न माग

काठमाडौँ, २९ पुस । दार्चुला जिल्लामा पर्ने तिङ्कर नाका तत्काल खोल्न सरोकारवालाले सरकारसँग माग गरेका छन् ।
दार्चुला जिल्ला ब्यास गाविसका बासिन्दाले बिहीबार यहाँ आयोजना गरेको अन्तरक्रियामा सहभागी वक्ताले सो नाका अविलम्ब खोल्न सकेमा दार्चुलाको मात्र नभई समग्र मुलुकको विकास गर्न सकिने सुझाएका हुन् ।
नेकपा (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले चिनियाँ पक्ष सो नाका खोल्नका लागि सकारात्मक रहेको भएपनि सरकार यस विषयमा संवेदनशील नरहेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो–“कैलाश पर्वत हिन्दूको महत्वपूर्ण तीर्थस्थल हो, जहाँ प्रत्येक वर्ष पाँचलाख भक्तालुले दर्शन गर्छन्, अर्कोतर्फ आफ्नै गाउँबस्तीमा जान पनि भारतीय बाटोको प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य हुन्छ, मैले संसद्मा १० पटक यस बारेमा आवाज उठाएको छु तर सुनुवाइ भएको छैन ।”
नेपाली काँग्रेस जिल्ला सभापति ललितसिँह बोहराले सो नाका खोल्ने काममा ढिलासुस्ती भइरहेको बताउँदै राज्यको कुनै पनि निकायको उपस्थिति नहुँदा त्यहाँको सुरक्षामा समस्या रहेको र छिमेकी राष्ट्र भारत तथा चीनले आफ्नो सुरक्षाकर्मी राखेको जानकारी गराउनुभयो ।

कालापानी र लिपुलेकको नाममा राजनीति गर्नेको सङ्ख्या धेरै भए पनि सो क्षेत्रको सुरक्षामा ध्यान जान सकेको छैन ।

उद्योग वाणिज्य सङ्घ दार्चुलाका उपाध्यक्ष ग्याल्बु सिंहले देशमा कालापानी र लिपुलेकको नाममा राजनीति गर्नेको सङ्ख्या धेरै भए पनि सो क्षेत्रको सुरक्षामा ध्यान जान नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो–“एक्काइसौँ शताब्दीमा पनि आफ्नै बस्तीमा जानका लागि अरूको भूमि प्रयोग गर्नुपर्छ, भारतीय प्रहरीको अत्याचारको सिकार बन्नुपरेको छ ।”
कार्यक्रममा नगेन्द्र तिङ्करीले सरकारलाई सो विषयमा दबाब दिनका लागि यस विषयलाई सञ्चारकर्मीले राष्ट्रिय बहसका रुपमा उठाउन आग्रह गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *