भर्खरै :

युक्रेन र कजाखस्तानमा उदाङ्गिएको पश्चिमा मोर्चा

जनवरी महिनामा कजाखस्तानमा हिंसा भड्कियो । त्यसपछि पश्चिमा मोर्चाले कजाखस्तानमाथि आक्रामक व्यवहार गर्दै आएको छ । उसको यस्तो आक्रामक व्यवहार सामान्य कुरा हो । तर गएको जनवरी २९ मा आयोजित पत्रकार भेटघाटमा कजाखस्तानका राष्ट्रपति कस्सम–जोमर्ट तोकायेभले कजाख हिंसामाथि अन्तर्राष्ट्रिय क्षेत्रको अनुसन्धान आवश्यक नभएको बताएपछि पश्चिमा मोर्चा अक्क–न–बक्क भएको छ ।
वास्तवमा तोकायेभले सो हिंसाको लागि पश्चिमा पिछलग्गुहरू दोषी भएको आरोप लगाउन कुनै कसर बाँकी राखेनन् । उपद्र्याहाहरू हिंसा भएको सहर छोडेर भागेको र कोही त छिमेकी देशमा पुगेको उनले बताए । उनले कजाख हिंसा वैदेशिक हस्तक्षेपको पूर्वयोजनाअनुसार भएको भन्दै घटनामा केही पोख्त मानिसले योजना बनाएको पनि दाबी गरे । यस्तो योजना बनाउने र कार्यान्वयन गर्न विदेशी शक्तिको हात भएको उनको ठहर थियो । विश्लेषकहरूले राष्ट्रपतिको भनाइले स्थानीय दलालहरूसँग मिलेर विदेशी शक्तिले परिचालन गरेका भाडामा मान्छेहरूले हिंसा भड्काएकोतिर सङ्केत गरेको बताएका छन् ।
तोकायेभले प्रस्ट शब्दमा युरोपेली सङ्घले सो घटनाबारे प्रकाशित गरेको वक्तव्य ‘पूर्वाग्रही, अपरिपक्व र पक्षधरहरूबाट निर्देशित’ भनेका छन् । घटनाबारे अनुसन्धानको लागि कजाख सार्वजनिक आयोगहरू नै सक्षम र विश्वासिलो भएको उनको भनाइ थियो । त्यस्ता आयोगले मात्र कजाखस्तानमा खास के भएको थियो भन्ने कुरा पत्ता लगाउन सक्ने र अन्तर्राष्ट्रिय क्षेत्रलाई अनुसन्धान गर्न दिए घटनाको मनलागी व्याख्या गर्ने र तथ्य लुकाउने राष्ट्रपतिको भनाइ थियो ।
युरोपेली सङ्घप्रति सशङ्कित बन्नुमा ताकोयेभसँग कारण छन् । कजाखस्तानमा भड्किएको हिंसा भड्काउन युरोपेली सङ्घको संलग्नताबाहेक उसको यसमा कुनै लिनुदिन छैन । आफ्नो संलग्नतालाई युरोपेली सङ्घ अहिले मेटाउन खोजिरहेको छ । संरा अमेरिका यतिबेला रुस र युक्रेनबीचको तनावमा संलग्न भएको अवस्थामा युरोपेली सङ्घले यो खराब मुद्दालाई संरा अमेरिकाको पाउमा बिसाउन सक्छ । त्यसमाथि पश्चिमा देशहरूले कजाखस्तानसँग भएका कोइला, तेल, प्राकृतिक ग्यास र युरेनियमजस्ता प्राकृतिक स्रोतमा लोभी नजर लगाएको छ ।
सामूहिक सुरक्षा सन्धि सङ्गठन (सीएसटीओ)का सेनाले शान्ति स्थापना गर्न खेलेको भूमिकाको कदर र प्रतिरक्षा गर्दै ताकोयेभले आफ्नो देशको अवस्थाको जिम्मेवारी आफैले बहन गरेका छन् ।
विश्वका सङ्कटहरूसामू पश्चिमा मोर्चा दिनानुदिन उदाङ्गिँदै गएको छ । उसको प्रभाव निस्तेज भएको छ । संसारले भोेगिरहेका समस्या समाधान गर्न उसका सद्भावसमेत कमजोर बनेको छ । ताकोयेभको कदमले सो क्षेत्रमा एउटा नजिर स्थापना गरेको छ । विश्लेषकहरूले युक्रेन र रुसबीचको बढ्दो तनाव कम गर्ने प्रयासस्वरूप सो क्षेत्रका देशहरूले पश्चिमा मोर्चालाई उपेक्षा गर्न सक्ने पनि बताउँछन् ।
संरा अमेरिकाले यो पदचाप अनुभव गरेको छ । जनवरी २७ मा संरा अमेरिकाका राजनीतिक मामिला उप विदेश सचिव भिटोरिया न्युल्यान्डले युक्रेन सङ्कटको कूटनीतिक समाधानको निम्ति चीनलाई रुससँग उसको मित्रवत् सम्बन्ध प्रयोग गर्न आग्रह गरेकी छिन् । उनले भनिन्,“यदि युक्रेनमा द्वन्द्व चर्किए त्यसले चीनको पनि भलो गर्नेछैन ।” युक्रेन सङ्कटले ऊर्जा क्षेत्र र विश्व अर्थतन्त्र दुवैमा नकारात्मक प्रभाव पार्नेछ ।
अड्कलेरै भए पनि संरा अमेरिकाले क्षेत्रीयका साथै विश्व मामिलामा चीनको महत्वपूर्ण भूमिका स्वीकारेको छ । युक्रेन सङ्कटको उपयुक्त समाधान खोज्न चीनले धैर्यता र सौम्य व्यवहारको आह्वान गरिरहेको छ । तर, संरा अमेरिका भने रुसले युक्रेनविरुद्ध केही कदम चाले प्रतिकार गर्ने धम्की दिइरहेको छ । फेब्रुअरी ४ बाट चीनमा सुरु हुन लागेको शीतकालीन ओलम्पिकको लाजै नमानी कूटनीतिक ‘बहिस्कार’ गरेर पनि संरा अमेरिकाले चीनसमक्ष यस्तो आग्रह गर्नु पाखण्डीपन नभए के !
न्युल्यान्डको आग्रह युक्रेन द्वन्द्वमा चीनलाई पनि तान्ने प्रयास हुन सक्ने विश्लेषण गरिएको छ । रुसको छिमेकी हुनुको कारण युक्रेन संरा अमेरिकाको लागि रणनीतिक महत्वको भूमि त हो नै । संरा अमेरिकाले भन्दै आएको रुसको क्षेत्रीय विस्तारवादविरुद्ध युक्रेन प्रमुख आधार क्षेत्र हो । उसले युक्रेनमा आणविक हातहतियारसहित बलियो सैनिक आधार पनि बनाए आश्चर्यको कुरा हुनेछैन ।
संसारको बदलिँदो परिस्थितिले पश्चिमलाई भयभीत र असुरक्षित बनाएको छ । अहिलेको विश्व परिस्थितिमा भइरहेको परिवर्तन पश्चिमको वशभन्दा बाहिर छ । पश्चिमा मोर्चाका केही देशहरू भने अहिले आत्मसमीक्षामा लागेका छन् । युक्रेन सङ्कटको मामिलामा जर्मनीले त्यो भूमिका खेलिरहेको छ । उसले युक्रेन सङ्कटमा भौतिक अथवा सैनिक हिसाबले संलग्न नहुने बताइसकेको छ । त्यसको अर्थ जर्मनी यो विषयमा विशुद्ध कूटनीतिक ढङ्गले अघि बढाउन चाहन्छ ।
जर्मनीको हात नहाल्ने नीतिलाई पश्चिमा मोर्चाभित्र युरोपेली सङ्घ र नाटोका सदस्यहरूप्रति गद्दारीको रूपमा हेर्न थालिएको छ । संरा अमेरिका र उसका साझेदारहरूको लागि अवस्था उनीहरूले आजसम्म भोग्दै आएको छैन । अब पश्चिमा मोर्चाले आफ्नो औषधि चाख्ने र रोटी चपाउँदै बस्ने समय आएको छ ।
(सीजीटीएनबाट नेपालीमा अनुदित सामग्री)

Leave a Reply

Your email address will not be published. Required fields are marked *