भर्खरै :

प्रजातन्त्र र समाजवाद जीवन पद्धति हो

काठमाडौँ, १७ माघ । हरेक राजनीतिक दलका नेता तथा कार्यकर्ता, जनप्रतिनिधिहरू पार्टी अनुशासनमा बस्नुपर्छ, आर्थिक अनुशासनमा बस्नुपर्छ । पार्टी अनुशासन र आर्थिक अनुशासन पालना नगर्ने कुनै पनि नेता, मन्त्री, सांसद, जनप्रतिनिधि तथा कार्यकर्ताहरू पार्टीका लायक सदस्य हुँदैनन् । पार्टीले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई पार्टी अनुशासन र आर्थिक अनुशासनमा राखेको हुन्छ, राख्नुपर्छ । यसबारे पार्टीले नेता, मन्त्री, सांसद, जनप्रतिनिधि तथा कार्यकर्ताहरू सुसूचित पार्न राजनीतिक प्रशिक्षण दिएको हुन्छ । प्रजातन्त्र र स्वतन्त्रताको नाउँमा जसले जे गरे पनि छुट दिएकै कारण सत्तासीन राजनीतिक दलका नेता, मन्त्री, सांसद तथा कार्यकर्ताहरू भ्रष्टाचारमा फसेका हुन्, विकास या योजनामा अनियमितता बढेको हो । नेपाल मजदुर किसान पार्टीले कुनै पनि पार्टी सदस्यले पार्टी अनुशासन भङ्ग नगरोस्, आर्थिक अनियमिततामा नफसोस् भनेरै पार्टी सिद्धान्त, कार्यक्रम, विधान, नियम र निर्णय पालना गर्न जोड दिइरहेको छ । कुनै पनि राजनीतिक कक्षा तथा पार्टीको भेला, बैठक गोष्ठी र अन्तरक्रियामा पार्टी सदस्यहरूलाई अनुशासनमा बस्न पार्टी नेतृत्वले सुसूचित गरिरहेको हुन्छ ।
कुनै पनि पार्टीको विधानमा पार्टी सदस्यले पार्टीको विरोध गर्न पाउँदैन, समानान्तर पार्टी खोल्न पाउँदैन, अन्य दलसँग मिलेर पार्टी टुक्राउन पाउँदैन या गरेमा पार्टी अनुशासनको कारबाही हुन्छ । देश र जनतालाई प्रतिकूल असर पु¥याउने काम गरेमा या त्यस्तो आचरण देखाएमा त्यो पार्टीविरोधी गतिविधि नै हुन्छ । नेमकिपाले पार्टी अनुशासन, सिद्धान्त, विधान, नियम वा कार्यक्रमविपरीत काम गर्ने कुनै पनि पार्टी सदस्यलाई स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र निष्काशन गर्ने पार्टी विधानमा व्यवस्था गरेको छ । भ्रष्टाचारविरोधी आन्दोलनबाट अघि बढेको नेमकिपाले हरेक राजनीतिक कक्षामा कहीँ कतै भ्रष्टाचार नगर्न, घूस नखान र नदिन, आर्थिक अनियमितता नगर्न खबरदारी गर्दै आएको छ । खबरदारी गर्दागर्दै कसैले पदको दुरूपयोग गरेर अनियमितता गर्छ भने ऊ सजातगी हुन्छ । तर, अन्य दलमा नेता तथा कार्यकर्ताहरू पार्टी अनुशासनमा बसे पनि नबसे पनि, आर्थिक अनियमितता गरे पनि नगरे पनि र अकुत सम्पति जोडे पनि पार्टीले त्यस्ता नेता तथा कार्यकर्तालाई मतलब राख्दैन । यही कारण देशमा, भ्रष्टाचार, अनियमितता र घूस बढेको हो, अन्तर्राष्ट्रिय समुदायमा नेपाल भ्रष्टाचारको सूचीमा परेको हो ।
आफूलाई ठूला, प्रजातान्त्रिक र जनवादी भनिने दलहरू प्रजातन्त्र, स्वतन्त्रता, मानव अधिकार, न्याय र जनताका हक अधिकारका निम्ति लडेको ध्वाङ फुक्छन् । त्यसैको हवाला दिएर तिनीहरू पटक–पटक सरकारमा पुगे । देशमा एकपछि अर्काे भ्रष्टाचार, अनियमितता र घूस प्रकरण घट्दै जानुपर्ने हो, तर घटिरहेको छैन । इमानदारी, नैतिकता, सामाजिक मूल्य र मान्यता, आर्थिक मूल्य र मान्यतामा ¥हास हुँदै छ । नातावाद, अनुचित आर्थिक लाभ र अन्य बेइमानीले जनता पीडित छन् । नेमकिपा यस्तै अनियमितता, अनैतिकता, बेइमानी र पक्षपातको विरोध गर्छ, विरोधमा सङ्घर्ष गर्छ । प्रजातन्त्र र समाजवाद देखाउने दाँत होइन, जीवन पद्धति हो ।
नेमकिपा अनेक छलछाम, जालझेल गरेर, लोभलालच बाँडेर जसरी भए पनि निर्वाचन जित्न कार्यकर्ता तान्दैन । नेमकिपा जहिल्यै पार्टी अनुशासन र आर्थिक अनुशासनमा जोड दिन्छ । नेमकिपाले झैँ अन्य दलले पनि पार्टी अनुशासन र आर्थिक अनुशासनको कुरा उठाएका भए संसारमै बदनाम हुने किसिमको देशमा भ्रष्टाचार हुँदैनथ्यो, अनियमितता हुँदैनथ्यो । देशमा विधिको शासन नभएकै कारण आर्थिक अनियमितता र भ्रष्टाचार बढेको हो । विधिको शासनमात्र होइन, आर्थिक सुशासन पनि छैन । आर्थिक सुशासनमा ध्यान नगिएपछि आर्थिक अनियमितता बढ्नु स्वाभाविक हुन्छ । आर्थिक अनियमितता नै भ्रष्टाचार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *